समाचार | Page 63 of 5959 | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८३, बिहीबार

महिला फुटबलमा एपिएफको चुनौती थपिँदै

काठमाडाैं । घरेलु प्रतियोगितामा लामो समयदेखि दबदबा बनाउँदै आएको एपिएफलाई अन्य दुई विभागीयसँगै संकटा क्लवले एन्फा शहीद स्मारक महिला लिग २०८२ मा चुनौती दिने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा शहीद स्मारक महिला लिग २०८२ बुधवारदेखि ललितपुरस्थित च्यासल रंगशालामा शुरु हुँदैछ । उक्त लिगमा तीन विभागीय टोलीसहित कुल ९ क्लवले प्रतिष्पर्धा गर्दैछन् । घरेलु प्रतियोगितामा एपिएफ सबैभन्दा बलियो दाबेदार रहँदै आएको छ ।

विपक्षमाथि पूर्ण हाबी हुँदै एपिएफले घरेलु प्रतियोगिताको उपाधिमा वर्चश्व राख्दै आएको छ । यद्यपि, पछिल्ला समय एपिएफले अन्य दुई विभागीय टोलीले चुनौती दिन थालेको छ । त्यसमा यसपल्ट संकटा पनि थपिने संकेत देखिएको छ । संकटाले चार जना विदेशी खेलाडी अनुवन्ध गर्दै उपाधि जित्ने दाबेदारी प्रस्तुत गरेको छ ।

प्रतियोगिताअगाडि मंगलवार भएको पत्रकार सम्मेलनमा चार टोलीका प्रशिक्षक र कप्तानले राम्रो फुटबल खेल्दै उपाधि जित्ने लक्ष्य देखाएका छन् । एपिएफका प्रशिक्षक जीवेशकुमार पाण्डेले टोली मानसिक र शारीरिक रूपमा तयार रहेको बताए । यद्यपि, सविता रानामगरसहित केही खेलाडी घाइते रहेको उनले जानकारी दिए । तर पनि आफूहरू राम्रो फुटबल खेल्दै उपाधि जित्नेगरी खेल्न तयार रहेको उनले बताएका छन् । जहिल्यै पनि प्रतिस्पर्धात्मक विपक्षी अपेक्षा गर्ने गरेको र यसपल्ट राम्रा प्रतिद्वन्द्वी मिल्ने उनको आशा छ ।

कप्तान अनिता बस्नेतले अहिले धेरै टोलीहरू बलियो हुँदै आएकाले यसपटक लिगमा प्रतिष्पर्धात्मक खेल हुने बताइन् । उनले अहिले महिला फुटबलमा पहिले जस्तो सहज नभएको स्पष्ट पारिन् । अन्य टोलीहरूले विदेशी खेलाडी भित्राएकाले एपिएफका लागि चुनौती हुने उनको भनाइ छ ।

अर्को विभागीय टोली नेपाल पुलिस क्लबका प्रशिक्षक रविन श्रेष्ठले केही उत्कृष्ट खेलाडीलाई अनुवन्ध गरेको र तयारी पनि राम्रो भएकाले उपाधि जित्ने आशा गरेका छन् । उनले उपाधि जित्नेबाहेक विकल्प नरहेको उल्लेख गरे । मीना देउवा, सुस्मा तामाङ र बिर्सना चौधरीजस्ता केही खेलाडी टोलीमा भित्रनुले टोली बलियो बनेको उनको आशा छ ।

संकटाले पछिल्ला समय महिला फुटबलमा एकेडेमी सञ्चालन गर्दै आएको छ । यसपल्ट एकेडेमीका तीन खेलाडी समेट्दै संकटा लिग खेल्दैछ । चार विदेशी खेलाडीसहित संकटाले आफू उपाधि जित्नेका लागि खेल्ने बताएको छ । संकटाका प्रशिक्षक रवीन्द्र सिलाकारले उपाधि उचाल्ने या शिर्ष तीनभित्र रहेर लिग पूरा गर्ने लक्ष्य रहेको बताएका छन् । घानाका दुई, म्यानमार र मोजाम्बिक खेलाडीलाई क्लवमा अनुवन्ध गरेको उनले उल्लेख गरे ।

त्रिभूवन आर्मी क्लवका प्रशिक्षक राजु तामाङले गोलस्कोरिङमा सुधार गर्दै लिगमा खेल्ने बताए । अनुभवी गोलकिपरको कमि हुने भएपनि उपलब्ध गोलकिपरले पाएको अवसरमा राम्रो गर्ने उनको आशा छ । कप्तान सुनिता राईले पनि तयारी राम्रो भएकाले सुखद् नतिजा ल्याउन बताइन् । चर्च ब्वाइज युनाइटेडकी डिफेन्डर वर्षा मगरले प्रतिष्पर्धात्मक खेल खेल्ने विश्वास व्यक्त गरेकी छन् । चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक विक्रम महर्जनले १२ महिना तयारी गर्ने विभागविरुद्ध खेल्ने सहज नहुने उल्लेख गर्दै राम्रो फुटबल प्रश्तुत गर्ने बताएका छन् । खेलाडीहरूले पनि बलियो खेल खेल्न आशा गरेको उनको भनाइ छ । वागमती युथ क्लवका म्यानजेर नीराजन कार्कीले यो लिगका लागि एक महिनादेखि तयारी गरेकाले प्रतिष्पर्धात्मक खेल खेल्ने आशा व्यक्त गरेका छन् ।

यसपटक लिगमा कुल ९ टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् । लिग शुरु हुन एक दिनअघि पत्रकार सम्मेलनमा ९ टोलीमध्ये ५ टोलीका प्रशिक्षक तथा एक टोलीका व्यवस्थापक सहभागी भए ।

लिगको उद्घाटन खेलमा चैत ४ गते बिहान ११ बजे न्युरोड टिम (एनआरटी) र संकटा एफसीबीच प्रतिष्पर्धा हुनेछ । सोही दिन दिउँसो ३ बजे झापा एफसीले त्रिभूवन आर्मीसँग खेल्ने तालिका छ । वैशाख १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सिंगल राउण्ड रोबिन पद्धतिमा खेलाइनेछ । एपिएफ एफसी, चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी क्लबका कप्तान पनि उपस्थित थिए । सहभागी सबै टोलीले उपाधिका लागि आफूहरू बलियो दाबेदार रहेको बताएका छन् ।

एन्फाले शुरुवातमा १० टोली सहभागी हुने उल्लेख गरेको थियो । वालिङ नगरपालिकाले आर्थिक कारण देखाउँदै नाम फिर्ता लिएपछि एन्फाले राप्ती एफसीलाई समावेश गर्ने निर्णय गरेको थियो । तर, अन्तिम समयमा अन्य क्लबहरूको विरोधपछि राप्तीलाई अयोग्य ठहर गर्दै लिगमा ९ टोली मात्र सहभागी गराइएको हो । एन्फाको त्यो निर्णविरुद्ध क्लव अदालत गएको छ । एन्फाले यस प्रतियोगिताको पुरस्कार रकमबारे भने जानकारी दिएको छैन । मंगलवार भएको पत्रकार सम्मेलन एन्फाका कुनैपनि पदाधिकारी सहभागी भएनन् ।

घाेडेजात्रा पर्व : अश्वकला, शारीरिक व्यायाम र युद्धकलाकाे प्रदर्शन

काठमाडाैं ।  प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

जनविश्वास अनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो ।

यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको जनश्रुती छ । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास गरिन्छ ।

दिन ललितपुरमा पनि एउटा आँखा नदेख्ने घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । टुँडिखेलमा नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहन्छ ।

पश्चिम एशिया द्वन्द्वका बीच जापानद्वारा तेल भण्डार खुला गर्न शुरु

एजेन्सी । बढ्दो मध्यपूर्व द्वन्द्वका बीच आपूर्तिको चिन्ता कम गर्न र पेट्रोलियम पदार्थको स्थिर वितरण सुनिश्चित गर्न जापानले आफ्नो भण्डारबाट तेल खुला गर्न शुरु गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । क्योडो न्युजकाअनुसार देशले सुरुमा निजी क्षेत्रले राखेको १५ दिन बराबरको भण्डार खुला गर्दैछ । त्यसपछि सरकारले राखेको एक महिना बराबरको तेल खुला गरिनेछ ।

जापानी सरकारले तेल प्रशोधनकर्ता र व्यापारिक कम्पनीहरूका लागि अनिवार्य भण्डारण आवश्यकतालाई ७० दिनबाट घटाएर ५५ दिनमा झार्नेछ । जसले उनीहरूलाई आफ्नो मौजुदा भण्डारको केही भाग प्रयोग गर्न सक्षम बनाउनेछ । प्रधानमन्त्री सानाए ताकाइचीले करिव ८ करोड (८० मिलियन) ब्यारेल तेल खुला गर्ने सरकारको योजना घोषणा गर्नुभयो ।क जुन अहिलेसम्मकै सबैभन्दा ठूलो रिलिज हो । यो मात्रा ४५ दिनको घरेलु खपत बराबर हो र सन् २०११ मा उत्तरपूर्वी जापानमा गएको विनाशकारी भूकम्प र सुनामीपछि खुला गरिएको मात्राभन्दा १.८ गुणा बढी भएको क्योडो न्युजले रिपोर्ट गरेको छ । सरकारले राखेको भण्डारबाट थोक विक्रेताहरूलाई तेल बेच्ने तयारी भइरहेको छ ।

सन् १९७० को दशकमा यो प्रणाली सुरु भएयता जापानले आफ्नो तेल भण्डार प्रयोग गरेको यो सातौं पटक हो । सन् २०२५ को अन्त्यसम्ममा, जापानसँग २५४ दिनको घरेलु माग धान्न सक्ने बराबरको तेल भण्डार थियो ।

जापान आफ्नो कच्चा तेल आयातको ९० प्रतिशतभन्दा बढी मध्यपूर्वमा निर्भर छ, जसले गर्दा फेब्रुअरीको अन्त्यमा मध्यपूर्व द्वन्द्व शुरु भएपछि होर्मुज जलडमरूमध्यको प्रभावकारी बन्दले यसलाई अत्यधिक जोखिममा पारेको छ । यस अवरोधले देशमा कच्चा तेलको मूल्यमा तिब्र वृद्धि ल्याएको छ ।

अस्ट्रेलियाको केन्द्रीय बैंकद्वारा लगातार दोस्रो पटक ब्याजदरमा वृद्धि

एजेन्सी । अस्ट्रेलियाको केन्द्रीय बैंकले मङ्गलबार आफ्नो मुख्य ब्याजदरमा लगातार दोस्रो महिना ०.२५ प्रतिशत बिन्दुले वृद्धि गरेको छ । रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए) ले मङ्गलवार सम्पन्न मौद्रिक नीति सञ्चालक समितिको बैठकले क्यास रेट (नगद दर) को लक्ष्य ३.८५ प्रतिशतबाट बढाएर ४.१० प्रतिशत पुर्याउने निर्णय गरेको जनाएको छ । यो वृद्धि गत फेब्रुअरीको सुरुमा गरिएको ०.२५ प्रतिशत विन्दुको वृद्धिकै निरन्तरता हो ।

जुन २०२३ पछि केन्द्रिय बैंकले लगातार दुई महिना ब्याजदर वृद्धि गरेको यो पहिलो पटक हो । डिसेम्बर र जनवरी महिनामा मुद्रास्फीति (महँगी) मा देखिएको उच्च वृद्धि र मध्यपूर्वमा जारी युद्धको सम्भावित आर्थिक प्रभावका कारण अर्थशास्त्री तथा बैंकहरूले मङ्गलबारको बैठकबाट ब्याजदर बढ्ने व्यापक प्रक्षेपण गरेका थिए । यस निर्णयप्रति टिप्पणी गर्दै कोषाध्यक्ष जिम चल्मर्सले एक विज्ञप्तिमार्फत ब्याजदरमा भएको यो वृद्धि धितो कर्जा (मोर्गेज) भएका लाखौँ अस्ट्रेलियालीहरूका लागि वास्तवमै कठिन समाचार भएको बताउनुभएको छ ।

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सको पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार डिसेम्बर र जनवरीसम्मको १२ महिनाको अवधिमा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) ३.८ प्रतिशतले बढेको छ । यो वृद्धि आरबीएको २ देखि ३ प्रतिशतको लक्षित सीमाभन्दा बढी हो । केन्द्रीय बैंकले फेब्रुअरीमा सार्वजनिक गरेको आधिकारिक प्रक्षेपणमा वार्षिक सीपीआई वृद्धि आगामी जुन महिनामा ४.२ प्रतिशत पुग्ने र त्यसको १२ महिनापछि मात्र लक्षित सीमाभित्र झर्ने अनुमान गरेको छ ।

मङ्गलवारको निर्णय विज्ञप्तिमा मौद्रिक नीति सञ्चालक समितिले मुद्रास्फीति पहिले अनुमान गरिएको भन्दा लामो समयसम्म लक्षित सीमाभन्दा माथि रहने जोखिम रहेको उल्लेख गरेको छ । मध्यपूर्वको द्वन्द्वका कारण इन्धनको मूल्यमा तिब्र वृद्धि भएको छ । जसले निरन्तरता पाएमा मुद्रास्फीति थप बढ्ने देखिन्छ ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आरबीए गभर्नर तथा मौद्रिक नीति सञ्चालक समितिकी अध्यक्ष मिशेल बुलकले मध्यपूर्वको द्वन्द्वका कारण विश्वव्यापी रूपमा तेलको मूल्य बढ्नुअघि नै मुद्रास्फीति निकै उच्च रहेको बताउनुभयो । मुद्रास्फीति नियन्त्रण गर्न अस्ट्रेलियालाई आर्थिक मन्दी (रिसेसन) मा लैजान आरबीए तयार छ कि छैन भन्ने प्रश्नको जवाफमा बुलकले यो आवश्यक हुन सक्ने सङ्केत गर्नुभयो । मौद्रिक नीति सञ्चालक समितिका नौ सदस्यमध्ये पाँच जनाले ब्याजदर वृद्धिको पक्षमा मतदान गरेका थिए भने बाँकी चार सदस्यले ब्याजदर यथावत राख्ने पक्षमा मत दिएका थिए ।

देशभर पछिल्लो २४ घण्टामा ७३ विपद्का घटनाः ४ जनाको मृत्यु, साढे २ करोडभन्दा बढीको क्षति

काठमाडाैं ।

नेपालभर पछिल्लो २४ घण्टामा विभिन्न प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनामा परी ४ जनाले ज्यान गुमाएका छन् । साढे २ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ । नेपाल गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार देशका ४३ जिल्लामा विपद्का घटनाहरू रेकर्ड भएका हुन् ।
पछिल्लो २४ घण्टाको विपद् अवस्था
चैत २ गते बिहान १० बजेदेखि चैत ३ गते बिहान १० बजेसम्मको अवधिमा देशभर कुल ७३ वटा विपद्का घटना घटेका छन् । यी घटनामा परी ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा हावाहुरीबाट २ जना, सर्पदंशबाट १ जना र चट्याङ लागेर १ जना रहेका छन् । यस अवधिमा सबैभन्दा बढी हावाहुरीका ४६ वटा र आगलागीका १२ वटा घटना दर्ता भएका छन् । विपद्का कारण २ करोड ४१ लाख ६ हजार ९ सय रुपैयाँ बराबरको अनुमानित क्षति भएको प्राधिकरणले जनाएको छ । साथै, २७ वटा चौपायाको समेत क्षति भएको छ । यी घटनाहरूको उद्धार र व्यवस्थापनका लागि ३ सय ४९ जना प्रहरी परिचालन गरिएको थियो ।
यस वर्ष हालसम्मका मुख्य विपद् र क्षति (वैशाख १ देखि चैत ३ सम्म)
प्राधिकरणको तथ्यांकअनुसार २०८२ साल वैशाख १ गतेदेखि चैत ३ गतेसम्म देशभर कुल ६ हजार ९ सय ५१ वटा विपद्का घटना भइसकेका छन् । यी घटनाहरूमा परी हालसम्म ४ सय ७५ जनाले ज्यान गुमाएका छन् भने ३८ जना अझै बेपत्ता छन् । त्यसैगरी, १ हजार ८ सय ४६ जना घाइते भएका छन् भने १२ हजार ६ सय ५० परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
यस वर्ष सबैभन्दा बढी मानवीय क्षति आगलागीबाट भएको छ । जसमा १०० जनाको मृत्यु भएको छ । त्यसपछि सर्पदंशबाट ९८, पहिरोबाट ७४, जनावरको आक्रमणबाट ५४ र चट्याङबाट ४७ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।
मौसम तथा तापक्रमको अवस्था
पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा वर्षा भएको छ । प्राधिकरणकाअनुसार ३ सय ३४ वटा वर्षा मापन केन्द्रमध्ये १२३ वटा केन्द्रमा वर्षा रेकर्ड गरिएको छ । सबैभन्दा बढी वर्षा धनकुटा जिल्लाको मुलघाट केन्द्रमा ३५.० मिलिमिटर मापन गरिएको छ ।
तापक्रमतर्फ, देशकै सबैभन्दा बढी गर्मी रुपन्देहीको भैरहवामा महशुस गरिएको छ, जहाँको अधिकतम तापक्रम ३४.५ डिग्री सेल्सियस पुगेको छ । त्यसैगरी, सबैभन्दा चिसो मनाङको हुम्देमा रेकर्ड गरिएको छ, जहाँको न्युनतम तापक्रम माइनस ८.५ (–८.५) डिग्री सेल्सियस मापन गरिएको छ ।

राष्ट्रपति पौडेलद्वारा पूर्वप्रधानमन्त्री ओलीलाई समवेदना प्रकट

राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहनुभएका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई भेटी उहाँका पिताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । अध्यक्ष ओलीका पिताको निधनले सिंगो परिवारमा पर्न गएको अपूरणीय क्षतिप्रति राष्ट्रपतिले गहिरो सहानुभूति समेत व्यक्त गर्नुभयो ।

अर्को निर्वाचनमा प्रतिपक्षीविहिन हुनेगरि काम गर्नुपर्नेछः उपसभापति अर्याल

काठमाडाैं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले अर्को निर्वाचनमा जनताले रास्वपालाई मात्रै मतदान गर्नेगरी काम गर्नुपर्ने बताउनुभएको छ । रास्वपाले आयोजना गरेको सांसदहरुको अभिमुखिकरण कार्यक्रममा उहाँले आगामी पाँच वर्ष पार्टीले प्रतिपक्षविहीन बनाउने गरी काम गर्नुपर्ने बताउनुभएको हो । उहाँले आगामी निर्वाचनसम्म पुग्दा नेपाली जनताले प्रतिपक्ष नै नहुनेगरी पार्टीलाई मत दिने अवस्था सिर्जना गर्नुपर्ने बताउनु भयो ।

उक्त लक्ष्य हासिल गर्नको लागि भाषण वा सिमित नेताहरूको प्रयासबाट मात्रै सम्भव नहुने भन्दै उहाँले सबैले आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताउनु भयो । उहाँले अब बन्ने सरकारले सुशासन कायम गर्ने, प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने र भ्रष्टाचार अन्त्य गर्नेगरी काम गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले निर्वाचनमा पार्टीले जित हासिल गरेपनि देश र जनताले जित्न बाँकी रहेको बताउनु भयो । उपसभापति अर्यालले दूरदराजका नागरिकसम्म राज्यको उपस्थिति अनुभुत हुने वातावरण सिर्जना गरी जनताको सरकार रहेको आभास दिलाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीका सांसदहरुलाई आफ्नो क्षमता र लगनशीलता राष्ट्रहितमा समर्पित हुन आग्रह गर्नुभयो ।

उहाँले इतिहास लेख्ने सुनौलो अवसर आएको भन्दै यसलाई सदुपयोग गर्न सबै जिम्मेवार हुनुपर्ने बताउनु भयो । यसलाई सदुपयोग गर्न नसकेमा आफैँलाई माफ गर्न गाह्रो हुने उहाँको भनाई छ । उहाँले आन्तरिक द्वन्द्व, खिचातानी र खुट्टा तान्ने प्रवृत्तिबाट टाढा रहनुपर्ने पनि बताउनु भयो । पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहप्रति भरोसा गरेर हालको जनादेश प्राप्त भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पार्टीका सबै सदस्यहरुको मेहनतले पार्टीलाई पहिलो बनाउनुपर्ने बताउनु भयो ।

सीमा द्वन्द्वले पुनर्वासमा बाधा पुर्‍याएपछि अफगानिस्तान फर्किएकाहरू शान्तिको पर्खाइमा

विश्व ।

एक समय अफगानिस्तान र पाकिस्तानलाई जोड्ने व्यस्त सीमावर्ती शहर तोर्खाम, सीमामा भएको झडपपछि विगत पाँच महिनादेखि बन्द छ ।  अफगानिस्तानमा पुनर्वास गरेका पूर्वशरणार्थी जार गुल एतमानजाईले तोर्खामका तीनवटा बजारमा रहेका दर्जनौं पसल र सम्पतीमा क्षति पुगेको बताए । करिव ३० करोड अफगानी (करिव ४८ लाख अमेरिकी डलर) बराबरको नोक्शान भएको अनुमान गरिएको छ । युद्धको परिणाम मानिसहरूको विस्थापन बाहेक अरू केही नभएको उनको भनाइ छ । सर्वसाधारणहरू युद्धको शिकार मात्रै भएको उनी बताउँछन् ।

६० लाखभन्दा बढी अफगानीहरू छिमेकी देश पाकिस्तान र इरानमा बसोवास गरिरहेको बताइए पनि मध्यपूर्वमा बढ्दो तनावका बीच स्वदेश फर्किनेहरूको संख्या बढिरहेको छ । हरेक दिन हजारौं शरणार्थीहरू अफगानिस्तान फर्किरहेका छन् तर उनीहरूले आफ्नो गृह देश सुरक्षित आश्रयस्थलबाट धेरै टाढा रहेको पाइरहेका छन् । अफगान र पाकिस्तानी अधिकारीहरूका अनुसार केही हप्ता अघि सीमामा झडप शुरु भएदेखि धेरै मानिसहरू मारिएका छन् र घाइते भएका छन् ।

अमेरिका–इजरायल–इरान द्वन्द्व १८ औं दिनमा पनि जारी

अमेरिका–इजरायल–इरान द्वन्द्व १८ औं दिनमा पनि जारी रहेको छ ।  अमेरिकी र इजरायली अधिकारीहरूले इरानविरुद्ध लामो समयसम्म आक्रमण गरिरहने वाचा गरेका छन् भने तेहरानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको हत्या गर्ने चेतावनी दिएको छ । इजरायली विदेशमन्त्री गिदोन सारले आफूहरुको लक्ष्य पूरा नभएसम्म इरानविरुद्धको लडाइँ जारी राख्न इजरायल र अमेरिकाको साझा संकल्प रहेको बताउनुभएको छ । इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै पश्चिमी र मध्य इरानका २०० भन्दा बढी लक्ष्यहरूमा आक्रमण गरेको जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम शुरु

काठमाडाैं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम शुरु भएको छ । दुई दिने अभिमुखीकरण कार्यक्रल ललितपुरमा मंगलवारदेखि शुरु भएको हो । अभिमुखीकरण कार्यक्रमको पार्टीका उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले घण्टी बजाएर उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा नवनिर्वाचित प्रत्यक्ष तथा समानुपातिकतर्फका सांसदहरु सहभागी रहेका छन् । रास्वपाले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा १ सय ८२  सिट जितेको थियो । आफ्ना अधिकांश सांसद नयाँ भएकाले संसदीय अभ्यास र आचारसंहिता लगायत विषयमा अभिमुखीकरण र प्रशिक्षणका दिनको लागी रास्वपाले २ दिने कार्यशाला आयोजना गरेको जनाएको छ । अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अवलम्वन गर्नुपर्ने नीति लगायतमा प्रशिक्षित दिइने जनाइएको छ ।

जेन—जी आन्दोलनका कारण निजी क्षेत्र थप संकटमा परेको सरकारको निष्कर्ष

काठमाडाैं ।

सरकारले जेन–जी आन्दोलनका कारण निजी क्षेत्र थप संकटमा परेको निष्कर्ष निकालेको छ । ०८२ भदौ २३ र २४ गतेको आन्दोलनबाट भएको व्यापक भौतिक क्षतिपछि सरकारले तयार गरेको पुनर्निर्माण र पुनव्र्यवस्थापनका लागि विस्तृत कार्ययोजनामा उक्त निष्कर्ष निकालिएको हो ।कार्ययोजना प्रतिवेदनअनुसार कोभिड–१९ पछिको कमजोर अर्थतन्त्र र बाह्य आर्थिक दबाबले पहिले नै प्रभावित निजी क्षेत्र आन्दोलनका कारण थप संकटमा परेको सरकारको निष्कर्ष छ ।

यस्तो अवस्थामा निजी सम्पती र व्यवसायको सुरक्षा राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै सरकारले पुनर्निर्माणमा सहजीकरण गर्ने नीति कार्ययोजनाबाट लिएको छ । कार्ययोजनाअनुसार स्थानीय तहलाई क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि नक्सापास शुल्कमा छुट दिन अनुरोध गरिनेछ । साथै, क्षतिको आधारमा निजी व्यवसायलाई तीन वर्षसम्म सम्पती कर छुट दिन पनि आग्रह गरिने भएको छ । बीमा भएका संरचनाको बीमा रकम तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाइनेछ ।

यदि बीमा कम्पनीहरूमा तरलता अभाव भएमा नेपाल राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमार्फत सहुलियत ब्याजदरमा अल्पकालीन कर्जा उपलब्ध गराउने व्यवस्था गरिनेछ ।पूर्णरूपमा क्षति भएका निजी सवारीसाधनको लगत कट्टा गर्दा लाग्ने कर मिनाहा गर्न प्रदेश सरकारलाई अनुरोध गरिनेछ । त्यसैगरी, चालु पुँजी कर्जा लिएका तर सम्पती पूर्णरूपमा नष्ट भएका व्यवसायीलाई कर्जा किस्ताबन्दीमा रूपान्तरण गर्ने सुविधा प्रदान गरिनेछ ।आन्दोलनबाट प्रभावित व्यवसायहरूको कर्जा पुनर्तालिकीकरण र पुनर्संरचना गर्ने अवधि २०८३ असार मसान्तसम्म थप गरिने भएको छ । व्यवसाय पुनः सञ्चालनका लागि आवश्यक समयअनुसार ‘ग्रेस अवधि’ थप गर्ने व्यवस्था पनि गरिनेछ ।

पुनर्निर्माणका लागि स्थिर ब्याजदरमा कर्जा लिन चाहनेलाई आधार दरमा ०.५ प्रतिशत मात्र प्रिमियम थप गरी पाँच वर्षसम्म कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।यसैगरी, आन्दोलनका क्रममा सरकारी कार्यालय परिसरभित्र क्षति भएका निजी सवारीसाधन, मोबाइल, ल्यापटप तथा लत्ताकपडाका लागि राहत उपलब्ध गराइनेछ । प्रहरी मुचुल्काको आधारमा जिल्ला प्रशासन कार्यालयमार्फत कुल लागतको २५ प्रतिशतसम्म राहत दिने व्यवस्था गरिएको छ । सरकारले लिएको पुनर्निर्माणको रणनीति बनाएको छ । जसअनुसार तत्कालिन रणनीतिमा  आन्दोलनको क्रममा सामान्य क्षति भएका भवन/संरचनाको मर्मतसम्भार तथा पुनर्निर्माणको पूर्वतयारी सम्बन्धी खर्च तीनै तहका सरकारले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने, सम्बन्धित निकायमा चालु आर्थिक वर्षमा विनियोजित रकमलाई रकमान्तर गरी व्यवस्थापन गर्ने नीति लिइएको छ भने सार्वजनिक क्षेत्रको पुनर्निर्माणको तीन वर्षीय रणनीति लिइएको छ ।

जसअनुसार आंशिक तथा पूर्ण क्षति भएका सरकारी भवन तथा संरचनाको पुनर्निर्माणको लागि आगामी दुई आर्थिक वर्ष भित्रमा सम्पन्न गर्ने गरी राष्ट्रिय आयोजना बैङ्क, मध्यमकालीन खर्च संरचना तथा मन्त्रालय स्तरीय बजेट सूचना प्रणालीमा प्रविष्ट गरी कार्यान्वयन गर्ने सरकारको रणनीति छ ।त्यस्तै, पुनर्निर्माण कार्यका लागि तहगत लागत साझेदारी, समन्वय, सहजीकरण र सहयोग परिचालन गर्ने नीति सरकारको छ । जसअनुसार सेवा सञ्चालन गर्न आवश्यक पर्ने भवन र भौतिक सम्पतीको मात्र लागत अनुमान तयार गरी पुनर्निर्माण गर्ने सरकारको योजना छ ।

जीडीपीमा ऋणको हिस्सा ४७.१३ प्रतिशत पुग्यो, आठ महिनामै सरकारले लियो २ खर्ब भन्दा बढी ऋण

काठमाडाैं ।

कुल गार्हस्थ्य उपात्दन (जीडीपी) मा कुल सावर्जनिक ऋणको हिस्सा ४७ दशमलव १३ प्रतिशत पुगेको छ ।
चालु आर्थिक वर्षको फागुन मशान्त सम्ममा सरकारले सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब लिएसँगै जिडिपिमा ऋणको हिस्सा समेत बढेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार चालु आर्थिक वर्षको शुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रहेकोमा फाल्गुन मसान्तसम्ममा सार्वजनिक ऋण दायित्व २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।

जुन कुल गार्हस्थ्य उत्पादनको ४७.१३ प्रतिशत हुन आउँछ । कुल सार्वजनिक ऋणमा फाल्गुन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३.१६ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६.८४ प्रतिशत रहेको छ । कार्यलयकाअनुसार चालु आवको आठ महिनामै सरकारले २ खर्ब ४ अर्ब २४ करोड सार्वजनिक ऋण लिएको छ ।

कति भयो परिचालन ?
चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा फागुन मसान्तसम्ममा २ खर्ब ९५ अर्ब १९ करोड ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ५०.४४ प्रतिशत रहेको छ । जसमध्ये आन्तरिक र वाह्य ऋण प्राप्तिको प्रगति क्रमश ६७.३१ र २४.३१ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ मा ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन भएकोमा फागुन मसान्तसम्म २ खर्ब ४२ अर्व २६ करोड भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ५८.९४ प्रतिशत हो । कूल गार्हस्थ्य उत्पादनको आधारमा माघ मसान्तसम्ममा कूल ऋण सेवा खर्च ३.९७ प्रतिशत रहेको छ ।

loan.JPG

आयल निगमको असक्षमताले खाना पकाउने ग्याँसको अभाव भयो : उपभोक्ता मञ्च

काठमाडाैं । राष्ट्रिय उपभोक्ता मञ्चले नेपाल आयल निगमको असक्षमताका कारण नेपालमा खाना पकाउने ग्याँसको अभाव देखिएको बताएको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सो आरोप लगाउनुभएको हो ।

उहाँले नेपालमा खाना पकाउने ग्याँससहित पेट्रोलियम पदार्थको समस्या देखिनुमा वाह्य प्रभाव कुनै नरहेको जिकिर समेत गर्नुभयो । नेपाल आयल निगमको व्यवस्थापकीय असक्षमता र सूचना लुकाएको कारणले खाना पकाउने ग्याँसको समस्या मुलुकमा आएको मञ्चका अध्यक्ष महर्जनको आरोप थियो । अध्यक्ष महर्जनले खाना पकाउने ग्यासको अभाव हुनुमा कालोबजारीले पनि काम गरेको दाबी गर्नुभयो ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले उपभोक्ताहरुको हित संरक्षणका लागि विद्यमान कानूननै पुनर्लेखन गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले कानून कार्यालयन गर्ने निकायले नै अनुगमनको काम पनि गर्ने व्यवस्था विद्यमान ऐनमा भएकाले त्यसलाई परिमार्जन गर्न पनि सो सम्बन्धि कानूनको पुनर्लेखन आवश्यक रहेको तर्क गर्नुभयो । अध्यक्ष श्रेष्ठले सरकारी निकायहरुबीचको समन्वयको अभावमा व्यवसायीहरुको आफ्नो उत्पादन प्रवद्र्धनमा समेत समस्या झेल्नुपर्ने अवस्था अझै पनि रहेको बताउनुभयो ।

प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालद्वारा काठमाडौं प्रशासनको अनुगमन

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सेवा प्रवाहस्थितिबारे प्रत्यक्ष अनुगमन गर्नुभएको छ । नागरिकले पाउने सरकारी सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयको आकस्मिक निरीक्षण गर्नुभएको हो ।

अनुगमनका क्रममा प्रधानमन्त्री कार्कीले सेवाग्राहीका गुनासाहरू प्रत्यक्ष रूपमा सुन्नुका साथै त्यहाँ कार्यरत कर्मचारीहरूलाई छिटोछरितो र झन्झटरहित रूपमा सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । सोही अवसरमा गृहमन्त्री ओमप्रकाश अर्यालले प्रशासनको कामकारबाहीलाई थप पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सेवाग्राहीलाई दुःख दिने विचौलियाहरूको अन्त्य गर्न मन्त्रालयले शुन्य सहनशीलताको नीति अपनाएको र त्यस्ता गतिविधिमा संलग्न जो कोहीलाई कडा कारबाही गरिने चेतावनी दिनुभयो । पछिल्लो समय सरकारी कार्यालयहरूमा सेवा लिन जाँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको, लामो समय लाइनमा बस्नुपरेको र विचौलियाको बिगबिगी बढेको गुनासो व्यापक रूपमा उठ्दै आएको थियो ।

यसै सन्दर्भमा राज्यको उच्च तहबाटै भएको यस प्रत्यक्ष अनुगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यस कदमले कर्मचारीतन्त्रमा सुधार आउने, ढिलासुस्ती अन्त्य हुने र सर्वसाधारणले सहज रूपमा सेवा पाउने अपेक्षा गरिएको छ ।

 

 

‘२७ औं फ्लोरा एक्स्पो’ चैत छ गतेदेखि हुँदै, एक करोड २० लाखको कारोबार हुने अपेक्षा

काठमाडाैं । फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा ‘२७ औं फ्लोरा एक्स्पो २०८२’ आयोजना हुने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराइएको हो । एक्स्पो चैत ५ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ यो प्रदर्शनी हुन लागेको हो ।

आयोजककाअनुसार एक्स्पोमा व्यावसायिक स्टल ६५, अफिसियल स्टल ११, प्रतिष्पर्धात्मक स्टल २, फुड स्टल २ लगायत गरी जम्मा ८३ वटा स्टलहरू रहनेछन् । मेलामा मौसमी फूल, आलंकारिक बोटबिरुवा, कट फ्लावर, सुनाखरी, कृषि औजार, मलखाद, तथा आधुनिक पुष्प खेती प्रविधिका सामग्रीहरू प्रदर्शन तथा विक्रीका लागि राखिनेछन् । चार दिनसम्म चल्ने यस मेलालाई करिव ६० हजार दर्शकले अवलोकन गर्ने र १ करोड २० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने आयोजकको अपेक्षा छ ।

मेलाको मुख्य आकर्षणका रूपमा विभिन्न विधामा पुष्प व्यवसायीहरूबीच प्रतिष्पर्धा गराई उत्कृष्टलाई पुरस्कृत गरिने कार्यक्रम रहेको फ्यानका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक राबहादुर तामाङले बताउनु भयो । उहाँकाअनुसार मेला स्थलमा बोटबिरुवामा लाग्ने रोग तथा कीराहरूको निदान र स्वास्थ्य परीक्षणका लागि विशेषज्ञसहितको ‘प्लान्ट क्लिनिक’ समेत सञ्चालन गरिनेछ । सामाजिक उत्तरदायित्व अन्तर्गत चैत ६ गते शुक्रवार मेला स्थलमै रक्तदान कार्यक्रम पनि आयोजना गरिने फ्यानका उपाध्यक्ष तथा मेला संयोजक रामबहादुर तामाङले जानकारी दिनुभयो ।

पुष्प व्यवसायको कारोबार घट्यो, आयातमा पनि भारी कमी
हाल ५२ जिल्लाको २ सय ७० हेक्टर क्षेत्रफलमा फैलिएको यो व्यवसायमा ८ अर्ब ८३ करोडभन्दा बढी लगानी रहेको छ भने ५३ हजार ५ सयभन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन् । यद्यपि, देशको कमजोर आर्थिक अवस्था र नीतिगत समस्याका कारण यस वर्ष (आ.व. २०८१÷८२) पुष्प व्यवसायको वार्षिक कारोबार घटेर ३ अर्ब ३७ करोडमा सीमित हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्ष ३ अर्ब ६८ करोड थियो । समग्र कारोबार घटे पनि विदेशी फूलको आयातमा भने भारी कमी आएको छ । अघिल्लो वर्ष २७ करोड ७९ लाखको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएकोमा यस वर्ष ५४.२७ प्रतिशतले घटेर १२ करोड ७० लाखमा झरेको छ । त्यस्तै, निर्याततर्फ भने १०९.१६ प्रतिशतले वृद्धि भई २ करोड १३ लाख रुपैयाँ पुगेको भन्सार विभागको तथ्याङ्कलाई उद्धृत गर्दै फ्यानले जनाएको छ ।

धराहरा परिसरमा निःशुल्क पार्किङ सेवा

काठमाडाैं । काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा धरहरा क्षेत्रमा निर्माण भएको सवारी पार्किङ क्षेत्रलाई सञ्चालनमा ल्याइएको छ ।  फागुन १० गतेदेखि नै महानगरले धराहरा क्षेत्रका पार्किङको व्यवस्थापन गरी सञ्चालनमा ल्याएको हो । २०८२ फागुन ९ गतेको मन्त्रीपरिषद्को बैठकले धराहरा क्षेत्रको सवारी पार्किङ व्यवस्थापन र सञ्चालनको जिम्मेवारी काठमाडौं महानगरलाई दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पार्किङको जिम्मेवारी महानगरपालिकाको नगर प्रहरी बलले सम्हालेको हो । काठमाडौं महानगर प्रहरी बलका प्रमुखको विष्णुप्रसाद जोशीले शुरुवाती चरणमा पार्किङ क्षेत्र पर्याप्त रूपमा व्यवस्थित नभएको बताउनुभयो ।

महानगरले जिम्मेवारी लिएपछि आवश्यक सुरक्षा तथा पूर्वाधार सुधार गरेर पार्किङ क्षेत्र सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार पार्किङ क्षेत्रमा पहिले अग्नि सुरक्षा उपकरणको अभाव थियो । पार्किङ क्षेत्र रहेको तीन वटा तलामा हाल प्रत्येक तलामा १० वटादरले ३० वटा अग्नि सुरक्षा उपकरण जडान गरिएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार नौ वटा उपकरण भने पहिला नै जडान गरिएका थिए । पार्किङ क्षेत्रमा सवारीको सुरक्षाको लागि सिसिटिभी क्यामेरा समेत जडान गरिएको छ । सिसिटिभी क्यामेरा अझै थप गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।


उहाँकाअनुसार धरहराको बेसमेन्ट पार्किङलाई बी–१, बी–२ र बी–३ गरी तीन भागमा विभाजन गरिएको छ । सबैभन्दा माथिल्लो तलामा रहेको बी–१ पार्किङमा १ सय २७ वटा चारपाङ्ग्रे सवारी साधन अट्ने क्षमता रहेको छ । यस्तै बी–२ मा करिव ७ सय वटा मोटरसाइकल पार्किङ गर्न सकिने उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार यी दवै क्षेत्र सवारी साधनले दैनिक प्याक हुने गरेको छ ।  सबैभन्दा तल्लो तलामा रहेको बी–३ पार्किङमा भने हावाको प्रवाह (एयर सर्कुलेसन)मा केही समस्या देखिएकोले त्यहाँ पार्किङको लागि केही समस्या भएको प्रमुख जोशीले जानकारी दिनुभयो । उक्त तलामा १३५ वटा चारपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने क्षमता रहेको छ ।

उहाँले सवारीको अत्याधिक चाप भएको अवस्थामा भने उक्त तलामा पनि सवारीसधान पार्किङ गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार अपाङ्गमैत्री पार्किङ स्थानको पनि व्यवस्था गरिएको छ । महानगरपालिकाले विशेषगरी वसन्तपुर, विशालबजार, धर्मपथ, पाको, खिचापोखरी, सुन्धारा र जमल क्षेत्रलाई लक्षित गर्दै धरहराको पार्किङ सञ्चालनमा ल्याएको हो । ती क्षेत्रका फुटपाथ तथा सार्वजनिक सडकमा पार्किङ गर्न पूर्ण रूपमा रोक लगाइएको छ । महानगरकाअनुसार काठमाडौं महानगरपालिका भित्रका वडा नम्बर १ देखि ३२ सम्म सार्वजनिक सडक तथा पेटीमा सवारी साधन पार्किङ गर्न पाइँदैन । नियम उल्लंघन गर्ने सवारी चालकलाई कानुनी कारबाहीको दायरामा ल्याइएको पनि महानगरले जनाएको छ ।


नगर प्रहरी बलका प्रमुख जोशीकाअनुसार हाल धरहरा पार्किङ सेवा पूर्णरूपमा निःशुल्क राखिएको छ । नगर प्रहरी बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खटिने गरेका छन् । पार्किङ क्षेत्र भने बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सवारी साधन भित्र्याउनका लागि खुला रहनेछ भने त्यसपछि बाहिर निकाल्न मात्रै अनुमति दिइने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । हाल पार्किङ क्षेत्रमा दिनभरी सवारी पार्किङ गरेर राख्ने प्रवृत्ति देखापरेको प्रमुख जोशीले जानकारी दिनुभयो । उहाँकाअनुसार बिहान पार्किङ गरेर बेलुका मात्र निकाल्ने प्रवृत्ति देखिएको छ । यसले सवारी पार्किङमा केही समस्या देखिएको उहाँको भनाई छ । आगामी दिनमा यसलाई सुधार गर्दै थप प्रभावकारी व्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँले सवारीसाधनको सुरक्षाको जिम्मेवारी भने सवारीधनी आफैँले लिनुपर्ने बताउनु भयो । साथै सवारीसाधन पार्किङ गर्दा अरुलाई असहज नहुनेगरी गरिदिन पनि आग्रह गर्नुभयो ।