'नेपालमा सलहको नयाँ झुण्ड आउन सक्ने सम्भावना छैन' | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८१, बिहीबार

‘नेपालमा सलहको नयाँ झुण्ड आउन सक्ने सम्भावना छैन’

krishi samiti

काठमाडौं, १९ असार । सलह रोकथाम तथा व्यवस्थापन कार्यदलका संयोजक सहदेव हुमागाईंले हावाको गतिमा नाटकीय परिवर्तन नभए नेपालमा सलहको नयाँ झुण्ड आउन सक्ने सम्भावना नरहेको बताउनुभएको छ ।

संघीय संसद प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा उपस्थित हुनुभएका कार्यदलका संयोजक एवं प्लान्ट क्वारेन्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख हुमागाईंले भारतको राजस्थानबाट हावाको गति दक्षिण तर्फ मोडिएकाले अब नेपालमा सलहको नयाँ झुण्ड आउने सम्भावना नरहेको जानकारी गराउनुभयो । उहाँले बिहीबार भारतको इटहवामा रहेको सलहको झुण्ड आज (शुक्रबार) भारतको मध्यप्रदेश तिर पुगेकाले नेपालमा आउने सम्भावना कम हुँदै गएको बताउनुभयो ।

भारतको इटहवा भैरहवा नाका देखि ५ सय किलोमिटर नजिक रहेको तर आज सलहको झुण्ड दक्षिणतर्फ लाग्दा ७ सय ६७ किलोमिटर टाढा पुगेको बताउनुभयो । उहाँले मनसुन तथा हावाको दिशामा नाटकीय परीवर्तन नभए नेपालमा सलहको नयाँ झुण्ड आउन नसक्ने बताउनुभयो ।

प्रमुख हुमागाईंले सलह नियन्त्रणका लागि रासायनिक विषादीको प्रयोग गर्न समस्या रहेको बताउनुभयो । मानव वस्तिको नजिक खेतबारी रहेकाले विषादी प्रयोग गर्न तत्काल सिफारिस नगरिएको उहाँले स्पस्ट पार्नुभयो । तर अन्तिम विकल्पको रुपमा विषादी प्रयोग गर्ने अवस्था आयो भने चारपाँच वटा विषादीलाई तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँले अहिले नेपालमा ६० लाख देखि ६५ लाखको संख्यामा नेपाल आइपुगेको र नेपालमा अण्डा पार्ने सम्भावना पनि नभएकाले सलहलाई आवाजको माध्यमबाट भगाउन सकिने बताउनुभयो ।

कृषि तथा पशुपन्क्षी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले भने आसार १७ गते सम्म देशका अधिकांश जिल्लामा सलह पुगेको तर दश वटा जिल्लामा सबैभन्दा धेरै क्षति पुगेको बताउनुभयो । असार १३ गते भारतबाट रुपन्देही हुँदै बारा, पर्सा, सर्लाही, मकवानपुर, सिन्धुली, पाल्पा सम्म पुगेको र तीन दिन भित्रमा कपिलवस्तु हुँदै दाङसम्म पुगेको उहाँले बताउनभयो ।

सचिव भारीले नेपाल भित्रिएको ५ दिनमा अर्घाखाची, प्युठान, कैलाली, कञ्चनपुर, बैतडी, अछाम सम्म पुगेको बताउनुभयो । उहाँले १७ गते सम्म दाङमा सबैभन्दा धेरै ५ सय हेक्टर, प्युडानमा २ सय ८३ हेक्टर, अर्घाखाँचीमा १ सय हेक्टर र मकवानपुरमा १ सय ५ हेक्टर जमिनमा क्षति पुगेको बताउनुभयो ।

बैठकमा सांसदहरुले यस अघि पनि कृषि मन्त्रालय र विज्ञहरुले नेपालमा सलह आउँदैन भनेको तर नेपालमा ठूलो संख्यामा सलह आएकोले फेरीपनि नआउने भन्ने सम्भावना नरहेकोले त्यसको नियन्त्रणको लागि तयारी बढाउन सुझाव दिएका छन् । उनीहरुले थाल ठटाएर अथवा गीत गाएर सलह भगाउने कुरा असम्भव भएकाले विषादीको प्रयोग गर्ने या अन्य कुनै विकल्प किसानलाई दिनुपर्ने बताए ।

यस्तै धान र मकै सलहले मनपराउने भएकाले त्यसलाई जोगाउनु चुनौतिपूर्ण भएको सांसदहरुले बताए । मन्त्रालयले किसानहरुलाई जालिले धानको ब्याड ढाक्न दिएको सुझावमा पनि सांसदहरुले असन्तुष्टि जनाए । धेरै विगाहा जमिनमा खेति गर्न लगाईएको ब्याड ठूलो हुने भएकाले जाली लगाएर रोक्ने काम असम्भव र अव्यवहारीक भएको सांसदरुले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);