समाचार | Page 1705 of 6023 | ईमाउण्टेन समाचार

Our Network

असार ६ २०८३, आइतबार

समाचार

इन्डोनेसियामा ९९ बालबालिकाको मृत्युपछि सबै सिरप औषधिमा प्रतिबन्ध 

जाकार्ता। इन्डोनेसियामा करिब १०० बालबालिकाको मृत्युले देशलाई सबै सिरप र तरल औषधिको बिक्री स्थगित गर्न प्रेरित गरेको छ । गाम्बियामा कफ सिरपका कारण करिब  ७० बालबालिकाको मृत्यु भएको बताइरहेका बेला इन्डोनेसियामा पछिल्लो घटना सार्वजनिक भएको हो । इन्डोनेसियाले भने कि केही सिरप औषधिमा तीव्र मृगौला चोट(एकेआई)सँग सम्बन्धित सामग्रीहरू फेला परेको थियो, जसका कारण यस वर्ष ९९ साना बालबालिकाको मृत्यु भएको छ ।

उक्त औषधि निर्यात गरिएको थियो वा स्थानीय रूपमा उत्पन्न गरिएको थियो भन्ने बारेमा केही खुलाइएको छैन् । बिहीबार इन्डोनेसियाका स्वास्थ्य अधिकारीहरूले भने कि उनीहरूले बच्चाहरूमा एकेआईका करिब २०० केस रिपोर्ट गरेको बताएका छन् ।

जावलाखेलमा पुष्प मेला 

ललितपुर। ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआगँन वरिपरि’ भन्ने मूल नाराका साथ १५औँ गोदावरी पुष्प मेला सुरू भएको छ। ललितपुरको जावलाखेलमा बिहीबारदेखि सुरु भएको पुष्प मेला चल्नेछ। फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा भएको मेलामा फूलको प्रतियोगिता, प्रदर्शनीसहित फूल पनि बिक्री गरिनेछ ।

मेलामा व्यावसायिक स्टलसहित ५५ वटा प्रदर्शनी कक्ष छन् ।

लिक्वुइडमा सलोन र आमेशको लाइभ म्युजिक

काठमाडौं। आगामी ६ कात्तिक साँझ दरबारमार्गस्थित लिक्वुइड लन्जमा ‘लिक्वुइड तिहार हंगामा विथ सलोन एन्ड आमेश लाइभ म्युजिक’ नामक कार्यक्रम हुने भएको छ । नजिकिँदो तिहारलाई लक्षित गर्दै कार्यक्रम हुन लागेको हो । कार्यक्रममा अभिनेताद्वय सलोन बस्नेत र आमेश भण्डारीले गीत गाएर दर्शक झुमाउने छन् । कार्यक्रम सलोन र आमेशका अलावा एफटी लिक्वुइड ब्यान्डले पनि आफ्नो प्रस्तुति दिने छ ।सलोन र आमेषले तिहार हंगामामा आफूहरूलाई धेरैभन्दा धेरै दर्शकका साथ मिल्ने विश्वास व्यक्त गरे । आफूहरू अहिले गायनको अभ्यास गरिरहेको भन्दा पत्रकार सम्मेलनमै गीत गाएर सुनाएका थिए ।

कार्यक्रम आयोजक सञ्जीव लामाले राति ९ बजेबाट आयोजना हुने कार्यक्रम निकै रमाइलो र भव्य हुने जानकारी दिए ।

माधव नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई पत्राचार

काठमाडौं। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग स्पष्टीकरण सोध्नुका साथै उनलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय रौतहटका नाममा पत्राचारसमेत गरेको छ । आफूले जितेमा युवालाई वैदेशिक रोजगारीको व्यवस्था गर्ने अभिव्यक्ति दिएको भन्दै रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपालसँग २४ घण्टे स्पष्टीकरण सोधेको आयोगले कारबाहीका लागि रौतहट प्रहरीलाई पत्राचार गरेको हो । रौतहटमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले ‘बिना ढेउवा के भिसा मिल्ते है, टिकट मिल्ते है, काठमाडौंमे तालिम मिल्ते है भनी दिएको वक्तव्य सामाजिक सञ्जालमा सार्वजनिक भएको र यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको आयोगमा पत्रमा उल्लेख छ ।

सोहीअनुसार आयोगले कारबाही प्रक्रिया अगाडि बढाउन पनिे रौतहट प्रहरीलाई पत्राचार गरेको हो ।

तोलामा एक सय रुपैयाँ घट्यो सुन

काठमाडौं। सुनको मूल्यमा प्रतितोला सय रुपैयाँले गिरावट आएको छ। नेपाली बजारमा बिहीबार प्रतितोला ९३ हजार रुपैयाँमा सुन बिक्री भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ९३ हजार एक सय रुपैयाँले सुनको मूल्य कायम भएको छ। हिजोमात्रै सुनको मूल्य ९३ हजार दुई सय रुपैयाँले कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा पाँच रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने चाँदी एक हजार एक सय रुपैयाँ तोलमा कारोबार भएको थियो।

‘ऐना झ्यालको पुतली’ का निर्देशक सुजित बिडारीले सुर्खेतमा मास्टर क्लास दिने

काठमाडौं। ‘ऐना झ्यालको पुतली’ का निर्देशक सुजित बिडारीले सुर्खेतमा फिल्मकर्मीलाई मास्टर क्लास दिने भएका छन् । सुजितले ११औँ संस्करणको नेपाल युरोपियन फिल्म महोत्सवमा अन्तिम दिन फिल्म मेकिङसम्बन्धी क्लास दिने भएका हुन् । नेपाल युरोपियन फिल्म फेस्टिभलको ११औँ संस्करण योपटक काठमाडौंसँगै पहिलोपल्ट सुर्खेतमा पनि हुँदैछ । सुर्खेतको मध्यपश्चिम विश्वविद्यालयमा चार दिन चल्ने फिल्म महोत्सवमा पाँच युरोपियन र तीनवटा नेपाली फिल्म प्रदर्शन हुनेछन् । यसरी प्रदर्शन हुने तीन नेपाली फिल्ममा सुजित बिडारी लिखित तथा निर्देशित ‘ऐना झ्यालको पुतली’ पनि रहेको छ । महोत्सव १९-२२ कात्तिकसम्म चल्नेछ । मास्टर क्लासमा आफ्नो अनुभव बाँड्न उत्साहित सुजितले  महोत्सवको अन्तिम दिन फिल्म मेकिङसम्बन्धी आफ्नो ज्ञान बाँड्ने छन् । सुजितले २२ कात्तिकमा पहिलो प्रहरमै फिल्म बनाउन चाहिने कथादेखि त्यसलाई खिच्ने तरिकासम्मको बारेमा छलफल गर्ने जानकारी गराए । ‘मास्टर क्लासमा मैले फिल्म बनाउन चाहिने आइडियादेखि त्यो आइडियालाई कथा हुँदै पटकथामा रूपान्तरण गर्ने र अन्त्यमा त्यसलाई दृश्यमा रूपान्तरण गर्ने प्रक्रियाबारे आफ्नो अनुभव बाँड्नेछु,’ उनले भने ।

अस्कर कलेजबाट फिल्म मेकिङमा स्नातक सुजितले मास्टर क्लासको दौरानमा सर्ट फिल्म देखाउँदै अन्तक्र्रिया अगाडि बढाउने बताएका छन् । यो दौरानमा सुजितले आफू स्वयं निर्देशित ‘सावित्री’ सँगै विश्व प्रसिद्ध सर्ट फिल्म पनि देखाउने जानकारी गराए ।

नेपाल युरोपियन फिल्म महोत्सवको ११औँ संस्करण काठमाडौँमा भौतिक रुपमा ११ देखि १५ कात्तिकसम्म चलचित्र विकास बोर्डको हलमा चल्दैछ । अनलाइनमा २८ अक्टोबरदेखि २८ नोभेम्बरसम्म हेर्न पाइनेछ ।

अपूर्वक्षितिजलाई पाँच वर्ष कैद माग गरिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताको निसानामा प्रहरी

काठमाडौं। नेपाल प्रहरीले कमेडियन अपूर्वक्षितिज सिंह्विरुद्ध पाँच वर्ष जेल सजायको मागसहित चारवटा मुद्दा दर्ता गरेपछि त्यसको चौतर्फी आलोचना भएको छ । नेवार समुदायमाथि व्यंग्य गरेको भिडियो युट्युबमा राखेपछि एक सय चारजना अभियन्ताले सिंहविरुद्ध प्रहरीमा मानहानीको उजुरी दिएका थिए । प्रहरीमा उजुरी परेलगत्तै सार्वजनिक माफी माग्दै सिंहले युट्युबबाट भिडियोसमेत हटाइसकेका छन् । दसैंअघि नै उनी प्रहरीको हिरासतमा थिए । तर कोभिड लागेपछि प्रहरीले उनलाई छाडेको थियो । मुद्दा अनुसन्धान नसकिएको भन्दै प्रहरीले पत्र पठाएपछि अपूर्व मंगलबार प्रहरीकहाँ गएका थिए । त्यहीँ उनलाई पक्राउ गरी प्रहरीले हिरासतमा राखेको थियो । बुधबार प्रहरीले अपूर्वविरुद्ध चारवटा मुद्दा लगाउँदै पाँच वर्ष जेल सजायको माग गरेपछि अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताको निसानामा नेपाल प्रहरी परेको छ । फेसबुक, ट्विटरलगायतका विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रहरीले अपूर्वमाथि अनाहकमा अत्याचार गरेको भन्दै आलोचना भइरहेको छ । ‘अपूर्व सिंहले नेवार समुदायमाथि गरेको व्यंग्यमा माफी मागिसकेपछि पनि किन गलत ढंगले ज्यादती हुँदैछ ? व्यंग्य पनि गर्न नपाउने कस्तो कमजोर धरातलको समाज बन्दैछ ?’ बाह्रखरी न्युजपोर्टलका प्रधानसम्पादक प्रतीक प्रधानले लेखेका छन् । ‘जातीय भावना–सद्भाव कसरी कमजोर हुँदैछ भन्ने कुराको ज्वलन्त उदाहरण हो, ‘स्ट्यान्डअप कमेडियन’ अपूर्व क्षितिजको घटना। माफी मागिसके। युट्युबबाट कमेडी हटाइसके। तैपनि उनीमाथि यो ज्यादती !अति नगरौँ। समाज यसरी बिग्रियो भने त्यसको रापमा हामी–हाम्रै सन्तान खरानी हुनेछन्, अन्य कयौँ देशमा जस्तै,’ राप्रपा नेता रवीन्द्र मिश्रले लेखेका छन् । पत्रकार तारानाथ दाहालले लेखेका छन्, ‘फौजदारी अपराध संहिता विधेयक जतिबेला विचाराधीन थियो र जतिबेला यो लागू गरियो त्यतिबेला हामी मात्रै थियौँ विरोध गर्ने। आज अपूर्व सिंहलाई व्यंग्य बोलेको अभियोगमा ४-४ वटा मुद्दा लाग्यो। तर अहिले पनि चुनावमा विगतमा नागरिक अधिकार र लोकतन्त्रविरुद्ध बनेका यस्ता अनेक कानुनबारे बहस छैन। प्रचण्ड, ओली, देउवा सबैको कालमा काला कानुन बनेका छन्। चुनाव केका लागि ? यस्तै काला कानुनको शासनलाई झन् बलियो बनाउन हो ? कसले जवाफ देला?’

पाँच वर्षसम्म कैद मागदाबी गरिएको मुद्दामा प्रतिवादी बनाइएका कमेडियन सिंहलाई बिहीबार अदालत लगिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार उनलाई जिल्ला अदालत काठमाडौं लगेको हो। अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा उनको बयान लिने तयारी गरिएको छ। बयान सकेपछि बिहीबार नै थुनछेक बहससमेत हुने बताइएको छ।

सिक्का साट्नेको लाइन 

काठमाडाैं।  नेपाल राष्ट्र बैंकले आजदेखि तिहारको लागि सुन र चाँदीको सिक्का बिक्री गर्न थालेको छ । तिहारको धनतेरसका दिन सुनचाँदीका गहना बनाउने, सिक्का साट्ने चलन छ। यसरी सिक्का साट्न आज बिहानैदेखि बबरमहलस्थित टक्सार, नेपाल बैंकको साखामा सर्वसाधारणको लाइन लागेको छ।

तामागढी-सिम्रौनगढ सडकमा जस लिने हाेड

बारा। कांग्रेसबाट बारा १ मा उम्मेदवार बनेका खानेपानी मन्त्री उमाकान्त चौधरीले चुनाव प्रचारको क्रममा तामागढी-सिम्रौनगढ सडक आफ्नो पहलमा निर्माण भएको दाबी गर्दै हिँड्न थालेपछि विपक्षी पार्टीका नेता कार्यकर्ता रुष्ट बन्न थालेका छन् । खासगरी एमाले नेता कार्यकर्ता चाैधरीकाे गतिविधिप्रति रुष्ट भएका हुन् । बारा जिल्लाको व्यापारिक र सामाजिक दृष्टिले महत्वपूर्ण रहेको यो सडक तत्कालीन प्रतिनिधिसभा सदस्य मुकुन्द न्यौपानेको पहलमा केन्द्रीय योजनामा समावेश भएको थियो । तत्कालिन निर्माण तथा यातायात मन्त्रालयमा सांसद न्यौपानेले दिएको निवेदनको आधारमा मन्त्रालयले तामागढी-सिम्रौनगढ सडकलाई ५ असार २०५२ मा केन्द्रीय योजनामा समावेश गर्ने निर्णय गरेको थियो ।तर कांग्रेसका केही नेताले वन फँडानीको कुरा देखाएर सडक निर्माणमा अवरोध गरेपछि हाल एमालेबाट बारा १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अच्युत मैनालीसहित कोल्हबी क्षेत्रका तत्कालीन जनप्रतिनिधिहरुको सक्रियतामा रुख र बुट्यान फँडानी भएको हो । यसअघिको पुरानो सडक वर्षाको भल पानी बगेर खोल्छी जस्तो गहिरो बनेपछि पुरानो बाटोको छेउबाट पूर्वतर्फ हाल चलनचल्तिमा रहेको नयाँ सडक निर्माण गरिएको हो । कोल्हबी क्षेत्रका हजारौ सर्वसाधारणले घरघरबाट निस्किएर सडक खोलेका हुन् । ठूला रुख जोगाउने क्रममा सो सडकको तामागढी-भलुहीखोर खण्डको जंगल क्षेत्रको केही स्थानमा सडक घुमाउरो बन्न पुगेको हो । सडकको रेखांकनमा परेका झाडी, बुट्यान र केही रुखसमेत स्थानीयले काटेपछि कांग्रेस कार्यकर्ताले मैनालीसहित सांसद न्यौपाने, तत्कालीन जिल्ला विकास समितिका सभापति छठुप्रसाद यादव, छविलाल उप्रेती, तत्कालीन सपही गाविसका अध्यक्ष स्वर्गीय भगवान पौडेल, उपाध्यक्ष रवि चौधरी, कोल्हबीका अध्यक्ष राजहरण चौधरी, रामपूर्वा गाविस अध्यक्ष दामोदर चौधरी, अमावका अध्यक्ष सुरेन्द्र चौधरीलगायत दर्जनौं जनप्रतिनिधि र समाजसेवीविरुद्ध ०५४ सालमा वन मुद्दा दायर गरेका थिए । सोही क्रममा सडक खन्न भनेर विभागबाट ल्याइएको एक थान डोजर तत्कालीन निर्माण तथा यातायातमन्त्री खुमबहादुर खडकाको निर्देशनमा फिर्ता गर्नसमेत लगाइएको थियो ।

वन विभागले जनप्रतिनिधिहरुको सक्रियतामा सडक निर्माणका लागि रुख फँडानी भएको पाइएको भन्दै नचल्ने निर्णय गरेपछि सो मुद्दा पछि निष्क्रिय भएको थियो । सोही समयदेखि  निर्माण प्रक्रियामा रहेको सो सडकको टेडाकट्टी क्षेत्रमा पर्ने करिब पाँच सय मिटर क्षेत्रबाहेक हाल कालोपत्रेसमेत भइसकेको छ। मन्त्री चौधरीले जनतामा भ्रम सृजना गर्न खोजेको स्थानीयले बताएका छन् ।

उम्मेदवारलाई मतदाताको जवाफ : पार्टीभन्दा पनि विकास गर्नेलाई भोट दिन्छौँ

सुर्खेत। रुकुम पश्चिम आठबीसकोट-९ की सीता बटालाको घरमा बुधबार नेकपा एमालेका नेता तथा कार्यक्रताहरु भोट दिन आग्रह गर्दै पुगे ।  उम्मेदवारसहित भोट माग्न घरमा पुगेका एमाले कार्यक्रताले घरमा साना बालबालिकाबाहेक ठूलो व्यक्ति कोही नभेट्दा बालबालिकाले दिएको सूचनाअनुसार धान काट्ने ठाउँमा जान बाध्य भए । दल बलसहित धान काटिरहेको खेतमा पुगेका नेता कार्यक्रता देख्दा सीता बटालासहित उनका पाँच जना परिवार अचम्ममा परे । भोट दिनुपर्‍याे भन्दै पुगेका उम्मेदवारलाई सीताले तपाईंहरूको एजेण्डा के छ सुनाउनुहोस् भन्दै प्रश्न गरिन् । एमालेका उम्मेदवारसहितका कार्यक्रता पनि के कम ? सबै एजेण्डा सुनाउने क्रम्मा सुरुमा भनेका थिए ,‘रुकुम पश्चिममा माओवादी ज्यादती बढी भयो , यसलाई ध्वास्त पार्नुपर्‍याे  । तपाईं, हामी नमिलेसम्म यो काम हुने छैन ।’ यो सुनेपछि सीतालाई रिस उठ्यो, उनले भनिन्, ‘तपाईंहरु भोट माग्न आएको हो कि इगो साट्न । तपाईंहरू जानुहोस् । हामीलाई जसले विकास गर्छ, खानेपानी, सिँचाई ,विद्युत ल्याउँछ उसैलाई भोट दिने हो । तर, तपाईंहरूको रिस पोख्ने ठाउँमा हामीलाई प्रयोग नगर्नुहोस् ।’यति सुनेपछि एमाले टोलीले केही छैन समस्या हामीलाई भोट दिनुहोला भन्दै खेतबाट बाहिरिए । डोल्पा ख का दोस्रो पटकका उम्मेदवार तथा कर्णाली प्रदेशका वनमन्त्री वीरबहादुर शाही ( गठबन्धनका साझा उम्मेदवार ‘माओवादी उम्मेदवार’) गाउँ घरमा दोस्रो पटकका लागि भोट माग्दै छन् । पहिलो चरणमा मैले गरेका कामहरु अधुरा भए अब दोस्रो पटक भोट दिएमा सबै पूरा हुने बाचा गर्दै भोट मागिरहेका छन् । मतदाताले खाद्य डिपोहरूमा नुन र चामलको आपूर्ती, सडक सञ्जाल छिटो जोड्नुपर्ने र विद्युतीकरण कहिले हुन्छ भन्ने लगाएतका माग राखेका छन् । माओवादीलाई यो पटक भोट दिएमा डोल्पाका अधिकांश कामहरू पूरा हुने शाहीको जवाफमा मतदाताले हामी पार्टीभन्दा पनि विकास निर्माणको कामलाई चिन्छौँ , जसले हाम्रो आधारभूत आवश्यकता पूरा गर्छ, उसैलाई भोट दिन्छौँ भन्दै जवाफ फर्काएका छन् । जाजरकोटमा गठबन्धनका सबै नेता तथा कार्यक्रताहरु एकै कार्यक्रम बनाएर गाउँ गाउँमा रहेका छन् । उनीहरुले अधुरा कामहरु पुरा गर्ने बाचासहित भोट मागिरहेका छन् । नेकपा एमालेका उम्मेदवार निरज आचार्यले आफू यूवा भएकाले भोट दिन आग्रह गरेका छन् ।

शान्ति प्रक्रियायताका समयमा नेकपा एमालेले जाजरकोटमा नेतृत्व गर्न नपाएका कारण उसले देखाउने विकासका एजेण्डाहरु खासै नभएको पाइएको छ । उत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार शक्तिबहादुर बस्नेतले आफूले गरेका कामको रामकहानी लामो बनाएर प्रचार गर्दै भोट मागीरहेका छन् । उनीले गरेका कामहरूको फेहरिस्त कांग्रेसका उम्मेदवार बेदराज सिंह ( गठबन्धन प्रदेश क) लगाएतका नेताहरु सुनाइरहेका छन् । गठबन्धनकै बलमा सबै काम भएको भन्दै प्रचार गरिरहेका छन् । जाजकोटमा शक्ति बस्नेत एक मात्र पटक पटक संघीय मन्त्री र पहुँच राख्ने नेता भएकाले गठबन्धनलाई भोट माग्न सजिलो बनाइदिएको छ । सुर्खेतमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति नै चुनावमा भिडेका कारण त्यहाँको माहुल तातिएको छ । सुर्खेतमा पनि गठबन्धनका उम्मेदवारहरु गाउँ ,गाउँमा पुगेका छन् । कालिकोट, जाजरकोट, रुकुम पश्चिम, हुम्ला र सल्यान पटक पटक संघीय मन्त्री पाउने जिल्लाको लिष्टमा पर्दछ । मन्त्रीको पद भजाउँदै विकास गर्छु भनेर मतदातालाई भोट माग्ने गतिलो हतियार समेत बन्दै आएको छ। प्रदेश सरकारको तर्फबाट कर्णालीका अधिकांश जिल्लाले मन्त्री पाइसकेको छ । मन्त्री पाएका अधिकांश व्यक्तिहरु चुनाव मैदानमा नभए पनि ४० प्रतिशतले चुनावमा भाग लिएका छन् । कर्णालीमा तेस्रो हैसियातमा खम्चिएको नेकपा एमाले रुष्ट व्यक्तिहरुलाई साथमा लिएर चुनावी परिणाम आफ्नो पक्षमा पार्ने दाउमा छ । गठबन्धन संवद्ध दलहरु रुष्टलाई फकाएर सबै परिणाम आफ्नो पक्षमा ल्याइ पल्लाभारी पार्ने दावी गरिरहेको छन । दोहोरिनेमा प्रतिनिधिसभामा रुकुम पश्चिमबाट जर्नादन शर्मा, जाजरकोटबाट शक्तिबहादुर बस्नेत, डोल्पाबाट धनबहादुर बुढा , कालिकोटबाट महेन्द्रबहादुर शाही दोहोरिएका छन् । प्रदेशमा डोल्पाबाट वीरबहादुर शाही, जुम्लाबाट पदम रोकाय, हुम्लाबाट मुख्यमन्त्री जीवनबहादुर शाही, दैलेखबाट अमर थापा, कालिकोटबाट कुर्मराज शाही, सल्यानबाट प्रकाश ज्वाला ( प्रतिनिधिसभा उक्लेका ) दोहोरिएका छन् । पहिलो चरणमा गठबन्धन बलियो बनाउने, दोस्रो चरणमा एमाले भित्र फुट पैदा गर्ने लगाएका कुरामा गठबन्धन चनाखो देखिएको छ । एमाले भित्र दुई धार देखिएका कारण चुनावमा प्रभाव पर्न सक्ने आकलन गठबन्धन भित्र चर्चा रहेको छ ।

गठबन्धन भित्र राम्रो एजेण्डा र जनमत भएकाले पुर्ण रुपमा सफल हुने नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए । यो पटक इन्चार्ज मल्ल, प्रदेश अध्यक्ष विमला केसी चुनावमा लडेका छैनन् । कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही जुम्लाबाट प्रदेशसभाका उम्मेदवार रहेका छन् । त्यस्तै नेकपा एमालेका स्थायी कमिटी सदस्य यमलाल कँडेल सुर्खेतबाटै प्रदेशसभाका उम्मेदवार छन् ।

सडकपेटीमा गृहमन्त्रीको निर्वाचन कार्यक्रम

भैरहवा। गृहमन्त्रीसमेत रहेका का‌ंग्रेस नेता बालकृष्ण खाणले सडकपेटीमै निर्वाचन कार्यक्रम गरेका छन् । पैदल यात्रु तथा सर्वसाधरणका लागि सहजहोस भन्ने हेतुले व्यस्त सडकको छेउछाउ बनाइएको सडकपेटीमै चुनावी कार्यक्रम गरिएकाे हाे ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाणले रुपन्देहीको क्षेत्र नम्बर ३ (भैरहवा)बाट उम्मेदवार बनेका छन् । उनले वडास्तरीय प्रचार प्रसार कार्यालयको उद्घाटन सडकपेटीबाट नै गरेका छन् ।

 

विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारको विकल्प छैन : गुरुङ

लमजुङ। माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले लमजुङको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारको विकल्प नरहेको बताएका छन् ।४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन लक्षित अभियानको क्रममा सुन्दरबजार नगरपालिका-२ सुन्दर बस्तीमा आयोजित गठबन्धन दलको कार्यकर्ता भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्। उनले जनताको विकास र समृद्धि र देश, जिल्लाको विकास र समृद्धि गठबन्धनका उम्मेदवारले मात्र गर्न सक्ने भएकाले मतदान गर्न अनुरोध गरे ।  गठबन्धन दलका उम्मेदवारहरू विकासका लागि प्रतिबद्ध रहेको उनकाे भनाइ थियाे। देश, हरेक जिल्ला, पालिका, वडा, बस्ती, टोल, घर र व्यक्तिका लागि काम गर्न सक्ने क्षमता गठबन्धनका उम्मेदवारमा रहेको गुरुङले बताए । खानेपानी, सिंचाइ, विद्युत, कृषि, शिक्षा, स्वास्थ्यलगायतको समग्र विकासमा लागि गठबन्धनका उम्मेदवारलाई बिजयी गराउनुपर्नेमा जोड दिए।

आफू प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेको र आफूलाई विजयी गराउन उनले अनुरोध गरे । सुन्दरबजार नगरपालिकामा चालू आर्थिक वर्षमा मात्र एक अर्ब आठ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन भएको भन्दै अब पुन: चुनाव जितेर गएपछि थप बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधिसभा सदस्यमा आफूलाई र प्रदेश सभा ‘क’ मा कांग्रेसका टकराज गुरुङ, प्रदेश सभा ‘ख’ मा भेषबहादुर पौडेललाई मतदान गर्न अनुरोध गरे।

सु्रक्षाकर्मीको झुन्ड लिएर भोट माग्दै गृहमन्त्री

भैरहवा। गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी प्रशासनको झुन्ड लिएर मत माग्दै हिँडेका छन् । आउँदो ४ मंसिरमा हुने प्रतिनिधि चुनावका लागि रुपन्देही ३ बाट उम्मेदवार बनेका खाँण भैरहवामा वडास्तरीय प्रचार प्रसार कार्यालयको उद्घाटन गर्न दर्जन बढी प्रहरी लिएर पुगेका हुन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाँणकाे सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान र सादा पोसाकका सुरक्षाकर्मी गरी दुई दर्जन बढी प्रहरी खटिएका छन् । जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको कमान्डमा गाडीसहित प्रहरी परिचालन गरेको छ भने सशस्त्र प्रहरीको २७ नम्बर गणले पनि सशस्त्र प्रहरी निरीक्षककै कमान्डमा सशस्त्र प्रहरी गाडीसहित छ । ट्राफिक प्रहरी पनि ट्राफिक व्यवस्थापनका लागि खटेको छ ।  बहालवाला मन्त्री भएकाले सरकारले नै व्यक्तिगत सुरक्षाका लागि सुरक्षाकर्मी प्रदान गरे पनि क्षेत्रगत रूपमा जिल्लाबाट पनि कार्यक्रम भएको स्थलमा प्रहरी परिचालन हुँदै आएको छ । घन्टाै‌सम्म हुने कार्यक्रममा सुरक्षाकर्मी क्षेत्र नम्बर ३ का उम्मेदवारसँग सँगै छन् । बहालवाला मन्त्रीले नै निर्वाचन आचारसंहिता २०७९ विपरीत आफ्नै प्रचारप्रसारमा हिँडेका छन्।चुनावको रन्को लागेदेखि मन्त्रालयमा समय नदिई प्रहरीको गाडीसहित प्रचारप्रसारमा मत माग्दै हिँडिरहेका छन् । सरकारी खर्चमा सरकारको गाडी प्रयोग गर्दै प्रचार प्रसारमा मतका लागि अनुरोध गरिरहेका छन् । निर्वाचन मिति तयभएपछि गृहमन्त्रीको ध्यान नेपालतर्फ हुनु पर्नेमा उम्मेदवारी दिएको क्षेत्रमै रहेको छ । ‘उहाँ आउँदा हामीलाई आवागमनमा समस्या भइरहेको छ, प्रहरीले यताबाट नजाउ उताबाट जाऊ भन्दै बाटो देखाइरहेकाे छ । यति नै सुरक्षाको डर छ भने निर्वाचन किन लड्नु भएको हो, सधैं भैरहवामै हिँडिरहँदा हामीलाई सास्ती भएको छ,’ एक बटुवाले भने ।

निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद २ को ४ (क) मा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाले त्यस्तो निकाय वा संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत साधान र सम्पति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ । त्यस्तै परिच्छेद ३ को दफा ५ क १ को (क)मा प्रतिबन्धाथ्मक वाक्यांशबमोजिम निर्वाचन प्रचार प्रसारमा संलग्न हुने नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिका पदाधिकारीले निर्वाचन प्रचार प्रसारमा संलग्न हुदा सरकारी स्रोत र साधानको प्रयोग गर्न नहुने छ । तर सरकारकै गाडी रहेको प्रहरीको गाडी प्रयोग भएको छ ।

ट्रकले ठक्कर दिँदा बसमा सवार ३० जना घाइते

सिरहा। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार-८ चोहर्वामा ट्रकको ठक्करबाट बस पल्टिदा बसमा सवार ३० जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश १–०५००१ ख ००२९ ट्रकले ना ७ ख ४९८१ नम्बरको बसलाई सोही दिशाबाट आइरहेको ट्रक अनियन्त्रित भइ पछाडिबाट ठक्कर दिँदा बसमा सवार ३० जना घाइते भएका हुन् ।

घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक  राजु केसीले जानकारी दिए ।
गम्भीर घाइते तीन जनालाई विराटनगर पठाइएको  छ ।

जुम्लामा विपद्को बेला कालोबजारी : सामान पुरानो, मूल्य नयाँ 

जुम्ला । विपद्को कारण देखाउँदै जुम्ला बजारमा कालोबजारी बढेको छ । खाद्य वस्तुमा अत्यधिक मूल्यवृद्धि भएको उपभोक्ताले गुनासो गरेका छन् ।

कर्णाली राजमार्ग खुलेको छैन । जुम्ला बजारमा आएको समान पहिलेको मूल्यमा ल्याइएको हो । जुम्लाका व्यापारीले सामान पुरानो भए पनि मूल्य बढाएर बेच्नेगरेको स्थानीय ददि नेपालीले बताए । उनले भने, ‘यसअघि खानेतेलको पेटी २२ सय थियो । कर्णाली राजमार्ग बन्द भएदेखि २६ सय देखी २८ सय  लिन थालेका छन् ।’

खाद्य वस्तु तथा खुद्रा सामग्रीमा मनपरी मूल्य लिने गरेको उनको गुनासो छ । नेपालीका अनुसार पहिले ल्याएको सामानको एकाएक मूल्य बढाइको छ । यसको लागी सरोकारवाला निकाय मौन छन् । जुम्लाका व्यापारीले यतिवेला विपद्को नाममा कालोबजारी गर्दै आएका छन् ।

नागरिकको ढाड सेक्ने गरी कालोबजारी भएको स्थानीय धनकृष्ण रावतले बताए । उनले भने, ‘ग्यासको पनि मूल्य एक्कासी बढेको छ । यसअघि २ दुई हजार दुई सय ५० रुपैयाँ थियो । अहिले न्यूनतम २८ सयदेखि ३ हजारसम्म  लिने गरेका छन् ।’ डिजलको मूल्य पनि ३ सय लिटर पुगेको छ । खाने तेल, चिनी, चामल दाललगायतका दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि भएपछि जुम्लाका नागरिक मर्कामा परेका छन् ।

विपद्‍मा कालोबजारी गर्दासमेत नियमन गर्ने निकाय मौन छन् । ठूला डिलरले बढी मूल्य लिने गरेकाले साना तथा खुद्रा व्यापारीले महँगोमा सामान बेच्ने गरेको बताएका छन् । त्यस्तै कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई कानुनी कारबाही गर्नु पर्ने नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए ।

रेमिट्यान्सको सदुपयोगका लागि वित्तीय साक्षरता कक्षा सुरु

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षा सुरु गरेको छ । विदेशबाट भित्रिएको रकमलाई बचत गर्ने र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने/गराउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षा सुरु गरिएको हो ।

नगरपालिकाले सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तरगत वैदेशिक रोजगारीमा संलग्न परिवारका महिला सदस्यलाई सहभागी गराएर वित्तीय साक्षरता कक्षा सुरु गरेको हो ।

२१ हप्तासम्म सञ्चालन हुने वित्तीय साक्षरता कक्षामा २० देखि २५ जनाको चार वटा समूह सहभागी छन् । वित्तीय साक्षरता कक्षामा रेमिट्यान्सको सदुपयोग एवं व्यवस्थापन गर्दै उद्यमशीलता विकास, आय–आर्जनमा वृद्धि, व्यावसायिकता सँगै अन्य आर्थिक र व्यवहारिक विषयवस्तुमा छलफल भइरहेको सुरक्षित आप्रवासन परियोजना (सामी) खोटाङका कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले जानकारी दिए । कक्षामा वैदेशिक रोजगारको कारणले परिवार तथा व्यक्तिमा पर्ने पिर, चिन्ता, हिंसा लगायतका मनोसामाजिक समस्यामा परामर्श समेत दिने व्यवस्था मिलाइएको छ ।

जिल्लाको हलेसी तुवाचुङ नगरपालिका र केपिलासगढी गाउँपालिकामा पनि वित्तीय साक्षरता कक्षा सञ्चालन हुँदैछ । हलेसी तुवाचुङ नगरपालिकामा दशैंअघिदेखि र केपिलासगढी गाउँपालिकामा वित्तीय साक्षरता कक्षा सञ्चालनको अन्तिम तयारी भएको कार्यक्रम संयोजक आचार्यले जानकारी दिए ।

सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम स्विस सरकार र नेपाल सरकारको संयुक्त कार्यक्रम हो । परियोजनाले वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र उपलब्धिमूलक बनाउने क्रियाकलाप सञ्चालन गर्दैआएको छ ।