काठमाडौं, २५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले २६ औं विश्व आदिवासी दिवसका अवसरमा नेपाल लगायत विश्वभरका सम्पूर्ण आदिवासी जनजातिहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । आइतबार शुभकामना व्यक्त गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारीले सिर्जना गरेको परिस्थितिलाई मध्यनजर गर्दै यस पटक यस पर्वलाई रचनात्मक एवं सुरक्षित तवरले मनाउनु पर्ने वाध्यता रहेको बताउँदै सुरक्षित हुने उपाय अबलम्बन गर्दै आ–आफ्नो स्थानमा रहेर विश्व आदिवासी दिवस मनाउन सबैमा आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्रीले दशकौं लामो राजनीतिक संघर्षबाट प्राप्त उपलब्धिलाई संवैधानिक रुपमा सुरक्षित गरी राजनीतिक संक्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर हुने विश्वास व्यक्त गर्नुभएको छ ।
सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ, ‘समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा सफल बनाउन सम्पूर्ण समुदायलाई समान अवसर, सुरक्षा, न्यायको प्रत्याभूति गर्ने नीति राज्यले लिएको छ । नेपालको संविधान र प्रचलित कानुन अनुसार सम्पूर्ण आदिवासी जनजातिहरुको सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, कला, साहित्य एवं सीप आदिको उत्थान र विकास गरी उनीहरुलाई राष्ट्रिय जीवनको विभिन्न पक्षमा पहुँच र प्रतिनिधित्वको सुनिश्चितासँगै आर्थिक समानता सहितको समतामूलक समाज निर्माण गर्न सरकार निष्ठापूर्वक सक्रिय रहेको छ । सरकारको यस उद्देश्यलाई सफल पार्न आ–आफ्नो ठाउँबाट सक्रिय रहन म सबैमा हार्दिक आह्वान समेत गर्दछु । ‘