काठमाडौं २२, असोज । तपाइँले पिउनका लागि किनेको पानीमा कुहिएको किरा भेटियो भने के गर्नु हु्न्छ ? पक्कै पनि वाक्नु हुन्छ । बिहीबार ललितपुरका एक उपभोक्ताले किनेको सिद्धिकाली आक्वा पानी उद्योगको जारमा किरै किरा भेटिएको छ । आक्वा फ्रिडम लोगो रहेको काठमाडौं मूलपानीमा रहेको सिद्धिकाली आक्वा पानी उद्योेगको जारको पानीमा किरा भेटिएको हो ।
ललितपुरको एक पसलमा खरिद गरेको पानीको जारमा किरा भेटिएपछि उपभोक्ताले आफ्नो स्वास्थ्यमा खेलवाद गरेको भन्दै कारवाहिको लागि पहल गरिदिन भन्दै पानीको जार राष्ट्रिय उपभोक्ता मञ्चलाई बुझाएको छ । शिल नखोलिएको सिद्धिकाली आक्वा पानी उद्योगको खानेपानीको जारमा किरा परेको जनाएको छ । उपभोक्ताले बुझाएको पानीमा मूल्यमा समेत मनोमानी रहेको , राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले बताउनु भयो ।
सिद्धिकाली आक्वा पानी उद्योेग मूलपानीले सिलबन्दी गरेर बजार पठाएको पानी दुषित र किरा परेको पाइएपछि हामीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई सोधेका थियौं उपभोक्ताको हक अधिकार हनन् गर्ने पानी उद्योगलाई कस्तो कारवाहि हुन्छ त ? विभागले उक्त पानीको जार प्राप्त हुनसाथ अध्ययन गरि नियम अनुसार कारवाहि गरिने विभागका प्रवक्ता रविन्द्र आचार्यले बताए ।
विभागले सिलबन्दी पानीका जारमा केही शंका लागेमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन समेत आग्रह गरेको छ । साना पसलहरु देखि ठूला होटलहरुसम्म र हरेक घरघरमा प्रयोग हुने गरेको शुद्ध भनिएको पानीमा नै किरा भेटिनु र बजारमा विक्रीमा राखिएका हरेक खाद्य समाग्री नै अखाद्य सावित हुँदै जानुले मु्लुकको खाद्यबजारको अवस्था कस्तो छ भन्नै छर्लङ्ग हुँदै आएको छ ।