सिन्धुली, १८ असोज । सिन्धुली अस्पतालमा सघन शिशु उपचार कक्ष आइतबारदेखि पुनःसंचालनमा आएको छ । उक्त कक्ष दक्षजनशक्तिको अभावमा बन्द भएको थियो ।
अहिले २ जना बालरोग विशेषज्ञको व्यवस्था भएसंगै ४ वेडको सघन उपचार कक्ष सञ्चालनमा ल्याईएको हो । शिशु सघन उपचार कक्ष समय नै नपुगी जन्मिएका तथा जन्मिदा निकै कम तौल भएका वा विशेष हेरचाह गरिनु पर्ने स्वास्थ्य अवस्था भएका शिशुहरूको उपचारका लागि स्थापित विशेष इकाई हो । यसको बागमति प्रदेश सभा सदस्य लेखनाथ दाहाल (राजन) ले उद्घाटन गर्नुभएको हो ।
सघन शिशु उपचार कक्ष समुद्घाटन समारोहमा उहाँले उपचारको अभावमा हुने शिशु मृत्युदरमा कमी आउने विश्वास व्यक्त गर्नुभयो । अस्पतालमा स्वास्थ्यकर्मीहरुले समय, सिप र सृजनाको उच्चतम प्रयोग गरेमा सिन्धुली अस्पताल बागमति प्रदेशकै नमुना बन्ने उहाँको धारण थियो । सोही अनुसार विरामीको सेवामा जुटन उहाँले अस्पतालका सम्र्पुण टिमलाई आग्रह समेत गर्नुभयो ।

यस्तै सिन्धुली अस्पतालका बालरोग विशेषज्ञ डा।अभय चन्द्र यादवले अस्पतालमा सघन शिशु उपचार कक्ष सञ्चालन भएपछि शिशुलाई उपचारका लागी काठमाडौँ रिफर गर्नुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाँका अनुसार शिशुलाई उपचारका लागी काठमाडौँ पठाउँदा चार घण्टाको समय व्यवस्थापन हुन नसकेर मृत्युवरण गर्नुपर्ने अवस्था थियो ।
उपचार कक्ष सञ्चालनले विरामी शिशुको उपचार जिल्लामा नै गर्न सहज हुनेभएको हो । उक्त अस्पतालमा जोखिमपूर्ण अवस्थाका मासिक करिब ६ वटा केश आउने गरेका छन् । जसका लागि सघन शिशु उपचार कक्षको आवश्यकता पर्दछ ।




