भारत, चीन र अमेरिका प्रभावित नेपाली राजनीति (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

भारत, चीन र अमेरिका प्रभावित नेपाली राजनीति (भिडियोसहित)

काठमाडौं, १७ साउन । नेपालमा क्रियाशील राजनीतिज्ञहरुको विचारलाई दृष्टिगत गर्दा मूलभूत रुपमा दुई छिमेकी र एक पश्चिमा देशसंग जोडेर हेर्ने गरिन्छ । चीन भारत र अमेरिकालाई हेर्ने दृष्टिकोण कै कारण नेपालको राजनीतिमा आरोह, अवरोहसँगै संधैभरि देशको सत्ता समेत कमजोर देखिने गरेको छ । त्यसो त आजको विश्व राजनीतिको परिदृष्यलाई मध्यनगर गर्दा, विश्व नै कुनै न कुनै छिमेकी, क्षेत्रीय र अन्तर्राष्ट्रिय वातावरणले प्रभावित देखिन्छन् ।

त्यसमा पनि भीमकाय दुई वटा अलग अलग राजनीतिक मूल्य र मान्यता राख्ने देशहरु र यी देशहरुलाई हेर्ने भीमकाय विश्व महाशक्तिको वीच अवस्थित नेपाल, यो प्रभावबाट मुक्त हुनसक्ने कुरै भएन । तत्कालिन राजा वीरेन्द्रद्वारा तटस्थ परराष्ट्र नीतिको अवलम्बन गर्दै , असंलग्न आन्दोलनको पृष्ठपोषण गरेको देखिए तापनि, कुनै न कुनै रुपमा देशको राजनीति कुनै न कुनै देशसंग संधैभरि जोडिइ नै रह्यो । यो क्रम अहिले अझ अरु प्रभावी बनेको छ ।

नेपाली राजनीतिकर्मीहरुले बुझ्नुपर्ने एउटा अहंम सवाल के हो भने, कुनै पनि देशले नेपालीलाई हेर्ने दृष्टिकोण भनेको, त्यो देशको आफ्नो स्वार्थ अनुकुल नै हो । चीनले नेपाललाई हेर्ने आँखा चीनको स्वार्थ हो, भारतले नेपाललाई हेर्ने आँखा भारतको स्वार्थ हो , अनि अमेरिकाले नेपालालाई हेर्ने आंखा अमेरिकाको स्वार्थ हो । हामीले आफ्नो स्वार्थको किटान गर्न सकेनौ भने, यी शक्ति राष्ट्रहरुको कठपुतली बन्न नेपाल संधै विवश हुनेछ । जसरी भारतसंग नजिक भएर चीनलाई टाढा राख्दा नेपाललाई नोक्सान भएको थियो, त्यसैगरी चीनलाई नजिक राखी भारतलाई टाढा राख्नु पनि नेपालको लागि गम्भीर भूल नै हुनेछ ।

विचार, सिद्धान्त र दैनिक रहनसहनकै आधारमा पनि भारतको जनस्तर, नेपालसंगको तारतम्य बढी नै घनिष्ठ देखिन्छ । भारतीय सत्ताको अदुरदर्शी र अंग्रेजी विरासतको कुटिल विस्तारवाद नीतिलाई हेरेर भारतीय जनतालाई नेपालले घृणा गर्न थाल्यो भने, यो पनि वस्तुपरक मूल्यांकन हुन सक्दैन । चीनको नेपालसंगको व्यवहार भनेको मुख्य रुपमा चीनले भारतलाई हेर्ने दृष्टिकोणसंग सम्बन्ध राख्दछ । संसारमै चीन व्यापारिक देशको रुपमा परिचित भएबाट चीनले भारतलाई टाढा राखी नेपाललाई माया गर्छ भनी सोच्नु चीनको मौलिक परम्परा नबुझ्नु नै हो । शीत युद्धको समयमा व्यापारकै कारण आफ्नो पारम्पारिक सिद्धान्त मिल्ने सोभियत रुससंगको सम्बन्धलाई विराम दिंदै, अर्काे प्रतिद्धन्दी राष्ट्र अमेरिकासंग सहभागी भइ व्यापार प्रवद्र्धनमा क्रियाशील चिनियाँ नीति हेर्दा, चीन व्यापारको लागि जस्तोसुकै सम्झौता पनि गर्न सक्छ भन्ने स्पष्ट नजिर देखिन्छ ।

यो सम्झौता गर्दा चीनले राजनीतिक सिद्धान्त, भौगोलिक निकटता लगायतका कुराहरु सहजै बिर्सिएको देखिन्छ । चिनियाँहरुको सहज नेपाल प्रवेशको केही हप्तामा नै बैंकको एटिएम चोरी, विभिन्न प्रकारणको गुण्डागर्दी, सिंहदरवार अगाडि खुलेआम प्रहरी अधिकृतिमाथिको हातपातदेखि लिएर नेपालीहरुप्रति उनीहरुले देखाएको घटिया व्यवहार समेतलाई हेर्ने हो भने, अर्काे छिमेकी भारतीयहरु माथि पारम्परिक रुपमा नै नेपालीले संधैभरि हेप्ने गरेको व्यवहार वास्तवमै गजवको छ । यो प्रसंगको आधारमा नेपालको दुई देशसंगको सम्बन्धको अन्तरकथा र सामीप्यताको फाइदा बेफाइदा सजिलै छुट्याउन सकिन्छ ।

आफ्नो राष्टिय सार्वभौमिकतालाई ख्याल गर्दै भारतसंगको सीमाना नेपालले बन्द गर्न सक्यो भने र नेपालले भारतसंग दुईपक्षीय आधारमा वैदेशिक सम्बन्ध राख्न सक्यो भने, नेपाल आफ्नो खुटृामा उभिन सक्नेछ । आफ्नो खुटृामा उभिएपछि, हिंड्न सक्ने भएपछि छिमेकी त साथीको रुपमा मिल्ने मात्र हो । तर छिमेकीले हिंडन नसक्ने नेपाललाई बोकेर गन्तव्यमा पुर्याइदिन्छ भनी सोच्नु दरिद्रताको पराकाष्ठा नै हो । त्यसैले हाम्रा देशका नेताहरुले तत्काल वैदेशिक नीति बनाउनु जरुरत छ । नीति र सिद्धान्त अनुसार देशलाई चलाउन सक्यो भने नेपाल जस्तो संभावना नै सम्भावनाले भरिएको भूगोलले कसैको मुख ताक्नु पर्ने स्थिति आउँदैन ।

माग्नको लागि पनि उचित भांडोको जरुरत हुन्छ । अहिले हामीसंग सामान मात्र नभएको होइन, माग्ने भांडो पनि छैन । सामान पनि लेउ, भांडो पनि लेउ अनि हामीलाई इज्जत गर भनेर इज्जत पनि माग्नुपर्ने वर्तमान सन्दर्भलाई देख्दा वास्तवमा संसार सामू नेपालीको शीर झुकेको छ । मागेर ल्याएको सामानमा भ्रष्टाचार हुन्छ । अनि हामी स्वाभिमानको गीत गाउँछौं । देशको वैदेशिक सम्बन्ध र स्वाभिमानको कुरा गर्दा नेपाली जनताको आचारण पनि सरोकारको विषय बन्न सक्छ ।

आज नेपाल भित्र उत्पादन हुने साधनलाई पनि अमेरिकन, चाइनिज वा भारतीय भनेर बेच्नुपर्ने नेपाली उद्योगी व्यवसायीको अवस्थालाई हेर्दा हामी कति राष्ट्रवादी छौं भन्ने सजिलै देखाउंछ । नेपाली जनताले नेपालमा बनेको बाहेक कुनै पनि सामान प्रयोग गर्दिन भनी संकल्प गरेका दिन नेपालीलाई आवश्यक पर्ने सम्पूर्ण सामान नेपाली उद्यमीले नै बनाइ दिनेछन । राष्ट्रवादको लागि राष्ट्रिय भावना चाहिन्छ । नेपालीहरुले विदेशी सामान सम्पूर्ण रुपमा बहिष्कार गरेको गौरवपूर्ण दिनले नै हाम्रो स्वाभिमान अनि राष्ट्रवादको खाका कोर्ने छ ।

विदेशी अनुदानमा कमिशन, एनजीओ, आइएनजीओहरुबाट कमिशन, हुँदाहुँदा माक्स र स्यानिटाइजरमा समेत कमिशन खानुपर्ने परिस्थिति नै आजको मौलिकता बन्न गएबाट देशको स्वाभिमान माथि उठन नसकेको हो । त्यति मात्र होइन, खाएको कमिशन राख्नको लागि समेत विदेशी बैंकको ढोका चाहार्नु पर्ने र संधैभरि विदेशी बैंकमा राखेको पैसाको सूचना बाहिर निस्केला भनेर त्रस्त रहने नेतृत्व पनि आजको समस्या हो ।

त्यसैले नेतृत्वले आफ्ना यी आचरणहरुमा गम्भीर मनन गर्न सक्यो भने र राष्ट्र, राष्ट्रियता अनि जनभावना अनुसार विदेशीहरुको अगाडि आफ्नो पूरानो मौलिक गौरव गाथालाई सम्झिन सक्यो भने, कसैको पिछलग्गु नभएर पनि विश्व मानचित्रमा आफ्नो उपस्थिति जनाउन सक्छ । अन्यथा सीमानाले मात्र राष्ट्रिताको परिभाषा बोक्न सक्दैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);