काठमाडौं, ६ साउन । राजनीतिक निष्ठा हराएकै कारण नेपालको राजनीति क्रमशः पदलोलुप हुँदै गएको देखिन्छ । देखिएका सबै नेताहरुमा पद र प्रतिष्ठा प्राप्त गर्नु नै ठूलो सफलता हो भन्ने, उल्टो राजनीतिक संस्कार हावी हुँदै गएको छ । पदको लागि जो कोही पनि, जे पनि गर्न तयार हुनुले प्रजातन्त्रलाई गम्भीर संकटतर्फ उन्मुख गराएको छ, राजनीतिलाई अस्थिर बनाएको छ, विकास र जनजीविकाको कुरा सपना बन्दै गएको छ ।
अलिकति परको पुस्तालाई याद गर्नेहरु अहिलेको पुस्तामा देखिएको संस्कारहीन राजनीतिक अभ्यासबाट मर्माहत देखिन्छन, निरास देखिन्छन । थुप्रै अवसरहरु प्रजातन्त्रको लागि तुच्छ देख्ने सम्मानित नेता वीपी कोइराला, प्रधानमन्त्रीको पद अस्वीकार गर्ने नेपाली कांग्रेसका तत्कालीन सर्वमान्य नेता गणेशमान सिंह, तत्कालीन राजा ज्ञानेन्द्रबाट प्रधानमन्त्रीको लागि बोलावट हुँदा “प्रजातन्त्र विनाको प्रधानमन्त्री त के, महाराजकै कुर्सी दिए पनि चाहिंदैन” भनेर फिर्ता गरिदिने नेपाली कांग्रेसका स्वर्गीय नेता कृष्ण प्रसाद भटृराई, राजनीतिलाई अन्तिम अवस्थासम्म निष्ठाको रुपमा ग्रहण गर्दै समर्पित कम्युनिष्ट नेता स्वर्गीय मनमोहन अधिकारी र संकटमा परेको कम्युनिष्ट प्रणालीलाई नयाँ रुपमा परिभाषित गर्दै प्राप्त भएको राजनीतिक पदबाट टाढा रही राजनीतिलाई नै नयाँ दिशा दिन सक्ने व्यक्तित्व स्वर्गीय मदन भण्डारी लगायतबाट भएको राजनीतिक त्याग र अभ्यास, सायद नेपाली राजनीतिका अधिकांशलाई अहिले पनि स्मरणीय लाग्छ होला ।
यस्तो राजनीतिक विरासतको उत्तराधिकारीको रुपमा रहेको वर्तमान नेतृत्वमा यो पुस्ताको सामान्य संस्कार पनि अनुसरण भएको पाईंदैन । यसलाई बिडम्बना नै भन्नुपर्छ । ति पूर्व नेताहरुको नाम लिएर नथाक्ने र उनीहरुको राजनीतिबाट प्रभावित छु भन्नेहरुले ति पूर्व नेताहरुको त्याग र समर्पणलाई आत्मसात चाहीं गर्न नपर्ने हो ? के ति नेताहरुले राजनीतिलाई पदीय भागबण्डा र जसरी पनि लाभ लिनुपर्ने भन्ने वर्तमान पुस्ताको आदर्श अनुसार चलेका थिए ? के त्यो पुस्ताका नेताहरुले कहिल्यै निष्ठालाई त्यागेका थिए ? व्यक्तिगत इच्छा आकांक्षालाई प्रकट गरेका थिए ? कयौं जेलनेल र यातना पाउँदा पनि आफ्नो निष्ठा र सिद्धान्त छाडेका थिए ? पक्कै छाडेको थिएनन् ।
एक प्रकारले भन्ने हो भने, उनीहरुको जीवन प्रजातान्त्रिक समाज निर्माण र जनताको लागि पूर्ण रुपमा समर्पित थियो । सायद उनीहरुकै कारण वर्तमानमा राजनीति गर्ने १-२ जना बाहेक कसैलाई पनि जेलनेलको सामना गर्नु परेन, सत्ताको दमन सहनु परेन, आफ्नो त्याग र समर्पण देखाउनु पर्ने आवश्यकता भएन । अझ भनौं, राजनीतिका लागि यो पुस्ताले कुनै लगानी गर्नै परेन । लगानी विनाको प्रतिफल प्राप्त भएकैले होला अहिलेको पुस्तालाई राजनीतिको दीर्घजीवनप्रति मोह छैन, भविष्यप्रति चिन्ता छैन ।
अहिले जनउत्तरदायित्व लोप हुँदै गएको छ । जनतालाई बुझ्ने तरिका पुरानो पुस्ताको जस्तो छैन । सत्ताको लागि जस्तो पनि गठजोड गर्ने सिद्धान्त र कार्यदिशा कुनै मिल्नै नपर्ने, भोलिका लागि केही सोच्नै नपर्ने, विचित्रको राजनीतिक अभ्यास यो पुस्ता गर्दैछ । यो पुस्तालाई राष्ट्र र राष्ट्रियताको सन्दर्भ पनि पद र प्रतिष्ठा भन्दा प्यारो छैन । हरेक क्षेत्रमा विदेशीहरुको अतिक्रमण छ । भोलिको सत्ताको लोभमा त्यो विदेशी चक्रव्यूहबारे बोल्न सक्दैन । अझ भनौं, चाकडीमै लिप्त रहन्छ । पुरानो पुस्तालाई भरमग्दुर साथ र समर्थन गर्ने नेपाली जनता वर्तमान नेतृत्वप्रति आक्रोसित छ ।
नेतृत्वमा रहेका प्रायः सबैजसो व्यक्तिहरु आज जनताको अगाडि थुप्रै सुरक्षा फौजको बीचमा जानुपर्ने अवस्था छ । हिजो जनताले नेताहरुलाई संरक्षण गर्थे । आज त्यसको ठिक उल्टो देखिएको छ । हिजो आपूmले नखाएर नेतालाई खुवाउने जनता, आज नेताबाट शोषित पीडित भएको भन्दै नेताहरुप्रति बदलाभाव राख्ने अवस्थामा पुगेका छन् । जनताको लागि भनेर गरिने राजनीति अब नेता र नेताको आसेपासेको लागि मात्र बन्दै गएको छ ।
जनताले बोल्न पाउने, तर कसैले सुन्न नपर्ने विचित्रको प्रजातान्त्रिक अभ्यास गर्दै देश अघि बढेको छ । आफू सरहका नेताहरुमा आएको भीमकाय परिवर्तन टुलुटुलु देख्न जनता विवश छन । नेतृत्वको एउटा पंक्तिमा पुग्ने वित्तिकै जनताको नाममा त्यो नेताले पाउने आलिशान सुविधाहरुले नेतृत्वलाई नै निकम्मा बनाउँदैछ र जनताबाट टाढा लैजाँदैछ । यी सबैको परिणाम स्वरुप जनताले नेतृत्वलाई विश्वास गर्न छाडेका छन् । बिडम्बना, नेताले पनि जनतालाई विश्वास गर्न सकेका छैनन् ।
सायद, यस्तै यस्तै कारणले हुनसक्छ, नेपालको राजनीतिले अझै थुप्रै समय निकास पाउला जस्तो देखिंदैन । सबै पक्ष गम्भीर नहुने हो भने, वर्तमान व्यवस्था, संविधान लगायतमा गम्भीर संकटको सामना गर्न नपर्ला भन्न सकिंदैन । अब यो सबै बेथितिबाट देशलाई थितिमा ल्याउने हो भने, पुरानो पुस्ताले देखाएको बाटोमा केही मात्रा मै भएपनि यो पुस्ता चल्न सकेमा देशलाई केही राहत हुन सक्थ्यो कि ?