समाचार | Page 1713 of 5975 | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८३, सोमबार

समाचार

सेयर बजार ३३.९७ अंकले घट्यो, सबै परिसूचक राताम्मे 

काठमाडौं । सेयर बजार आइतबार ३३.९७ अंकले ओरालो लागेको छ । ३३.९७ अंकले घटेर १८७६.४१ को बिन्दूमा सेयर बजार बन्द भएको छ । २२९ कम्पनीका ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर बिक्री हुँदा एक अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ । जसमध्ये १८० कम्पनीको सेयर मूल्य ओरालो लागेको छ भने आठ कम्पनीको बढेको छ ।

सबैभन्दा जीवन बिमा २२१, निर्जीवन बीमा १२४, विकास बैंक ९१, माइक्रोफाइनान्स ७७, उत्पादन ७१, जलविद्युत् ६५, व्यापार उपसमूह ६१, फाइनान्स ४७, होटल तथा पर्यटन ४० र बैंकिङ १२ अंकले घटेको छ ।

घुस रकमसहित पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव नेपालविरुद्ध विशेष अदालतमा आरोपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले घुस रकमसहति रंगेहात पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालय, नागरिक उड्‌डयन मन्त्रालयमा कार्यरत उपसचिव प्रमोद नेपालविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । प्याराग्लाईडिङ्ग सञ्चालन अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने भन्दै उनले सेवाग्राहीसँग ६ लाख  रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

उनी चढ्ने गाडी खान तलासी गर्दा थप १६ लाख ५० हजार पनि बराम बरामद गरिएको थियो । अनुसन्धानको सिलसिलामा उप(सचिव नेपालले सेवाग्राहीसँग प्याराग्लाईडिङ्ग सञ्चालन गर्न सञ्चालन अनुमतिपत्र ९लाईसेन्स० दिने क्रममा घुसररिसवत लिएको पुष्टि भएको अख्तियारको भनाइ छ । सोही आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर भएको हुँदा निज प्रमोद नेपाललाई बिगो ६ लाख रुपैयाँ कायम गरी ऐन अनुसार जरिवानाको सजाय र सोही ऐन अनुसार कैद सजाय मागदावी गरिएको छ ।

बालवाटिकालाई उपाधि

काठमाडौं । गोकर्णेश्वर नगर खेलकुद बिकास समितिको आयोजना तथा शंखडोल कराते एकेडेमीको संयोजकत्वमा दोश्रो गोकर्णेश्वर रनिङ शिल्ड कराते प्रतियोगिताको उपाधी बालबाटिका डोजोले जितेको छ । बालबाटिकाले ६ स्वर्ण ५ रजत र ४ काँस्य जित्यो भने दोस्रो भएको सरस्वती डोजोले ५ स्वर्ण ५ रजत र १५ कास्य पदक जित्न सफल भयो । तेस्रो स्थान हासिल गरेको शंखडोल डोजोले ४ स्वर्ण ८ रजत र ५ कास्य पदक जित्न सफल भयो ।

पुरुष तर्फ शंखडोल डोजोका राजकुमार राई उत्कृष्ट खेलाडी भए भने महिलातर्फ सरस्वती डोजोकी प्रश्ना केसीले उत्कृष्टको उपाधी जितिन् । विजयी खेलाडीहरूलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल, उपप्रमुख सान्नानी लामा, गोकर्णेश्वर नगर खेलकुद बिकास समितिका अध्यक्ष संजय लामा, युबा तथा खेलकुद उपशाखा प्रमुख रामनारायण शाह, सदस्य दिनेश राई, शंखडोल कराते एकेडेमीका प्रमुख प्रशिक्षक शिव कारान्जित लगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

गोकर्णेश्वर नगरपालिकाभित्रका तीन सय ५० खेलाडीको सहभागिता रहेको प्रतियोगितामा क्रमशः प्रथम, द्वितीय र तृतीय हुने टिमलाई नगद पुरस्कार १५ हजार, १० हजार र पाँच हजार प्रदान गरिएको थियो ।

बाढीले कर्णाली राजमार्गमा समस्या

सुर्खेत ।  शुक्रबारदेखि परेको अविरल बर्षाका कारण आएको बाढीले सुर्खेत पश्चिमका धेरै ठाउँमा क्षति गरेकाे छ। जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल र चैकुने गाउँपालिकाका धेरै स्थानका बस्तीमा बाढी पसेको हो।

चौकुने गाउँपलिका–८ भाम्लेमा आएको बाढीले १२ वटा घरहरुमा क्षति पुर्‍याएको छ । चौकुनेकै वडा नम्बर ९ रागमा विद्यापुर खोलाबाट आएको बाढी बस्तीमा पस्दा घर डुबानमा परेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिए।

उनका अनुसार उक्त स्थानमा करिब १० वटा घरहरूमा क्षति पुगेको छ। साथै चौकुनेकै ४ नम्बर वडाका केही बस्तीहरूमा बाढीले क्षति गरेकाे छ। ‘चौकुने ४ मा २ वटा घर उच्च जोखिममा रहेका छन्। ३ नम्बर वडाको गोर्भामा आएको पहिरोले ७ वटा घर उच्च जोखिममा रहेका छन् भने बेतान खोलबाट आएको बाढीले ३ सय रोपनी खेत बगरमा परिणत भएको छ। चौकुने १० घाटगाउँमा आएको बाढीले केही घरहरु उच्च जोखिममा रहेका छन्,’ उनले भने ।

चौकुने अध्यक्ष विकले बाढीमा परेर हालसम्म कुनै मानवीय क्षति  नभएको बताए। उनले बाढीबाट प्रभावित स्थानीयहरूलाई उद्धार गरेर सुरक्षित स्थानमा सार्ने र पाल तथा खाद्यान्नको व्यावस्थापन गरिरहेको र पीडितहरूलाई थप आवश्यकता अनुसारको राहत वितरण गर्ने तयारी रहेको जानकारी दिए । साथै बाढी र पहिरोले चैकुने गाउँपालिका भित्रका सबै ठाउँमा सडक अवरुद्ध गरेको छ। पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, दैलेख सडक पनि प्रभावित

अविरल बर्षासँगैको खसेको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको बड्डीचौर–तल्लोडुंगेश्वर सडक खण्डको कल्यानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी सुरज कार्कीले जानकारी दिए । उनकाअनुसार अवरुद्ध सडक खुलाउन डोजर पठाइएको छ ।

यता, सुर्खेत दैलेख सडक खण्डको गोठीकाँडामा खसेको पहिरोका कारण ठूला सवारी साधन अवरुद्ध बनेका छन् । ठूलो ढुंगा सडकमा खसेपछि साना सवारी बाहेक ठूला सवारी सञ्चालनमा कठिनाइ रहेको प्रवक्ता कार्कीले बताए । ढुंगा हटाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

सरकारले ‘नजरबन्द’मा राखेको प्रतिक्रिया दिएपछि राष्ट्रिय मानवअधिकार आयोगको टोली पुग्यो प्रधानन्यायाधीशकाे निवासमा 

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको एक टोली अहिले बालुवाटारस्थित प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर जबराको निवासमा पुगेको छ । जबराले आफूलाई सरकारले ‘नजरबन्द’मा राखी बाहिर निस्कन नदिएको प्रतिक्रिया दिएपछि मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको हो ।

‘प्रधानन्यायाधीशलाई घरबाट बाहिर निस्किन दिइएन भन्ने कुरा आयो, त्यसैले के भएको रहेछ भनेर बुझ्न हाम्रो टोली उहाँको निवासमा गएको हो,’ राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले भने ।

संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा परेका थिए । गएराति १२ बजेबाट सांसदको कार्यकाल सकिएपछि महाअभियोग निस्क्रिय भएको जनाउँदै उनले आजबाट काममा फर्कने तयारी गरेका थिए ।

तर सरकारले भने उनलाई काममा फर्किन नदिन ठूलो संख्यामा सुरक्षा कर्मी उनको निवासमा खटाएको छ  र उनलाई घरबाट बाहिर निस्कन दिएको छैन । यसैबीच राष्ट्रिय मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको हो ।

चीनमा बस दुर्घटनामा २७ जनाको मृत्यु

बेइजिङ । दक्षिणपश्चिम चीनमा आइतबार भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । ग्रामीण गुइझोउ प्रान्तको राजमार्गमा भएको दुर्घटना अहिलेसम्मकै सबैभन्दा घातक सकड दुर्घटना बताइएको छ । ४७ जना सबार बस दुर्घटनामा परेको प्रहरीले सामाजिक सञ्जालमा प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ । दुर्घटनाका २० घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । धेरै जातीय अल्पसंख्यक बसोबास गर्ने गुइझोउको दुर्गम र पहाडी क्षेत्रमा उक्त दुर्घटना भएको हो । दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

१५ बुँदे घाेषणापत्र सार्वजनिक गर्दै सकियाे चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिको आयोजनामा चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन १५ बुँदे घाेषाणापत्र सार्वजनिक गर्दै आइतबार सिड्नीमा सम्पन्न भएकाे छ ।

‘स्वास्थ्य संशाधनको सुदृढीकरणद्वारा मानसिक स्वास्थ्यमा सबैको पहुँच’ भन्ने नारासहित प्रत्यक्ष तथा भर्चुअल माध्यमद्वारा आयोजना भएको सम्मेलनमा विश्वका दुई दर्जनभन्दा बढी देशका गैरआवासीय नेपालीहरु, संघका पदाधिकारीहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थिति थियो ।  सम्मेलनका २५ वटा सत्रमा एक सयभन्दा बढी विज्ञहरूले आ-आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

यस्ताे छ सिड्नी घोषणापत्र 

१. स्वास्थ्य प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो । हरेक राष्ट्रको समृद्धि, सामाजिक अनि आर्थिक विकासका लागि स्वस्थ नागरिक अपरिहार्य हुन्छ । हरेक नागरिकको जीवनस्तर उकास्ने पहिलो आधार पनि गुणस्तरीय स्वास्थ्य नै हो भन्नेमा हामी विश्वभर छरिएर रहेका नेपाली स्वास्थ्यकर्मी एवं चिकित्सकहरु विश्वस्त छौँ । हरेक नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितताका लागि आवश्यक भूमिका निर्वाह गर्न हामी प्रतिबद्ध छौँ । साथै, विदेशमा सिकेका ज्ञान र सीपलाई नेपालको स्वास्थ्य क्षेत्रमा लगाउन नेपाल सरकारसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

२. कोरोना भाइरसको महामारीले विश्वका हरेक स्थानमा रहेका नेपाली पनि प्रत्यक्ष– अप्रत्यक्ष रूपमा प्रभावित भएका छन् । महामारीबीच उत्पन्न मानसिक स्वास्थ्य संकट अझ अर्को भयावह पक्ष हो । यसर्थ, मानसिक स्वास्थ्य संकट समाधानसहित हरेक व्यक्तिको चौतर्फी विकासका लागि विशेष योजना सहितका स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने ऐक्यबद्धता व्यक्त गर्दछौँ ।

३. ‘मानसिक स्वास्थ्य नै सम्पूर्ण स्वास्थ्य हो’ भन्ने मूल सिद्धान्त अनुरुप विश्वभर छरिएर रहेका सम्पूर्ण विज्ञ, विशेषज्ञ, मनोविद्, सल्लाहकार एवं मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यरत सम्पूर्ण महानुभावहरूलाई यसै सम्मेलन मार्फत्  मानसिक स्वास्थ्यको विश्वव्यापी सञ्जालमा आबद्ध हुन आह्वान गर्दछौँ  ।

४. छारे रोग, डिप्रेसन, आत्महत्या लगायतका समस्या समाधान तथा न्यूनीकरणका लागि बृहत् जनचेतना फैलाउन विशेष कार्यक्रम सञ्चालन गर्न अपरिहार्य देखिएकोले विश्वभरि छरिएर रहेका नेपालीहरुमा विविध कारणले  देखा परेका वा देखा पर्न सक्ने मानसिक स्वास्थ्य समस्या समाधानका लागि आ-आफ्नो स्थानबाट जनचेतना प्रवाह गर्न आह्वान गर्दछौँ ।

५. निजी तथा सरकारी क्षेत्रका सम्पूर्ण साझेदारहरूलाई नेपालमा मानसिक स्वास्थ्यको सहज र सुलभ पहुँच वृद्धि गर्न आवश्यक संरचनाहरू जस्तै ‘क्राइसिस सेन्टर,’ आत्महत्या रोकथाम परियोजना, परामर्श क्लिनिक,  पुर्नवास केन्द्र लगायतमा लगानी गर्न प्रोत्साहन तथा आग्रह गर्दछौँ ।

६. नेपालमा वा नेपाल बाहिर यूरोप, अमेरिका, अष्ट्रेलिया, मध्यपूर्व, अफ्रिका लगायतका  देशमा रही स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक, नर्स, जनस्वास्थ्यविद्, मानसिक  स्वास्थ्य क्षेत्रका विज्ञ, विशेषज्ञ, सम्पूर्ण स्वास्थ्यकर्मी, नीति निर्माणकर्ता, सामाजिक अभियन्ता  तथा यस क्षेत्रमा कार्यरत संघ संस्थाहरूलाई संगठित भई हातेमालो गरी,सूचना आदानप्रदान, सरसल्लाह, सीप विकास र अनुभव साटासाट गर्ने साझा सञ्जालको विकास गर्न आव्हान गर्दछौँ ।

७.  मधुमेह, हृदयरोग, क्यान्सर जस्ता दीर्घ रोगहरूले नेपाली समुदायलाई आक्रांत पारेको तीतो सत्य हामीमाझ छ । यस्ता दीर्घ रोगको रोकथाम, व्यवस्थापन र स्वास्थ्य सम्बर्द्धनका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक ठानिएको छ । यसका लागि स्वस्थ जीवनयापन, गुणस्तरीय जीवनशैली, गुणस्तरीय खानपान एवं पोषण, र तनाव व्यवस्थापन लगायतमा ध्यान दिँदै यी क्षेत्रमा बृहत् चेतना अभिवृद्धि गर्न अपिल गर्दछौँ ।   महिलामा हुने पाठेघर, स्तन क्यान्सर तथा जो कोहीलाई हुन सक्ने  क्यान्सरको पहिचान र त्यसको रोकथामका लागि विशेष पहल र कार्ययोजनासहित अघि बढ्न यो सम्मेलन आह्वान गर्दछ ।

८. स्वस्थ समाज निर्माण एवं नागरिक स्वास्थ्य अभिवृद्धिका लागि  चिकित्सा, योग, आयुर्वेद, होमियोपेथी, अकुपंचर लगायत परापूर्वकालदेखि आधुनिक विज्ञान सम्मले स्वीकार गरेका स्वास्थ्य पद्धतिको लोकप्रियता र प्रभावकारिता विश्वस्तरमै व्यापक बन्दै गएको छ । सम्मेलनमार्फत हामी आयुर्वेद एवं वैकल्पिक चिकित्सा पद्धतिमा नेपालमा र  नेपाल बाहिर रहेका नेपालीहरूलाई समेट्न तथा त्यसबाट लाभान्वित हुनसक्ने वातावरण निर्माणका लागि आह्वान गर्दछौँ । त्यसका लागि आवश्यक अनुसंधान, जडिबूटीजन्य औषधिहरूको उत्पादन, सर्वसूलभता र प्रचारप्रसारका लागि नेपाल सरकार तथा सरोकारवाला निकायसँग पनि सहकार्य र हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

९. स्वास्थ्य क्षेत्रको बृहत् विकास र नागरिक स्वास्थ्य सुनिश्चितताका लागि एक अन्तर्राष्ट्रियस्तरको  अनुसन्धान केन्द्र (रिसर्च सेन्टर)  स्थापनाको लागि नेपाल सरकार र सरोकारवाला सबैसँग अपिल गर्दछौँ ।

१०. विभिन्न रोगजन्य महामारी, प्राकृतिक प्रकोप तथा विपदका बेलामा पनि स्वास्थ्य पूर्वाधार, स्वास्थकर्मी, चिकित्सक एवं स्वास्थ्य सेवाको अभावका कारण ज्यान गुमाउन बाध्य नेपालीको संख्या उल्लेख्य छ । यो विकराल अवस्थाको अन्त्यका लागि दूरदराजसम्म स्वास्थ्य सेवाको सहज पहुँच स्थापित गर्नु अनिवार्य देखिएकाले यस सम्बन्धमा गम्भीर हुन हामी नेपाल सरकारसँग अपिल गर्दछौँ । साथै, र्यापिड रेस्पन्स टीम ( २४ घण्टाभित्र स्वास्थ्यकर्मी सहितको टोलीले सेवा प्रवाह गर्न सक्ने ) भौतिक संरचना निर्माण र दुर्गम स्थानमा प्रोत्साहनसहितको सेवा सञ्चालन गर्न  आवश्यक वातावरण निर्माण, भौतिक एवं प्राविधिक सहयोगका लागि नेपाल सरकारसहित विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरु समक्ष  आव्हान गर्दछौं ।

११. घुम्ती स्वास्थ्य सेवा, क्लिनिक, म्यामोग्रम, रक्तदान बस लगायतका लागि आवश्यक सहयोग जुटाउने तथा यसका साथै विभिन्न प्रकारका स्वास्थ्य शिविरहरूको संचालन गरी दूरदराजसम्म पनि स्वास्थ्य सेवा प्रवाह गर्न आह्वान गर्दछौँ ।

१२. स्वास्थ्यको पहुँचबाट कोही पनि नेपाली विमुख हुन नपरोस् भन्नेमा हामी एकमत छौँ । सीमान्तकृत र भौगोलिक वा अन्य कारणले पिछडिएका तथा विविध कारणले ओझेलमा परेका  समुदायमा समान स्वास्थ्य सुविधा र पहुँचका लागि नेपाल सरकार समक्ष अनुरोध गर्दछौँ ।

१३. नेपालको स्वास्थ्य क्षेत्रको विकास र हरेक नेपाली स्वस्थ नेपाली एवं सहज स्वास्थ्य सेवाको पहुँच लगायतका अवधारणा र लक्ष्य हासिल गर्दै  विश्वभरका स्वास्थ्यकर्मी, चिकित्सक एवं सरोकारवाला सहित नेपाल सरकारसँग समेत सहकार्यका लागि यो सम्मेलनलाई निरंतरता दिने प्रण गर्दछौँ ।

१४. विश्वभर छरिएर रहेका स्वास्थ्यकर्मी एवं चिकित्सक, विज्ञ, विशेषज्ञ लगायत समग्र स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तित्वहरुलाई एउटै सूत्रमा बाँधी नेपाल र नेपालीप्रति थप जिम्मेवार बनाउने, यस क्षेत्रमा देखिएका समस्या पहिचान एवं निराकरण गर्ने तथा नीतिनिर्माण तहमा गर्न सकिने योगदान लगायतका विषयमा बृहत् छलफल गर्ने उद्देश्यले यही वर्षको डिसेम्बर महिनाभित्र एनआरएनए अमेरिकामा क्षेत्रीय स्वास्थ्य सम्मेलन र पाँचौ विश्व स्वास्थ्य सम्मेलन क्यानाडामा आयोजना गर्ने  निर्णय गरिन्छ ।

१५. अन्त्यमा,गैरआवासीय नेपाली संघ, चौथो नेपाली विश्व स्वास्थ्य सम्मेलन सम्पन्न गर्न सहयोग गर्नुहुने गैरआवासीय नेपाली संघ अष्ट्रेलिया, एनआरएनए अन्तर्राष्ट्रिय परिषद, नेपाल सरकार, बुद्धिजीवि, सल्लाहकार, विशेषज्ञ, विज्ञ, सम्पूर्ण सञ्चारकर्मी र विश्वभर छरिएर रहेका नेपालीहरुप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ ।

समयमै लक्षण पहिचान गर्न सके रोक्न सकिन्छ आत्महत्या 

खोटाङ । चिकित्सक तथा प्रहरीहरूले समयमै लक्षण पहिचान गर्न सके आत्महत्या रोक्न सकिने बताएका छन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आइतबार जिल्ला प्रहरी कार्यालय खोटाङले आयोजना गरेको कार्यक्रमका उनीहरूले सबै आत्महत्या रोक्न नसकिए पनि समयमै लक्षण पहिचान गर्न सके आत्महत्या रोकथाम गर्न सकिने बताएका हुन् ।

जिल्ला अस्पताल खोटाङकी डा. नितु लामाले पटक-पटक आत्महत्याको विषयमा कुरा गर्ने मानिसले आत्महत्या गर्नसक्ने हुँदा त्यस्तो कुरा गर्ने साथीभाइ, आफन्त, छिमेकीलाई समयमै सम्झाइ-बुझाइ गर्नुपर्ने बताएकी छन् । ‘प्रायः मानसिक रोग भएका मानिसहरूले आत्महत्या गर्ने गरेको पाइएको हुँदा आफ्नो टोल छिमेकमा त्यस्ता बिरामी देखिएमा उपचारका लागि पठाउनु पर्छ,’ डा. लामाले भनिन्, ‘आत्महत्या समस्याको समाधा होइन, समस्याको सुरुवात हो भनेर बुझाउन सक्नुपर्छ ।’

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक रामबालक रायले आत्महत्या गराउन सकने तरिका र पहुँच घटाउनुपर्नेमा जोड दिएका छन् । कीटनाशक, लागुपदार्थ, घरेलु हतियार, डोरीलगायतको पहुँचबाट मानसिक बिरामीलाई टाढा राख्नुपर्ने प्रहरी निरीक्षक रायको सुझाव छ । ‘डिप्रेसन, मद्यपान र सिजोफ्रेनिया जस्ता मानसिक समस्या भएका बिरामीको उपचार गर्ने । पूर्णरूपमा डिप्रेसनबाट बाहिर आउन साइकोथेरापी र औषधिद्वारा उपचार गर्नुपर्छ,’ प्रहरी निरीक्षक रायले भने, ‘आफैमा परिवर्तन, परिवारको माया र समाजको साथले एउटा मानिसलाई मृत्युको मुखबाट हटाउन सक्छ र समाजमा आत्महत्या दर घटाउन सकिन्छ ।’

खोटाङमा आत्महत्या दर बढ्दो क्रममा देखिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ४९ जना, आर्थिक वर्ष २०७७/०७८ मा ६७ जना, आर्थिक वर्ष २०७८/०७९ मा ६७ जनाले आत्महत्या गरेको तथ्यांक छ । आर्थिक वर्ष २०७९/०८० मा ९ जनाले आत्महत्या गरेको प्रहरी निरीक्षक रायले बताए ।

जिल्लाका १० स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आत्महत्या दर बढी देखिएको छ । सबैभन्दा कम जन्तेढुंगा, बराहपोखरी, केपिलासगढी र साकेला गाउँपालिकामा आत्महत्या दर कम देखिएको रायले बताए । दिवसको अवसरमा आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्वन्धी सचेतनामूलक र्‍याली निकालिएको थियो । प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईको प्रमुख आतित्थ्यमा भएको कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, डिएसपी मञ्जिल मुकारुङलगायतको उपस्थिति थियो ।

कोदोको रक्सी ब्रान्डिङ गर्दै गण्डकी विश्वविद्यालय, कसरी हुँदैछ अनुसन्धान ?

पोखरा । गण्डकी सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयले नेपालको घरेलु मदिरा कोदोको रक्सीमा अनुसन्धान गरिरहेको छ । कोदोको रक्सीलाई ब्रान्डिङ गर्न अनुसन्धान थालिएको हो । कोदोबाट बन्ने रक्सीजन्य पदार्थबारे विज्ञ समूहले अनुसन्धान थालेको हो । अनुसन्धान केन्द्र निर्देशक प्रा.डा. देवप्रसाद पाण्डेको संयोजकत्वमा ६ सदस्यीय विज्ञ टोलीले अध्ययन अन्तिम चरणमा पुर्‍याएको छ ।

विश्वविद्यालयले कास्की, स्याङ्जा, म्याग्दी, लमजुङ र नवलपुरबाट रक्सी संकलन गरेर गुणस्तर मापन गरेको छ  । ल्याव रिपोर्टले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्डअनुसारको पेय पदार्थ भए यसलाई ब्रान्डिङ गर्ने विश्वविद्यालयले जनाएको छ ।

‘कोदोको मदिराजन्य अनुसन्धानले नेपाललाई नै समृद्ध बनाउने तथ्य बाहिर ल्याउँछ भन्ने हाम्रो विश्वास छ,’ कार्यदलका संयोजक पाण्डे भन्छन्, ‘अनुसन्धानले कोदोको मदिराजन्य पदार्थ उत्पादनमा नयाँ रहस्य पक्कै आउँछ । यसबाट विदेशी ब्रान्डका रक्सीको आयात घटाउँदै देशलाइ समृद्ध बनाउने आधार तयार हुनेछ । कोदोको रक्सीलाई ब्रान्डिङ गरेर त्यसको प्याटेन्ट राइटसमेत नेपालको हुनेछ ।’

विदेशबाट महँगा रक्सी नेपालमा आयात हुँदा अर्वौं रुपैयाँ बाहिरिएको छ । कोदोको रक्सी स्वादमा पनि फरक भएकोले यसलाई ब्रान्डिङ गर्नुपर्ने आवाज सर्वत्र छ । गण्डकी प्रदेशसभामा बोल्ने सांसदहरूले पनि कोदोको रक्सीलाई वैध बनाउनुपर्ने आवाज उठाएका थिए । रक्सीको अनुसन्धानमा पाँच करोड खर्च हुने बताइएको छ ।

विश्वविद्यालयले प्रत्येक जिल्लाका ८५ वटा नमुना संकलन गरेको छ । परम्परागत रूपमा मदिरा उत्पादन गर्ने चार सय २५ घरको नमुना संकलन भएको पाण्डेले जानकारी दिए । उक्त मदिरा उत्पादन प्रक्रिया समेत मसिनो गरी अनुसन्धान गरिएको छ । खाद्य प्रविधि विभागमा एक वर्ष लगाएर रक्सीको इथानल, मिथानल र आर्सेनिकसहित विभिन्न सूचक हेरिएको छ । केही नमुनामा विषाक्त तत्व भेटिए पनि सबैमा त्यस्तो नभएको उनले बताए ।

‘मानिसको जीवनसँग जोडिएको रिसर्च भएकाले यसको अनुसन्धानले केही समय लिन्छ नै । केही नमुनामा मिथानल भेटिएको छ, यसले मानव स्थास्थ्यमा असर गर्छ,’ उनले भने, ‘अब मर्चाको पनि अन्तिम रिपोर्ट आउने तयारीमा छ । अल्कोहल र मर्चा पछि हामी कोदोको उत्पादनको विषयमा समेत अनुसन्धान गर्छौं ।’

गण्डकी विश्वविद्यालयले केही समयअघि अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशाला गरेको थियो । बेलायत, कोरिया, अमेरिकालगायत देशका विज्ञहरू सहभागी थिए । घरेलु रक्सी उत्पादनलाई गैरकानुनी मानिँदै आएकोमा पछिल्लो वर्षमा यसको ब्रान्डिङबारे बहस हुन थालेको हो ।

ङादी ग्रुप पावरको हकप्रद सेयर आजदेखि लिलामीमा

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आइतबार (आज) २ असोजदेखि अवतरित हकप्रद सेयर बोलकबोल माध्यमद्वारा  बिक्रीमा ल्याएको छ । कम्पनीले सर्वसाधारण समूहतर्फको नबिकेको १२ लाख ५७ हजार २९० कित्ता सेयर आइतबारबाट बोलकबोलमार्फत बिक्री गर्न लागेको हो ।

उक्त सेयरमा १३ असोजसम्म आवेदन दिन सकिनेछ । आवेदन दिँदा न्यूनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिनुपर्नेछ । कम्पनीले उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेका छ । यसर्थ आवेदन दिँदा न्यूनतम १०० रुपैयाँ कबुल गरि आफ्नो बोलपत्र पेस गर्नुपर्नेछ ।

सेयर लिलाम प्रक्रियाको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । क्यापिटलको कार्यालय नक्साल तथा सिद्धार्थ बैंकको शाखाहरु बिराटनगर, बिर्तामोड, बिरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुंग, बुटवल , घोराही, नेपालगंज, सुर्खेत, धनगडी र महेन्द्र नगर शाखाबाट बोलपत्र आवेदन बुझाउन सकिनेछ ।

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा ९१ हजार आठ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

विपद्को कहरः पाँच महिनामा २०३ जनाको मृत्यु, ९६ करोडभन्दा बढीको क्षति

काठमाडौं । पछिल्लो पाँच महिनामा विपद्का घटनामा परी देशभर २०३ जनाको मृत्यु भएको छ । सोही अवधिमा विपद्का घटनाले ९६ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाख १ गतेदेखि भदौ ३१ गतेसम्मको अवधिमा उक्त जनधनको क्षति भएको हो ।

सो अवधिमा रेकर्डमा आएका १ हजार ७०९ वटा विपद्का घटनामा परी २०३ जनाको मृत्यु, १७ जना बेपत्ता र ४८८ जना घाइते भएका छन् । यस वर्ष विपद्का घटनाबाट २ हजार १८५ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

सबैभन्दा बढी घटना आगलागीका 

प्राधिकरणका अनुसार बितेको पाँच महिनामा विपद्मध्ये सबैभन्दा बढी आगलागीका घटना रेकर्ड भएका छन् । उक्त अवधिमा ८३३ वटा आगालगीका घटना भएका थिए । यस्तै पहिरोका २२८, बाढीका ३७, डुंगा दुर्घटना ३, चट्याङ्का २ सय, सर्पदंश २१, भारीवर्षाका १०६, हुरी बतासका ९५, भूकम्पका ५, जनावर आक्रमणका १२८ र वन डढेंलोका ५३ घटना यस वर्ष रेकर्ड भएको प्राधिकरणले जनाएको छ ।

चट्याङबाट सबैभन्दा बढीको मृत्यु 

यसवर्ष विपद्का घटनामध्ये सबैभन्दा बढीको मृत्यु चट्याङ लागेर भएको छ । हालसम्म चट्याङ लागेर ६६ जनाको मृत्यु भइसकेको छ । प्राधिकरणका अनुसार यसवर्ष पहिरोमा परी ५० जना, बाढीमा परी १३, डुंगा दुर्घटनामा १, सर्पको टोकाइबाट १७ र आगलागीका घटनामा परी २१ जनाको मृत्यु भएको छ ।

यस्तै भारी वर्षाका कारण ५, हुरी बतासका कारण ९, जनावरको आक्रमणका परी २० र वन डढेंलोमा परी १ जनाको मृत्यु भइसकेको प्राधिकरणले जनाएको छ । यस वर्ष पहिरोमा परी ५ जना, बाढीमा परी ११ र डुंगा दुर्घटनामा १ जना गरी कुल १७ जना बेपत्ता भएका छन् ।

आगलागीका घटनाबाट सबैभन्दा बढी आर्थिक क्षति 

पछिल्लो पाँच महिनामा विपद्का घटनाबाट ९६ करोड १४ लाख १७ हजार ४३५ रुपैयाँ बराबरको आर्थिक क्षति राज्यले व्यहोरेको छ । सो अवधिमा सबैभन्दा बढी क्षति आगलागीका घटनाले गरेको छ । आगलागीका घटनाबाट बितेको पाँच महिनामा ८१ करोड ३८ लाख १७ हजार १६० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

प्राधिकरणका अनुसार उक्त समयमा पहिरोले ६ करोड ७९ लाख ५१ हजार ७ सय रुपैयाँ, बाढीले १ करोड ३२ लाख ४२ हजार रुपैयाँ, चट्याङबाट ३३ लाख ३२ हजार रुपैयाँ, भारीवर्षाबाट २ करोड ५ लाख ७० हजार १७५ रुपैयाँ, हुरी बतासबाट २ करोड ५४ लाख ११ हजार ८ सय रुपैयाँ, भूकम्पबाट ८ लाख ३० हजार रुपैयाँ, जनावरको आक्रमणबाट ३८ लाख ७७ हजार ६ सय रुपैयाँ र वन डढेंलोबाट १ करोड २३ लाख ८५ हजार रुपैयाँ बारबरको आर्थिक क्षति गरेको छ ।

अघिल्लो वर्षको तुलनामा कम क्षति 

अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्षको पहिलो पाँच महिनामा विपद्का घटनाले कम जनधनको क्षति गरेको छ । अघिल्लो वर्ष अर्थात २०७८ वैशाख १ गतेदेखि भदौ मसान्तसम्मको पाँच महिनाको अवधिमा देशभर १ हजार ७९६ वटा विपद्का घटना रेकर्ड भएका थिए ।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार ती घटनामा गत वर्ष २४८ जनाको मृत्यु, ४३ जना बेपत्ता र ४८८ जना घाइत भएका थिए । सो अवधिमा २ हजार ४०२ परिवार विपद्का घटनाबाट प्रभावित भएका थिए । गत वर्षको पहिलो पाँच महिनामा विपद्का घटनाबाट १ अर्ब १ करोड ८ लाख ८८ हजार ८४२ रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो ।

हेलम्बुको खोलामा बेपत्ता भएका शिक्षककोे हेलिकोप्टरबाट जीवितै उद्धार 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका- १ को  खोलामा चिप्लिएर बेपत्ता भएका शिक्षक केशव शिवाकोटीलाई आइतबार जीवितै उद्धार गरिएको छ । दोलखाको कालिन्चोक-३ स्थायी घर भएका ३७ वर्षका शिवाकोटीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।

डीएसपी बुढाथोकीका अनुसार शिक्षक शिवाकोटी हेलम्बु-१ मा रहेको ठाडो खोलाको खोँचमा अड्किएको अवस्थामा फेला परेको र उनको उद्धारको भएको हो । शिवाकोटीको स्वास्थ्य अवस्था सामान्य रहेको र केहीबेरमा उनलाई काठमाडौ‌ लगिने तयारी भइरहेको छ । शनिबार नुहाएर फर्कने क्रममा अचानक शिवाकोटी चिप्लिएर खोलामा डुब्दा बेपत्ता भएका थिए । उनी सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-१ सर्कथली आधारभूत विद्यालयका शिक्षक हुन् ।

जसपाकी निवर्तमान सांसद रेणुका गुरुङ र पूर्वएआईजी ठाकुर मोहन श्रेष्ठ राप्रपामा प्रवेश 

काठमाडौं । जनता समाजवादीकी निवर्तमान सांसद रेणुका गुरुङ र पूर्वएआईजी ठाकुर श्रेष्ठ राप्रपामा प्रवेश गरेका छन् । जसपा नेतृ गुरुङ, सशस्त्र प्रहरी बलका पूर्वएआईजी श्रेष्ठ, एकीकृत राष्ट्रिय शक्ति नेपालकी केन्द्रीय सदस्य, महिला संगठनकी अध्यक्ष अन्जु सुवेदी लगायत १६४ जना राप्रपामा प्रवेश गरेका राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार शनिबार पार्टी कार्यालयमा भएको कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरुलाई पार्टीको सदस्यता प्रदान गरेर स्वागत गरेका थिए । अध्यक्ष लिङ्देनले समाजका प्रतिष्ठित व्यक्तिहरुको प्रवेश र विश्वासले राप्रपा जनताबीच लोकप्रिय बन्दै गएको पुष्टि भएको बताए ।

निवासबाटै चोलेन्द्र शमशेर जबरा निस्किन रोक 

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बालुवाटारस्थित निवासबाट निस्किन दिइएको छ । आइतबार सर्वाेच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर जबरालाई निवासबाट रोक्न रोक लगाइएको हो ।

जबरा सर्वाेच्च फर्कने तयारी गरेपछि उननलाई रोक्न बार एसोसिएसनका पदाधिकारी र सदस्यहरु अदालत परिसरमा धर्ना दिएका छन् भने बाक्लो रुपमा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।

शनिबार मध्यरातबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको सांसदको कार्यालय नै सकिएपछि जबरा आइतबार सर्वाेच्च अदालत आउने बताएका थिए ।जबरााविरुद्ध १ फागुन २०७८मा महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो। दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए।

महाभियोगबारे प्रतिनिधिय सभाको महाभियोग सिफारिस समितिले छानबिन गरेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ । समितिको बहुमतले जबराविरुद्ध महाभियोग लगाउन सिफारिस गर्दै शनिबार प्रतिथवेददन बुझाएको थियो ।

सर्वोच्च अदालत वरपर सुरक्षा व्यवस्था कडा

काठमाडौं । निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबरा सर्वोच्च अदालत फर्कने भएपछि सर्वोच्च अदालत वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।सर्वोच्च अदालत वरपर अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रधानन्यायाधीस जबरा माथि संसदमा महाअभियोग दर्ता भएपछि उनी निलम्बनमा परेका थिए । महाअभियोग प्रक्रिया नटुङ्गीदै आज राती १२ बजेबाट सांसदहरुको कार्यकाल सकिएका कारण महअभियोग निस्क्रिय भएको जनाउँदै जबरा काममा फर्कन लागेका हुन् ।