समाचार | Page 2026 of 5928 | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

समाचार

नेपालबाट थप ३२५ मेगावाट विजुली बेच्न भारतले दियो अनुमति 

काठमाडौं । भारतले नेपालबाट थप ३२५ मेगावाट बिजुलीलाई बेच्न अनुमति दिएको छ । भारतले आफ्नो प्रतिस्पर्धी बजारमा विजुली बेच्न अनुमति दिएको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले जानकारी दिइन् ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत थप ३२५ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी दिइन् । भारतले यसअघि ३९ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति दिएको थियो भने नेपालले थप विजुली किन्न भारतलाई आग्रह गर्दै आएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाकाे भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विजुली किनबेचको विषयमा छलफल भएको थियो । सोही छलफलपछि भारतको उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणबाट विजुली भारतीय बजारमा बिक्री गर्ने अनुमति दिएको हो । अहिले नेपालले भारतबाट विजुली किनिरहेको छ । बर्खा याममा भने नेपालबाट आवश्यकताभन्दा बढी विजुली उत्पादन हुँदै आएको छ । सो विजुली भारतीय बजारमा बेच्ने अनुमति भारतले दिएको हो ।

ललितपुरको बागमती गाउँपालिका अध्यक्षमा कांग्रेस, एमाले र माओवादीबाट यी हुन् आकांक्षी

ललितपुर । स्थानीय तहकाे निर्वाचनको सरगर्मी सुरु भएसँगै ललितपुरको बागमती गाउँपालिका अध्यक्षमा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रबाट काे काे उम्मेदवार बन्लान् भन्ने चर्चा सुरु भएको छ ।

बगमती गाउँपालिकामा हाल नेपाली कांग्रेसका वीरबहादुर लोप्चन अध्यक्ष छन् । उनले फेरि अध्यक्ष बन्ने इच्छा देखाएका छन् । अध्यक्षमा स्थानीय नेता माधव दुलाल र पालिका उपाध्यक्ष रञ्जना घिमिरे तिमल्सिना, वडा नम्बर ३ का वडाध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले दाबी गरेका छन् । ‘गाउँपालिका अध्यक्षमा मेरो पनि दाबी हो । म कुनै मूल्यमा आफ्नाे दबी छोड्दिन,’ तिमल्सिना भन्छन्, ‘मैले टिकट पाए जित्ने अवस्था छ ।’

एमालेबाट पालिका अध्यक्षमा नवराज सञ्जेलको पनि चर्चा छ । सञ्जेलले आफूलाई पार्टीले टिकट दिने बताउँदै आएका छन् । उनी भन्छन्, ‘निर्वाचनमा को उठ्ने भन्ने भन्दै हिँड्ने कुरा होइन । पार्टीले निर्णय गर्ने कुरा हो । तर म स्वाभाविक प्रतिस्पर्धी हुँ ।’ एमालेबाटै साजन दर्लामीले पनि अध्यक्षमा दाबी गरेका छन् । भन्छन्, ‘वडाध्यक्ष बनेर विकासको काम गर्न सकिने रहेनछ । ठूला बजेट पालिकामा हुन्छ । वडाले पाउने २०-३० लाख बजेट हात्तीको मुखमा जिरा जस्तो हुँदो रहेछ ।’

माओवादी केन्द्रबाट निसान दर्लामी मगरले अध्यक्षमा इच्छा राखेका छन् । उनीहरूको चर्चा स्थानीय क्षेत्रमा भए पनि गठबन्धनले कसलाई उठाउँछ र कस्तो समीकरण बन्छ भन्ने अझै अन्याेलमै छ ।

कांग्रेसमा वीरबहादुर र विष्णुमध्ये काे अध्यक्ष उठ्ने भन्ने दाउपेच चलिरहेको छ । नेपाली कांग्रेसको राम्रो प्रभाव रहेको याे पालिकामा एमालेका आकांक्षीहरू नै कांग्रेसको उम्मेदवारीअनुसार आफूहरु अघि बढ्ने योजना बनाइरहेका छन् । केही समयअघिसम्म विष्णु र पालिका अध्यक्ष वीरबहादुरबीच राम्रो सम्बन्ध थियाे । तर पछिल्लो समय उनीहरूबीच निकै  प्रतिस्पर्धा चलेको छ ।

पालिकामा राजनीतिक दाउपेचका आधारमा कसले निर्वाचन जित्छ भन्ने निर्धारण हुने स्थानीय नेता रमेश गौतम बताउँछन् । उनी भन्छन्, ‘यहाँ गठबन्धन कसरी हुन्छ भन्ने सबैको चासो छ । कांग्रेससँग जसले गठबन्धन गर्छ, नतिजा उसैको पोल्टोमा पर्ने सम्भावना छ ।’ उनका अनुसार कांग्रेसबाहेकका सबै शक्ति मिलेर गए अर्को नतिजा आउने सम्भावना पनि छ । उनी भन्छन्, ‘तर यसो हुने सम्भावना ज्यादै कम छ ।’

एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला सहसंयोजक अमृतनाथ तिमल्सिना पार्टीले अहिलेसम्म कसलाई उठाउने भन्ने विषयमा गृहकार्य सुरु नगरेको बताउँछन् । उनी भन्छन्, ‘केन्द्रमा गठबन्धन गर्ने निर्णय भएको छ । जिल्लास्तरमा समेत गठबन्धनको संयन्त्र बनेको छ । तलसम्म यसको संरचना बनेपछि तालमेल गरेर मात्र उम्मेदवार उठाइन्छ ।’

कविता सुनुवार हत्या :  घटनामा संलग्न सार्वजनिक नगरेसम्म शब नबुझ्ने परिवारकाे अडान

उदयपुर । टयुसन पढ्न विद्यालय जाँदै गरेकी कविता सुनुवारकाे हत्यामा संलग्नहरूलाई सार्वजनिक गर्न पीडित परिवारले माग गरेकाे छ । उदयपुरको बेलका नगरपालिका-३ स्थित कोशी जनता माध्यामिक विद्यालय रामपुरको कक्षा १० मा अध्यायनरत १६ वर्षीया सुनुवारको शब मंगलबार स्थानीय यशाेदाखोलामा विभत्स रूपमा हत्या गरिएकाे अवस्थामा फेला परेकाे थियो ।

शब फेला परेकाे २४ घन्टा बितिसक्दा पनि परिवारले जिम्मा लिएका छैनन् । उनीहरूले घटनामा संलग्नलाई सार्वजनिक नगरेसम्म शब जिम्मा नलिने अडान लिएका छन्। हत्या आशंकामा प्रहरीले उनकै केही सहपाठीलाई नियन्त्रणमा लिएकाे छ ।

हत्याको विरोधमा बुधबार बिहानैदेखि मदन भण्डारी लोकमार्ग स्थानीयवासी तथा विद्यार्थीले अवरुद्ध पारेका छन् । उनीहरूले हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्नु पर्ने र उनीहरूलाई सार्वजनिक पनि गर्नु पर्ने माग गरेका छन्  ।

कोशी जनता माध्यामिक विद्यालय रामपुरका विद्यार्थीहरू आन्दोलित भएका हुन् । उनीहरूले रामपुर, लालबजार, बुद्ध चोकमा प्रर्दशन गरिरहेका छन् । सुनुवारको हत्या आशंकामा सोही ठाउँ बस्दै आएका कक्षा १० मा पढ्दै गरेकी सहपाठी एक किशोरी र किशाेरलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारत सिक्किम राज्य बियुङ स्थायी घर भई  बेलका नगरपालिका–३ स्थित जितबहादुर ढकाल (खत्री)को घरमा बस्दै आएका १९ वर्षीय विनोद ढकाल र जितबहादुरकै १५ वर्षीया छोरी सरिता ढकाल (खत्री) रहेको प्रहरीले जनाएको छ ।

बेलका नगरपालिका–६ किराँत चोकका कृष्ण सुनुवारकी छोरी कविता मृत अवस्थामा भेटिएको जानकारी पाएलगतै इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । नियन्त्रणमा लिएका दुवै जनालाई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान थालिएको छ ।

घटनास्थल विद्यालयदेखि करिब सात सय मिटर र घरबाट करिब दुई किलोमिटर पर रहेको स्थानीयवासीले बताए । उनलाई बियरको बोतल र ढुंगाले हिर्काएर हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ । घटनास्थलबाट बियरका बोतर र रगत लागेको ढुंगा बरामद भएकाे छ । मृतक किशाेरीको टाउकोमा गहिराे चोट लागेकाले कुटपिटपछि हत्या गरेको हुन सक्ने प्रहरीकाे अनुमान छ । उनी अध्यायनरत विद्यालयले बुधवार शोक सभा आयोजना गरेको छ ।

ओलीकाे आराेप- पाँचदलीय गठबन्धन कुहिएको छ

भक्तपुर । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अहिलेको पाँंचदलीय गठबन्धन कुहिएको गठबन्धन भएको बताएका छन् । यो गठबन्धन कुहिसकेकाले चाँंडै टुट्ने उनले दाबी गरेका छन् । ‘जसरी फल कुहिनेवित्तिकै झर्दैन र केही समय लाग्छ, यो गठबन्धनको हालत पनि यस्तै भइसक्यो,’ उनले भने, ‘कुहिएको फल छुट्न थालेसँंगै गठबन्धन छुट्न थाल्छ ।’

भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित शान्ति निकेतन माविको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बुधबार उनले गठबन्धन किन टुट्छ भन्ने विषयमा भने कुनै उल्लेख गरेनन् । तर पनि निर्वाचनमा संयुक्त उम्मेदवारी दिने बेलामा गठबन्धन टुटने उनको आशय थियो ।  ओलीले अबको निर्वाचनपछि विकासको लहर सुरु हुने दाबी पनि गरे । चुनावपछि एमाले विजयी हुने र त्यसपछि शिक्षा, स्वास्थ्य सबैमा विकासको लहर चल्ने उनको भनाइ थियो ।

विद्यार्थीलाई देशभक्तिबारे अहिलेदेखि नै सिकाउनुपर्ने आवश्यकता रहेकाे उनले औंल्याए । स्थानीय निर्वाचन आउन लागेकाे र सबै घोषणापत्र लिएर आउने भन्दै उनले अरुको घोषणापत्र हावाको हुने सुनाए । ‘मेरो टेम्पाे उड्यो भने म तपाईलाई जापान उडाइदिन्छु भन्ने प्रकारको अरुको घाेषणापत्र हुन्छ,’ उनले भने, ‘जबकि न ट्याम्पो उड्छ न त जापान नै जान पाइन्छ ।’ एमालेकाे घोषणापत्र जनतासँंग मिलेर गर्नसक्ने कुराहरू राखेर मात्र बनाइने उनले दाबी गरे ।

धनगढीबाट काठमाडौं उडेको बुद्ध एयरको विमान नेपालगञ्जमा अवतरण

काठमाडौं । बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्किम अवतरण गरिएको छ । धनगढीबाट काठमाडौंका लागि उडेको विमानमा सवार एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नेपालगञ्जमा अवतरण गरिएको हो । नेपालगञ्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो । विमानस्थलमै स्वास्थ्य जाँच गरिएको र उनको अवस्था ठिक रहेको बुद्ध एयरले जनाएको छ । नेपालगञ्जमा यात्रुलाई आफन्तको जिम्मा लगाइएको छ ।

नगरकोटबाट १३ जुवाडे पक्राउ

भक्तपुर । भक्तपुरको चागुँनारायण नगरपालिका -६ नगरकोट गैरीगाउँमा बुधबार बिहान जुवा खेलिरहेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय ३७ वर्षीय मनबहादुर तामाङले आफ्नै तीनतल्ले घरमा सञ्चालन गरेको न्यु गन्तव्य रेस्टुरेन्ट एन्ड होटलमा जुवा (कौडा) खेलिरहेका उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

सूचना प्राप्त हुनासाथ परिसर भक्तपुरबाट प्रहरी अधिकृतको कमान्डमा खटिएको टोलीले कौडा खेल्ने १३ जनालाई आठ लाख २२ हजार ६० र १६ थान कौडासहित नियन्त्रणमा लिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

केन्द्रकाे सर्कुलरले कांग्रेस महोत्तरीका नेता कार्यकर्ता अलमलमा

महोत्तरी । कांग्रेसले उम्मेदवार छान्ने समयतालिका बनाएर मातहतमा सर्कुलर जारी गरेपछि महोत्तरीका पालिकाहरूमा वडा अध्यक्ष उम्मेदवार छान्ने प्रक्रियाले निकै फड्को मार्‍यो । बर्दिबास नगरपालिकाका-६ वडामा कांग्रेसले आफ्ना उम्मेदवार घोषणा पनि गर्‍यो । तर, कांग्रेसको केन्द्रीय कमिटीले उम्मेदवार छान्ने प्रक्रिया स्थगित गर्न अर्को सर्कुलर जारी गरेपछि अलमल सिर्जना भएको छ ।

आइतबार नै कांग्रेस बर्दिबासले वडा न.३ मा यज्ञ प्रसाद ढुंगेल, वडा न.१ मा भोला खड्का, वडा न.२ मा चोलाराज प्याकुरेल र वडा न.७ का भोरिल यादवलाई उम्मेद्‌वारमा सिफारिस गरेको थियो । सत्ता गठबन्धन दलहरूसँग चुनावी तालमेलको तयारीअघि बढेपछि कांग्रेसले तत्काल उम्मेदवारको टुंगो नलगाउन सर्कुलर गरेको हो । योसँगै नेपाली कांग्रेसले टुंगो लगाइसकेका उम्मेदवारहरू विषयमा समेत अलमल सिर्जना भएको छ ।

नगरले उम्मेदवारले टुंगो लगाएको बताए पनि जिल्ला सभापति नागेश्वर यादवले भने यो पूर्ण आधिकारिक नभएको बताए । तर, नगरस्थित कांग्रेसका नेता तथा कार्यकर्ताहरूले उम्मेदवार सर्वसम्मति भएको भन्दै सामाजिक सञ्जालबाट बधाई र शुभकामना व्यक्त गरिरहेका छन् । पार्टीको स्पष्ट निर्देशन नआएसम्म नाम सिफारिस भएका उम्मेद्‌वारलाई आधिकारिक मान्न नसकिने सभापति यादवको भनाइ छ ।

यता, केन्द्रीय कमिटीको निर्णयले तल्लो तहमा समस्या बनिरहेको नेता शंकर फुयाल बताउँछन् । निर्णय मान्नै पर्ने बाध्यताले स्थानीय तहमा जसरी अगाडि बढनुपर्ने हो त्यसरी बढन सकिएको छैन,’ उनले भने ।

तर, कतिपय नेताहरूले भने केन्द्रको निर्देशनमा नै अटेर गर्नु पार्टीको लागि दुर्भाग्य बनेको बताइरहेका छन् । पाटी गठबन्धनको पक्षमा रहँदारहँदै तल्लो तहमा आफुखुसी निर्णयसमेत भइरहेको बताउँदै युवा नेता शैलेश थापा सहमतिमा जानुको विकल्प नरहेको बताए ।

‘अहिलेको परिवेशमा गठबन्धनको जरुरी छ । गठबन्धन हुनैपर्छ,’ उनले भने ।

यता बर्दिबास नगरपालिकाका केही  वडामा उम्मेदवार छानिसके पनि स्थगित गर्ने निर्णयसँगै नगर तथा वडा कमिटी पछाडि हटेको नगर सभापति युवराज पोखरेलले बताए ।

ठमेलमा पाँच तोलाको सुनको सिक्री लुटपाट गर्ने एक जना भारतीय पक्राउ 

काठमाडौं । काठमाडौं महानगरपालिका–२७ ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको पाँच तोला सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको लाजिम्पाट बस्ने भारत सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङ रहेका छन् । उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न तामाङलाई काठमाडौं महानगरपालिका–२ उत्तरगेटबाट उक्त सुनको सिक्री सहित फेला पारी पक्राउ गरेको हो । उनीमाथि चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट थप अनुसन्धान भइरहेको छ ।

श्रीलंकामा जारी संकटकाल खारेज

एजेन्सी । श्रीलंकामा लागू गरिएको संकटकाल खारेज भएकोे छ । देशव्यापी राजनीतिक तथा आर्थिक उथलपुथलबीच राष्ट्रपति गोटाबाया राजापाक्षेले संकटकाल अवस्था खारेज गरेका हुन् । सरकारविरोधी प्रदर्शनबीच  गठबन्धनका सहयोगीहरू सरकारबाट बाहिरिएपछि राष्ट्रपतिले आफ्नो संसदीय बहुमत गुमाएका थिए ।

नवनियुक्त अर्थमन्त्री अली साब्रेले मंगलबार राजीनामा दिएका थिए । अर्थमन्त्रीमा नियुक्त भएको भोलिपल्ट उनले राजीनामा दिएका थिए । त्यसअघि मन्त्रिपरिषद्का  सबै सदस्यहरूले सामूहिक राजीनमा दिएका थिए । टापुको देश श्रीलंका पछिल्लो समय आर्थिक संकटबाट ग्रसित छ । आर्थिक संकटसँग देशमा राजनीतिक संकट पनि चुलिएको छ ।

रुपन्देहीकाे सिद्धार्थनगरमा गठबन्धनको तालमेल

भैरहवा । रुपन्देहीको सिद्धार्थनगरमा सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने भएका छन् । कांग्रेस जिल्ला कार्यालय भैरहवामा बसेको सत्ता गठबन्धनमा आबद्ध पाँचदलको बैठकले चुनावी गठबन्धनको आवश्यकता ठहर गर्दै र सोका लागि नगर र वडातहसम्म नै गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेका हुन् ।

सिद्धार्थ नगर नगरपालीकामा स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने कांग्रेस नगर सभापति कोशीसबहादुर खड्काले भने ।   बैठकले नगरमा गठबन्धनको लागि चार बुँदे निर्णय गरेको छ । त्यस्तै सिद्धार्थ नगर नगरपालिकाका सबै वडामा समेत तालमेल गर्ने निर्णय भएको कांग्रेस नगर सचिव अनिल केसीले जानकारी दिए ।

पोखरामा नयाँ वर्ष महोत्सव आयोजना हुने

पोखरा । पोखरामा नेपाली नयाँ वर्षमा महोत्सव आयोजना हुने भएको छ । अंग्रेजी नयाँ वर्षमा जस्तै नेपाली वर्षमा पनि महोत्सव हुन लागेको हो । कोभिड १९ ले थला परेको पर्यटन उकास्न र पर्यटकीय चहलपहल बढाउन महोत्सव आयोजना गरिएको हो । पश्चिमाञ्चल होटेल संघले हरेक वर्ष आयोजना गर्दै आएको महोत्सव २ वर्ष कोरोना कहरका कारण स्थगित भएको थियो ।

१७ औं संस्करणको महोत्सव चैत ३० देखि आगामी वैशाख १ गतेसम्म लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको तीन किलोमिटर सडकमा हुने आयोजकले जनाएको छ । महोत्सवलाई सम्पन्न गर्न २१ वटा उपसमितिहरू गठन भएका छन् । संघका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर उत्सव मनाउन लागिएको बताए ।

पोखराका होटेलमा अहिले २० प्रतिशत हाराहारी पर्यटक छन् । आन्तरिक र भारतीय पर्यटकको आगमन बिस्तारै बढ्न थालेको व्यवसायीहरूले बताएका छन् । महोत्सवका अवसरमा आफ्ना सदस्य होटेलमा बस्ने पाहुनालाई ३० प्रतिशत छुटको घोषणा गरिएको छ । रेष्टुरेण्ट र प्याराग्लाइडिङ क्षेत्रबाट समेत महंगीका बाबजुद पुरानै मूल्यमा सेवा प्रदान गर्ने प्रतिबद्धता गरिएको सुवेदीले जानकारी दिए । महोत्सवमा परम्परागत नेपाली खानाको प्रस्तुति र विक्री, सांस्कृतिक झाँकीका कार्यक्रम, लाइभ कन्सर्ट, मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुनेछन् ।

१ लाख रुपैयाँ घुससहित मालपोतका सर्भेक्षक र अमिन पक्राउ

काठमाडौं । नापी कार्यालय चाबहिल अन्तर्गत बूढानीलण्ठमा कार्यरत दुई जना १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । चाबहिलको १ नं. नापी टोली, बुढानिलकण्ठमा कार्यरत सर्भेक्षक बिनोद के.सी. र अमिन प्रकाशराज भट्ट एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

सर्भेक्षक के.सी. र अमिन भट्टले जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिइ गएको टोलीले उनीहरुलाई सेवाग्राहीबाट एक लाख घुस लिइसकेको अवस्थामा उक्त घुस रकमसहित पक्राउ गरिरहेको अख्तियारले जनाएको छ। उनीहरुलाई ललितपुर महानगरपालिका -५, लगनखेल, महालक्ष्मी मार्गबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

सुनको मूल्य ९८ हजार पाँच सय रुपैयाँ

काठमाडौँ । सुनको भाउ बुधबार तीन सय रुपैयाँले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको  ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार निर्धारण भएको छ । चाँदीको भाउ  पनि पाँच रुपैयाँले घटेको छ। मंगलबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ३५ रुपैयाँ निर्धारण भएको छ ।

विस्तारवाद मुर्दावाद भन्नेहरू भारतीय शासकको तलुवा चाटेर आउँछन् : पृथ्वीसुब्बा गुरुङ

पोखरा । एमालेमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालका राजनीतिक पार्टीहरु देशको रक्षाका लागि नभई भाषणका लागि मात्र खुलेका आरोप लगाएका छन् । ‘हरेक राजनीतिक पार्टीको मुख्य कुरा देशलाई बचाउनुहुन्छ । पार्टी खडा गर्ने देश बचाउनका लागि पनि हो, भाषण गर्न मात्रै त होइन,’ उनले भने, ‘आजसम्म भारतीय विस्तारवाद मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद भनिरहेका छन् । यता सडकमा विरोध गर्ने र भारत गएर शासकहरूको तलुवा चाटेर आउनेहरुलाई नांगेझार पार्ने समय चुनाव हो ।’

एमालेले देशको अहितमा हुने त्यस्ता नीति र सोचाइको विरोध गरेको भन्दै जनताले एमालेलाई रोज्ने उनको दावी छ । अहिलेको राजनीतिक परिस्थितिले विकासको अभियान ठप्प भएको भन्दै पुनः आफूहरू सत्तामा आएर निरन्तरता दिने गुरुङको भनाइ छ ।

‘गाउँगाउँमा बाटो पुर्‍याउने, सिँचाइ पुर्‍याउने अभियान, पालिका वडावडामा खेल मैदान बनाउने अभियान अवरुद्ध भयो । नेपाली जनताको सपना तुहियो । यो सपनालाई फेरि ब्युँझाउन एमाले लाग्नुपर्छ,’ उनी भन्छन्, ‘सारा युवाहरुको पार्टी एमाले हो । संसारको सपनाको देश अमेरिका भनेजस्तै नेपालमा सपनाको पार्टी नेकपा एमाले हो ।’

एमालेको गण्डकी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सबैले भरोसा गर्न सक्ने पार्टी भएकोले एमालेले चुनाव जित्ने बताए ।‘ज्येष्ठ नागरिकको आशा र भरोसाको पार्टी, युवाहरुको सपनाको पार्टी, ड्रीम पार्टी एमाले हो । मुलुकमा एमालेको सरकार भयो उद्यम खोल्न सक्छौं । आदर्श, समृद्धीको सपना बोकेको पार्टी एमाले बनेको छ । त्यै भएर नेकपा एमालेलाई भोट हाल्नुपर्छ,’ गुरुङले भने । माओवादीले शहिदहरुको सपना चकनाचुर पारेको भन्दै उनले एमालेले लोकतन्त्रलाई आत्मसात गरेको तर्क गरे ।

झापामा भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु 

काठमाडौं । झापाको बुद्धशान्ती गाँउपालिका–३ स्थित बुद्धचोकमा मंगलबार साँझ पिकअप भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । सोही घटनामा एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ३८ वर्षीया शान्ता सुब्बा रहेकी छन् । भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी सुब्बाको उपचारको क्रममा बिर्तामोड स्थित बि एण्ड सी अस्पतालमा मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी मोटरसाइकल चालक स्थानीय ४२ वर्षीया कविता लिम्बुको भने सोही अस्पतालमा उपचार भइरहेको छ । प्रदेश १–०१–०१३ प ४४९८ नम्बरको मोटरसाइकललाई प्रदेश १–०१–००१ च ७८३८ नम्बरको पिक अप भ्यानले मंगलबार बेलुकी पौने ७ बजे ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न दुवै सवारी साधन सहित पिकअप भ्यानका चालक ईलाका प्रहरी कार्यालय धुलाबारी झापाको नियन्त्रणमा रहेका छन् ।

अछाममा पुरुषभन्दा महिला मतदाताको संख्या साढे ४ हजारले बढी 

अछाम ।  जिल्ला निर्वाचन कार्यालय अछामले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । अछाममा कुल मतदाताको संख्या एक लाख ५६ हजार २८० छ । जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार पुरुषको भन्दा महिला मतदाता सख्या चार हजार ५८४ बढी छ । जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार पुरुष मतदाता ७५ हजार ८३७ छ भने महिला मतदाता ८० हजार ४४१ छन् । जिल्लाको रामारोशन, कमलवजार र ढकारी गाउँपालिकाबाहेक अन्य सातवटा पालिकामा पुरुष मतदाताभन्दा महिला मतदाताको सख्या बढी छ ।

साँफेबगर नगरपालिकामा पुरुष मतदाताभन्दा महिला मतदाता ९२९ बढी छन्। साँफेबगर नगरपालिकामा १० हजार ४६७ पुरुष र ११ हजार ३९६ महिला गरी २१ हजार ८६४ मतदाता छन् । सबैभन्दा कम मतदाता रहेको बान्नीगढी जयगढ गाउँपालिकामा पुरुषको भन्दा महिला मतदाता ४७० ले बढी छ । बान्नीगढी जयगढ गाउँपालिकामा पाँच हजार ६३६ पुरुष र ६ हजार १०६ महिला गरी ११ हजार ७४२ मतदाता छन् ।

यस्तै मंगलसैन नगरपालिकाकामा पुरुष मतदाताभन्दा महिला मतदाता संख्या ८८७ बढी छन् । मंगलसैनमा नाै हजार ४४५ पुरुष र १० हजार ३३२ महिला, अन्य एक गरी १९ हजार ८७८ मतदाता छन् । पञ्चदेवल बिनायक नगरपालिकामा पुरुषभन्दा महिला मतदाता ७७१ बढी छन्  ।  पञ्चदेवल बिनायकमा सात हजार ८२७ पुरुष र आठ हजार ६१८ महिला गरी १६ हजार ४४५ मतदाता छन् ।

यस्तै तुर्माखाँद गाउँपालिकामा पुरुषभन्दा महिला मतदाता १२७ ले बढी छन् ।  तुर्माखाँदमा सात हजार ६९२ पुरुष र सात हजार ८१९ महिला गरी १५ हजार ५११ मतदाता छन् । मेल्लेख गाउँपालिकामा पुरुष मतदाताभन्दा महिला मतदाताको संखया ५३१ बढी छ । मेल्लेखमा सात हजार ४१५ पुरुष र सात हजार ९४६ महिला, गरी १५ हजार ३६१ मतदाता छन् । चौरपाटी  गाउँपालिकाकामा पुरुषभन्दा महिला मतदाता एक हजार २३७ बढी छन् । चौरपाटीमा ६ हजार ७५४ पुरुष र ७ हजार ९९० महिला गरी १४ हजार ७४४ मतदाता रहेका छन् ।

रामारोशन गाउँपालिकामा भने महिला मतदाताभन्दा पुरुष मतदाता ९२ बढी छन् । रामारोशनमा सात हजार २५५ पुरुष र सात हजार १६३ महिला गरी १४ हजार ४१८ मतदाता छन् । यस्तै कमलवजार नगरपालिकामा पनि महिला मतदाताभन्दा १४९ बढी पुरुष मतदाता छन् । कमलवजारमा सात  हजार ४६ पुरुष र ६ हजार ८९७ महिला गरी १३ हजार ९४३ मतदाता छन् । ढकारी गाउँपालिका २६ जनाले मात्र महिलाभन्दा पुरुष मतदाता बढी छन् । ढकारीमा ६ हजार २०० पुरुष र ६ हजार १७४ महिला गरी १२ हजार ३७४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय अछामले जानकारी दिएको छ ।