सुवास आचार्य
बाग्लुङ, २६ भदौ । सामाजिक सञ्जाल दुरुपयोगको आरोपमा पक्राउ परेका बाग्लुङ नगरपालिका वडा नम्बर ४ कुँडुलेका पण्डित चन्द्रकान्त पौडेल लिखित माफी मागे पछि छुटेका छन् ।
प्रचलित नियम कानुन विपरित फेसबुकको दुरुपयोग गरेर एभिन्युज खवर बागलुङ सम्वाददाता राजेशचन्द्र राजभण्डारी, माउण्टेन जिल्ला सम्वाददाता सुवास आचार्य र एविसि टेलिभिजन जिल्ला सम्वाददाता रामप्रसाद घिमिरेको चरित्र हत्या र मान मर्दन गरेको आरोपमा बुधबार दिउँसो प्रहरीले उनलाई कुँडुलेबाटै पक्राउ गरेको थियो ।
फेसबुकमा लाञ्छित गरिएका पत्रकारसँग अहिले सम्म भएका गल्ती कमजोरी प्रति लिखित माफी मागे पछि फेरि गल्ती नदोहो¥याउने गरि रिहा भएका हुन ।
पौडेलले कर्मचारी, नेता, सांसद, प्रधानमन्त्री, सामाजिक अगुवा, धार्मिक अभियन्ता लगायतका बारेमा तुच्छ शव्दहरु प्रयोग गर्दै तथानाम दैनिक दर्जनौ स्टाटस लेख्दै आएका थिए । आफुले भने अनुरुप समाचार नआए पछि पत्रकारहरुको तस्वीर समेत प्रयोग गरी व्यक्तिगत मानमर्दन तथा पेशागत चरित्रमा समेत आँच आउने गरि स्टाटस लेखेका थिए । उनले पत्रकार सामु अवका दिनमा गल्ती नगर्ने बताए ।
यसका बिरुद्धमा आफुहरुको तस्बीर प्रयोग गरि चरित्र हत्या, मान मर्दन र पेशागत रुपमा आँच आउने काम गरेकाले कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले पक्राउ गरेको थियो । कुँडुले स्थित मुक्तिनाथ सँस्कृत वेदविद्याश्रममा समान शिक्षाको व्यवस्था हुनुपर्ने, जातका आधारमा कसैलाई बञ्चित गर्न नहुने बिषयको सकरात्मक अभियान चलाए पनि फेसबुकमा मनपरी लेख्न थालेपछि तिव्र आलोचना हुन थालेको थियो ।
वेदविद्याश्रमको विषयमा गत मंगलबारनै जिल्ला प्रशासन कार्यालयले दलित समुदायका प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिको उपस्थितिमा प्रचलित नियम अनुसार पठन पाठनको व्यवस्था गर्ने गरी सहमति भएको थियो । तर, उक्त सर्वपक्षिय वैठकमा चन्द्रकान्त पौडेल भने उपस्थित भएनन् ।
पटक पटक बोलाउदै बाइक लिन पठाउँदा समेत गाडी चाहिन्छ भन्दै फेसबुक लाइभमा तथानाम प्रहरी प्रशासन लगायतलाई गालीगलौज गर्दै बसेका थिए ।