नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको भर्चुअल बैठक सम्पन्न, यस्तो छ बैठकको निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८१, आइतबार

नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको भर्चुअल बैठक सम्पन्न, यस्तो छ बैठकको निष्कर्ष

काठमाडौं, १ भदौ । नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको बैठकले नेपालमा भारतीय सहयोगमा निर्माणाधीन परियोजनाहरुको प्रगति सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । भर्चुअल माध्यमबाट सोमबार भएको बैठकले उक्त निष्कर्ष निकालेको हो ।

बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले गर्नुभएको थियो । यस्तै, भारतीय टोलीको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले गर्नुभएको थियो। बैठकमा अहिलेसम्म आयोजनाहरुको प्रगतिलाई सन्तोषजनक मान्दै आवश्यकताअनुसार थप सहकार्य गरेर परियोजनाहरुलाई टुंग्याउने भन्ने छलफल भएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बैठकमा तराईका सडक, सीमापार रेल, अरुण तेस्रो जलबिद्युत परियोजना, पेट्रोलियन पाइप लाइन, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, भूकम्पपछिको पुनर्निर्माण प्रसारण लाइन लगायतका बिषयमा छलफल भएको थियो । त्यसैगरी नेपाल पुलिस एकेडेमीको निर्माण, एकीकृत जाँच चौकी, रामायण सर्किट, महाकाली नदीमा पुल, कृषि, सांस्कृतिक सम्पदाको संरक्षणका विषयमा पनि छलफल भएको जनाइएको छ ।

दुवै पक्षले कार्यान्वयन गर्दा आइपर्ने आवश्यक सहयोगलाई समयमै हल गर्ने सम्बन्धमा सहमति जनाएका छन् । बैठकपछि भारतीय दूतावासले पनि विज्ञप्ति निकाल्दै सन् २०१६ मा भारतीय परियोजनाहरुको प्रगतिको संयुक्त निगरानीको लागि बनेको उक्त संयन्त्रको बैठकमा आफ्नो तर्फबाट राजदूत क्वात्रासहि नेपालका विभिन्न मन्त्रालयका पदाधिकारीहरु तथा संलग्न ठेकेदार र परामर्शदाताको पनि उपस्थिति रहेको जनाएको छ ।

यसअघि २०७६ असार २३ मा बसेको संयन्त्रको सातौं बैठकले परियोजनाहरुको सहज कार्यान्वयनमा जोड दिएको थियो ।भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकसमेत समेटेर नयाँ नक्सा प्रकाशित गरेसँगै संयुक्त निगरानी संयन्त्रको बैठक रोकिएको थियो । त्यसलगत्तै नेपालले पनि आफ्नो प्रमाणको आधारमा ती भूभाग नेपालको रहेको भन्दै नयाँ नक्सा जारी गरेको थियो ।

त्यसपछि दुई मुलुकबीचको संवादको श्रृंखला तोडिएको थियो । गत शनिबार भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन कुराकानी भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);