समाचार | Page 2028 of 5934 | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८३, बिहीबार

समाचार

बूढीगण्डकीका विषयमा कांग्रेस महामन्त्री शर्माको सुझावः ओलीले आत्मालोचना गर्नु, भट्टराईले लज्जाबोध नगर्नु 

काठमाडौं । मन्त्रीपरिषद्ले बूढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय फिर्ता गरेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले त्यसको स्वागत गरेका छन् ।

मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी गेजुवा वाटर एण्ड पावर ग्रुपलाई दिने निर्णय फिर्ता लिएको थियो । मन्त्रीपरिषद्ले उक्त आयोजना स्वदेशी लगानीमै बनाउने निर्णय समेत गरेको छ ।

‘डिजेल र पेट्रोल खरिद गर्दा प्रतिलिटर अघि ५ पछि १० रुपैयाँ गरेर बूढीगण्डकीका लागि अर्बौं रकम जनताबाट उठिसकेको छ । मुआब्जा टुंग्याएर, सरकार र निजिक्षेत्रको लगानी सुनिश्चित गरेर यसलाई गति दिन अब ढिलाइ गर्नुहुन्न,’ महामन्त्री शर्माले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छन् ।

बूढीगण्डकी आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय अघिल्लो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको थियो । कांग्रेस महामन्त्री शर्माले ट्वीटरमा पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र डा. बाबुराम भट्टराईलाई पनि बूढीगण्डकी आयोजनासँग जोडेर सुझाव दिएका छन् ।

‘बूढीगण्डकी स्वदेशी लगानीमै निर्माण गर्ने सरकारको निर्णय स्वागतयोग्य । श्रद्देय केपी शर्मा ओलीको आत्मालोचना सुन्न पाइने अपेक्षा । ‘९ अर्ब बाँडेर खाएको’ आरोप फिर्ता लिन श्रद्देय बाबुराम भट्टराईले लज्जाबोध नगर्नुहुने आशा । आवेग परित्याग गरेर विवेक अघि लगाऔं ! अब बूढिगण्डकी बनाउन जुटौं!,’ महामन्त्री शर्माले भनेका छन् ।

०७४ मा कांग्रेस नेतृत्वको सरकारले डा स्वर्णिम वाग्ले नेतृत्वको कार्यदल बनाई गरेको अध्ययन र प्रस्ताव अनुरुप बूढीगण्डकी ‘स्वदेशी लगानीमा निर्माण गर्ने’ निर्णय गरेको उनले स्मरण गरेका छन् । ‘ओलि सरकारले विवादास्पद कम्पनी गेजुवालाई बिना प्रतिस्पर्धा सुम्पिने निर्णय गरेर भएको भविष्य अन्यौल अब रहनुहुन्न,’ उनले लेखेका छन् ।

१२ सय मेगावाटको बिद्युत उत्पादन मात्रै होइन, फेवाताल भन्दा दशौंगुणा ठूलो जलाशय, वृहत् पर्यटनको केन्द्र, पिउने पानी र सिँचाइको विशाल भण्डार समेत हुने यस्तो बहुउद्देश्यीय परियोजना स्वदेशी लगानीमै बनाउनु अनेक कोणबाट जरुरी रहेको उनले जनाएका छन् । ‘अब कुनै बिघ्न आउन नदिन सरकार, प्रतिपक्ष र दलहरु गम्भीर बन्न जरुरी छ,’ उनले भनेका छन् । समृद्धिको साझा दायित्व, आवेगमुक्त साझा अठोटमा देश जुट्नुपर्ने उनले जनाएका छन् ।

कैलालीमा दुईवटा मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–३ मा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य दुई जना भने घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेश ०२–००४ प १११ नम्बरको मोटरसाइकल र से ४ प ४७३० नम्बरका मोटरसाइकल गएराति सवा ९ बजे आपसमा ठोक्किएका हुन् । दुर्घटनामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ का ३० वर्षीय पुरन कुमार मडै र कैलालीकै कृष्णपुर ५ का ३२ वर्षीय लोकेन्द्र पार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक दुवै जना मोटरसाइकल चालक हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गएराति सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाकलको पछाडि बसेका दुई जना घाइते भएका छन् । उनीहरुको अवस्था खतरामुक्त छ । दुवै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

 

युवाले लिए परम्परागत बाजाको प्रशिक्षण

भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्बर १० महालक्ष्मीको स्थानीय महालक्ष्मी भजन दाफाको आयोजनामा लालाखिं (एक प्रकारको बाजा) तथा म्ये पिदानेगू ज्याझव (स्थानीय गीत गाउने प्रशिक्षण) कार्यक्रम बिहीबार सम्पन्न भएको छ । स्थानीयस्तरमा बाजागाजाको प्रशिक्षण सम्पन्न भएपछि पिदानेगू (दिक्षान्त समारोह जस्तै) गरिएको थियो । यो बेला प्रशिक्षार्थीलाई देवतास्थानमा लगेर बाजा प्रदर्शन गर्न लगाउने हुन्छ ।

बिहीबार स्थानीय नासद्य (देवता घर) मा पुगेर प्रशिक्षार्थीलाई बाजा बजाउन लगाएर प्रदर्शन गराइएको थियो । साथसाथै नेवार संस्कृति अनुसार त्यो बेला प्रशिक्षार्थीका आफन्तहरू आएर प्रशिक्षार्थीलाई सम्मान गर्ने गरिएको थियो । त्यस अवसरमा उनीहरू सामूहिक पैसा हालेर भोज पनि खाएका थिए ।

कार्यक्रमका संयोजक पुन्यराम दुवालका अनुसार लालाखिंमा १३ जना र म्येमा ४ जना प्रशिक्षार्थी रहेका थिए । उनीहरू सबै आठवर्षदेखि ३२ वर्षसम्मका युवा रहेको उनले बताए ।

बाजाका प्रशिक्षार्थी इन्जिनियर सुमन दुवाललले आफ्नै टोलमा भएको लालाखिं बजाउने कला सिकेको बताए । इन्जिनियर भएर पनि आफ्नो बाबुबाजेदखि चल्दै आएको लालाखिं सिक्न ६ महिना लगाएर आफूले बाजा बजाउन सिकेको उनले बताए ।

‘हाम्रो पुरानो बाजालाई पनि बचाउनुपर्छ, यसलाई मर्न दिनुहुन्न भनेर मैले पनि बाजा सिंके,’ बाजा प्रशिक्षणको अन्तिम दिन बिहीबार बाजा बजाउँदै इन्जिनियर दुवालले भने, ‘मैले मात्रै होइन, यो प्रशिक्षणमा टोलका आठ वर्षदेखि ३२ वर्षसम्मका युवा सहभागी छन् ।’

प्रशिक्षण ६ महिना भएको थियो । लालाखिंको प्रशिक्षण कृष्णराम देउपाला, म्ये शंकर सुवालले सिकाएका थिए ।

कार्यक्रममा विष्णुभक्त दुवाललगायतलाई सम्मान गरिएको थियो । साथै स्वगं वियगू ज्या (सगुन दिने कार्यक्रम) पनि भएको थियो ।

सुनको मूल्य ९९ हजार पाँच सय रुपैयाँ

काठमाडौँ । सुनको भाउ शुक्रबार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यसअघि, बिहीबार सुन तोलाको ९९ हजारमा किनबेच भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार  निर्धारण भएको छ ।  चाँदीको भाउ भने २१ रुपैयाँले बढेको छ। बिहीबार एक हजार तीन सय ३४ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ५५ रुपैयाँ निर्धारण भएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ २४ पैसा र बिक्री दर १२१ रुपैयाँ ८४ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७७ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ ५३ पैसा र बिक्री दर १५९ रुपैयाँ ३२ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ९५ पैसा मात्र र बिक्री दर १३० रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ६६ पैसा र बिक्री दर ९१ रुपैयाँ ११ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ५४  पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ दुई पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली नाै रुपैयाँ ८० पैसा र बिक्री दर नाै रुपैयाँ ८५ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ६ पैसा र बिक्री दर १९ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैयाँ ३३ पैसा र बिक्री दर ३२ रुपैयाँ ४९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १८ पैसा र बिक्री दर ३३ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८८  पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९४ पैसा र बिक्री दर नाै रुपैयाँ  ९९ पैसा कायम भएको छ ।

किसानलाई माछाका भुरा प्रदान

लमजुङ । मर्स्याङदी  गाउँपालिकाका माछापालन गर्ने किसानले माछाको भुरा सहयोग गरेको छ । गाउँपालिका पशु सेवा शाखाले माछापालन गर्ने ९ जना किसानलाई माछाको भुरा प्रदान गरेको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले किसानलाई माछाको भुरा हस्तान्तरण गरेका हुन् । गाउँपालिकाको आर्थिक वर्ष ०७८/०७९ पशुसेवा तर्फको वार्षिक स्वीकृत कार्यक्रमको मत्स्य मिसन कार्यक्रम अन्तर्गत माछाको भुरा प्रदान गरिएको हो ।

गाउँपालिकाको वडा- ४, ५, ६, ७ र ९ का माछापालक किसानलाई भुरा प्रदान गरिएको पशु सेवा शाखाका प्रमुख पवन श्रेष्ठले बताए । उनका अनुसार माछापालन गर्दै आएका किसानलाई व्यवसायमा थप सहज बनाउन निःशुल्क रुपमा भुरा प्रदान गरिएको हो । ९ जना किसानलाई गरी १५ हजार भुरा दिइएको छ ।  तनहुँको खहरेबाट ९५ हजार रुपियाँमा भुरा खरिद गरी ल्याएर किसानलाई दिएको गाउँपालिकाले जनाएको छ । माछाको भुरा कार्प जातको छ ।

कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, रोही कार्प र नैनी कार्प माछा छन् । माछा करिव ९ महिना उमेरको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले मत्स्य मिसन कार्यक्रम गाउँपालिकाले कार्यक्रमका लागि १९ लाख बजेट रहेको छ । अहिले भुरा प्रदान गरिएका किसानलाई यसअघि माछा पोखरी निर्माणका लागि ५० प्रतिशत अनुदान दिएको थियो । अहिले माछा पोखरी निर्माण भइसकेको छ ।

मनाङमा नयाँ पाँच दल दर्ता

लमजुङ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा ५ वटा दल दर्ता भएका छन् । मनाङमा राष्ट्रिय मान्यता प्राप्त ६  वटा ठूला दलबाहेक पाँच दलले निर्वाचनका लागि दल दर्ता गराएका हुन् ।

मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार राष्ट्रिय मान्यता प्राप्त ६ दलमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले नयाँ  पाँच दलले नाम दर्ता गराएका छ्न् ।

जसमा राप्रपा, राप्रपा नेपाल, नेपाल कम्युनिष्ट पार्टी समाजवादी, सामाजिक एकता पार्टी र उन्नत लोकतन्त्र पार्टी दर्ता भएका हुन् । आयोगले तोकेको समयमा जिल्लामा रहेका पाँच दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन् ।

टुँडिखेलमा शनिबारदेखि लोकदोहोरी महोत्सव, उपराष्ट्रपतिले उद्‌घाटन गर्ने

काठमाडौं । काठमाडौंको टुँडिखेलमा शनिबारदेखि ‘राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८’ हुने भएको छ । आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो । पाँच दिनसम्म चल्ने महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

खुल्ला प्रतियोगीतामध्येकै पहिलो ठूलो पुरस्कार राशीको महोत्सवमा ७० भन्दा बढी समूहको सहभागिता रहने महोत्सव मूल आयोजक समितिका अध्यक्ष नमराज ढुंगानाले जानकारी दिए । महोत्सवमा प्रथम हुने समूहलाई ५ लाख रुपैयाँसहित अन्य पुरस्कार प्रदान गरिने ढुंगानाले जानकारी दिए । त्यस्तै, द्वीतिय, तृतिय र सान्त्वना हुने समूहले क्रमश ३ लाख, २ लाख र १ लाख रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको निर्णायकमा गायक-गायिकाहरु पुरुषोत्तम न्यौपाने, घमेश दुलाल, हरि थापा, सीता थापा, रीता थापा, कमलीकान्त भेटवाल र शिव हमाल रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगितामा अमृत खाती, मिनामैया थापा, भिमसेन खतिवडा, सरोज लामिछाने, रविन लामिछाने, कल्पना दाहाल र रामकुमार नेपाली सम्मिलित निर्णायक मण्डलसमेत रहने छ । निर्णायक मण्डलका अमृत खातीले प्रतिस्पर्धीहरुको मूल्यांकन हुने आधारका बारेमा जानकारी गराएका थिए । महोत्सवमा उत्कृष्ट गायक-गायिका एवं नवप्रतिभा पुरस्कार समेत प्रदान गरिनेछ ।

महोत्सवमा ६४ समूहबाट विभिन्न जात जातिहरुको संस्कृति झल्कने झाँकी प्रदर्शनी गरिने, विभिन्न विधाका चर्चित कलाकारहरुको दैनिक प्रस्तुति रहने, विभिन्न स्रष्टा सर्जकलाई सम्मान गरिने साथै निःशुल्क स्वास्थ्य परीक्षणको समेत व्यवस्था गरिएको छ ।

टुबोर्गको प्रस्तुती रहेको महोत्सवमा मुख्य प्रायोजनमा बागेश्वरी खड्का हाउजिङ डेभलपर्स रहेको छ । आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडका निर्देशक श्याम धितालले नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने उद्देश्यका महोत्सव आयोजना गरिएको बताउँदै दर्शकलाई प्रवेश नि:शुल्क गरिएको जानकारी दिए ।

लुम्बिनीमा सत्ता गठबन्धनको भागबण्डामा एकीकृत समाजवादी एक्लियो

बुटवल । सत्ता गठबन्धनले निर्वाचनमा तालमेल गरेर जाने बताए पनि लुम्बिनी प्रदेशमा भने एकीकृत समाजवादी बाहेकको गठबन्धन गरिएको छ । कतिपय जिल्लामा भएका सिट बाँडफाँटमा पनि नेकपा एकीकृत समाजवादीलाई समेटिएको छैन । गठबन्धनमा सहभागी कांग्रेस र माओवादी केन्द्रले वास्ता गर्न छाडेपछि समाजवादीले भने गठबन्धन तोड्ने सम्मको चेतावनी दिएको छ ।

गुल्मीका १२ पालिकामा गरिएको चुनावी तालमेलका लागि पनि एकीकृत समाजवादीलाई बेबास्ता गरिएको छ । गुल्मीका १२ पालिकामध्ये आठवटा नेपाली कांग्रेस र चारवटा माओवादी केन्द्रले लिने सहमति भएको छ । गुल्मीमा १० वटा गाउँपालिका र दुई वटा नगरपालिका छन् । कांग्रेस सभापति खिलध्वज पन्थीले कांग्रेसले आठ र माओवादीले चार पालिका लिने सहमति भएको बताए ।

लुम्बिनी प्रदेशमा गठबन्धनका तर्फबाट सार्वजनिक गरिएको सहमति पत्रमा नेकपा एकीकृत समाजवादीलाई सहभागी गराइएको छैन । गठबन्धनको तर्फबाट सार्वजनिक गरिएको सहमति पत्रमा नेपाली कांग्रेसका प्रदेश अध्यक्ष अमरसिंह पुन, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष शुदर्शन बराल, जनता समाजवादी पार्टीका अशोककुमार यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष बद्रे आलमले हस्ताक्षर गरेका छन् ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज डा. बालकृष्ण चापागाईंले आफ्नो दललाई बाइपास गर्न खोजिएको भन्दै त्यसो गरिए गठबन्धन धरापमा पर्ने चेतावनी दिए । ‘समाजवादीलाई हेप्न खोजिएको छ, यदि त्यसो भयो भने गठबन्धन नै धरापमा पर्न सक्छ,’ उनले भने ।

७५ लाख बालबालिकालाई आजदेखि टाइफाइडविरुद्धको खोप

काठमाडौं । १५ महिनादेखि १५ वर्ष उमेरका ७५ लाख बालबालिकालाई आजदेखि टाइफाइडविरुद्धको खोप लगाइँदैछ । स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका अनुसारका प्रमुख सागर दाहालका अनुसार गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध गराएको हाे ।

खोप अभियानअन्तर्गत देशभर ५६ हजार ४२९८ खोप केन्द्र र विद्यालयमा खोप लगाइनेछ । यसका लागि १० हजार स्वास्थ्यकर्मी र एक लाख १२ हजार ८५८ स्वयमसेवक परिचालन गरिएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार मात्र दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा खोप अभियानको उद्घाटन गरेका थिए ।  केही क्षेत्रमा केही दिनदेखि खाेप लगाउन सुरु भए पनि आजदेखि अभियान नै  सुरु भएकाे हाे ।

नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो । नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । पाँच वर्षमा नेपालमा चार लाख ५० हजारभन्दा बढीमा टाइफाइड रोगको संक्रमण देखिएकाे स्वास्थ्य विभागले जनाएकाे छ । अभियान १८ वैशाखसम्म चल्नेछ ।

प्रथम मुलपानी महोत्सव सुरु

काठमाडौं । बिहीबारदेखि काठमाडौंको मुलपानीमा प्रथम मुलपानी महोत्सव सुरु भएको छ । श्री श्रृषेश्वर महादेव क्षेत्र परिसर संरक्षण समाज मुलपानीको आयोजनामा महोत्सव सुरु भएको हो । काठमाडौं मुलपानीको खुल्ला चौरमा महोत्सव सुरु भएको हो । महोत्सव चैत २४ गते बिहीबारदेखि वैशाख ५ गतेसम्म चल्ने जनाइएको छ । काठमाडौंको नागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मुलपानी चौर मुलपानी काठमाडौंमा मेला भएको हो ।

मेलाको प्रा.डा. श्रृषिराम पोखरेलले एक भव्य समारोहबीच बिहीबार उद्घाटन गरे । कार्यक्रममा नागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले महोत्सवले नागेश्वरी मनोहरा नगरपालिकाको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रम आयोजक श्री श्रृषेश्वर महादेव क्षेत्र परिसर संरक्षण समाज मुलपानीका अध्यक्ष ८० वर्षीय जग्गनाथ खनालले स्थानीय गुरुकुल शिक्षा पाठशालाको सहयोगार्थ मेला आयोजना गरिएको जनाए । कार्यक्रममा विभिन्न स्थानीय राजनीतिक दलका प्रतिनिधिले पनि आआफ्नो धारण राखेका थिए ।

महोत्सवमा विभिन्न सुलभ मूल्यका उपभोग्य सामाग्रीहरूको व्यापारिक स्टलहरू, बालबालिकाहरूका लागि बाल उद्यानको व्यवस्था (रोटेपिंग, नाउ, ब्रेक डान्स, मिकी माउस, डयागन, वाटर बोट आदि), विभिन्न खानाका स्टल, आइसक्रिम, आइसमोलालगायतका थुप्रै परिकाका साथमा कृषि उत्पादनका सामान, स्थानीय कलाकार तथा राष्ट्रिय स्तरका कलाकारद्वारा भरपुर मनोरञ्जन गराइने जनाइएको छ । नववर्ष २०७९ को पावन अवसरमा विशेष सांस्कृतिक कार्यक्रमका साथ मेला गरिएको जनाइएको छ ।

मेलामा सर्वसाधारणका लागि प्रतिव्यक्ति ५० टिकट दर राखिएको छ । विद्यार्थीका लागि ४० प्रतिव्यक्ति टिकट दर राखिएको छ । साथै अशक्त, अपांगका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

मेलामा नागेश्वरी, मनोहरा, बौद्ध, जोरपाटी, नरेफाँट, चाँगुनारायणलगायतका काठमाडौं, भक्तपुर, ललितपुरबाट लाखौँ मानिस आउने विश्वास गरिएको छ । मेलाको व्यवस्थापन आइटी एण्ड सप्लायर्स ग्रुप प्रालिले गरेको हो ।

जनता प्रगतिशिल एक्लै चुनावमा भिड्ने: त्रिपाठी

भैरहवा । जनता प्रगतिशील पार्टी नेपालले स्थानीय निर्वाचनमा एक्लै लड्ने भएको छ । आज भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष हृदेश त्रिपाठीले कुनै पनि पार्टीसँग गठबन्धन नगरि एक्लै चुनावमा भिड्ने बताएका हुन् । उनले कुनै पनि पार्टीमा वैचारिक बहस नभएको र विगत देखि नेपाली राजनीतिको केन्द्रविन्दुको रुपमा राष्ट्रवाद रहेको तर देशभक्तिले खासै चर्चा नपाएको बताए ।

उनले राष्ट्रपति, प्रधानमन्त्री, संघीय निर्वाचनका सांसदलाई विभिन्न अभियोग लगाए हटाउन सकिने व्यवस्था भएपनि स्थानीय निर्वाचनबाट चुनिएका जनप्रतिनिधीलाई कुनै अभियोग लगाएर हटाउने व्यवस्था नभएकोले दलिय आधारमा निर्वाचन हुन नहुने धारणा व्यक्त गरे ।

मुलुकमा निर्यातमुखी व्यापार नभएर आयातकेन्द्रित भएकोले अहिले अर्थतन्त्र संकटमा परेकोले दलहरुले समयमै विचार नपु¥याए देश दुर्घटनामा पर्ने अध्यक्ष त्रिपाठीले बताए ।

‘देशका अधिकांश राजनैतिक दलहरुले समाजका विविध वर्गलाई आफ्नो आधारभूत वर्गको रुपमा अंगालेको देखिन्छ । केही सर्वहाराको प्रतिनिधित्वको दावी गर्छन् । कोही सहरीया मध्यमवर्गको प्रतिनिधि पात्रको रुपमा उपस्थित छन् । आधुनिक नेपाली राज्य स्थापना भएदेखि देशको कुल जनसंख्याको ६५ प्रतिशत भन्दा बढी किसानको हकहितको प्रतिनिधीत्व पाइँदैन । किसानलाई इमान्दार करदाता र भलादमी मतदाताको रुपमा दल र राज्यले लिएको छ’ त्रिपाठीले भने ।

बेपत्ता बालककाे पाँच दिनपछि छिमेकीको सेफ्टी ट्यांकीमा शव फेला, घटनाको फरक फरक पाटोबाट अनुसन्धान गरिनेछ : प्रहरी

सर्लाही । छिमेकीले हत्या गरेर सेफ्टी ट्यांकीमा लुकाएको अवस्थामा ८ वर्षे बालकको शव फेला परेको छ । पाँच दिनदेखि बेपत्ता मलंगवा नगरपालिका–१२ गम्हरियाका दिपेन्द्र ठाकुरको छोरा ८ वर्षीय मिठू भन्ने आकाश ठाकुरको शव बिहीबार छिमेकीको सेफ्टी ट्यांकीमा फेला परेको प्रहरीले जनाएको हो । गत २० चैत आइतबार राति ८ बजे गाउँमै न्वारनको भोज खान जाँदा आकाश बेपत्ता भएका थिए । सोही राति ११ बजे आकाशका परिवारले उनी बेपत्ता भएको प्रहरीमा जानकारी गराएकाे प्रहरीले पुष्टि गरेकाे छ ।

बालक हराएकाे जानकारी पाएलगतै घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीले छिमेकी जगदिश ठाकुर लगायतलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सोही क्रममा बालकको शव लुकाएको ठाउँ पत्ता लागेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका अनुसन्धान अधिकृतले बताए । पक्राउ परेका अभियुक्तले देखाएको स्थानमा सेफ्टी ट्यांकीको ढकन खोलेर हेर्दा बोराभित्र हालेर लुकाएको अवस्थामा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार बिहानै सेफ्टी ट्यांकीबाट निकालिएको बालकको शव मुचुल्कासहित पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा मलंगवामा राखिएको छ । बालकको हत्यामा संलग्न भएको आरोपमा जगदिश ठाकुरसहित उनको परिवारका ७ जना सदस्यहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । प्रारम्भिक अनुसन्धाबाट अभियुक्तहरूले बालकको अपहरण गरेकै दिन हत्या गरेको आशंका गरिएको छ ।

अभियुक्तहरूले बालकका बुबालाई फोन गरेर फिरौतीसमेत मागेको र पैसा नपाएपछि हत्या गरेको पीडित पारिवारिक स्राेतले बताए पनि यसकाे पुष्टि भइसकेको छैन । बेपत्ता बालकको खाेजी गरेर उद्धार गर्ने उद्देश्यसहित खटिएकाले घटनाको अन्य पाटोबारे अनुसन्धान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुडाथोकीले बताए । तर, बालककाे शव फेला परेसँगै घटनाबारे थप अनुसन्धान थालिएकाे उनले बताए ।

‘बालकको हत्या गर्नुपर्ने कारण लगायतका बारेमा हामी आनुसन्धान गरिरहेका छौँ’, उनले भने, ‘पहिला त जिउँदो वा मृत जुन अवस्थामा भए पनि जतिसक्तो चाँडो बालक फेला पार्नुपर्‍यो । हामी त्यता लाग्यौँ । आज बालकको शव फेला परेको छ । बाँकी घटनाक्रम पनि थप अनुसन्धानबाट छिटै खुल्छ ।’ घटनाको फरक फरक पाटोबाट अनुसन्धान गरिने नायव उपरीक्षक बुडाथोकीको भनाइ छ ।

बिहीबार बिहानै सेफ्टी ट्यांकीबाट बालकको शव निकालेसँगै पुरौ गाउँ शाेकमा डुबेको छ । छोराको शव देख्नेबित्तिकै मृतक बालककी आमा महासुन्दर ठाकुर पटकपटक अचेत भइरहेकी आफन्तले जनाएका छन् ।  वैदेशिक रोजगारीका रहेका बालकका बुबा दिपेन्द्र छोरा बेपत्ता भएको खबर पाएपछि दुई दिनअघि मात्र घर आइपुगेका छन् । हत्या गरिएका आकाश दिपेन्द्रका जेठा छोरा हुन् भने उनका १ वर्षका अर्का एक छोरा र दुई छोरी छन् ।

 नेप्सेमा दोहोरो अंककाे सुधार

काठमाडाैं । यस हप्ता लगातार  चार दिन  घटेको बजार पाँँचाैं दिन बिहीबार भने दोहोरो अंकले उकालो लागेको छ  । ३५ दशमलब ६९ अंकले बजार उकालो लाग्दा २४ सय ६४ दशमलब ३६ बिन्दुमा आएर बजार बन्द भएको छ ।

बजार उकालो लागे पनि  कारोबार रकममा भने खासै उल्लेखनीय सुधार आएको  छैन । २२४  वटा  कम्पनीको सेयर कारोबार हुँदा कारोबार रकम भने दुई अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  २२४ वटा कम्पनीमध्ये १९० वटा हरियो २७ वटा रातो र सातवटा भने स्थिर रहेका छन् ।

बजार उकालो लाग्दा नेश्डो लघुवित्त र हिमालयन पावर  दुई कम्पनी सर्किट लेबलमा कारोबार भएका छन् । नेश्डो लघुवित्तको अन्तिम कारोबार १७ सयमा र हिमालयनको भने ४६२ रुपैयाँमा भएको छ । यसैक्रममा  नेपाल दूरसञ्चारको शेयर मूल्य भने ६२ अंकले बढ्दा अन्तिम कारोबार ११३० मा भएको छ ।

अत्याधिक घट्नेमध्ये राष्ट्रिय उत्थान ७ दशमलव ७१ प्रतिसतले  घट्दा १५ सय ३२ मा कारोबार भएको छ भने इमजिन नेपाल ६ दशमलव ६१ प्रतिशतले घट्दा १११२ मा अन्तिम कारोबार भएको छ ।

बजारमा सबैभन्दा धेरै कारोबार हुनेमध्ये नबिल बैंक ७ करोड ३८ लाख बराबरको भने प्राइम बैंक ६ करोड ७१ लाख बरबरको सेयर कारोबार भएको छ ।  अत्याधिक बढ्ने क्रममा भने ३ दशमलब ५९ प्रतिशतले अन्य इन्डेक्स र १ दसमलब ७ प्रतिसतले डेभलपमेन्ट बैक इन्डेक्स उकालो लागेको छ ।

म्याग्दीमा पाँच दलीय गठबन्धन

पोखरा । म्याग्दीमा पाँच दलीय सत्ता गठबन्धन हुने भएको छ । आउँदो निर्वाचनका लागि पाँचवटै दलका जिल्ला नेतृत्व बसेर सबै पालिकामा गठबन्धन गर्ने निर्णय गरेका हुन् । यहाँ ६ वटा पालिका छन् । कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को संयोजकत्वमा बिहीबार कांग्रेस पार्टी कार्यालय बेनीमा बसेको पाँच दलको बैठकले साझा उम्मेद्वार घोषणा गरेर जाने सहमति गरेका हुन् ।

वडा तहबाट आएको रिपोर्टको आधारमा साझा उम्मेद्वारको टुंगो लाग्ने नेताहरूले बताएका छन् । चुनावी तालमेलका लागि जिल्ला र पालिकास्तरीय संयन्त्रसमेत निर्माण गरिएको छ । बैठकमा माओवादी केन्द्रबाट जिल्ला संयोजक रेशम जुग्जाली, नेकपा एकीकृत समाजवादीबाट जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा, जनता समाजवादीबाट देवेन्द्रबहादुर विश्वकर्मा र राष्ट्रिय जनमोर्चाबाट जिल्ला अध्यक्ष छवि विश्वकर्मा सहभागी थिए ।

२०७४ को निर्वाचनमा जिसस उपप्रमुखसहित एक नगर प्रमुख र तीन गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र १५ वडामा कांग्रेसले जितेको थियो । पाँचवटा वडामा माओवादी केन्द्र विजयी भएको थियो । बाँकी पालिकाको प्रमुख, उपप्रमुखसहित वडाहरू एमालेले जितेको थियो भने २ वडा स्वतन्त्र उम्मेद्वार विजयी भएका थिए । बेनी नगरको उपप्रमुख एमालेको समर्थनमा राप्रपाले जितेको थियो ।

नवनियुक्त कानुनमन्त्रीको दल बदल : नेमकिपाबाट एमाले हुँदै नेकपा एस पुग्दा मन्त्री

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) छाडेर २०४८ अघि नेकपा एमालेमा जोडिएका थिए, नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी । संघीय संसद्को निर्वाचनमा समेत उनी २०४८ मा प्रतिस्पर्धी बने । तर, पराजित हुन पुगेका थिए । उनको घर दैलेख हो । बाँकेको नेपालगञ्जमा केही वर्ष वकालत गरेर उनी काठमाडौंमा छिरेका हुन् ।

हाल उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)निकट छन् । नेकपा विभाजनको क्रममा उनी उक्त पार्टीका एक जना अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड र वरिष्ठ नेता नेपालनिकट थिए । सर्वोच्च अदालतको २३ फागुनको फैसलासँगै नेकपा विभाजित हुँदा एमालेमै रहे पनि अन्ततः २ भदौमा नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गर्दा नेपालनिकट हुन पुगेका हुन् ।

काठमाडौंको अनामनगरमा उनको ‘ल फर्म’ छ । एमाले निकट कानुन व्यवसायीहरूको संगठनमा आबद्ध हुँदै नेपाल बार एसोसिएसनको उपाध्यक्ष पनि भए । १० वर्षे सशस्त्र विद्रोहपछि तत्कालीन नेकपा (माओवादी केन्द्र) शान्ति प्रक्रियामा आउँदा उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध बन्दीले अनेक युद्ध अपराधसम्बन्धी मुद्दा मामिला गरे ।

तर, हाल तत्कालीन प्रधानमन्त्री केपी ओलीले ५ पुस र ८ जेठको प्रतिनिधिसभा विघटन गर्दा मुद्दाको पक्षबाट बहस गरेका थिए । मुद्दाको पक्ष वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेता नेपालसहित १३९ जना सांसद थिए । मुद्दा पनि पक्षले जित्यो । यसपछि गठबन्धनका नेतहरूसँग उनले मन्त्रीका लागि आन्तरिक रूपमा छलफल तीव्र पारेको उनी निकट एक कानुन व्यवसायी बताउँछन् ।

‘उहाँ अस्ति गजेन्द्रबहादुर हमाल मन्त्री हुनेबेलामै मन्त्री हुने अवस्थामा हुनुहुन्थ्यो र बढी विवाद पनि भयो । त्यसले गर्दा रोकिएको थियो । अहिले उहाँ मन्त्री हुनुभयो’, ती कानुन व्यवसायीले भने । बन्दीले अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रस्तावलाई १२ बुँदे व्याख्यात्मक घोषणामार्फत पास गराउन भूमिका खेलेको पनि बताउँदै आएका छन् । र, उनी एकीकृत समाजवादीका अध्यक्ष नेपालका सम्धी सोमप्रसाद पाण्डेका ज्वाइँ हुन् ।