एजेन्सी, १७ असोज । लिभरपुलका स्टार स्ट्राइकर सेडियो माने कोरोना भाइरसबाट संक्रमित भएका छन् । मानेलाई कोरोना संक्रमण पुष्टि भएको लिभरपुलले जनाएको हो ।
अब उनले एस्टन भिल्लाविद्ध हुने लिभरपुलको खेल गुमाउनेछन् । सेनेगलका फरवार्ड माने कोरोना पुष्टि भएसंगै अहिले सेल्फ आइशोलेसनमा रहेका छन् । मानेलाई कोरोनाको सामान्य लक्षण देखिएको र उनको स्वास्थ अवस्थामा कुनै समस्या नभएको बताइएको छ ।
यद्यपी, इंलिस प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन लिभरपुलका लागि यो निकै दुखद् खबर हो । यसअघि लिभरपुलकै थिएगो अल्कान्टारामा पनि कोरोना संक्रमण देखिएको थियो ।
पछिल्लो चरणको परीक्षणमा प्रिमियर लिगमा आबद्ध १० जना व्यक्तिहरुमा कोरोना भाइरस देखिएको बताइएको छ । म्यान्चेस्टर सिटीका इल्के गुन्डोगान, वेस्टह्यामका प्रशिक्षक डेभिड मोयस लगायतमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।