समाचार | Page 2032 of 5934 | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८३, शुक्रबार

समाचार

केन्द्रकाे सर्कुलरले कांग्रेस महोत्तरीका नेता कार्यकर्ता अलमलमा

महोत्तरी । कांग्रेसले उम्मेदवार छान्ने समयतालिका बनाएर मातहतमा सर्कुलर जारी गरेपछि महोत्तरीका पालिकाहरूमा वडा अध्यक्ष उम्मेदवार छान्ने प्रक्रियाले निकै फड्को मार्‍यो । बर्दिबास नगरपालिकाका-६ वडामा कांग्रेसले आफ्ना उम्मेदवार घोषणा पनि गर्‍यो । तर, कांग्रेसको केन्द्रीय कमिटीले उम्मेदवार छान्ने प्रक्रिया स्थगित गर्न अर्को सर्कुलर जारी गरेपछि अलमल सिर्जना भएको छ ।

आइतबार नै कांग्रेस बर्दिबासले वडा न.३ मा यज्ञ प्रसाद ढुंगेल, वडा न.१ मा भोला खड्का, वडा न.२ मा चोलाराज प्याकुरेल र वडा न.७ का भोरिल यादवलाई उम्मेद्‌वारमा सिफारिस गरेको थियो । सत्ता गठबन्धन दलहरूसँग चुनावी तालमेलको तयारीअघि बढेपछि कांग्रेसले तत्काल उम्मेदवारको टुंगो नलगाउन सर्कुलर गरेको हो । योसँगै नेपाली कांग्रेसले टुंगो लगाइसकेका उम्मेदवारहरू विषयमा समेत अलमल सिर्जना भएको छ ।

नगरले उम्मेदवारले टुंगो लगाएको बताए पनि जिल्ला सभापति नागेश्वर यादवले भने यो पूर्ण आधिकारिक नभएको बताए । तर, नगरस्थित कांग्रेसका नेता तथा कार्यकर्ताहरूले उम्मेदवार सर्वसम्मति भएको भन्दै सामाजिक सञ्जालबाट बधाई र शुभकामना व्यक्त गरिरहेका छन् । पार्टीको स्पष्ट निर्देशन नआएसम्म नाम सिफारिस भएका उम्मेद्‌वारलाई आधिकारिक मान्न नसकिने सभापति यादवको भनाइ छ ।

यता, केन्द्रीय कमिटीको निर्णयले तल्लो तहमा समस्या बनिरहेको नेता शंकर फुयाल बताउँछन् । निर्णय मान्नै पर्ने बाध्यताले स्थानीय तहमा जसरी अगाडि बढनुपर्ने हो त्यसरी बढन सकिएको छैन,’ उनले भने ।

तर, कतिपय नेताहरूले भने केन्द्रको निर्देशनमा नै अटेर गर्नु पार्टीको लागि दुर्भाग्य बनेको बताइरहेका छन् । पाटी गठबन्धनको पक्षमा रहँदारहँदै तल्लो तहमा आफुखुसी निर्णयसमेत भइरहेको बताउँदै युवा नेता शैलेश थापा सहमतिमा जानुको विकल्प नरहेको बताए ।

‘अहिलेको परिवेशमा गठबन्धनको जरुरी छ । गठबन्धन हुनैपर्छ,’ उनले भने ।

यता बर्दिबास नगरपालिकाका केही  वडामा उम्मेदवार छानिसके पनि स्थगित गर्ने निर्णयसँगै नगर तथा वडा कमिटी पछाडि हटेको नगर सभापति युवराज पोखरेलले बताए ।

ठमेलमा पाँच तोलाको सुनको सिक्री लुटपाट गर्ने एक जना भारतीय पक्राउ 

काठमाडौं । काठमाडौं महानगरपालिका–२७ ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको पाँच तोला सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको लाजिम्पाट बस्ने भारत सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङ रहेका छन् । उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न तामाङलाई काठमाडौं महानगरपालिका–२ उत्तरगेटबाट उक्त सुनको सिक्री सहित फेला पारी पक्राउ गरेको हो । उनीमाथि चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट थप अनुसन्धान भइरहेको छ ।

श्रीलंकामा जारी संकटकाल खारेज

एजेन्सी । श्रीलंकामा लागू गरिएको संकटकाल खारेज भएकोे छ । देशव्यापी राजनीतिक तथा आर्थिक उथलपुथलबीच राष्ट्रपति गोटाबाया राजापाक्षेले संकटकाल अवस्था खारेज गरेका हुन् । सरकारविरोधी प्रदर्शनबीच  गठबन्धनका सहयोगीहरू सरकारबाट बाहिरिएपछि राष्ट्रपतिले आफ्नो संसदीय बहुमत गुमाएका थिए ।

नवनियुक्त अर्थमन्त्री अली साब्रेले मंगलबार राजीनामा दिएका थिए । अर्थमन्त्रीमा नियुक्त भएको भोलिपल्ट उनले राजीनामा दिएका थिए । त्यसअघि मन्त्रिपरिषद्का  सबै सदस्यहरूले सामूहिक राजीनमा दिएका थिए । टापुको देश श्रीलंका पछिल्लो समय आर्थिक संकटबाट ग्रसित छ । आर्थिक संकटसँग देशमा राजनीतिक संकट पनि चुलिएको छ ।

रुपन्देहीकाे सिद्धार्थनगरमा गठबन्धनको तालमेल

भैरहवा । रुपन्देहीको सिद्धार्थनगरमा सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने भएका छन् । कांग्रेस जिल्ला कार्यालय भैरहवामा बसेको सत्ता गठबन्धनमा आबद्ध पाँचदलको बैठकले चुनावी गठबन्धनको आवश्यकता ठहर गर्दै र सोका लागि नगर र वडातहसम्म नै गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेका हुन् ।

सिद्धार्थ नगर नगरपालीकामा स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने कांग्रेस नगर सभापति कोशीसबहादुर खड्काले भने ।   बैठकले नगरमा गठबन्धनको लागि चार बुँदे निर्णय गरेको छ । त्यस्तै सिद्धार्थ नगर नगरपालिकाका सबै वडामा समेत तालमेल गर्ने निर्णय भएको कांग्रेस नगर सचिव अनिल केसीले जानकारी दिए ।

पोखरामा नयाँ वर्ष महोत्सव आयोजना हुने

पोखरा । पोखरामा नेपाली नयाँ वर्षमा महोत्सव आयोजना हुने भएको छ । अंग्रेजी नयाँ वर्षमा जस्तै नेपाली वर्षमा पनि महोत्सव हुन लागेको हो । कोभिड १९ ले थला परेको पर्यटन उकास्न र पर्यटकीय चहलपहल बढाउन महोत्सव आयोजना गरिएको हो । पश्चिमाञ्चल होटेल संघले हरेक वर्ष आयोजना गर्दै आएको महोत्सव २ वर्ष कोरोना कहरका कारण स्थगित भएको थियो ।

१७ औं संस्करणको महोत्सव चैत ३० देखि आगामी वैशाख १ गतेसम्म लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको तीन किलोमिटर सडकमा हुने आयोजकले जनाएको छ । महोत्सवलाई सम्पन्न गर्न २१ वटा उपसमितिहरू गठन भएका छन् । संघका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर उत्सव मनाउन लागिएको बताए ।

पोखराका होटेलमा अहिले २० प्रतिशत हाराहारी पर्यटक छन् । आन्तरिक र भारतीय पर्यटकको आगमन बिस्तारै बढ्न थालेको व्यवसायीहरूले बताएका छन् । महोत्सवका अवसरमा आफ्ना सदस्य होटेलमा बस्ने पाहुनालाई ३० प्रतिशत छुटको घोषणा गरिएको छ । रेष्टुरेण्ट र प्याराग्लाइडिङ क्षेत्रबाट समेत महंगीका बाबजुद पुरानै मूल्यमा सेवा प्रदान गर्ने प्रतिबद्धता गरिएको सुवेदीले जानकारी दिए । महोत्सवमा परम्परागत नेपाली खानाको प्रस्तुति र विक्री, सांस्कृतिक झाँकीका कार्यक्रम, लाइभ कन्सर्ट, मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुनेछन् ।

१ लाख रुपैयाँ घुससहित मालपोतका सर्भेक्षक र अमिन पक्राउ

काठमाडौं । नापी कार्यालय चाबहिल अन्तर्गत बूढानीलण्ठमा कार्यरत दुई जना १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । चाबहिलको १ नं. नापी टोली, बुढानिलकण्ठमा कार्यरत सर्भेक्षक बिनोद के.सी. र अमिन प्रकाशराज भट्ट एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

सर्भेक्षक के.सी. र अमिन भट्टले जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिइ गएको टोलीले उनीहरुलाई सेवाग्राहीबाट एक लाख घुस लिइसकेको अवस्थामा उक्त घुस रकमसहित पक्राउ गरिरहेको अख्तियारले जनाएको छ। उनीहरुलाई ललितपुर महानगरपालिका -५, लगनखेल, महालक्ष्मी मार्गबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

सुनको मूल्य ९८ हजार पाँच सय रुपैयाँ

काठमाडौँ । सुनको भाउ बुधबार तीन सय रुपैयाँले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको  ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार निर्धारण भएको छ । चाँदीको भाउ  पनि पाँच रुपैयाँले घटेको छ। मंगलबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ३५ रुपैयाँ निर्धारण भएको छ ।

विस्तारवाद मुर्दावाद भन्नेहरू भारतीय शासकको तलुवा चाटेर आउँछन् : पृथ्वीसुब्बा गुरुङ

पोखरा । एमालेमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालका राजनीतिक पार्टीहरु देशको रक्षाका लागि नभई भाषणका लागि मात्र खुलेका आरोप लगाएका छन् । ‘हरेक राजनीतिक पार्टीको मुख्य कुरा देशलाई बचाउनुहुन्छ । पार्टी खडा गर्ने देश बचाउनका लागि पनि हो, भाषण गर्न मात्रै त होइन,’ उनले भने, ‘आजसम्म भारतीय विस्तारवाद मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद भनिरहेका छन् । यता सडकमा विरोध गर्ने र भारत गएर शासकहरूको तलुवा चाटेर आउनेहरुलाई नांगेझार पार्ने समय चुनाव हो ।’

एमालेले देशको अहितमा हुने त्यस्ता नीति र सोचाइको विरोध गरेको भन्दै जनताले एमालेलाई रोज्ने उनको दावी छ । अहिलेको राजनीतिक परिस्थितिले विकासको अभियान ठप्प भएको भन्दै पुनः आफूहरू सत्तामा आएर निरन्तरता दिने गुरुङको भनाइ छ ।

‘गाउँगाउँमा बाटो पुर्‍याउने, सिँचाइ पुर्‍याउने अभियान, पालिका वडावडामा खेल मैदान बनाउने अभियान अवरुद्ध भयो । नेपाली जनताको सपना तुहियो । यो सपनालाई फेरि ब्युँझाउन एमाले लाग्नुपर्छ,’ उनी भन्छन्, ‘सारा युवाहरुको पार्टी एमाले हो । संसारको सपनाको देश अमेरिका भनेजस्तै नेपालमा सपनाको पार्टी नेकपा एमाले हो ।’

एमालेको गण्डकी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सबैले भरोसा गर्न सक्ने पार्टी भएकोले एमालेले चुनाव जित्ने बताए ।‘ज्येष्ठ नागरिकको आशा र भरोसाको पार्टी, युवाहरुको सपनाको पार्टी, ड्रीम पार्टी एमाले हो । मुलुकमा एमालेको सरकार भयो उद्यम खोल्न सक्छौं । आदर्श, समृद्धीको सपना बोकेको पार्टी एमाले बनेको छ । त्यै भएर नेकपा एमालेलाई भोट हाल्नुपर्छ,’ गुरुङले भने । माओवादीले शहिदहरुको सपना चकनाचुर पारेको भन्दै उनले एमालेले लोकतन्त्रलाई आत्मसात गरेको तर्क गरे ।

झापामा भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु 

काठमाडौं । झापाको बुद्धशान्ती गाँउपालिका–३ स्थित बुद्धचोकमा मंगलबार साँझ पिकअप भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । सोही घटनामा एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ३८ वर्षीया शान्ता सुब्बा रहेकी छन् । भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी सुब्बाको उपचारको क्रममा बिर्तामोड स्थित बि एण्ड सी अस्पतालमा मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी मोटरसाइकल चालक स्थानीय ४२ वर्षीया कविता लिम्बुको भने सोही अस्पतालमा उपचार भइरहेको छ । प्रदेश १–०१–०१३ प ४४९८ नम्बरको मोटरसाइकललाई प्रदेश १–०१–००१ च ७८३८ नम्बरको पिक अप भ्यानले मंगलबार बेलुकी पौने ७ बजे ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न दुवै सवारी साधन सहित पिकअप भ्यानका चालक ईलाका प्रहरी कार्यालय धुलाबारी झापाको नियन्त्रणमा रहेका छन् ।

अछाममा पुरुषभन्दा महिला मतदाताको संख्या साढे ४ हजारले बढी 

अछाम ।  जिल्ला निर्वाचन कार्यालय अछामले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । अछाममा कुल मतदाताको संख्या एक लाख ५६ हजार २८० छ । जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार पुरुषको भन्दा महिला मतदाता सख्या चार हजार ५८४ बढी छ । जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार पुरुष मतदाता ७५ हजार ८३७ छ भने महिला मतदाता ८० हजार ४४१ छन् । जिल्लाको रामारोशन, कमलवजार र ढकारी गाउँपालिकाबाहेक अन्य सातवटा पालिकामा पुरुष मतदाताभन्दा महिला मतदाताको सख्या बढी छ ।

साँफेबगर नगरपालिकामा पुरुष मतदाताभन्दा महिला मतदाता ९२९ बढी छन्। साँफेबगर नगरपालिकामा १० हजार ४६७ पुरुष र ११ हजार ३९६ महिला गरी २१ हजार ८६४ मतदाता छन् । सबैभन्दा कम मतदाता रहेको बान्नीगढी जयगढ गाउँपालिकामा पुरुषको भन्दा महिला मतदाता ४७० ले बढी छ । बान्नीगढी जयगढ गाउँपालिकामा पाँच हजार ६३६ पुरुष र ६ हजार १०६ महिला गरी ११ हजार ७४२ मतदाता छन् ।

यस्तै मंगलसैन नगरपालिकाकामा पुरुष मतदाताभन्दा महिला मतदाता संख्या ८८७ बढी छन् । मंगलसैनमा नाै हजार ४४५ पुरुष र १० हजार ३३२ महिला, अन्य एक गरी १९ हजार ८७८ मतदाता छन् । पञ्चदेवल बिनायक नगरपालिकामा पुरुषभन्दा महिला मतदाता ७७१ बढी छन्  ।  पञ्चदेवल बिनायकमा सात हजार ८२७ पुरुष र आठ हजार ६१८ महिला गरी १६ हजार ४४५ मतदाता छन् ।

यस्तै तुर्माखाँद गाउँपालिकामा पुरुषभन्दा महिला मतदाता १२७ ले बढी छन् ।  तुर्माखाँदमा सात हजार ६९२ पुरुष र सात हजार ८१९ महिला गरी १५ हजार ५११ मतदाता छन् । मेल्लेख गाउँपालिकामा पुरुष मतदाताभन्दा महिला मतदाताको संखया ५३१ बढी छ । मेल्लेखमा सात हजार ४१५ पुरुष र सात हजार ९४६ महिला, गरी १५ हजार ३६१ मतदाता छन् । चौरपाटी  गाउँपालिकाकामा पुरुषभन्दा महिला मतदाता एक हजार २३७ बढी छन् । चौरपाटीमा ६ हजार ७५४ पुरुष र ७ हजार ९९० महिला गरी १४ हजार ७४४ मतदाता रहेका छन् ।

रामारोशन गाउँपालिकामा भने महिला मतदाताभन्दा पुरुष मतदाता ९२ बढी छन् । रामारोशनमा सात हजार २५५ पुरुष र सात हजार १६३ महिला गरी १४ हजार ४१८ मतदाता छन् । यस्तै कमलवजार नगरपालिकामा पनि महिला मतदाताभन्दा १४९ बढी पुरुष मतदाता छन् । कमलवजारमा सात  हजार ४६ पुरुष र ६ हजार ८९७ महिला गरी १३ हजार ९४३ मतदाता छन् । ढकारी गाउँपालिका २६ जनाले मात्र महिलाभन्दा पुरुष मतदाता बढी छन् । ढकारीमा ६ हजार २०० पुरुष र ६ हजार १७४ महिला गरी १२ हजार ३७४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय अछामले जानकारी दिएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ २८ पैसा र बिक्री दर १२० रुपैयाँ ८८ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ चार पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ तीन पैसा र बिक्री दर १५८ रुपैयाँ ८२ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ९८ पैसा मात्र र बिक्री दर १३० रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ८२ पैसा र बिक्री दर ९२ रुपैयाँ २८ पैसा छ ।  क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ तीन पैसा छ । जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ७९ पैसा र बिक्री दर ९ रुपैयाँ ८४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९० पैसा र बिक्री दर १९ रुपैयाँ  रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैयाँ छ पैसा र बिक्री दर ३२ रुपैयाँ २२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ९२पैसा र बिक्री दर ३३ रुपैयाँ आठ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९२ पैसा र बिक्री दर नाै रुपैयाँ  ९७ पैसा कायम भएको छ ।

अमेरिकाले उपलब्ध गराएको आपतकालीन प्रतिकार्य उपकरण तीन वटै सुरक्षा निकायलाई हस्तान्तरण

काठमाडौं । तीन वटै सुरक्षा अंगलाई आपतकालीन प्रतिकार्य एवं आगलागी नियन्त्रणसम्बन्धी तालिम सञ्चालन गर्न आवश्यक उपकरण हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उपकरण हस्तान्तरण गरेका हुन् । उपकरण नेपाल रेडक्रम सोसाइटीलाई पनि हस्तान्तरण गरिएको छ ।

यी उपकरण अमेरिकी सहायता नियोग युएसएआइडी र अमेरिकाको रक्षा मन्त्रालयले उपलब्ध गराएका हुन् ।  प्राधिकरणका सहसचिव रामेश्वर मरहठ्ठाका अनुसार १६ प्रकारका तालिम उपकरण  हस्तान्तरण गरिएको हो ।कार्यकारी प्रमुख पोखरेलले पछिल्ला बर्षमा नयाँ खालका विपद्का साथै पुराना विपद्का आयतन पनि विस्तार हुँदै गएको उल्लेख गर्दै यी उपकरण विपद् प्रतिकार्यका लागि आवश्यक पर्ने तालिम संचालन गर्न सहयोगी हुने बताए ।

गृह मन्त्रालय, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले विपद् जोखिम व्यवस्थापनमा काम गर्ने निकाय र सहयोग गर्ने निकायबीच प्राधिकरणले पुलको काम गरिरहेको उल्लेख गर्दै प्राधिकरण गठनको औचित्य प्रमाणित हुँदै गएको बताए ।

युएसएडका वातावरणसम्बन्धी उपनिर्देशक डेभिड म्यानले नेपालमा विपद् जोखिम न्यनूीकरणका लागि युएसएडले सहयोग गरिरहेको जानकारी दिँदै विपद्का घटना भइहाले त्यसको प्रतिकार्य गर्न तालिम आवश्यक पर्ने भएकोले यी उपकरण सहयोग गरेको बताए ।

चुनावको मुखमा गृह जिल्लामा प्रचण्ड रणनीति : धमाधम शिलान्यासदेखि लालपुर्जा वितरणसम्म

चितवन । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुधबार गृह जिल्ला चितवन आउँदै छन् । पछिल्लो १३ दिनको अवधिमा प्रचण्ड तेस्रो पटक गृह जिल्ला आउन लागेका हुन् ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा गृह जिल्लामा उनको आगमन बढेको मात्रै छैन, योजनाहरुको शिलान्यास, उद्घाटन र पार्टीका कार्यक्रममा उनलाई भ्याइनभ्याइ छ । आज पनि उनी भरतपुर महानगरपालिका-२ आँपटारीमा भूमिहीन दलितलाई लालपुर्जा बाँड्न चितवन आउँदै छन् ।

लालपुर्जा बाँड्ने काम सुकुमबासी आयोगको भए पनि मतदातालाई रिझाउन प्रचण्डले लालपुर्जा बाँड्दै छन् । सुकुमबासी आयोगको जिल्ला अध्यक्ष बद्री तिमिल्सिना माओवादी केन्द्रकै हुन् । भरतपुर-२ निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । यहाँबाट नेकपा (एमाले)का कृष्णभक्त पोखरेल संघीय सांसदमा निर्वाचित भएका हुन् ।

चुनावमा मुखमा योजनाको धमाधम शिलान्यास, उद्घाटन गर्ने र लालपुर्जा बाँड्ने कार्यलाई मतदातालाई आकर्षित गर्ने रणनीतिका रुपमा लिइएको छ । स्थानीय तहको चुनावमा सत्ता गठबन्धनबीच तालमेल गर्ने भनिएपनि भरतपुर महानगरमा त्यति सहज देखिँदैन । महानगरको मेयरमा माओवादी केन्द्र र नेपाली कांग्रेसले आ-आफ्नो दाबी गर्दै आएका छन् । नेकपा (एमाले) चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले चुनावको मुखमा प्रचण्डले चुनावी स्टन्ट देखाउने काम मात्रै गरेको भन्दै यसलाई जनताले राम्रोसँग बुझेको बताए ।

‘निर्वाचनलाई प्रभावित पार्नेगरी महानगरपालिकामार्फत जुन ढंगले प्रयत्न भएको छ । जनतालाई भ्रममा पार्ने प्रयत्न भएको छ,’ उनले भने, ‘पाँच वर्षमा महानगरमा के काम भयो ? सबै बजेट आफू मातहत राखेर आफ्ना आसेपासेलाई मात्रै बाँड्ने काम भयो । फोहोर व्यवस्थापनको समस्या ज्युकात्यु छन् । प्रचण्ड आफैँले शिलान्यस गरेको आयोजना अलपत्र परेका छन् ।’

भरतपुरमा देशकै नमुना काम भएको बताउने प्रचण्ड मतदातालाई प्रभावित पार्न विकास निर्माणका कामलाई नै अस्त्र बनाउने सोँचमा देखिएको प्रतिपक्षी दल एमालेको आरोप छ । माओवादी केन्द्रले मेयरमा पुनः दावी गर्नुको कारण पनि विकास नै रहेको छ । यद्यपी भरतपुरमा सडक कालोपत्रेबाहेक अन्य पूर्वाधार निर्माणमा ढिलासुस्ती हुँदै आएको छ । निर्वाचन आचारसंहिता लागू भएपछि योजनाको शिलान्यास तथा उद्घाटन गर्न नपाइने भएकाले पनि प्रचण्डले अहिले नै धमाधम शिलान्यास र उद्घाटन गर्दै हिँडेका छन् ।

सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने घोषणा गरेपछि प्रचण्ड १० चैतमा पहिलो पटक चितवन आए । भरतपुर विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भरतपुर महानगरमा चुनावी तालमेलको विषयमा चितवन कांग्रेसले भनेर केही नहुने प्रतिक्रिया दिएका थिए ।

भरतपुर महानगरको मेयरमा आफ्नी छोरी रेनु दाहाललाई पुनः उठाउने उनको आकांक्षा छ । त्यसकै लागि पनि चितवनका कांग्रेसीले नमान्दा नमान्दै उनले केन्द्रबाटै चुनावी तालमेल गर्ने निर्णय गराए । कांग्रेसले फेरि पनि आफ्नी छोरीलाई मेयरमा जिताउन सहयोग गरोस् भन्ने उनी चाहन्छन् ।

प्रचण्ड १० चैतमा आफ्नो निर्वाचन क्षेत्रका पाँच कार्यक्रममा सहभागी भए । चितवन आएकै दिन माडी पुगेका उनले माडी-२ मा निर्माण सम्पन्न भएको चिरौली सडकको उद्घाटन गरे । त्यसपछि माडीकै परुई खोलाको पुल र कुसुमखोलाका चेपाङ समुदायलाई निर्माण गरिदिएको चेपाङ नमुना वस्तीको उद्घाटन गरे ।

माडीका सहिद निलकण्ठ सुवेदीको घरमा उनले खाना खाए । उनले माडीका अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रशिक्षण दिए भने केहीलाई पार्टी प्रवेश पनि गराए । त्यसपछि उनले भरतपुर शारदानगरमा आयोजित महिला फुटबल लिगको उद्घाटन गरे ।

यहाँ उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अब सरकारको दायित्वभित्र आएको भन्दै रंगशालाको काम अघि बढाउन आफुले सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यसदिन प्रचण्ड आफ्नै छोरीको निवासमा बास बसे ।

भोलिपल्ट ११ चैत मा भरतपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवनको शिलान्यास गरे । ९४ करोड ३२ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको भवनको उद्घाटनका क्रममा उनले महानगरमा धेरै विकास भएको बताए ।

आफ्नी छोरीको प्रशंसा गर्दै उनले मेयरमा महानगर र महानगरबासी प्रति सँधै सकरात्मक सोच मात्रै भेटेको बताए । विकासका हिसाबले भरतपुर महानगरलाई विदेशीले समेत विशिष्ट महानगरको रुपमा चित्रण गरेको उनले दाबी गरे ।

सोही दिन माओवादी केन्द्र जिल्ला समन्वय समितिको प्रथम विस्तारित बैठकलाई उनले सम्बोधन गरे । दुई दिन विभिन्न कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्र्किएका प्रचण्ड १६ चैत माा पुनः चितवन आए । उनले स्थानीयको विरोधबीच पूर्वी चितवनको राप्तीमा निर्माण गरिएको विद्युत सबस्टेशनको उद्घाटन गरे । बस्ती क्षेत्रमा सबस्टेशन निर्माण गरिएको भन्दै स्थानीयले भने विरोध गरिरहेका छन् ।

त्यसपछि उनले संघीय सरकारको बजेटमा बनाउन लागिएको नारायणी तटबन्धको शिलान्यास गरे । झण्डै पाँच अर्ब लागतमा बन्न लागेको २३ किमी तटबन्धको प्रचण्डले भरतपुर–२६ स्थित शिसुवारमा शिलान्यास गरेका हुन् ।

त्यस्तै, उनले महानगरको रिङरोड अन्तर्गतको पश्चिम खण्डको सडकको शिलान्यास गरे । पटिहानीमा निर्माण गरिएको बहुउद्देश्यिय कबर्ड हलको पनि उनले उद्घाटन गरे । माओवादी केन्द्रले १६ चैतदेखि ‘गाउँ नगर घर–घर जाउँ, माओवादी केन्द्र जिताउँ’ को नारा लिएर ९८ वटै वडामा चुनावी प्रचारप्रसार थालेको छ ।

 

कांग्रेस चितवन सभापति भन्छन्- चुनावकाे मुखमा शिलान्यास र उद्घाटन नगर्नु नै ठिक

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पनि चुनावको मुखमा शिलान्यास र उद्घाटन नगर्नु नै ठिक हुने प्रतिक्रिया दिएका छन् । ‘गठबन्धनका नेताको के धेरै विरोध गर्नु । उहाँ आफैले बुझ्नुपर्ने कुरा हो,’ उनी भन्छन्, ‘निर्वाचन आइसकेको छ । त्यस्तो नगर्दा राम्रो हुने थियो ।’ चितवन आउँदै गर्दा माओवादी केन्द्रको अध्यक्ष मात्र नभएर गठबन्धनका नेताका रुपमा आएको जसरी आफ्ना विचार र अभिव्यक्ति राख्न उनले प्रचण्डलाई आग्रह गरे ।

कंगोमा विद्रोहीको हमलामा एक नेपाली शान्ति सैनिकको मृत्यु

काठमाडौं । कंगोमा विद्रोहीको गोली लागेर ज्यान गुमाएका नेपाली शान्ति सैनिक अनिल गुरुङ सुर्खेत गुर्भाकोट नगरपालिका(१४ का हुन् । उनी संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ कंगोमा तैनाथ शान्ति सेनाको पहिलो डफ्फामा कार्यरत थिए ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका कंगोमा विद्रोहीको गोली लागेर उनी गम्भीर घाइते भएका थिए । गोली लागेर ढलेका उनलाई लगत्तै हेलिकप्टरमार्फत कंगोकै बुनियास्थित लेबल–२ अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा उनको हिजो मृत्यु भएको हो ।

प्रमुख सेनानी निखिल कुँवरको कमाण्डमा खटिएको खोजतलास कारबाहीका क्रममा विद्रोहीले आक्रमण गरेका थिए । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार पहिला विद्रोहीको कब्जामा रहेको जमिनबाट उनीहरूलाई धपाएर नेपाली सेना त्यो ठाउँमा पुगेको थियो । त्यही बेला बिद्रोहीले परैबाट हानेको गोली लागेर गुरुङ ढले । ुअपरेसन बालीु नामको सो कार्बाहीका बाँकी सबै सदस्य सैनिक सुरक्षित रहेको सिलवालले बताए ।

कंगोमा शान्ति स्थापनार्थ खटिएका नेपाली सैनिकको मृत्यु भएकोप्रति संयुक्त राष्ट्र सुरक्षा परिषदले दुःख प्रकट गरेको छ ।

क्लब भलिबल लिग वैशाख १८ देखि

काठमाडौं । आरबिबि-एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग प्रतियोगिता वैशाख १८ देखि हुने सुरु हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किशोरकुमार श्रेष्ठ र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्माबिच सम्झौता पत्रमा हस्ताक्षर भयो ।

वाणिज्य बैंकले प्रायोजन स्वरूप भलिबल संघलाई अठार  लाख रुपैयाँ दिनेछ यसअघिका प्रतियोगिता आयोजना गर्न बैंकले संघलाई  १० लाख र १२ लाख रुपैयाँ प्रदान गरेको थियो । पत्रकार सम्मेलनमा बोल्दै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भलिबललाई निरन्तर रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘भलिबल भन्ने बित्तिकै हाम्रै हो भन्ने भावना आउँछ । बैंकले निरन्तर भलिबललाई सहयोग गर्ने प्रतिबद्धता गर्दछु,’ श्रेष्ठले भने । राउन्ड रोविन पद्धतिमा हुने प्रतियोगिता एक टिमले तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए ।

वैशाखमा हुने लिगमा महिलातर्फ तीन विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड स्पोर्ट्स क्लब र एभरेस्ट स्पोर्ट्स क्लब गरी पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ एपिएफ, पुलिस, आर्मी, हेल्प नेपाल स्पोर्ट्स क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन स्पोर्ट्स क्लब गरी सात टोली छन् ।

गत असोजमा भएको एनभिए क्लब च्याम्पियनसिपबाट छनोट भएका टिमहरूले लिगमा प्रतिस्पर्धा गर्न लागेका हुन् । क्लब च्याम्पियनसिपको महिलातर्फ न्यु डायमन्ड र पुरुषतर्फ आर्मीले उपाधि उचालेको थियो ।

क्लब लिगको महिला र पुरुष विजेताले समान ६ लाख रुपैयाँ, उपविजेताले तीन लाख रुपैयाँ, तेस्रो हुनेले एक लाख ५० हजार रुपैयाँ र चौथो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यो पटक पुरस्कार राशिमा पनि वृद्धि भएको आयोजकले बताएको छ । यस्तै, विधागततर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर,  लिब्रो र प्रशिक्षकले जनही १५/१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

किशोरीको हत्या आशंकामा दुई जना पक्राउ

उदयपुर । घरबाट ट्युसन पढ्न निस्किएकी किशोरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

कोशी जनता माद्यामिक विद्यालय रामपुरको कक्षा १० मा अध्ययनरत छात्रा १६ वर्षीया कविता सुनुवारको स्थानीय यसोदाखोलामा घरबाट विद्यालयमा हुने अतिरिक्त कक्षा पढ्न आउँदै गर्दा जबरजस्ती करणीपछि हत्या गरिएको आशंका गरिएको छ ।

साथीको हत्यापछि कोशी जनता माद्यामिक विद्यालय रामपुरका विद्यार्थी आन्दोलित बनेका छन् । उनीहरूले रामपुर बजारमा प्रदर्शन गरेका छन् ।

उदयपुरको बेलका नगरपालिका-६ बुद्धचोक घर भएकी किशोरीको मंललबार बिहान विद्यालयमा अतिरिक्त कक्षा पढ्न जाने क्रममा हत्या भएको थियो । बेलका नगरपालिका–३ यसोदाखोलामा मृत अवस्थामा फेला परेकी १६ वर्षीया कविता सुनुवारको हत्या आशंकामा सोही ठाउँ बस्दै आएका एक किशोरीसहित दुई जनालाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारतको सिक्किम राज्य बियुङ स्थायी घर भई  बेलका नगरपालिका–३ स्थित जितबहादुर ढकाल (खत्री)को घरमा बस्दै आएका १९ वर्षीय विनोद ढकाल र जितबहादुरकै छोरी १७ वर्षीया सरिता ढकाल (खत्री) रहेको प्रहरीले जनाएको छ ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका निरीक्षक कमाण्डको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । टोलीले घटनास्थल सुरक्षित राखी कानुनी प्रक्रिया पुरा गरी लास पोस्टमार्टम गर्न बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवासचन्द्र बोहराले अनुसन्धानका क्रममा करणी गरी हत्या भएको जस्तो देखिए पनि अहिले नै यकिन गर्न नसकिने बताए । उनले अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीसँग समन्वय भई सकेकाले अनुसन्धानपछि मात्र घटनाको पहिचान गर्न सकिने बताए ।

कक्षा १० मा अध्ययनरत बालिका एसईईको तयारीका लागि ट्युसन पढ्न सधैँ बिहानै जाने गरेको परिवारका सदस्यले बताएका छन् । घटना स्थल विद्यालयदेखि करिब ७ सय मिटर र घरबाट करिब दुई किलोमिटर पर रहेको स्थानीयले बताए ।

मृतक बालिकाको टाउकोमा चोट लागेको देखिएकाले कुटपिट गरी हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।