पर्सा,३ भदाै । धानबालीमा लगाउने युरिया मल अभावले नेपालका कृषकहरु मर्कामा परेका छन् । तर मल अभाव भएको मौका छोपेर भारतबाट तस्करी गर्नेहरु भने दिनप्रति दिन सक्रिय भएका छन् ।
विभिन्न जिल्लाका सीमामा खटिएका सुरक्षाकर्मीले कृषकहरुलाई सीमा पारी जान नदिएपछि कृषक तस्करबाटै उच्च मूल्यमा मल किन्न बाध्य छन् । धान गोड्ने बेला पनि कृषकले मल पाएका छैनन् ।
धानबाली लगाउने समयदेखि मलखादको अभाव झेल्दै आएका कृषकहरु अझै त्यहि समस्यासँग जुझ्दै छन् । देशका अधिकांश जिल्लाका कृषकहरु मल अभाव झेल्दै आईरहेका छन् । भारतसँग सीमा जोडिएका जिल्लाका कृषकहरुले आफै भारत गएर मल किन्न जान नखोजेका पनि होइनन् । तर सुरक्षाकर्मीले सीमा सील भएको भन्दै रोकपछि उनीहरुले भारतबाट पनि मल ल्याउन पाएका छैनन् । तर मल अभावको मौका छोप्दै भारतबाट मल तस्करी गर्नेहरु भने सक्रिय भएका छन् ।
अहिले सील गरिएको पर्सामा बजार समेत बन्द हुँदा कृषकहरु झन् मर्कामा परेका छन् । भारतमा बोराको ५ सय पर्ने युरिया मल तस्करहरुसँग बोराको २ हजारमा खरिद गर्न बाध्य छन् कृषकहरु ।यता, कपिलवस्तुमा पनि तौलिहवा–जीतपुर सडक खण्ड अन्तर्गत बाणगंगा नगरपालिकाको ओदारीमा सिमेन्ट बोकेको ट्रकमा ३५ बोरा अवैध मल बरामद गरिएको छ । यसले पनि देशमा भएको चरम मल अभाव र मौलाएका मल तस्करका बारेमा सजिलै आँकलन गर्न सकिन्छ ।
सरकारी अनुदानको मल नपाएपछि अधिकाशं कृषकहरु जोखिम मोलेरै भारतबाट मल खरिद गर्ने गरेका छन् । कोही तस्करहरुबाट महँगाे मूल्यमा मल किन्न बाध्य छन् । सुरक्षा निकायले कृषकहरुले भारतबाट जोखिम मोलेर एक दुई बोरा मल ल्याउन समेत कडाई गरे पनि नसकेको कृषकहरुको गुनासो छ ।
मल अभाव र आयात कै विषयमा कञ्चनपुरमा पनि कृषक र सीमामा खटिएका सुरक्षाकर्मी बीच बेला बेला झडपहरु भईंरहेका छन् ।नेपालमा मल अभावको समस्या यो बर्षको मात्र नभई बर्षौँ देखि दोहोरिँदै आईरहेको छ । देशको मूख्यबाली धानमा लगाउनका लागि आवश्यक मल अभाव हुँदा पनि राज्यले समस्याको उचित सम्बोधन गरेको देखिँदैन ।
सोमबारको मन्त्रिपरिषद् बैठकले अनुदानमा खरिद गर्ने रसायनिक मल किसानले पाउने व्यवस्था सहितको मल वितरण निर्देशिका त स्वीकृत गरेको छ । तर यसको कार्यान्वयनको पक्ष भने अझै बाँकी नै छ । कृषकहरु मलको समस्याले चिन्तित हुँदा तस्करहरु भने रजाई गरिरहेका छन् । यस्तो अवस्था सरकारले कृषकहरुलाई मल उपलब्ध गराउने तथा तस्करहरुलाई कारबाहीको दायरामा ल्याउन ढिलो गरेमा यसले उत्पादनमा त ह्रास आउने नै छ, कति कृषकहरुलाई पेशाबाटै पलायन हुन पनि बाध्य नबनाउला भन्न सकिन्न ।