काठमाडाैं, २९ असार । संसदको विकास तथा प्रविधि समितिले पुर्ननिर्माणको क्रममा रहेका पुरात्वात्तिक सम्पदाहरुको स्थलगत अनुगमन गरेको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको सहजिकरणमा समितिले सोमबार धरहरा, काष्ठमण्डप, रानीपोखरी र सिंहदरबार पुर्ननिर्माणको अनुगमन गरेको हो ।
समिति सभापति कल्याणी कुमारी खड्काले भूकम्प गएको लामो समयसम्म काम हुन नसकेपनि पछिल्लो २ वर्षयता निर्माणको कामले गति लिएको बताउनुभयो । पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीको काम आगामी २ महिनाभित्र पुरा हुने तथा धरहरा र काष्ठमण्डपको काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ भइरहेको बताउनुभयो ।
भूकम्पले क्षतिग्रस्त सम्पदाहरुको पुर्ननिर्माणका काम पछिल्लो समय तिव्र गतिमा भइरहेको छ । प्राधिकरणले कोरोना संक्रमणको जोखिमकाबीच विभिन्न स्वास्थ्य मापदण्ड बनाएर निर्माणका कामलाई तिव्रता दिइएको बताएको छ ।




