एजेन्सी, १२ असाेज । इंग्लिस प्रिमियर लिग फुटबलमा आज साविक विजेता लिभरपुलले बलियो प्रतिद्वन्दी आर्सनलसँग प्रतिस्पर्धा गर्दैछ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा उक्त खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।
यो खेलमा उत्रदा दुबै टिम लगातार तेस्रो जित हातपार्ने दाउमा हुनेछन् । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ । लिभरपुलले सिजनको पहिलो खेलमा लिड्स युनाइटेडलाई ४–३ गोल अन्तरले तथा दोस्रो खेलमा चेल्सीलाई २–० गोल अन्तरले हराएको थियो ।
यसैगरी आर्सनलले पहिलो खेलमा फुलहमलाई ३–० गोल अन्तरले तथा दोस्रो खेलमा वेस्ट ह्यामलाई २–१ गोल अन्तरले हराएको थियो । जारी प्रमियर लिग फुटबलमा आर्सनल ६ अंक सहित तालिकाको तेस्रो स्थानमा रहेको छ । ६ अंक नै जोडेको लिभरपुल भने गोल अन्तरका आधारमा चौंथो स्थानमा रहेको छ । आजै अर्को खेलमा फुल्ह्याम र एस्टन भिल्लाबीच प्रतिस्पर्धा हुदैछ ।