काठमाडौं, १५ असोज । रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिरमा आज (बिहीबार) गजुर प्रतिस्थापन गरिएको छ । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको पुननिर्माणको काम अन्तिम चरणमा पुगेपछि बिहीबार सुनको लेपन भएको गजुर राखिएको छ ।
यस अघि गुम्बज शैलीमा निर्माण गरिएको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट (शिखर) शैलीमा पूननिर्माण गरिएको छ । १८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुननिर्माण गरिएको थियो । तर यसपटक फेरी पुरानै शैलिमा पूननिर्माण गरिएको हो ।
मन्दिरको शिरमा रहेको गजुरको कुल उचाई ६ फुट १० इन्च रहेको छ । ताम्रपत्रमा सुनको लेपन लगाएर गजुरको निर्माण गरिएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणका सहसचिव भरत प्रसाद आर्यालले मन्दिरमा राखिएका सबै गजुरमा करिब २८ तोला सुनको जलप लगाइएको बताउनुभयो ।
![](https://i0.wp.com/emountaintv.com/ne/wp-content/uploads/2020/10/gajur-ranipokhari.jpg?resize=821%2C486&ssl=1)
मन्दिरको गजुर १ सय २३ दशमलव ७५ किलो ग्राम ताम्रपत्र प्रयोग गरिर निर्माण गरिएको छ । मुख्य गजुरमा मात्रै २५.७३ तोला सुनको प्रयोग भएको छ । गजुर निर्माणमा करिब ३३ लाख रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो ।
२०७२ साल माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुननिर्माणको शिलान्यास गर्नुभएपछि पुननिर्माणको काम सुरु भएको थियो । तर बिचमा आधुनिक शैलिबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलिबाट निर्माण गरिएको हो । त्यसैले शिलान्यास भएको करिब ५ वर्षपछि मात्रै रानीपोखरी पुननिर्माणको काम सकिने चरणमा छ ।
![](https://i0.wp.com/emountaintv.com/ne/wp-content/uploads/2020/10/rani-pokhari.jpg?resize=845%2C467&ssl=1)
प्राधिकरणका सहसचिव अर्यालले यसपटकको भाइटिकाको दिन मन्दिर खुला गर्नेगरी पुननिर्माणका सबै प्रक्रियालाई सम्पन्न गर्ने योजना अनुसार काम भइरहेको बताउनुभयो । अव मन्दिर भित्र रहने मुर्तिहरुको प्राण प्रतिष्ठान गरि प्रतिस्थापन गरेपछि औपचारिक रुपमा उद्घाटन गरिने पनि उहाँले बताउनुभयो ।