समाचार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

समाचार

सभापति लामिछानेको प्रश्न–संवैधानिक परिषद्मा आएका नामहरुमध्येबाट बहुमतले एक जनालाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेकुरा कसरी असंवैधानिक ?

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संवैधानिक घेराभित्र रहेर योग्यमध्येबाट एक जनालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको विषयलाई ‘सडक बहस’ बनाउन नहुने बताउनुभएको छ । आईतवार पार्टीका सांसदहरूका लागि ललितपुरमा आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो ।

उहाँले संवैधानिक परिषद्मा आएका नामहरुमध्येबाट बहुमतले एकजनालाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेकुरा कसरी असंवैधानिक भयो ? प्रश्न गर्नुभयो । उहाँले प्रधानन्यायाधीश नियुक्तिको परम्परा भत्काएको आरोपप्रति आपत्ति जनाउँदै पुरानै अभ्यास कायम राखिएको भए अहिले पनि संवैधानिक परिषद्मा भागबण्डाकै चलिरहने टिप्पणी गर्नुभयो । संवधैधानिक आयोगमा सिफारिस गरिएका विषयलाई अनावश्यक छलफलको विषय नबनाउन समेत सबैमा आग्रह गर्नुभयो ।

पार्टी सांसदहरुलाई गुटबन्दीमा नलाग्न सभापति लामिछानेको निर्देशन

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरुलाई गुटबन्दीमा नलाग्न निर्देशन दिनुभएको छ ।आईतवार पार्टीका सांसदहरूका लागि ललितपुरमा आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो निर्देशन दिनुभएको हो । उहाँले रविको मान्छे र बालेनको मान्छे हो भन्दै हल्ला गर्ने गरेको भन्दै पार्टीभित्र त्यस्तो कुनै गुटबन्दी नगर्न निर्देशन दिनुभयो ।  उहाँले ७० वर्षअघि राजनीतिक रुपमा मिल्नुपर्ने व्यक्तिहरु नमिलेकै कारण नेपाल ७० वर्ष पछाडि धकेलिएको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री साह र आफूबीच कुनै व्यक्तिगत मुद्दाका लागि एकता नभएको पनि उहाँको भनाइ छ । उहाँले आफूहरुलाई फुटेको चाहना राख्ने सञ्चारमाध्यमहरुप्रति असन्तुष्टि व्यक्त गर्दै आफूहरु राजनीतिक रुपमा परिपक्व भएको बताउनु भयो । उहाँले आफूहरु नयाँ भएपनि बेवकुफ नभएको बताउनु भयो । उहाँले फरक प्रसंगमा बोल्दै सुकुम्बासीहरुको व्यवस्थापनका लागि सरकार लागिपरेको उल्लेख गर्दै कसैलाई पनि घरबारविहीन नबनाइने स्पष्ट पार्नुभयो ।

ज्येष्ठ नागरिकका ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्न चुनौतीः ईश्वर पोखरेल

काठमाडौं ।

नेकपा एमालेका नेता ईश्वर पोखरेलले ज्येष्ठ नागरिकका ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न चुनौती रहेको बताउनुभएको छ । मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘ज्येष्ठ नागरिकको ज्ञान र सीप हस्तान्तरण’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले बदलिँदो समयमा नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्नु सबैभन्दा ठूलो चुनौती रहेको बताउनु भयो । ज्येष्ठ नागरिकको सम्मान र संरक्षण गर्ने दायित्व सबै पक्षको भएको उहाँले बताउनु भयो । पुराना पुस्ताका ज्ञान र विचारलाई नयाँ पुस्तामा लैजान प्रतिष्ठानले कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाई छ ।

संघीय सरकार, स्थानीय तह तथा विभिन्न संघ–संस्थासँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रतिष्ठानले व्यवसायिक तथा प्राविधिक शिक्षाको प्रवद्र्धनसँगै ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा र ज्येष्ठ नागरिक केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्नेछ । नेता पोखरेलले मनमोहन स्मृति प्रतिष्ठानलाई प्रदेश र जिल्लास्तरमा पनि गठन गर्ने जानकारी दिनुभयो । उहाँले प्रतिष्ठानलाई व्यवस्थित र प्रभावकारी बनाउँदै लोकतान्त्रिक तथा वामपन्थी आन्दोलनमा योगदान पु¥याएका व्यक्तित्वहरूको विचार र योगदानलाई नयाँ पुस्तासँग लैजाने बताउनु भयो । उहाँले मनमोहन अधिकारीले ज्येष्ठ नागरिकहरुका लागी अगाडी सारेको सामाजिक सुरक्षा भत्तासम्बन्धी योजना हाल प्रभावकारी भएको पनि स्मरण गराउनु भयो । शनिवारदेखि शुरु भएको अन्तर्राष्ट्रिय सम्मेलन आईतवार सकिएको हो । –

सरकारले गरिव नागरिकलाई सबैभन्दा बढी पीडा दियोः संयोजक दाहाल

काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले गरिव नागरिकलाई सबैभन्दा बढि पीडा दिएको आरोप लगाउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । संयोजक दाहालले श्रमजीवि वर्गमाथि सबैभन्दो ठूलो आहात दिने काम सरकारबाट भएकाले पनि नेपालका कम्युनिष्ट पार्टीहरुले वर्गीय पक्षधरताको पक्षमा दृढतापूर्वक उभिएर काम गर्नुपर्ने बेला आएको बतउनु भयो ।

उहाँले कम्युनिष्टहरुबीचको एकताले मात्रै वर्ग संघर्षलाई माथि उठाउन सकिने भएकाले सो काममा नेपालका कम्युनिष्ट पार्टीहरु एकतावद्ध भएर लाग्नुपर्ने आवश्यकता भएको पनि बताउनु भयो । अध्यक्ष दाहालले नेपाली जनताले नेपालमा कुम्युनिष्ट पार्टीहरुमाथि नै भरोसा गरिरहेको जिकिर पनि गर्नुभयो ।

पार्टी सांसदहरुलाई सभापति लामिछानेले भने– ‘योगदानको मूल्य माग्ने बेला मेरो पनि भएको छैन, परिणाममुखी काम गर्नूस्’

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी पाँच वर्ष परिणाममुखी काम गर्न नसके आफूहरू अयोग्य सावित हुने बताउनुभएको छ । आईतवार पार्टीका सांसदहरूका लागि ललितपुरमा आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले केही सांसदहरुले पार्टीमा योगदानको नाममा व्यक्तिगत व्यक्तिगत अपेक्षा राखेर आफू कहाँ आउने गरेको उल्लेख गर्दै योगदानको मूल्य माग्ने समय भइनसकेको स्पष्ट पार्नुभयो ।

उहाँले पार्टीले सहज रूपमा राजनीतिक उचाइ हासिल गरेको भएपनि त्यसको आधार विगतका राजनीतिक आन्दोलन र परिवर्तनले तयार पारेको बताउनुभयो । फरक विचार, सिद्धान्त र राजनीतिक दृष्टिकोण भएपनि अघिल्ला पुस्ताका नेताहरूले गरेको संघर्षकै जगमा यो क्रान्ती सम्भव भएको उहाँको भनाइ छ । उहाँले आफ्नो अभिव्यक्ति र क्रियाकलापहरुले आम नागरिकमा चोट पुग्ने कुरामा सचेत हुन सबै सांसदहरुलाई आग्रह गर्नुभयो ।

जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढिरहेको छः आइजीपी कार्की

काठमाडौं ।

नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताउनुभएको छ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनमा उहाँले जटिल भुगो र देशभर जथाभावी निर्माण गरिएका सडक तथा कमजोर इन्जिनियरिङ संरचनाले दुर्घटनाको जोखिम थप बढाएको बताउनुभएको हो । उहाँले नेपालमा सवारी दुर्घटनाबाट हुने मानवीय क्षति अत्यन्त दुःखद् बन्दै गएको भन्दै दैनिक औसतमा आठ जनासम्मको मृत्यु हुने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय भएको बताउनु भयो ।

कार्कीले सवारी दुर्घटना राज्य, व्यवसायी, मजदुर युनियन तथा सम्पूर्ण नागरिकको साझा चिन्ताको विषय भएको उल्लेख गर्दै यसलाई न्यूनीकरण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले यातायात व्यवसायीको महाधिवेशनले पनि दुर्घटना न्यूनीकरणका लागि स्पष्ट मार्गनिर्देशन र दिशा तय गर्नुपर्ने बताउनु भयो । उहाँकाअनुसार पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको प्रभावका कारण नेपालमा बाढी, पहिरो तथा मनसुनजन्य विपद् बढ्दै गएका छन्, जसले सवारी दुर्घटनाको जोखिम थप बढाएको छ । विशेषगरी चाडपर्वको समयमा भएका ठूला दुर्घटनाले मानवीय क्षतिसँगै राष्ट्रलाई ठूलो आर्थिक नोक्शानी पनि व्यहोर्नुपरेको छ ।

आइजीपी कार्कीले दुर्घटनाका कारण केवल मानवीय कमजोरी मात्र नभई इन्जिनियरिङ पक्ष पनि उत्तिकै जिम्मेवार रहेको बताउनु भयो । गाउँ–गाउँमा योजनाविहीन रूपमा डोजर प्रयोग गरेर बनाइएका सडकले दुर्घटना निम्त्याएको उल्लेख गर्दै उहाँले यस्ता सडकको प्राविधिक गुणस्तर तथा वातावरणीय प्रभावको गम्भीर समीक्षा आवश्यक रहेको बताउनु भयो ।जलवायु परिवर्तन, कमजोर सडक संरचना, लापरवाही, अज्ञानता र कानूनी कार्यान्वयनको कमजोरीलाई दुर्घटनाका प्रमुख कारणका रूपमा औंल्याउँदै सुरक्षित यातायात प्रणाली निर्माणमा राज्यले दीर्घकालीन नीति अवलम्बन गर्नुपर्नेमा उहाँको जोड थियो ।

कम्युनिष्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी/विदेशी प्रतिक्रियावादीहरु निकै ठूलो डिजाइनमा लागेका छन्ः दाहाल

काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी प्रतिक्रियावादीहरु ठूलो डिजाइन अन्तर्गत लागि परेको बताउनुभएको छ ।
२६ औं निर्मल लामा स्मृति दिवसको अवसर पारेर आईतवार काठमाडौंमा आयोजित  एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । संयोजक दाहालले सो तथ्यलाई स्वीकार गरेर अघि बढने आँट नेपालको कम्युनिष्ट आन्दोलनले नगरे श्रमजीवि जनताप्रति ठूलो घात गरेको ठहर्ने पनि बताउनु भयो ।

उहाँले नेपालका कम्युनिष्ट पार्टीहरुले आफै भित्र पहिला  समिक्षा गरेर सच्याउने र सिगै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर फेरी नयाँ ढंगले आन्दोलनमा जानुको विकल्प नरहेको दाबी समेत गर्नुभयो । संयोजक दाहालले नेपाली जनताले सबै कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध भएर अघि बढेको हेर्न चाहेको पनि बताउनु भयो ।

यातायात क्षेत्र अहिले अनेकौं समस्याबाट गुज्रिरहेको छ, सरकारले यो क्षेत्रलाइ बचाउन सही कदम चालोस्ः श्रेष्ठ

काठमाडौं ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) अध्यक्ष विनोद श्रेष्ठले यातायात क्षेत्र अहिले अनेकौं समस्याबाट गुज्रिरहेको बताउनुभयो  । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनमा उहाँले बढ्दो इन्धन मूल्य, महँगो सवारीसाधनका पार्टपुर्जा, बैंकहरूको चर्को ब्याजदर, करको भार, अस्वस्थ प्रतिष्पर्धा, सडकको दयनीय अवस्था तथा नीतिगत अस्थिरताले यातायात व्यवसायीहरू गम्भीर रूपमा प्रभावित भएको बताउनु भयो । डिजिटल प्रविधिको नाममा अनियन्त्रित र अव्यवस्थित प्लेटफर्महरूको प्रवेशले परम्परागत यातायात व्यवसाय थप दबाबमा परेको उहाँले बताउनुभयो । राज्यले स्पष्ट नीति, समान अवसर र व्यवसायमैत्री वातावरण निर्माण गर्न नसक्दा व्यवसायीहरूले थप समस्या भोग्नुपरेको उहाँको भनाइ थियो । अध्यक्ष श्रेष्ठले राज्यको न्यून लगानी तथा नयाँ प्रविधिलाई व्यवस्थित रूपमा समायोजन गर्न नसक्दा नेपाली जनताको लगानी नै जोखिममा परेको बताउनु भयो । उहाँले केवल सवारीसाधनको आयु तोकेर व्यवसाय अन्त्य गर्ने नीति उपयुक्त नभएको उल्लेख गर्दै समयअनुकूल व्यवस्थापन र रूपान्तरण आवश्यक रहेको बताउनु भयो । श्रेष्ठले यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र दीर्घकालीन रूपमा सञ्चालन गर्न राज्यले लगानी बढाउनुका साथै स्पष्ट नीतिगत व्यवस्था लागू गर्नुपर्नेमा जोड दिनुभयो । साथै, व्यवसायीहरू एकतावद्ध भएर आफ्ना अधिकार र समस्या समाधानका लागि आवाज उठाउनुपर्ने आवश्यकता रहेको पनि उनले बताउनु भयो । महाधिवेशनमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र उप्रेतीले सडक सुरक्षादेखि नीतिगत सुधार तथा यातायात क्षेत्रका मुद्दामा सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

उहाँले नाडा यातायात व्यवसायीबीचको सम्बन्ध नङ र मासुजस्तै रहेको बताउँदै सहकार्य गरेर अघि बढ्ने बताउनु भयो । सवारीसाधन आयात गर्ने र यातायात व्यवसायीहरूले सञ्चालन गर्ने भएकाले दुवै क्षेत्र एकअर्काबाट अलग रहन नसक्ने बताउनु भयो । व्यवसायीहरूसँगको सहकार्यलाई नाडाले सदैव प्राथमिकतामा राख्ने भन्दै उहाँले लामो समयसम्म सहकार्य गरेर अगाडि बढ्न संस्था तयार रहेको उहाँको भनाइ छ । उहाँले यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन आपसी सहकार्य आवश्यक रहेको बताउनु भयो । महाधिवेशनमा बोल्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भीम ज्वाला राईले सार्वजनिक यातायात क्षेत्रको वर्तमान अवस्था चुनौतीपूर्ण बन्दै गएको बताउनु भयो ।  उहाँले देशभरका करिब पाँच लाख यातायात व्यवसायीले निजी लगानीमार्फत करिब १५ खर्ब रुपैयाँभन्दा बढी पूँजी सार्वजनिक यातायात क्षेत्रमा लगानी गरेको उल्लेख गर्दै त्यसको संरक्षण र प्रवद्र्धन गर्न महासंघले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनु भयो । राइकाअनुसार अहिले सार्वजनिक यातायात क्षेत्रमा लगानी असुरक्षित बन्दै गएको छ भने व्यवसायी बैंकको किस्ता तिर्न नसक्ने चिन्तामा छन् ।

अर्कोतर्फ, करिब पाँच लाख यातायात श्रमिक सामाजिक सुरक्षाको दायराभन्दा बाहिर रहेको र रोजगारीको खोजीमा विदेशिन बाध्य भएको उहाँको भनाइ थियो ।राईले सार्वजनिक यातायात सेवा गुणस्तरीय, सुरक्षित र भरपर्दो हुन नसक्दा आम नागरिक पनि असन्तुष्ट बनेको बताउनु भयो । सरकारले सार्वजनिक यातायातलाई जनसरोकारको विषयका रूपमा प्राथमिकता दिन नसकेको आरोप लगाउँदै उहाँले निजी क्षेत्रको ठूलो लगानी हुँदाहुँदै राज्यको ध्यान पर्याप्त नपुगेको उल्लेख गर्नुभयो ।  संविधानअनुसार संघ सरकारले कानुन बनाउने र प्रदेश सरकारले सञ्चालन तथा भाडा व्यवस्थापन गर्ने व्यवस्था रहेकाले समन्वय अभावका कारण पनि सार्वजनिक यातायात क्षेत्र अस्तव्यस्त बन्दै गएको उहाँको भनाइ थियो ।

डिजिटल प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्ने तयारी

काठमाडौं ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले डिजिटल प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्ने तयारी गरिरहेको जनाएको छ । कार्यलयले ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई सिसिटिभी निगरानीमार्फत कारबाही गर्नेगरि तयारी गरेको हो । परीक्षण स्वरुप कार्यलयले काठमाडौको थापाथली क्षेत्रमा ‘फेसलेस ट्राफिक म्यानेजमेण्ट सिस्टम’ लागू गरिसकेको कार्यलयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । कार्यलयले आईतवार आयोजना गरेको समिक्षात्मक कार्यक्रममा उहाँले सार्वजानिक विदाको दिन थापाथली क्षेत्रमा हाल सिसिटिभी निगरानीमार्फत नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने गरिएको बताउनु भयो ।

उहाँकाअनुसार ट्राफिक नियम उल्लंघन, मापसे, तिब्र गति र लेन अनुशासनविरुद्ध कार्यलयले कडा कारबाही गर्ने गरेको छ । ट्राफिक प्रहरीले लेन अनुशासन, ट्राफिक लाइट पालना, ‘ड्रिङ्क एण्ड ड्राइभ’ र ‘ड्रग्स एण्ड ड्राइभ’ नियन्त्रणलाई प्राथमिकतामा राखेको उहाँले बताउनु भयो । ओभरस्पिड नियन्त्रण र सडक सुरक्षालाई केन्द्रमा राखेर काठमाडौंको ट्राफिक जामलाई व्यवस्थित गर्न ‘डेस्टिनेसन क्लियर’ प्रणाली लागू गरेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनसार सार्वजानिक यातयातलाई मर्यादित बनाउन सवारीसाधनमा सिसिटिभी, ड्यास क्यामेरा र जीपीएस अनिवार्य गरिएको छ । ती उपकरण नराख्ने सवारीलाई सञ्चालन गर्न रोक लगाउने उहाँले बताउनु भयो । राइड शेयर सेवामा प्रयोग हुने मोटरसाइकलमा समेत एसओएस बटन र क्यामेरा अनिवार्य बनाउन लागिएको उहाँले जानकारी दिनुभयो । ट्राफिक प्रहरीले लापरवाहीपूर्वक सवारी चलाउने ३१ चालकको लाइसेन्स ६ महिनाको लागि निलम्वन गरेको छ । लाइसेन्स निलम्वनका लागि यातायात व्यवस्था कार्यालयले निलम्वन गरिसकेको उहाँले जानकारी दिनुभयो । पटक–पटक नियम उल्लंघन गर्नेलाई सजग गराउन निलम्वन गरिएको उहाँले बताउनु भयो ।

उहाँले एकीकृत बसपार्क प्रणाली लागू गरि बसपार्कबाट मात्रै लामो दूरी र मझौला दूरीका सवारी साधनहरू छुट्ने व्यवस्था गरिएको पनि जानकारी दिनुभयो । जेनजी आन्दोलनमा क्षति पुगेको विभिन्न ३७ वटा ट्राफिक प्रहरी कार्यालयहरूलाई मर्मत गर्दै ट्राफिक व्यवस्थापनलाई अझ सशक्त रूपमा अगाडि बढाएको उहाँको भनाई छ ।

२६ करोड १९ लाख रुपैयाँभन्दा बढी राजश्व संकलन
कार्यलयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले चालु आर्थिक वर्षमा ट्राफिक प्रहरीले ३ लाख ७३ हजार ५ सय ६२ चालकलाई कारबाही गरेको जानकारी दिनुभयो । त्यसबाट २६ करोड १९ लाख रुपैयाँभन्दा बढी राजश्व संकलन भएको उहाँले बताउनु भयो । सबैभन्दा बढी कारबाही मोड्न निषेध गरिएको ठाउँमा उल्लंघन गर्ने ३७ हजार ४७२, लेन अनुशासन उल्लंघन गर्ने २३ हजार ९८४, मापसेमा परेका २३ हजार ४८, तीव्र गतिमा सवारी चलाउने २३ हजार ७७२ र रातो बत्ती उल्लंघन गर्ने २८ हजार ३०८ जनामाथि कारबाही गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै, इ–चलान प्रणालीमार्फत मात्रै ४ करोड २८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको बताउनुभयो । जरिवाना नतिर्ने २ लाख ६१ हजार चालकको विवरण थप कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाइएको उहाँको भनाई छ । उहाँकाअनुसार १८ करोड रुपैयाँभन्दा बढी कारबाहीको जरिवाना बापतको शुल्क उठ्न बाँकी रहेको छ । उहाँले पछिल्लो समय तोकिएकोभन्दा बढी भाडा असुल्ने प्रवृत्ति बढेपछि निगरानी र कारबाही तीव्र बनाइएको पनि जानकारी दिनुभयो । पुराना तथा प्रदुषण फैलाउने सवारीसाधनमाथि यान्त्रिक परीक्षण र प्रदुषण जाँच कडाइ गरिएको उहाँको भनाई छ ।

चोरी भएका ७३ मोटरसाइकल सवारी धनीलाई बुझाइयो

काठमाडौं ।

काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ७३ ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीले फिर्ता पाएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आईतवार एक कार्यक्रम गरी खोजतलासपछि फेला परेका मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले वैशाख महिनामा चोरी भएका ६५ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको बताउनु भयो ।

उहाँकाअनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसअघि नै ८ वटा मोटरसाइकल समेत सम्बन्धित धनीलाई हस्तान्तरण गरिसकिएको बताउनु भयो । कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमबाट प्राप्त सूचनाका आधारमा खोजी गर्दा केही वास्तविक नम्बर प्लेट र केही नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा पारी फिर्ता गरिएको बताउनु भयो । उहाँले सवारी चोरी हुनबाट बच्न जिपिएस जडान गर्न तथा सही ठाउँमा पार्किङ गर्न समेत सबैलाई आग्रह गर्नुभयो ।

‘लालीबजार’ चलचित्र विरुद्ध बादी समुदाय आन्दोलित, प्रतिवन्धको माग गर्दै प्रदर्शन

काठमाडौं ।

आफ्नो समुदायको मानमर्दन र चरित्र हत्या हुनेगरी निर्माण गरिएको भन्दै ‘लालीबजार’ चलचित्रका विरुद्ध बादी समुदायका प्रतिनिधिहरूले विरोध प्रदर्शन गरेका छन् । वादी समुदायको गर्विलो इतिहासलाई बङ्ग्याएर समाजमा नकारात्मक भ्रम फैलाउन खोजिएको आरोप लगाउँदै उनीहरूले उक्त चलचित्रको निर्माण र प्रदर्शनमा तुरुन्त रोक लगाउन माग गरेका छन् ।

प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरूले बादी जातिको सम्मान कायम गर, लालीबजार चलचित्र बन्द गर लेखिएका ब्यानर र प्लेकार्डहरू प्रदर्शन गरे । चलचित्रमा प्रयोग गरिएका दृष्यहरूले समुदायको नैतिकतामाथि प्रहार गरेको बताएका छन् ।

११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च, विकस बजेट खर्च कमजाेर

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना सकिन लाग्दा सरकारले ११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ । सरकारी खर्च आम्दानीको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालु आ.व.का लागि ल्याइएको १९ खर्ब ६४ अर्ब बजेट मध्येबाट सरकार ५८.७५ प्रतिशत बजेट खर्च गरेको हो ।कुल बजेटमध्ये सरकारले चालु सशर्षकमा ११ खर्ब ८० अर्ब रुपैयाँ छुट्टाइएको बजेटबाट ८ खर्ब ९ अर्ब रुपैयाँ बजेट खर्च भएको छ । यो खर्च उक्त शिर्षकमा विनियोजित बजेटको ६८.०४ प्रतिशत हो । कार्यालयकाअनुसार विनियोजित बजेटमध्ये सबैभन्दा बढी चालुतर्फको शिर्षकमा बजेट खर्च भएको छ । चालु खर्च भनेको सरकारको दैनिक सञ्चालन र नियमित कार्यहरू का लागि गरिने खर्च हो । यो खर्चले नयाँ सम्पती सिर्जना गर्दैन वा दीर्घकालीन प्रतिफल दिँदैन । सामान्यतया यो कुल बजेटको ५८–६२ प्रतिशत सम्म पुग्ने गर्छ ।

त्यस्तै सरकारले पुँजीगत शिर्षकमा चालु वर्षका लागि ४ खर्ब ७ अर्ब विनियोजन गरेकोमा १ खर्ब ९ अर्ब रुपैँया खर्च गरेको छ । यो खर्च उक्त शिर्षकमा छुटाइएको बजेटकको २६.८७ प्रतिशत हो । पुँजीगततर्फ सरकारले धेरै खर्च गर्न सकेको छैन । पुँजीगत खर्च सडक, पुल, विद्यालय भवन, अस्पताल, सिंचाई, जलविद्युत जस्ता दीर्घकालीन पूर्वाधार निर्माणमा खर्च हुन्छ । यस्तो शिर्षकमा बजेट खर्च हुन सकेको छैन । खासगरी मध्यपूर्वमा देखिएको तनावले निर्माण व्यवसायीले बिटुमीन इन्धनको अभाव झेलिररहेका छन् ।

जसको असर पुँजीगत खर्चमा देखिएको छ । यस्तै, वित्तीय व्यवस्थातर्फ सरकारले ३ खर्ब ७५ अर्ब रुपैँया बजेट छुट्टाएकोमा २ खर्ब ४० अर्ब खर्च भइसकेको छ । यो खर्च उक्त शीर्षकमा विनियोजित बजेटको ६४.१६ प्रतिशत हो । महालेखा नियन्त्रक कार्यालयकाअनुसार सार्वजनिक ऋण व्यवस्थापनका लागि सरकारले यस वर्षका लागि छुट्टाएको बजेट पनि ठूलो मात्रमा भएको छ । यो शिर्षकमा छुट्टाइएको बजेट सरकारले पहिले लिएका ऋणको सावाँ र ब्याज तिर्ने गरेको छ । सरकारको आम्दानी समेत उत्साहजनक देखिँदैन । सरकारल १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य राखेकेमा ९ खर्ब ७० अर्ब संकलन गरेको छ ।

नेदरल्याण्ड्समा ‘राष्ट्रिय मिल दिवस’ भव्य रूपमा मनाइयो

नेदरल्याण्ड्समा हरेक वर्ष मे महिनाको दोस्रो सातान्त (विकेन्ड) मा मनाइने ‘राष्ट्रिय मिल दिवस’ यस वर्ष पनि उत्साहका साथ सम्पन्न भएको छ । यस अवसरमा देशभरका ऐतिहासिक वायु घट्ट (विन्डमिल) र पानी घट्ट (वाटरमिल) हरू सर्वसाधारणको अवलोकनका लागि खुला गरिएका थिए । फ्रिसल्याण्डको विशाल ‘पोल्डर’ क्षेत्रदेखि ऐतिहासिक किन्डरडाइक कम्प्लेक्ससम्मका विभिन्न स्थानमा पुगेका आगन्तुकहरूले ती संरचनाहरूको विशेष भ्रमण (गाइडेड टुर) गरेका थिए । सो क्रममा उनीहरूले नेदरल्याण्ड्सको राष्ट्रिय पहिचानसँग जोडिएका शताब्दीयौं पुराना यी संरचनाहरूको निर्माण कौशल र इतिहासबारे जानकारी प्राप्त गरे ।

मिल सञ्चालकहरूले ती प्राचीन मेसिनहरू प्रयोग गरेर अन्न पिस्ने र पानी पम्प गर्ने प्रविधिको प्रत्यक्ष प्रदर्शन समेत गरेका थिए, जसले डच नागरिकहरूको सङ्घर्ष र सिर्जनशीलताको प्रतिनिधित्व गर्दछ । सन् १९७२ बाट मनाउन सुरु गरिएको ‘राष्ट्रिय मिल दिवस’ हाल नेदरल्याण्ड्सको सबैभन्दा लोकप्रिय सांस्कृतिक उत्सवहरूमध्ये एक बनेको छ । यसले देशको सांस्कृतिक सम्पदा, इन्जिनियरिङ कुशलता र जीवन्त परम्पराको संरक्षणमा महत्वपूर्ण भुमिका खेल्दै आएको छ ।वर्तमान समयमा विश्वव्यापी रूपमा हरित ऊर्जाका लागि वायु ऊर्जाको महत्त्व बढ्दै जाँदा, यी ऐतिहासिक मिलहरूले डच जीवनशैलीमा हावाको शक्ति शताब्दीयौंदेखि जोडिँदै आएको तथ्यलाई पुनः स्मरण गराएका छन् ।

आर्थिक एकीकरणका लागि अफ्रिकी नागरिकबीचको विभेद र आक्रमण अन्त्य गर्न घानाको आग्रह

घानाका विदेशमन्त्री सामुएल ओकुजेटो अब्लाक्वाले अफ्रिकी महाद्वीपको आर्थिक र राजनीतिक एकीकरणका लागि अफ्रिकी नागरिकहरूबीच हुने नश्लीय तथा घृणाजन्य  आक्रमण तत्काल अन्त्य गर्न आह्वान गर्नुभएको छ । तीन दिने ‘थ्री–आई अफ्रिका समिट’ को समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री अब्लाक्वाले महाद्वीपका विभिन्न देशहरूमा अन्य अफ्रिकी मूलका मानिसहरूमाथि भइरहेको दुव्र्यवहारप्रति चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले कुनैपनि विदेशी नागरिकले स्थानीय कानून उल्लंघन गरेमा उनीहरूलाई सम्बन्धित कानूनी निकायले कारबाही गर्नुपर्ने तर सर्वसाधारणले कानून हातमा लिएर अमानवीय व्यवहार वा आक्रमण गर्न नहुनेमा जोड दिनुभयो ।

पछिल्लो समय दक्षिण अफ्रिकामा स्थानीय युवा समूहहरूले अन्य अफ्रिकी मुलुकका नागरिकहरूविरुद्ध प्रदर्शन र दुव्र्यवहार गरिरहेका घटनाहरू सार्वजनिक भइरहेका बेला घानाका विदेशमन्त्रीको यो कडा टिप्पणी आएको हो । मन्त्री अब्लाक्वाले महाद्वीपका संस्थापक नेताहरूले परिकल्पना गरेको एकीकृत अफ्रिकी बजार निर्माणका लागि आपसी सद्भाव र करुणा अपरिहार्य रहेको उल्लेख गर्नुभयो । घानाले यस विषयलाई गम्भीरताका साथ लिँदै अफ्रिकी संघ (एयू) समक्ष उजुरी समेत गरेको छ । आगामी जुन महिनामा इजिप्टमा हुने अफ्रिकी संघको समन्वयकारी बैठकमा यस विषयलाई गम्भीर छलफलको एजेन्डा बनाउन घानाले प्रश्ताव गरेको मन्त्री अब्लाक्वाले जानकारी दिनुुभयो ।

म्यानमारद्वारा चालू आर्थिक वर्षको पहिलो महिनामा १ लाख ६९ हजार टनभन्दा बढी चामल निर्यात

म्यानमारले चालू आर्थिक वर्ष २०२६–२७ को पहिलो महिना अर्थात अप्रिलमा १ लाख ६९ हजार ५५९ टन चामल तथा कनिका निर्यात गरेको छ । म्यानमार राइस फेडरेसन (एमआरएफ) ले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो परिमाण चालू आर्थिक वर्षको शुरुवाती महिनाको वैदेशिक व्यापार हिस्सा हो । एमआरएफका अध्यक्ष यू ये मिन आङका अनुसार उक्त अवधिमा चामल तथा कनिका निर्यातबाट म्यानमारले करिव ५ करोड १० लाख (५१ मिलियन) अमेरिकी डलर आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्षको अप्रिल महिनामा चामल निर्यातको परिमाणमा वृद्धि भएको अध्यक्ष आङले जानकारी दिएका छन् । म्यानमारले पछिल्लो समय आफ्नो कृषिजन्य उत्पादन, विशेषगरी चामल निर्यातलाई प्राथमिकता दिँदै आएको छ ।

अफ्रिकाको समृद्धिका लागि डिजिटल कुटनीतिको प्रयोगमा जोड

इथियोपियाको राजधानी अदिस अबाबामा आयोजित पहिलो ‘अफ्रिकी सामाजिक सञ्जाल इन्फ्लुएन्सर शिखर सम्मेलन’ ले अफ्रिका महाद्वीपको वास्तविक र सकारात्मक चित्रण विश्वसामु पु¥याउन डिजिटल कूटनीतिको प्रभावकारी प्रयोग गर्नुपर्नेमा जोड दिएको छ । ’राम्रो अफ्रिकाका लागि प्रभाव’ भन्ने मूल नाराका साथ शुक्रबारदेखि सुरु भएको यस सम्मेलनमा ३० भन्दा बढी अफ्रिकी मुलुकका कन्टेन्ट क्रियटर (सामग्री निर्माता) र सञ्चार रणनीतिज्ञहरूको सहभागिता रहेको थियो । सम्मेलनलाई सम्बोधन गर्दै इथियोपियाली समाचार एजेन्सीका प्रमुख कार्यकारी अधिकृत सेइफ डेरिबेले अफ्रिकाका बारेमा फैलिएका गलत सूचना र पुराना रुढिवादी धारणाहरूलाई चिर्न सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनु भयो ।

डेरिबेले सामाजिक सञ्जालका सामग्रीहरू विभाजन ल्याउने खालका नभई समुदाय निर्माण गर्ने, युवाहरूमा आशा र अवसरको सञ्चार गर्ने र अफ्रिकी सम्पदा एवं नवप्रवर्तनको प्रवद्र्धन गर्ने खालका हुनुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरूको मर्यादा रक्षा र नेतृत्वको सम्मान गर्दै द्वन्द्वको सट्टा शान्ति र ध्रुवीकरणको सट्टा एकताका लागि डिजिटल माध्यमको प्रयोग गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो । त्यसैगरी, घानाका प्रख्यात युट्युबर तथा कन्टेन्ट क्रियटर वोडे मायाले अफ्रिकीहरूले आफ्ना कथा आफैं भन्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सम्मेलनमा प्रश्तुत गरिएको एक तथ्याङ्कअनुसार, गैर–अफ्रिकीहरूले निर्माण गरेको गलत भाष्य र भ्रमपूर्ण प्रचारका कारण अफ्रिकाले वार्षिक रूपमा करिव ४.२ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति बेहोर्नु परिरहेको छ । विश्वभरका ४० करोडभन्दा बढी दर्शकमाझ पहुँच पुर्याउने लक्ष्य राखिएको यस शिखर सम्मेलनले डिजिटल उद्यमशीलता, ज्ञान आदानप्रदान र अन्तर–अफ्रिकी साझेदारीलाई प्रवद्र्धन गर्ने उद्देश्य समेत राखेको छ ।