काठमाडाैं,८ असाेज । कोरोना भाईरस रोकथाममा सरकारले गरेको कामको अनुगमन गर्न गठित संसदीय उपसमितिले प्रत्येक अस्पतालहरुमा ‘नन कोभिड’ विरामीहरुको सहज तरिकाले उपचारको व्यवस्था मिलाउन सुझाव दिएको छ ।
संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तरगत कोरोना भाईरसका सन्दर्भमा सरकारले गरेका काम कारवाहीको अनुगमन गर्न गठित उपसमितिले बिहीबार यस्तो सुझाव दिएको हो । उपसमिति संयोजक जीवनराम श्रेष्ठले प्रतिवेदन बुझाउँदै कोरोेना बाहेकका अन्य रोगका विरामीहरुले सहज उपचार सेवा पाउन नसकेको बताउनुभयो ।
उपसमितिले पीसीआर रिपोर्ट तत्काल प्रदान गर्न देशभरीका प्रयोगशालालाई एकीकृत रुपमा समन्वय गर्न पनि सुझाव दिएको छ । पीसीआर ल्याबको क्षमताअनुसार दक्ष जनशक्तिको व्यवस्था गर्दै पूर्ण क्षमतामा ल्याब सञ्चालन गर्नुपर्ने, होम आइसोलेसनमा बसेका संक्रमितको नियमित रुपमा निगरानी गर्नुपर्ने र क्वारेन्टिनमा रहेका विरामीहरुलाई खाना बापत तोकिएको १ सय ७५ रुपैयाँ अपुग भएको संयोजक श्रेष्ठले बताउनुभयो ।
उपसमितिले कोरोना अस्पतालहरुमा भेन्टिलेटर, आइसियु र दक्ष जनशक्तिको व्यवस्थापन गर्न पनि सुझाव दिएको छ । यस्तै वीर अस्पतालमा बन्दीको मृत्यु प्रकरणमा सांसदहरुले शवगृह व्यवस्थापनमा उचित ध्यान दिन आग्रह गर्दै तीन दिनमै शव सड्ने अवस्थामा कसरी पुग्यो भन्ने प्रश्नको जवाफ दिनुपर्ने बताएका छन्
अस्पताल र कारागारले यसअघि नै कैदीबन्दी रामलखन जैसवालको मृत्यु संकास्पद नभएको प्रष्टिकरण दिइसकेको छ ।