कपिलवस्तु , ६ असोज । दसैं नजिकिँदै जाँदा कपिलवस्तुका कालीगढलाई विभिन्न देवीदेवताका मूर्ति बनाउन भ्याइनभ्याई भएको छ ।
कपिलवस्तुका सहरदेखि गाउँसम्म एक महिनाअघि देखि मूर्ति बनाउन सुरु गरेका कालिगढलाई अहिले निमेषभर फुर्सद छैन । मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेकाले उनीहरु अहिले सजावट तथा रंगरोगनमा जुटेका छन् ।
कपिलवस्तुका ६ वटा नगरपालिका र चारवटा गाउँपालिकामा विजयादशमीका अवसरमा पाँच सयभन्दा बढी स्थानमा दुर्गा मूर्तिसहितका झाँकी निकालिने गर्छ । मूर्ति बनाउन भ्याइनभ्याइ भएपछि भारतबाट समेत कालिगढ ल्याएर काममा लगाइएको छ । कपिलवस्तुमा दुर्गा, लक्ष्मी, गणेश, कार्तिके, बाघ, मुसा, राँगा, सर्प र देवीदेवताका मूर्ति बनाउने गरिएको छ । एउटा मूर्तिलाई साइज हेरेर १५ हजारदेखि ३० हजारसम्म पर्छ ।