समाचार | Page 2 of 5953 | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

समाचार

कोस्टारिकाको राष्ट्रपतिमा लाउरा फर्नान्डेजद्वारा शपथ ग्रहण

लाउरा फर्नान्डेजले कोस्टारिकाको राष्ट्रपतिको रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सान जोसस्थित नेशनल स्टेडियममा आयोजित एक विशेष समारोहका बीच उहाँले आगामी चार वर्षका लागि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको हो । ३९ वर्षीया फर्नान्डेजलाई निवर्तमान राष्ट्रपति रोड्रिगो चाभेसले राष्ट्रपतीय ओहोदाको प्रतीक ’स्यास’ हस्तान्तरण गर्नुभयो । उक्त समारोहमा विभिन्न देशका विशिष्ट अतिथिहरूसहित करिब २० हजार सर्वसाधारणको उपस्थिति रहेको थियो । सोभरेन पिपल्स पार्टी’ का तर्फबाट उम्मेदवार बन्नुभएकी फर्नान्डेजले गत फेब्रुअरी १ मा भएको निर्वाचनमा जित हासिल गर्नुभएको थियो ।

यसअघि उहाँले राष्ट्रिय योजना तथा आर्थिक नीति मन्त्री र त्यसपछि राष्ट्रपतीय मन्त्रीका रूपमा जिम्मेवारी सम्हालिसक्नुभएको छ । राष्ट्रपतिको रूपमा आफ्नो पहिलो सम्बोधन गर्दै फर्नान्डेजले आफ्नो सरकारले अपराध नियन्त्रणलाई प्राथमिकता दिने र राज्यका निकायहरूमा लागुऔषध तस्करीको प्रभाव रोक्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सोही अवसरमा उहाँले मुलुकमा एउटा नयाँ ‘मेगा–जेल’ (विशाल कारागार) निर्माण गर्ने र विश्वकै अत्याधुनिक मध्येको एक प्रहरी निगरानी केन्द्र स्थापना गर्ने योजनासमेत घोषणा गर्नुभयो ।

हंगेरीको प्रधानमन्त्रीमा पिटर माग्यार निर्वाचित, ‘प्रणाली परिवर्तन’ गर्ने प्रतिवद्धता

हंगेरीको नवनिर्वाचित संसद (नेसनल एसेम्बली) को पहिलो बैठकले शनिवार पिटर माग्यारलाई देशको नयाँ प्रधानमन्त्रीका रूपमा निर्वाचित गरेको छ । मतदानमा संसदका कुल १९९ सदस्यमध्ये १९५ जना उपस्थित भएकोमा माग्यारको पक्षमा १४० र विपक्षमा ५४ मत परेको थियो भने एक सदस्य तटस्थ रहेका थिए । हंगेरीको ‘तिस्जा पार्टी नेता माग्यारले आवश्यक बहुमत प्राप्त गरेसँगै उनको चार वर्षे कार्यकाल औपचारिक रूपमा शुरु भएको छ । प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेपछि आफ्नो पहिलो सम्बोधनमा माग्यारले नयाँ सरकारले केवल सत्ता परिवर्तन मात्र नभई समग्र ‘प्रणाली नै परिवर्तन’ गर्ने जनादेश पाएको बताउनु भयो ।

उहाँले देशमाथि शासन गर्नुको सट्टा जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्दै राष्ट्रिय मेलमिलाप, लोकतान्त्रिक पुनर्जागरण र राष्ट्रिय एकतामा जोड दिनुभयो । यसै वर्षको अप्रिल १२ मा सम्पन्न संसदीय निर्वाचनमा माग्यार नेतृत्वको तिस्जा पार्टीले भिक्टर ओर्बानको सत्तारूढ फिडेज–केडीएनपी गठबन्धनलाई ठूलो मतान्तरले पराजित गरेको थियो । उक्त निर्वाचनमा कुल १९९ सिटमध्ये १४१ सिट जित्दै माग्यारको पार्टीले संसद्मा दुई–तिहाइ बहुमत सुनिश्चित गरेको थियो । सन् १९८१ मार्चमा जन्मिएका माग्यारले पाजमानी पिटर क्याथोलिक विश्वविद्यालयबाट कानू्रन र मानविकीमा उच्च शिक्षा हासिल गर्नुभएको छ ।

उहाँले यसअघि प्रशिक्षार्थी न्यायाधीश, अधिवक्ताका साथै परराष्ट्र मन्त्रालय र विभिन्न सरकारी निकायहरूमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ सन् २०२४ मा तिस्जा पार्टीको नेता र युरोपेली संसद्को सदस्यका रूपमा निर्वाचित हुनुभएको थियो । माग्यार प्रधानमन्त्री निर्वाचित भएपछि बुडापेस्टस्थित संसद भवन अगाडिको कोसुथ स्क्वायरमा भेला भएका समर्थकहरूले उत्सव मनाएका छन् । सो अवसरमा संक्षिप्त सम्बोधन गर्दै उहाँले हंगेरीको उज्ज्वल भविष्यका लागि आशा र एकताको आह्वान गर्नुभयो ।

देशभर आंशिकदेखि साधारणतया बदली, पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ । महाशाखाद्वारा जारी बुलेटिन अनुसार आज दिउँसो देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रहनेछ। विशेषगरी कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । तराईका भू–भागमा भने मौसम आंशिक बदली रहने प्रक्षेपण गरिएको छ ।

यसैगरी, रातिको समयमा कोशी, वागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने देखिन्छ । कोशी र वागमती प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा साथै अन्य प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

२७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेले आज बैठक बोलाएका हुन् ।साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाइएको रास्वपाले जनाएको छ ।बैठकमा पार्टीको भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही, केन्द्रीय समिति बैठकलगायतका एजेन्डामा छलफल हुनेछ ।

स्वास्थ्यको नयाँ दरबन्दीमा विभेद गरिएको भन्दै स्वास्थ्यकर्मीद्वारा विरोध प्रदर्शन

नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा हेल्थ असिस्टेन्ट (एचए), सीएमए र ल्याब टेक्निसियन समूहलाई पूर्णतः उपेक्षा गरिएको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन् ।
सरकारले ३५ वर्षपछि स्वास्थ्य सेवामा स्थायी दरबन्दी थप गरे पनि आफूहरूलाई सहभागी नगराइएको भन्दै आक्रोशित स्वास्थ्यकर्मीहरूले जनकपुरधामको जनकचोकमा नेपाल सरकार तथा स्वास्थ्यमन्त्रीको पुत्ला दहन गरी विरोध प्रदर्शन गरेका हुन् । विरोध कार्यक्रममा बोल्दै स्वास्थ्यकर्मी नवेश अधिकारीले साढे तीन दशकपछि दरबन्दी थप हुनु खुशीको कुरा भएपनि एचए, सीएमए र ल्याव समूहको दरबन्दी शून्य राखिनु न्यायोचित नभएको बताउनु भयो । उहाँले वर्तमान सरकारले मेडिकल माफियाको प्रभावमा परेर यस्तो विभेदकारी निर्णय गरेको आरोप लगाउनु भयो । अधिकारीले सरकारले तत्काल यो निर्णय नसच्याए र आफ्ना मागहरू सम्बोधन नगरे आगामी वैशाख २८ गतेदेखि काठमाडौँमा सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।
सरकारले दुई दिनअघि मात्रै स्वास्थ्य क्षेत्रमा ९ सय ७७ जना नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञको दरबन्दी थप गर्ने प्रस्ताव गरेको थियो । सो प्रस्तावलाई अर्थ मन्त्रालयले गत बुधबार स्वीकृत गरिसकेको छ । तर उक्त दरबन्दीमा केही निश्चित समूहलाई मात्र समेटिएपछि आधारभूत तहका स्वास्थ्यकर्मीहरू आफूहरूमाथि अन्याय भएको भन्दै सडकमा उत्रिएका हुन् ।

डर र प्रभावमा न्याय सम्भव छैन, महाअभियोगको त्रासबाट मुक्त भएर काम गर्नूः का.मु.प्रधानन्यायाधीश मल्ल

सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनैपनि प्रकारको डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्नेमा जोड दिनुभएको छ ।
कानून दिवसको अवसरमा आयोजितसमारोहलाई सम्बोधन गर्दै उहाँले न्यायाधीशहरूलाई निर्भीक भएर न्याय सम्पादन गर्न आह्वान गर्नभएको हो । उहाँले न्यायपालिकालाई ‘आज्ञाकारी’ बनाउने वा राजनीतिक स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । उहाँले शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनलाई कमजोर बनाउने प्रवृत्तिप्रति सचेत गराउनु भयो । विधिको शासनविरुद्ध हुने षड्यन्त्रविरुद्ध उभिने आँट र प्रतिवद्धता सबै सरोकारवालाले देखाउनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘डर र प्रभावमा न्याय सम्भव छैन, चाहे त्यो दुई तिहाइको सरकारको डर होस् वा महाअभियोगको । डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीहरूलाई आह्वान गर्दछु । एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिन्न, त्यसैले विधिको हत्या गरेर गरिने कार्यले अन्ततः निरंकुशता निम्त्याउँछ ।’
एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न नसकिने भन्दै विधिको हत्या गरेर गरिने कार्यले अन्ततः निरंकुशता निम्त्याउने स्पष्ट पार्नुभयो ।

फैसला कार्यान्वयन र कार्यचाप व्यवस्थापन न्यायपालिकाको मुख्य चुनौतीः मुख्य रजिस्ट्रार पौडेल

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले न्यायपालिकाको कार्यसम्पादनलाई प्रभावकारी बनाउन फैसला कार्यान्वयन र बढ्दो मुद्दाको कार्यचाप व्यवस्थापन नै वर्तमान समयको मुख्य चुनौती रहेको बताउनुभएको छ ।
कानून दिवसको अवसरमा आयोजित समारोहमा बोल्दै उहाँले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाबाट मात्रै नागरिकका हक अधिकारको संरक्षण सम्भव हुने बताउनुभएको हो । मुख्य रजिस्ट्रार पौडेलले संवैधानिक सर्वोच्चता, विधिको शासन र स्वतन्त्र न्यायपालिका लोकतन्त्रका आधार स्तम्भ भएको चर्चा गर्दै न्यायपालिकाले नागरिकप्रतिको उच्च समर्पण भाव र उत्तरदायित्व बोधका साथ काम गरिरहेको बताउनु भयो । उहाँकाअनुसार न्यायपालिकाले पाँचवर्षीय रणनीतिक योजनामार्फत न्याय सम्पादनलाई शिघ्र र गुणस्तरीय बनाउनुका साथै न्यायमा सर्वसाधारणको पहुँच सहज तुल्याई जनआस्था अभिवृद्धि गर्ने दिशामा निरन्तर प्रयास गरिरहेको छ । देशमा भएको आर्थिक एवं भौतिक विकाससँगै अदालतहरूमा मुद्दाको संख्या र प्रकृतिमा विविधता आउँदा कार्यचाप बढेको उहाँको भनाइ छ । फैसला कार्यान्वयनको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँले हाल देशभर करिव १ लाख २५ हजार वर्षभन्दा बढी कैद भुक्तान र ३१ अर्ब रुपैयाँभन्दा बढी जरिवाना असुल गर्न बाँकी रहेको जानकारी दिनुभयो । यो अवस्थाले कानूनको शासनकै मूल्य–मान्यतामाथि चुनौती थपेको बताउँदै उहाँले फैसला कार्यान्वयनमा सरकार र सुरक्षा निकायको सक्रिय सहयोगको अपेक्षा गर्नुभयो ।

गत वर्ष भदौ २३ र २४ गते भएको घटनाबाट न्यायपालिकाको भौतिक पूर्वाधार र मिसिलहरूमा क्षति पुगेका कारण सेवा प्रवाहमा केही असहजता आएको भएपनि नेपाल सरकार र सरोकारवालाको सहयोगमा स्थिति सहज बनाइएको उहाँले उल्लेख गर्नुभयो । न्यायिक सेवालाई नागरिकको घरदैलोसम्म पु¥याउन स्थानीय न्यायिक समितिलाई थप प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । विवाद समाधानका लागि मेलमिलाप पद्धति र ‘प्री–लिटिगेसन मिडिएसन’को सम्भावनाबारे चर्चा गर्दै उहाँले सर्वसाधारणको न्यायमा पहुँच मजबुत बनाउन निःशुल्क कानूनी सहायता र नेपाल बार एशोसिएशनमार्फत ‘प्रो–बोनो’ सेवाको विस्तार आवश्यक रहेको बताउनु भयो । स्वतन्त्र न्यायपालिकाको मूल्य–मान्यता अक्षुण्ण राख्दै न्याय प्रशासनलाई छिटोछरितो, निष्पक्ष र जनउत्तरदायी बनाउन सामूहिक प्रयास जारी रहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा एवं सहारा हुनुपर्ने बताउनुभएको छ ।
कानून दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विधिको शासन र स्वतन्त्र न्यायपालिकाको महत्वमाथि जोड दिनुभएको हो । राष्ट्रपति पौडेलले तत्कालीन समयमा राज्यशक्तिको स्रोत कार्यकारिणीमा मात्र केन्द्रित रहेको अवस्थामा उक्त ऐनको कार्यान्वयनले शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई व्यवहारिक रूपमै अगाडि बढाएको उल्लेख गर्नुभयो । वर्तमान नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार र सक्षम न्यायपालिका जस्ता लोकतान्त्रिक मूल्य–मान्यतालाई सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले कानून दिवसको मर्मलाई आत्मसात गर्न सके मात्र आत्मनिर्भर र समृद्ध नेपालको कल्पना गर्न सकिने बताउनु भयो । राष्ट्रपति पौडेलले न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्न र नागरिकलाई छिटो छरितो न्याय प्रदान गर्न आवश्यक सुधारको खाँचो रहेको औँल्याउनु भयो । उहाँले संविधानको मर्मअनुसार नयाँ कानुनको निर्माण र प्रचलित कानुनमा समसामयिक परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो ।

आधुनिक पद्धति र प्रविधिको प्रयोगमार्फत आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्नुपर्ने भन्दै उहाँले मुद्दाको शिघ्र व्यवस्थापन र न्यायिक मूल्य–मान्यताको संरक्षणका लागि सम्बन्धित सबैमा सकारात्मक सोच र प्रेरणा जाग्नुपर्ने बताउनु भयो ।

रास्वपाको प्रशिक्षण कार्यक्रम शुरु

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सांसदहरुका लागी आयोजना गरेको संसदीय अभ्यास तथा नेतृत्व विकास सम्बन्धी प्रशिक्षण शुरु भएको छ ।
शनिवार ललितपुरमा पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले र संसदीय दलका उपनेता गणेश पराजुलीले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुभएको हो । प्रशिक्षण कार्यक्रममा सांसदहरुलाई संसदीय समितिमा हुने छलफल, संसदमा राख्ने प्रश्तुती, संसदीय मर्यादा, जिम्मेवारी, दायित्व तथा विषयगत छलफलसम्बन्धी प्रशिक्षण दिइने जनाइएको छ । सांसदहरुको क्षमता विकास गर्ने, आत्ममुल्यांकन गर्ने, सिक्ने, अनुभव आदान–प्रदान गर्ने र भविष्यको राजनीतिक संस्कार निर्माण गर्ने अवसरका लागी प्रशिक्षण कार्यक्रम राखिएको रास्वपाले जनाएको छ । शनिवारदेखी शुरु भएको प्रशिक्षण आईतवारसम्म चल्नेछ । आईतवार पार्टी सभापति रवि लामिछानेले प्रशिक्षणको समापन गर्नेछन् । प्रशिक्षण कार्यक्रममा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र साह, सभापति लामीछाने भने सहभागी छैनन् ।

रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरुलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदहरुको उपस्थिति न्युन देखिएको छ ।
रास्वपाले शनिवार राखेको संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा सांसदहरु कम उपस्थित भएका हुन् । रास्वपाका १ सय ८२ जना सांसद छन् तर प्रशिक्षण कार्यक्रममा सांसदहरु कम उपस्थित भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले सार्वजानिक रुपमा नै असन्तुष्टी जनाउनुभएको छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले सांसदहरुले प्रशिक्षण कार्यक्रमलाई कम महत्व दिएको बताउनु भयो । उहाँले प्रशिक्षणमा अपेक्षित उपस्थिति नदेखिएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई प्राथमिकतामा नराख्नु संसदीय भुमिकाबाट विमुख हुने संकेत भएको बताउनु भयो । उहाँले पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम औपचारिकता मात्र नभई आत्ममूल्यांकन, अनुभव आदान–प्रदान र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अवसर भएको बताउनु भयो । तर यस्ता कार्यक्रममा सबै सांसद उपस्थित नहुनु गम्भिर विषय रहेको उहाँको भनाई छ । पराजुलीले यसको पार्टी र संसदीय दलले मूल्यांकन गर्ने चेतावनी समेत दिनुभयो । जनताले केवल नयाँ अनुहार नभई नयाँ सोच, कार्यशैली र परिणाममुखी राजनीति खोजिरहेकोले सांसदहरूले अध्ययन, तयारी, पारदर्शिता र जनउत्तरदायित्वलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनु भयो । अब राजनीति केवल नाराले मात्रै नचल्ने भन्दै उहाँले क्षमता, अध्ययन र परिणामले नै जनताको विश्वास जित्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनताले अब ‘कसले के भन्यो’ भन्दा ‘कसले के ग¥यो’ भन्ने आधारमा मूल्यांकन गर्न थालेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘जनताले केवल नयाँ अनुहार होइन, नयाँ सोच, संस्कार र कार्यशैली खोजिरहेका छन् । राजनीतिलाई सेवा, जिम्मेवारी र परिणामसंग जोड्ने जनअपेक्षा अहिले बलियो बनेको छ । यस्तो समयमा जनताबाट प्राप्त विश्वासलाई परिणाममा बदल्ने जिम्मेवारी हामी सबैको काँधमा आएको छ । हामीले राजनीतिमा नयाँ पुस्ताको उर्जा, पारदर्शिता, अध्ययनशीलता र जनउत्तरदायित्वको अभ्यास गर्नुपर्ने आवश्यकता छ । संसद र संसदीय समितिको प्रभावकारी भुमिका, पार्टी र सरकारबीचको समन्वय, संसदीय मर्यादा, आचरण र विषयगत तथ्यमा आधारित बहस, जनतासंग जोडिएको उत्तरदायी व्यवहार तथा प्रभावकारी नेतृत्व विकासको अपेक्षा हामीले राखेका छौँ । आजको राजनीति केवल नाराले चल्दैन, क्षमता, तयारी, अध्ययन र परिणामले चल्दछ । जनताले अब कसले के भन्यो भन्दा पनि कसले के गर्यो भन्ने मुल्यांकन गर्न थालेका छन् । त्यसैले हामी सबैले आफुलाई निरन्तर सक्षम, जिम्मेवार र जनमुखि बनाउदै लैजान अति आवश्यक रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले शुरुदेखि नै सुशासन, पारदर्शिता, जवाफदेहिता र परिणाममुखी राजनीतिलाई आफ्नो मुल आधार बनाएको छ । पार्टीको वाचा पत्र, सरकारका १ सय प्राथमिकता तथा जनतासंग गरेका प्रतिवद्धताहरुलाई व्यवहारमा उतार्न सक्षम सांसद र सशक्त संसद आवश्यक रहेको छ । यो प्रशिक्षण केवल औपचारिक कार्यक्रम होइन, यो आत्ममुल्यांकन गर्ने, सिक्ने, अनुभव आदान–प्रदान गर्ने र भविष्यको राजनीतिक संस्कार निर्माण गर्ने अवसर पनि हो । हामीले आयोजना गरेको यो कार्यक्रम ११ बजेबाट शुरु गर्ने तय गरिएको थियो । संसदीय दलमा निरन्तर सूचना प्रवाह भएको थियो तर मैले सबै सांसदहरु यहाँ उपस्थित भएको देखेको छैन । संसदीय दलको उप–नेताको हैसियतमा म यहाँहरुलाई केही अनुरोध गर्न चाहन्छु, पार्टीले बिशेष गरि संसदीय दलमा उपस्थित हुनुभएका सबै सांसदहरुको क्षमता बिकासका लागि आयोजना गरेका यस्ता कार्यक्रमलाई कम महत्व दिइनु र त्यसपछि आफ्ना अन्य कामलाई प्राथमिकतामा राखिनु भनेको संसदीय भुमिकाबाट बिमुख हुने प्रयास गर्नु हो । पार्टी र संसदीय दलको तर्फबाट यी कुरालाई मुल्यांकन गरिनेछ ।’ 
उहाँले प्रशिक्षणको अन्तिमसम्म सहभागी भई यसको प्रभावकारिता मूल्यांकन गर्न र कमजोरी सुधारका सुझाव दिन पनि सांसदहरूलाई आग्रह गर्नुभयो । प्रशिक्षण कार्यक्रम केवल सुरुवात मात्र भएको र आगामी दिनमा थप विषय समेटेर नियमित प्रशिक्षण सत्र सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । उहाँले आगामी अधिवेशन र बजेटको व्यस्ततालाई ध्यानमा राख्दै केही सत्रहरू स्थगित गरिएको बताउनु भयो ।

अध्यादेशपछि राखेपको बोर्डमा रिक्तताः एशियन गेम्स र १० औं राष्ट्रिय खेलकुदको तयारी प्रभावित नहुने सदस्यसचिवको दाबी

सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष अध्यादेश, २०८३ जारी गरेपछि अघिल्ला सरकारले गरेका राजनीतिक नियुक्त खारेज भएसँगै नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्डमा पदेनहरूको बाहुल्यता छ । ३७ सदस्य रहेको बोर्डमा १५ सदस्य बाँकी छन् । जसमा अधिकांश पदेन नै छन् । खेलकुदको योजना, बजेट निर्धारण, कार्यतालिका र विकास विस्तारका लागि राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले राखेपको सात सदस्यीय कार्यकारी समितिलाई जिम्मेवारी दिएको थियो । तर अध्यादेश जारी भएसँगै चार जनाको पद गइसकेको छ भने अब त्यहाँ कर्मचारी मात्र सीमित छन् ।
यससँगै नेपालले सहभागिता जनाउने आगामी एशियन गेम्सका लागि तयारी र नेपाली खेलकुदको महत्वपूर्ण घरेलु प्रतियोगिता दशौं राष्ट्रिय खेलकुदको तयारीबारे के हुन्छ ? भन्ने चासो बढी रहेको छ । साथै मिसन–२०२६ को तयारीमा रहेकामध्ये ६ खेलले मात्र प्रशिक्षण गर्न पाएका छन् । पछिल्लो दुई वर्षदेखि तयारी गरिरहेको बाँकी खेलेको तयारी पनि सुचारु गर्न कहिले हुनेछ र नेपाली खेलकुदमा देखिएका पछिल्ला समस्याको समाधानमा कार्यकारी निकायले के गरिरहेको भन्नेबारे राष्ट्रिय खेलकुदका सदस्यसचिव रामचरित मेहतासँग न्युज एजेन्सी नेपालले गरेको कुराकानी प्रश्तुत छ ।
प्रश्नः अध्यादेश जारी भएपछि बोर्डको आकार सानो भएको छ, त्यसमा पनि पदेन छन्, राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले परिकल्पना गरेको नेपाली खेलकुदमा दैनिक काम गर्नका लागि महत्वपूर्ण रहेको सात सदस्यीय राखेपको कार्यकारी समितिमा पनि चार रिक्त भइसकेको छ, अब बोर्ड कसरी अगाडि बढ्नेछ र यसले नेपालको अन्तर्राष्ट्रिय सहभागिता र घरेलु आयोजना प्रभावित हुन्छ की हुँदैन ? 
जवाफः खेलकुद विकास ऐनले परिकल्पना गरेको बोर्डमा उपाध्यक्षसहित अधिकांश सदस्यको पद खारेज भएको छ । अहिलेको अवस्थामा जति कायम र उपलब्ध हुनुहुन्छ त्यसमा रहेर नै दैनिक काम गर्नेछौँ । मन्त्रीज्युको अध्यक्षतामा रहने बोर्ड छ । पदेन भए पनि त्यसबाट अगाडि बढ्नेछौं । साथै अब कसरी जाने भन्ने विषयमा पनि सम्बन्धित निकायमा परामर्श गरिरहेका छौँ । बजेटको सिफारिस यसअघि नै कार्यकारी समितिले पेश गरिसकेको थियो । त्यसले गर्दा एशियन गेम्सको तयारीमा प्रभावित हुँदैन । कानूनमा पनि कायम रहेको सदस्यबाट काम गर्न सक्ने व्यवस्था छ । अर्को कानुन नआएसम्म यसैबाट अगाडि बढ्नुको विकल्प छैन । त्यो सरकारको निर्णयमा हुने कुरा न हो ।
प्रश्नः एशियन गेम्सको सहभागिता जहिल्यै पनि अन्योलपूर्ण हुने गरेको छ, आगामी २० औं एशियन गेम्स आउन अहिले साढे चार महिना मात्र बाँकी छ, यस्तो स्थितिमा अहिलेसम्म पाँच वटा खेलको मात्र नियमति तयारी भएको छ, दुई वर्षदेखि तयारी गरेको बाँकी खेलको प्रशिक्षण कहिलेदेखि शुरु हुनेछ, अन्तिममा सिफारिस गरेर खेल्दा परिणाममुखी होला त ?
जवाफः सरकारले दुई वर्षदेखि एशियन गेम्सका लागि मिसन २०२६ को तयारी गरिरहेको छ । बिचमा बजेट अभावका कारण एक महिना जति रोकेका हौं । त्यसमा पनि ६ वटा खेलको प्रशिक्षण शुरु गरेका छौँ । बाँकी खेलको पनि अब छिटै शुरु हुनेछ । अहिले नै एशियन गेम्सका कति वटा सहभागी गराउने भन्ने निश्चित छैन । कतिपय खेलले छनोट चरण पार गर्नुपर्ने हुन्छ । त्यो सबै आइसकेपछि खेल संख्या निर्धारण गर्नेछ । पारा खेलकुदको पनि तयारी छिटै गर्नेछौँ । क्वालिफाइङ खेल्दा नै सकिने भएकाले अहिले खेलसंख्या निर्धारण गर्नसक्ने अवस्था छैन ।
१÷२ वटा खेल तलमाथि होला तर १५ खेलको आसापासमा एशियन गेम्समा सहभागिता रहनेछ । २० खेलभन्दा तल रहेर सहभागिता गराउनेछौँ । त्योभन्दा अगाडि समग्रमा हाम्रो तयारी राम्रो भएको छ । देश विदेश पनि खेलाडीले अभ्यास गरिरहेका छन् । खेल संघ र महासंघले पनि आफ्नो तर्पmबाट लगानी गरिरहेको छ । त्यसैले राम्रो भइरहेको छ ।
प्रश्नः यसअघिको सरकार या राष्ट्रिय खेलकुद परिषद्ले जीवनराम श्रेष्ठ अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई अवैधानिक भनेको थियो, अन्तर्राष्ट्रिय सहभागिताका लागि एनओसीको विकल्प छैन, तपाई कसरी अगाडि बढ्नु हुन्छ ?
जवाफः कानूनी रूपमा रहेका सँग नै हामी काम गर्नेछौं । एशियन गेम्समा सहभागी हुन ओलम्पिक कमिटीकै माध्यमबाट जानुपर्छ । हामी निर्विकल्पमा छौं । अहिले पुराना कुरा कोट्याउने अवस्था छैन । पुराना कुराहरू यथावत छन् । समस्या समाधान र काम अगाडि बढाउन चाहन्छौँ । अन्य कुनैपनि माध्यमबाट एशियन गेम्समा सहभागी गराउन नसक्ने भएकाले उहाँहरूसँग नै काम गरिरहेका छौँ । उहाँहरू नै अधिकारिक हो । तर भोली के हुन सक्छ अहिले भन्न सक्दिनँ ।
प्रश्नः नेपाली खेलकुद विकासका लागि मेरुदण्ड रहेको राष्ट्रिय खेलकुद प्रतियोगिताको दशौं संस्करण पटकपटक अवरोध भइरहेको छ, यसको आयोजना नहुँदा खेलाडी निराशा छन्, गत मंसिरमा नै हुनुपर्ने आयोजना अहिलेसम्म अन्योल छ । दशौं राष्ट्रिय खेलकुदमा खेलाडीले कहिले खेल्न पाउनुहुन्छ ? 
जवाफः अहिले हामीले बजेटको लागि नीति तथा कार्यक्रममा प्रश्ताव गरेका छौँ । अहिले नै यो मितिमा गर्न क्छौं भन्न सक्दिनँ । सरकारबाट स्वीकृति भएर आयो भने मात्र यो समयमा गर्छौं भन्नसक्छौँ । त्यो कार्यक्रम र बजेट स्वीकृत भएलगत्तै तयारीको समयसीमा राखेर मिति तोक्नेछौं । सम्भवतः बजेट आयो भने मंसिरमा दशौं राष्ट्रिय खेलकुद गर्नसक्छौँ ।
प्रश्नः राखेप र एन्फाबीच पछिल्लो छलफल सकारात्मक भइरहेको हो, फिफालाई राखेपले पठाएको पत्रको जवाफ कस्तो आएको छ ? 
जवाफः राखेपले वहन गर्नुपर्ने जिम्मेवारीमा कमी भएको छैन । फिफाले एन्फामाथिको निलम्वन फुकुवा गर्न भनेको थियो । राखेप निलम्वन फुकुवा गर्न तयार छ । तर हामीले उठाएको मुद्दा सम्बोधन भयो भने निलम्वन फुकुवा हुन्छ । जुन कारणले निलम्बन गरेका हौं र त्यसमा पुनःविचार भयो भने निलम्बन फुकुवा गर्र्छौं । फिफालाई पनि निलम्वन फुकुवा गर्नका लागि हाम्रा मुद्दाहरूको बारेमा पठाएका छौँ । तहगत (जिल्लादेखि) र नियमित निर्वाचन हुँदा निलम्वन फुकुवा हुन्छ । अहिले हात खुट्टा बाँधेर घिस्रने मौका दिएका छौँ । उहाँहरू पनि नियमित निर्वाचन गर्न तयार हुनुहुन्छ । तर फिफा र एएफसी साक्षी भएपछि मात्र हामी विश्वास गर्छौं । फिफा र एएफसीले नियमित र तहगत निर्वाचन प्रक्रिया अगाडि बढायो भने बाटो खुला गर्नेछौँ ।
प्रश्नः भारतमा हुने महिला साफ च्याम्पियनसिपमा नेपालको सहभागिता अन्योलपूर्ण छ, खेलाडीले तयारी गरेका छन्, तर सहभागी हुनेमा दुविधा देखिएको छ नि ?
जवाफः नेपाली महिला टोलीले भारतमा साफ खेल्नेछ । उहाँहरु सहभागी हुनेमा धेरै सम्भावना छ । सरकार पनि नेपालको सहभागिता चाहन्छ । हाम्रो त्रुटीका कारण नेपालको सहभागिता रोकिँदैन । एन्फाको कारण रोकिन सक्छ ।
प्रश्नः राखेपको निलम्वनका कारण शहीद स्मारक महिला फुटबल लिग र राष्ट्रिय लिग प्रभावित भएको छ, यसको प्रत्यक्ष असर खेलाडी र लगानी गरेको क्लवमाथि परेको छ, प्रतियोगिता आयोजना गर्न किन राखेपले रोकिरहेको छ ?
जवाफः फुटबलमा पहिलेदेखि नै केही भएको थिएन । लिग पनि भएको थिएन । तर खेलाडीलाई असर नपरोस् भन्ने हाम्रो पनि धारणा छ । एन्फालाई हामीले प्रतियोगिता रोक्न भनेका थिएनौं । एन्फा आपैmँ सरकारमाथि दबाब परोस् भनेर प्रतियोगिता रोकिरहेको छ । हामीले प्रतियोगिता रोक्न भनेको नै छैन । खेलाओस् र खेलोस् भन्नेछ । निर्वाचन रोक्न मात्र भनेका छौं । तहगत चुनाव गर्न मात्र भनेका छौं । साफमा सहभागिता गर्न पनि खुला छ । राष्ट्रिय लिग र महिला लिग गर्न एन्फाले पाउँछ ।
प्रश्नः एकै प्रकृतिको खेल विधाहरू थुपारेर साढे दुई सय वटा खेल संघ परिषद्मा दर्ता थियो, तर यसअघिको सरकारले त्यसलाई घटाएर ६२ वटामा झारिएको थियो, महासंघमा राखेर खेल समावेश थियो, तर अहिले फेरि बढाइएछ नि ? 
जवाफः पहिला कम खेल हुँदा राम्रो थियो । राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताका कारण खेल संघ नै रहेन भयो । ऐनको मर्मअनुसार एकै प्रकृतिका खेललाई धेरै बनाउन दिँदैनौं । त्यसलाई महासंघमा राखेर दर्ता गर्नेछौँ । एक दुई वटा खेल संघ बढ्न सक्छन् तर धेरै बढाउँदैनौं ।
प्रश्नः नेपाल क्रिकेट संघ (क्यान) को नेतृत्वमाथि अपारदर्शिताको आरोप लगाएर उपाध्यक्षसहित ९ सदस्यले छानबिनका लागि राखेपमा निवेदन दर्ता गराएका छन्, यसअघि पनि राखेपले छानबिन गर्न समिति बनाएका थियो, तर,प्रतिवेदन आएन, अहिले पनि समिति बन्छ ?
जवाफः केही साथीहरू आउनुभएको थियो । त्यसबारे निवेदन दिनु भएको छ । राखेपले त्यसबारे प्रक्रिया अगाडि बढाउँछ । गुनासो आएपछि काननुसम्मत छ या छैन भन्ने बारे छानबिन गर्छ । यसको पछि लागिरहनु पर्दैन । तर यसैको पछाडि लागिरहनु पर्दैन भनेको छु । राखेपले त्यसबारे काम गर्न समय लाग्न सक्छ । पत्रकारहरू एक दुई दिनमा हुनेछ । त्यहाँको अवस्था के भन्ने बुझेपछि मात्र छानबिन समिति बनाउँछौं । क्यानसँग डकुमेण्ट माग गर्दैछौँ अनि मात्र समिति बन्छ । तर एक व्यक्तिको आदेशले चाल्दैनौँ । –

भृकुटीमण्डपमा साउथ एशिया ट्रेड फेयर–आर्थिक विकास र सहकार्यको नयाँ गन्तव्य

काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा गत बिहीवारदेखि ‘साउथ एसिया ट्रेड फेयर’ (दक्षिण एशियाली व्यापार मेला) जारी छ । दक्षिण एशियाली राष्ट्रहरूका विभिन्न उत्पादन तथा सेवाको प्रवद्र्धन गर्ने, बजार सम्भाव्यताको अध्ययन गर्ने र क्रेता–विक्रेताबीच सहकार्य विस्तार गर्ने मुख्य उद्देश्यका साथ यो मेला आयोजना गरिएको हो । मेलामा दक्षिण एशियाली मुलुकका उद्योग, व्यापार तथा सेवासम्बन्धी विविध उत्पादनहरू प्रदर्शनीका लागि राखिएका छन् । आयोजककाअनुसार प्रदर्शनीमा कपडा तथा रेडिमेड सामग्री, सौन्दर्य सामग्री, हस्तकलाका वस्तु, सवारीसाधन तथा पार्टपुर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि र घरेलु उपकरणलगायतका सामग्रीहरू उपलब्ध छन् । प्रदर्शनीका साथै व्यापारिक भेटघाट (बिजनेस मिट), फुड फेस्टिभल, रक्तदान कार्यक्रम तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू समेत सञ्चालन गरिने जानकारी दिइएको छ । मेलाले नेपालमा लगानी तथा व्यापार विस्तारका नयाँ सम्भावनाहरू सिर्जना गर्ने विश्वास लिइएको छ । मुलुकमा लामो समयदेखि सुस्त रहेको व्यापारिक वातावरण र लगानीगत अनिश्चिततालाई तोड्दै निजी क्षेत्रलाई सक्रिय बनाउन यो मेलाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । वैशाख २८ गतेसम्म सञ्चालन हुने यस मेलामा आयोजक राष्ट्र नेपालसहित भारत, बङ्गलादेश, भूटान, पाकिस्तान, अफगानिस्तान, श्रीलङ्का र माल्दिभ्सका उद्यमी तथा व्यवसायीहरूको सहभागिता रहेको छ ।

ज्येष्ठ नागरिकको सम्मान र हितमा ललितपुर महानगर प्रतिवद्ध छः प्रमुख महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ज्येष्ठ नागरिकहरूको सम्मान र हितका लागि महानगरपालिकाले विभिन्न रचनात्मक तथा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा आयोजित ‘अन्तर्राष्ट्रिय सिम्पोजियम’ लाई सम्बोधन गर्दै प्रमुख महर्जनले आफ्नो कार्यकालमा ज्येष्ठ नागरिकको मर्यादा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको हो । प्रमुख महर्जनले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जीवित अवस्थामै रथारोहण गराएको, उहाँको नाममा सिक्का र हुलाक टिकट प्रकाशन गरेको तथा सुरक्षा र यातायातको प्रवन्ध मिलाएको स्मरण गर्दै ती कार्यहरू ज्येष्ठ नागरिक सम्मानको प्रस्थान बिन्दु भएको बताउनु भयो । त्यसैगरी, हालै मात्र महानगरपालिकाले १०५ वर्षीया मनोमाया महर्जनको पाँचौँ ‘जङ्कु’ (रथारोहण) सम्पन्न गरेको जानकारी दिनुभयो । महानगरले ज्येष्ठ नागरिकका लागि सञ्चालन गरेका अन्य कल्याणकारी योजनाहरूबारे प्रकाश पार्दै उहाँले वार्षिक १० हजार रुपैयाँ चाडपर्व खर्च उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

स्वास्थ्य क्षेत्रतर्फ महानगरले ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी निमोनिया विरुद्धको खोप निःशुल्क उपलब्ध गराउन थालेको महर्जनले बताउनु भयो । निमोनियाको खोप महँगो भएपनि ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षाका लागि यो अभियान प्रभावकारी रूपमा अगाडि बढिरहेको उहाँको दाबी छ । यसका साथै, जावलाखेलमा हुने प्रसिद्ध भोटो जात्रा अवलोकनका लागि जङ्कु गरिसकेका ज्येष्ठ नागरिकहरूलाई विशिष्ट अतिथिका रूपमा विशेष दीर्घाको व्यवस्था समेत गरिँदै आएको उहाँले उल्लेख गर्नुभयो ।

रुस र युक्रेनबीच तीनदिने युद्धविराम र एक हजार युद्धबन्दी साटासाट गर्ने सहमति

रुस र युक्रेन तीन दिनका लागि युद्धविराम गर्न र एक–एक हजार युद्धबन्दी साटासाट गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा अघि सारिएको यस प्रश्तावलाई दुवै पक्षले स्वीकार गरेका हुन् । रुसी राष्ट्रपतिका सल्लाहकार युरी उसाकोभले राष्ट्रपति भ्लादिमिर पुटिनको निर्देशनअनुसार ट्रम्पको प्रश्तावलाई रुसी पक्षले स्वीकार गरेको सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् ।
यता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समार्फत रुससँग १ हजार–१ हजारको अनुपातमा युद्धबन्दी साटासाट गर्न सहमति भएको पुष्टि गर्नुभयो । उहाँले मे ९, १० र ११ का लागि युद्धविराम लागू हुने बताउँदै बन्दी साटासाटका लागि आवश्यक तयारी तत्काल शुरु गर्न आफ्नो टोलीलाई निर्देशन दिनुभयो ।
यसैबीच, मे ९ मा मस्कोमा आयोजना हुने विजय दिवस परेडलाई लक्षित गर्दै राष्ट्रपति जेलेन्स्कीले एक विशेष आदेशमा हस्ताक्षर गर्नुभयो । मानवीय दृष्टिकोणलाई ध्यानमा राख्दै उक्त परेडको समयमा मस्कोको रेड स्क्वायर क्षेत्रलाई युक्रेनी हतियार प्रयोगको योजनाबाट बाहिर राखिएको युक्रेनी राष्ट्रपतिको वेबसाइटमा प्रकाशित दस्ताबेजमा उल्लेख छ ।
यसअघि डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमार्फत यस सहमतिको बारेमा जानकारी दिँदै दुवै देशबीच सबै प्रकारका सैन्य गतिविधि स्थगित हुने र ठूलो सङ्ख्यामा युद्धबन्दीको साटासाट हुने बताउनुभएको थियो ।
रुसी रक्षा मन्त्रालयले मे ८ को मध्यरातदेखि मे १० सम्मका लागि युद्धग्रस्त क्षेत्रमा रहेका सबै रुसी सैन्य समूहहरूले आफ्ना सैन्य कारबाहीहरू पूर्ण रूपमा बन्द गर्ने जनाएको छ ।

ज्येष्ठ नागरिकको ज्ञान र अनुभवलाई राज्य सञ्चालनमा उपयोग गर्नुपर्नेमा नेता पोखरेलको जोड

ज्येष्ठनागरिकको अवस्था, विद्यमान चुनौती र अन्तर–पुस्ता ज्ञान हस्तान्तरणका विषयमा केन्द्रित दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ ।
मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा शुरु भएको उक्त सम्मेलनको समुद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको हो । सम्मेलनलाई सम्बोधन गर्दै नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले ज्येष्ठ नागरिकहरूलाई केवल सामाजिक सुरक्षा र सम्मानको घेरामा मात्र सिमित नराखी उनीहरूलाई ज्ञान र अनुभवको महत्वपूर्ण स्रोतका रूपमा स्वीकार गर्नुपर्ने बताउनु भयो । उहाँले ज्येष्ठ नागरिकको अनुभवलाई राज्य सञ्चालन, समाज रूपान्तरण र पारिवारिक समृद्धिमा सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । नेपालमा सामाजिक सुरक्षा कार्यक्रमको शुरुवात गर्ने प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको योगदानको स्मरण गर्दै नेता पोखरेलले उहाँको विचार र निष्ठालाई चिरस्थायी बनाउन प्रतिष्ठानले विभिन्न रचनात्मक कार्यहरू गर्दै आएको जानकारी दिनुभयो । २०५६ सालमा स्थापित प्रतिष्ठानले ज्येष्ठ नागरिकका लागि देश दर्शन, सम्मान कार्यक्रम, स्वास्थ्य शिविर तथा साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ । साथै, युवाहरूलाई प्राविधिक शिक्षा प्रदान गर्न मोरङमा मनमोहन प्राविधिक विश्वविद्यालयको स्थापना गरी स्वरोजगारीका क्षेत्रमा समेत काम भइरहेको पोखरेलले बताउनु भयो ।

सम्मेलनबाट प्राप्त निष्कर्षहरूलाई व्यवस्थित अभिलेखका रूपमा प्रकाशन गरी नीति निर्माणका लागि राज्यका सम्बन्धित निकायहरूलाई उपलब्ध गराइने प्रतिष्ठानले जनाएको छ ।

ज्येष्ठ नागरिकको ज्ञान र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा राष्ट्रपतिको जोड

राष्ट्रपति रामचन्द्र पौडेलले समाजका ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘ज्येष्ठ नागरिकको ज्ञान र सीप हस्तान्तरण’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले अधिकारीलाई दक्षिण एशियाकै प्रथम निर्वाचित वामपन्थी प्रधानमन्त्री तथा सरल र सादगी नेताका रूपमा चित्रण गर्नुभयो । राष्ट्रपति पौडेलले वि.सं. २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले पहिलो पटक ज्येष्ठ नागरिकका लागि मासिक वृद्ध भत्ताको शुरुवात गरेको ऐतिहासिक तथ्यको स्मरण गर्नुभयो । तत्कालीन समयमा १०० रुपैयाँबाट शुरु भएको भत्ता हाल ४ हजार पुगेको उल्लेख गर्दै उहाँले ज्येष्ठ नागरिकको सम्मान र सुरक्षामा सो कदम कोशेढुङ्गा सावित भएको बताउनु भयो । ज्येष्ठ नागरिकलाई समाजको एक विशिष्ट वर्गका रूपमा परिभाषित गर्दै राष्ट्रपतिले उनीहरूको स्वास्थ्य उपचार, उचित खानपान र स–सम्मान बाँच्न पाउने हकको सुनिश्चितता हुनुपर्ने बताउनु भयो । पछिल्लो समय बढ्दो सहरीकरण, युवा पुस्ताको वैदेशिक रोजगारी र पारिवारिक असमझदारीका कारण ज्येष्ठ नागरिकहरूले अपहेलित हुनुपरेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

नेपालको जनसङ्ख्या पनि बिस्तारै बुढ्यौलीतर्फ उन्मुख भइरहेको सन्दर्भमा यस अन्तर्राष्ट्रिय सम्मेलनले अन्य मुलुकका सफल अभ्यासहरूबाट सिक्ने अवसर प्रदान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । सम्मेलनले अन्तर–पुस्ता ज्ञान हस्तान्तरण र ज्येष्ठ नागरिकको प्रभावकारी व्यवस्थापनका लागि एक सेतुको काम गर्ने भन्दै राष्ट्रपतिले कार्यक्रमको पूर्ण सफलताको कामना गर्नुभयो ।