जनकपुरधाम, २० असोज । भारतबाट जनकपुरधामसम्म मालसमान ढुवानीकालागि पहल गर्न जनकपुरधाम उद्योग वाणिज्य संघले ज्ञापनपत्र बुझाएको छ । भारतको जयनगरबाट जनकपुर हुँदै तत्काल बर्दीबास सम्म रेल्वे संचालनकालागि प्रक्रिया सुरु भएपछि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई मार्फत भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा ज्ञापनपत्र बुझाईएको हो ।
ज्ञापनपत्रमा रेल संचालन हुँदा भारतको जयनगरबाट जनकपुरधाम रेल्वेमा मालसमान ढुवानीकालागि भारत सरकारको अर्थ मन्त्रालयमा आवश्यक व्यवस्थाकालागि पहल गर्न माग गरिएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष ललित कुमार साह तथा महासचिव जितेन्द्र प्रसाद साहद्वारा हस्ताक्षरिक ज्ञापनपत्रमा जनाइए अनुसार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालष् तथा अर्थ मन्त्रालयमा संयुक्त रुपमा ज्ञापनपत्र पठाउदै उक्त माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले यसबाट जनकपुरधामको व्यापार फष्टाउने भएकाले आफुले सम्बन्धीत मन्त्रालयमा पठाउने बताउनु भयो ।