काठमाडौं,२६ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीम रावलले नेपाल–चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्नु भएको छ ।नेता रावलले सोमबार ट्वीट गर्दै हुम्ला जिल्लाको नाम्खा गाउँपालिका, लिमी लोलुङजङमा सरकारका आवश्यक कर्मचारीलाई स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्नुभएको हो ।
नेपाल र चीनको सीमासम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गरियोस्,’ रावलको ट्वीटमा उल्लेख छ । देशको भौगोलिक अखण्डतासँग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाउनुपर्ने रावलको माग छ । तर सरकारले भने यसअघि नै चीनसँग कुनै पनि सीमा विवाद नरहेको बताइसकेको छ ।
हालै हुम्लाको सीमा क्षेत्रमा चीनले पक्की भवनहरु बनाएको समाचार सार्वजनिक भएको थियो । यो सामाचार सार्वजनिक भएपछि चीनले आफ्नै भूमिमा भवनहरु बनाएको प्रष्टीकरण दिएको थियो । केही दिन अघि मात्रै नेपाल–चीन सिमानामा रहेका सीमा स्तम्भको अनुगमन गर्न गएको नेपाली टोलीमाथि चिनियाँ टोलीले अश्रुग्यास प्रहार गरेर लखेटेको समाचार सार्वजनिक भएको छ ।