समाचार | Page 62 of 5959 | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८३, शुक्रबार

अपराधका घटना : राज्यको उत्तरदायित्व, कानुनी प्रणालीको विश्वसनीयता र समाजको चेतना

नेपालमा महिला तथा बालिकामाथि हुने जघन्य हिंसाहरु नँया होइनन्, तर यी घटनाहरुको दोहोरिने क्रमले समाजलाई गम्भीर प्रश्नको घेरामा उभ्याएको छ । समय बित्दै गयो,सरकार फेरियो, प्रतिबद्धताहरु आए गए, तर पीडित परिवारले न्यायको अनुभूति भने गर्न अहिलेसम्म सकेनन् ।

 

एउटा जघन्य अपराधको घटना सेलाउन नपाउँदै अर्को घटना सार्वजनिक हुन्छ, अनि समाज फेरि आक्रोशित हुुन्छ तर केही समयपछि त्यो आक्रोश पनि बिस्तारै सेलाउँदै जान्छ । अनि प्रश्न उठ्छ, किन यस्तो भइरहेको छ ? किन बलात्कार र हत्या जस्ता जघन्य अपराधहरु रोकिन सकेका छैनन् ? किन दोषीहरुलाई समयमै कारबाही हुँदैन ? र सबैभन्दा महत्वपूर्ण, कहिलेसम्म पीडितहरुले न्यायको पर्खाइमा बसिरहनु पर्ने ? सुर्खेतकी किशोरी इनिसा विकको फागुन २३ गते बलात्कारपछि भएको हत्याको अनुसन्धानमा देखिएको अन्योलले फेरि एकपटक प्रहरी अनुसन्धानको विश्वसनीयतामाथि प्रश्न उठाएको छ ।

यसैबीच नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई घटनाको छानबिनमा संलग्न गराइएको समाचारले सही दिशामा अनुसन्धान अघि बढ्ने अपेक्षा पनि जगाएको छ । नेपालमा बालिका र महिलामाथि हुने जघन्य अपराधले बेलाबेला समाजलाई झस्काइरहेका छन् तर त्यस्ता घटनाको अनुसन्धानमा देखिने कमजोरी झन् चिन्ताको विषय बनेको छ । बलात्कारपछि हत्या भएको घटनाहरुको वर्षौ बितिसक्दा पनि न्याय भने अझै अधुरै छ ।

यसअघि कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले नेपालमा अनुसन्धान प्रणालीकै विश्वसनीयतामाथि गहिरो प्रश्न खडा गरेको थियो । त्यस घटनाले देशव्यापी आक्रोश र आन्दोलन त जन्मायो तर अनुसन्धानमा गम्भीर कमजोरी देखियो । समस्या केवल एउटा अपराधीमा सीमित देखिँदैन । घटनास्थलमै प्रमाण नष्ट हुनेदेखि अनुसन्धानलाई दिशाहीन बनाउने त्रुटिहरूले सत्य पत्ता लगाउने प्रक्रिया नै कमजोर बनायो ।

अपराध अनुसन्धान भनेको प्रमाणले देखाएको बाटो पछ्याउने प्रक्रिया हो । तर जब अनुसन्धानलाई राजनीतिक दबाब, प्रशासनिक हतारो वा सार्वजनिक आक्रोशले निर्देशित गर्न थालिन्छ, सत्य झन् टाढा पुग्ने खतरा बढ्छ । इनिसा विकको हत्यापछि देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेका छन् । दोषीलाई कडा कारबाही गरिनुपर्छ भन्ने माग स्वाभाविक र न्यायसंगत हो । तर न्यायको माग र अनुसन्धानमाथिको अनावश्यक दबाबबीच सन्तुलन कायम रहनु पनि उत्तिकै आवश्यक हुन्छ ।

सबैभन्दा महत्त्वपूर्ण यस घटनालाई अर्को ’निर्मला काण्ड’ बन्न नदिनु हो । त्यसका लागि प्रहरीले प्रमाणमा आधारित निष्पक्ष अनुसन्धान गर्नुपर्छ । राज्यले शोकाकुल आमाबाबुलाई राजनीतिक हस्तक्षेप हुन नदिने सुनिश्चितता दिनुपर्छ भने नागरिक समाजले पनि न्यायको पक्षमा उभिँदा अनुसन्धानलाई भ्रमित गर्ने हतारोबाट जोगिनुपर्छ । अब प्रश्न केवल एउटा घटनाको समाधानमा मात्र सीमित छैन । यो प्रश्न राज्यको उत्तरदायित्व, कानुनी प्रणालीको विश्वसनीयता र समाजको चेतनासँग जोडिएको छ ।

सरकारी अस्पतालमा उपचार गराउन रास्वपा सांसदहरूलाई सभापति लामिछानेको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिनुभएको छ ।
सांसदहरू अब हिजोको जस्तो सामान्य अभियन्ता वा पेशाकर्मी मात्र नरहेको भन्दै उहाँले पदीय गरिमा कायम राख्न आग्रह गर्नुभएको हो । मिडियामा आउन र भाइरल हुन रमाइलो लाग्ने भए पनि त्यसले पार्ने गम्भीर असरबारे सांसदहरूको ध्यानाकर्षण गराउनु भयो । कुनैपनि सार्वजनिक अभिव्यक्ति दिनुअघि पार्टी पंक्तिसँग सरसल्लाह गर्न उहाँले निर्देशन दिनुभयो । सभापति लामिछानेले आफ्ना सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउन आग्रह गर्नुभयो । जनताले पाउने दुःख र सास्तीको महशुस सांसदहरूले पनि गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘यहाँ जथाभावी अभिव्यक्ति दिने, यसलाई मनोरञ्जनको विषय बनाउने र हल्काफुल्का रूपमा प्रश्तुत हुने छुट कसैलाई पनि छैन, मलाई पनि छैन । भोट दिएका जनताको शीर झुक्ने काम कसैको कुनै अभिव्यक्ति वा क्रियाकलापबाट हुनु हुँदैन । प्रत्येक भोटको इज्जत हुनुपर्छ । तपाईंले दिने अभिव्यक्तिले वैदेशिक सम्बन्धमा वा अर्थतन्त्रमा जे प्रभाव पार्छ, त्यो कुरा याद नगरी हल्काफुल्का बोल्नुभयो भने देशलाई दीर्घकालीन असर गर्नसक्छ । यदि अझै पनि म हिजोकै जस्तो सार्वजनिक अभिव्यक्ति दिन्छु भन्ने लाग्छ भने तपाईंहरू सांसदको भुमिकाबाट बाहिर जान सक्नुहुन्छ । म तपाईंहरूलाई अनुरोध गर्न चाहन्छु, सक्नुहुन्छ भने सकेसम्म आफूलाई सरकारी अस्पतालमा उपचार गराउनुहोस् । जनताका छोराछोरीलाई जुन अप्ठ्यारो पर्छ, तपाईंले मात्र सुविधा प्राप्त गर्नु जायज होइन । सरकारी सेवालाई चुस्त बनाउने हो भने हामीले त्यहीँबाट सेवा लिनुपर्छ ।’
सांसद भएको ब्याज वा सर्टिफिकेटले एकाएक ज्ञान नदिने भन्दै उहाँले निरन्तर अध्ययन गर्न र संसद नचलेको बेला ठूला सेमिनारमा भन्दा गाउँ, टोल र चिया चौतारामा गएर जनताका समस्या सुन्न सांसदहरूलाई निर्देशन दिनुभयो ।

राष्ट्रपति, प्रधानमन्त्रीलगायतकाे उपस्थितिमा यसरी मनाइयाे घाेडेजात्रा

काठमाडाैं । काठमाडौंमा घोडेजात्रा पर्व मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा काठमाडौंको टुँडिखेलमा एक विशेष समारोहका बीच जात्रा सम्पन्न भएको हो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरुलगायतका उपस्थिति रहेको थियो । समारोहमा नेपाली सेनाका तर्फबाट अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिएको थियो ।

काठमाडौं उपत्यकामा चैत्र कृष्ण औँशीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व मनाउने गरिन्छ । जनविश्वास अनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा वास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे ।

राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँशीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको किवदन्ती छ । शहरका कुनैपनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।

यसै अवसर पारेर सरकारले बुधवार (आज) काठमाडौं उपत्यकामा सार्वजनिक विदा समेत दिएको थियो ।

नेपाल लगानीका लागि पूर्ण सुरक्षित छ, नीतिगत संरक्षण हामी गर्छौं : सभापति लामिछाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालको निजी क्षेत्र, गैरआवासीय नेपाली (डायस्पोरा) र अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ ।  नयाँ दल र नयाँ अनुहारहरू सत्ता र शक्तिमा आउँदा अर्थतन्त्र र लगानीको वातावरणमा कुनै नकारात्मक असर नपर्ने भन्दै उहाँले सबैलाई आश्वस्त पार्नुभएको हो ।

मुलुकको आर्थिक समृद्धिलाई आफ्नो पार्टीले प्रमुख एजेण्डा बनाएको बताउँदै लामिछानेले निजी क्षेत्रलाई कतै पनि विचलित नहुन आग्रह गर्नुभयो । देश निर्माणको महान अभियानमा विदेशमा रहेका नेपालीहरूको पुँजी र सीप आवश्यक रहेको भन्दै उहाँले डायस्पोरालाई नेपालमै आएर काम गर्न अपिल गर्नुभयो । यसैगरी, अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई लक्षित गर्दै उहाँले नेपाल लगानीका लागि सुरक्षित गन्तव्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईंहरूले निर्धक्कसँग काम गर्नसक्ने वातावरण हामी बनाउँछौँ । तपाईं र तपाईंको लगानी यो देशमा सुरक्षित हुन्छ, निर्धक्क हुनुहोला । कुनै किसिमको बाधा अड्चन हुने छैन । तपाईंलाई कुनै अमुक नेता वा पार्टीले संरक्षण गर्दैन, देशको नीतिले संरक्षण गर्नेछ ।’

उहाँले देशमा उद्योग कलकारखाना चल्नुपर्ने, रोजगारी सिर्जना हुनुपर्ने र सुशासनमा नयाँ मानक स्थापना गर्दै आर्थिक समृद्धिको बाटोमा अहोरात्र काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कर्जा असुलीमा धम्की र दबाब आउँछ : अध्यक्ष कोइराला

काठमाडाैं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोईरालाले  अहिले बैंकिङ प्रणालीमा ठूलो परिमाणमा निक्षेप भए पनि कर्जा विस्तारको गति कमजोर रहेको बताउनुभएको छ । नागरिक लगानी कोषको ३६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले हाल बैंकहरूसँग करिब ७७ खर्ब रुपैयाँ निक्षेप रहेको बताउनुभएको हो ।

अध्यक्ष कोईरालाले  सो मध्येबाट बैंकहरुले ५८ खर्ब रुपैयाँ जति कर्जा प्रवाह गरिएको जानकारी दिँदै पछिल्लो समय कर्जा प्रवाहको वृद्धि दर बढ्न नसकेको बताउनुभयो । कोईरालाले कर्जा सुस्तता आउनुको कारण भने खुलाउनु भएन । उहाँले बैंकिङ क्षेत्रमा विभिन्न प्रकारका चुनौतीहरू तमाम रहेको समेत बताउनु भयो । कोईरालाकाअनुसार कर्जा असुलीका लागि जाने क्रममा बैंकका कर्मचारीहरूले विभिन्न धम्की र दबाब सामना गर्नुपरेको छ । बैंकर्स संघले पनि यस विषयमा अझ सक्रिय भएर अघि बढ्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

अध्यक्ष कोइरालाले भन्नुभयो–‘अहिले बैंकसँग ७७ खर्बको डिपोजिट छ । ५८ खर्ब जति लोन प्रवाह गरेका छौँ । कर्जा प्रवाहको ग्रोथ बढ्न सकिरहेको छैन । बैंकिङ क्षेत्रमा विभिन्न प्रकारका चुनौतीहरु पनि छन् । ऋण उठाउन जाने क्रममा धेरै प्रकारका थ्रेडसहरुछन् । बैंकर्स संघले अलिकति अघि बढ्नुपर्ने अवस्था पनि आइरहेका छन् । कुनै भीडले बैंकको पैसा तिर्नु पदैन भन्ने कुरा आयो भने यसले समग्र अर्थतन्त्रलाई असर पार्छ । पैसा तिर्नुपर्दैन भनेर भाष्य बन्ने र कर्मचारीलाई विभिन्न प्रकारका थ्रेडसहरु जस्तै कालोमोसो दल्ने, जुत्ता माला लगाउने जुन हामीले देख्याैँ, यस्तो खालको कुराहरु आयो भने भविष्यमा हाम्रो इकोनोमीलाई राम्रो गर्दैन् ।’

उहाँका अनुसार ऋण तिर्नु पर्दैन जस्ता भाष्य बनाउन खोजिएको बताउँदै यस्ता गतिविधि र गलत सन्देश फैलिन थालेमा भविष्यमा नेपालको अर्थतन्त्रका लागि राम्रो संकेत हुनेछैन ।

सांसदहरूलाई अनुशासनमा रहन सभापति लामिछानेको चेतावनी

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना नवनिर्वाचित सांसदहरूलाई पार्टी अनुशासनमा रहन चेतावनी दिनुभएको छ । नवनिर्वाचित सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीले विधानमा व्यवस्था गरेको ‘राइट टु रिकल’ यसपटक कडाइका साथ लागू गर्ने घोषणा गर्नुभएको हो ।

सांसदहरूलाई जिम्मेवारीवोध गराउने उद्देश्यले आयोजित ‘क्लोज क्याम्प’ जस्तो कार्यक्रममा बोल्दै लामिछानेले सरकारको गणितीय अवस्था जस्तोसुकै भएपनि अनुशासनहीनता सह्य नहुने स्पष्ट पार्नुभयो । रास्वपाभित्र सिंगो देशको अनुहार रहेको र विभिन्न पृष्ठभूमि (व्यापार, विद्यार्थी, युवा, महिला, सीमान्तकृत वर्ग, सामाजिक अभियन्ता, कलाकार, पूर्व प्रशासक आदि) बाट आएका व्यक्तिहरू रहेको भन्दै उहाँले यो विशाल परिवारलाई एउटै ट्रयाकमा लैजान अनुशासनको अत्यन्त ठूलो खाँचो रहेको औंल्याउनुभयो ।

परिवार ठूलो भएको अवस्थामा अनुशासित हुन नसके समाजमा अराजकता सिर्जना हुने र रास्वपाले कुनैपनि प्रकारको अराजकतालाई स्वीकार गर्न नसक्ने उहाँको भनाइ छ । जनताले ठूलो आशा र अपेक्षाका साथ भोट दिएको स्मरण गराउँदै उहाँले सांसदहरूलाई प्रत्येक दिन आफ्नो जिम्मेवारीको महशुस गर्न निर्देशन दिनुभयो ।

टुँडिखेललाई हरियाली बनाउँदै काठमाडौं महानगर

काठमाडाैं । काठमाडौं महानगरपालिकाले टुँडिखेललाई व्यवस्थित बनाउने योजना अघि बढाएको छ । महानगरले टुँडिखेलको सैनिक मञ्च दक्षिणपट्टि रहेको मैदानलाई हरियाली बनाउने योजना अगाडी बढाएको हो । महानगरले ६१ हजार २ सय ६३ वर्गमिटर क्षेत्र रहेको सो मैदानलाई समथर बनाएर बरुनाग्रास दुबो रोप्ने तयारी गरेको छ । महानगरको आर्थिक वर्ष २०८२/०८३ को योजना उक्त क्षेत्रलाई व्यवस्थित खुला मैदानका रूपमा विकास गर्न लागिएको महानगरका वरिष्ठ इञ्जिनियर अर्जुन अर्यालले जानकारी दिनुभयो । महानगरले दुबो रोप्नको लागि आवश्यक काम थालनी गरिसकेको छ । यस परियोजनाको लागत अनुमान ४ करोड २५ लाख रुपैयाँ रहेको छ । महानगरले २०८३ पुस मसान्तसम्म काम सक्नेगरी २ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको इन्जिनियर अर्यालले जानकारी दिनुभयो ।

महानगरले टुँडिखेललाई हरियाली बनाउने बाहेक अन्य कुनै स्थायी संरचना निर्माण नगर्ने पनि स्पष्ट पारेको छ । मैदानलाई हरियाली बनाउनको लागी आवश्यक केही संरचना भने निर्माण गरिने इन्जिनियर अर्यालले जानकारी दिनुभयो । उहाँकाअनुसार मैदान व्यवस्थापनका लागि शुरुमा लेभलिङ गर्ने कार्य गरिनेछ । त्यसपछि तीन इन्च मलिलो माटो राखेर दुबो रोप्ने उहाँले बताउनु भयो । मैदानको चार कुनामा पानीको लागि बोरिङ संरचना निर्माण गरिने छ । उहाँकाअनुसार पानी पुनर्भरणका लागि १.२ मिटर व्यासका १० वटा ‘वाटर रिचार्ज पिट’ निर्माण गर्ने योजना पनि समावेश छ । यसले काठमाडौं उपत्यकामा बढ्दो सुक्खापन न्यूनीकरण गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

महानगरले निर्माणपछि मैदान व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको छ । महानगरले हेरालु र माली खटाएर दुबोको नियमित स्याहार, मल हाल्ने र पानी व्यवस्थापन गर्ने योजना बनाएको महानगरका वरिष्ठ इञ्जिनियर अर्यालले बताउनु भयो ।
टुँडिखेल महानगरभित्रको सबैभन्दा ठूलो खुला क्षेत्र हो । यहाँ विभिन्न सभा–समारोह तथा सर्वसाधारणहरुले विहान बेलुका शारीरिक व्यायाम लगायतका कार्यहरु गर्ने गरेका छन् । महानगरले टुँडिखेलको व्यवस्थापन गर्नको काम शुरु गरेपछि यी कामहरु भने अवरोध हुने भएको छ । महानगरले भने सभा समारोह लगायतका गतिविधि खुलामञ्चमा गर्न सकिने जनाएको छ । वरिष्ठ इन्जिनियर अर्यालले सभा समारोह लगायतका गतिविधि गर्नलाई खुला मञ्चलाई व्यवस्थित बनाइएको बताउनु भयो । त्यहाँ सभा, समारोह तथा खेलकुद गतिविधि सञ्चालन गर्न सकिने उहाँको भनाई छ ।

उहाँले खुलामञ्चलाई व्यवस्थित मात्रै गर्न लागिएको जानकारी दिनुभयो । यहाँ सर्वसाधारणलाई कुनै रोकावट नरहेको उहाँको भनाई छ । यो मैदानमा हालपनि सर्वसाधारणका लागि खुला रहेको र निर्माण सम्पन्न भएपछि पनि खुला नै रहने उहाँले बताउनुभयो ।

खाेटाङमा हेलिकाेप्टर दुर्घटना, एक जना घाइते

काठमाडाैं । खोटाङमा भएको हेलिकाेप्टर दुर्घटनामा कसैको ज्यान गएको छैन, एक जना घाइते हुनुभएको छ । सुरुमा शव लिएर गएकाे हेलिकाेप्टर दुर्घटना भएको भनिए पनि दुर्घटनाग्रस्त हेलिकाेप्टरमा शव नभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीले बताउनुभयो ।

हेलिकाेप्टरमा शव राखिएको बाकस नअटेपछि शव गाडीबाट पठाएर मृतकका आफन्त हेलिकाेप्टरमा गाउँ गएकाे पाइएको डिएसपी बुढाथोकीले बताउनुभयो । शवको दाहसंस्कार गर्न गाउँ आएका स्थानीय चढेको हेलिकाेप्टर केपिलासगढी गाउँपालिका–२, खार्ताम्छाको बालाबेसीमा चैत ४ गते अपरान्ह १२ बजे दुर्घटना भएको हो ।

काठमाडौँबाट बालाबेँसी पुगेर ल्यान्ड गर्ने क्रममा एयर डाइनेस्टिको हेलिकाेप्टर दुर्घटनामा परेको हो । सुरुमा बारीको डिलमा बसेको हेलिकाेप्टरलाई पुःन उठाएर बारीको बिचमा सार्न खोज्दा उछिट्टिएर माथिल्लो गह्राको भित्तामा बजारिएको थियो ।

निर्वाचन सफल बनाउन सहयाेगी भूमिका खेलेकाेमा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन सफल पार्न महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्री कार्कीको निमन्त्रणामा नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायतको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेको हो ।

भेटका क्रममा निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । छलफलका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचनमा भाग लिएर शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट मुलुकलाई निकास दिन सहयोगी भूमिका खेलेकोमा नेकपाका नेताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

शव बाेकेर गएकाे हेलिकाेप्टर खाेटाङमा दुर्घटना

काठमाडाैं । काठमाडौँबाट शव बोकेर गएकाे हेलिकप्टर खोटाङमा दुर्घटना भएको छ । एयर डाइनेस्टीको हेलिकप्टर केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा चैत ४ गते दिउँसो दुर्घटना भएको हो ।

बारीमा अवतरण गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । सुरुमा बारीको डिलमा अवतरण भएको हेलिकप्टर पुनः उठाएर बीचमा लैजान खोज्दा दुर्घटना भएको बताइएको छ ।

चालक सविन थापासहित ६ जना सवार हेलिकप्टर दुर्घटना हुँदा एक यात्रु काजीबहादुर राई घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश बुढाथोकीले बताउनुभयो ।

कर्मचारी बढुवामा ‘बन्द प्रतिष्पर्धा’ स्वीकार्य छैन : अर्थमन्त्री

काठमाडाैं । अर्थमन्त्री रामेश्वर खनालले कर्मचारीहरूको बढुवा र छनोट पद्धतिमा ‘बन्द प्रतिष्पर्धा’ (क्लोज्ड कम्पिटिसन) लागू गर्न नसकिने स्पष्ट पार्नुभएको छ । नागरिक लगानी कोषको ३६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कर्मचारीको कार्यक्षमता र दक्षता वृद्धिका लागि आवश्यक मोटिभेसन र कम्पन्सेसन प्याकेज हुनुपर्ने कुरा जायज भएपनि बन्द प्रतिस्पर्धालाई पक्षपोषण गर्न नसकिने बताउनुभयो । अवकाश कोषमा लाग्ने करको दरमा समानता हुनुपर्ने माग जायज भएपनि वर्तमान अन्तरिम सरकारले त्यसमा निर्णय गर्न नसक्ने स्पष्ट पार्नुभयो । आफू कामचलाउ र अन्तरिम सरकारको मन्त्री भएकाले आयकर ऐन संशोधन गर्ने अधिकार नभएको भन्दै उहाँले यो विषय आगामी अर्थमन्त्रीलाई स्मरण गराएर जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले नागरिक लगानी कोषले भविष्यमा अन्य पेन्सन फन्ड म्यानेजमेण्ट कम्पनीहरूसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै त्यसका लागि संस्था र कर्मचारी दुवै खुला प्रतिष्पर्धाका लागि तयार रहनुपर्नेमा जोड दिनुभयो ।

सामाजिक सुरक्षा कोषले संघसस्थालाई लेखेकाे पत्रप्रति नागरिक लगानी काेषकाे आपति

काठमाडाैं । नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतबहादुर कार्कीले संस्थाको ठूलो रकम मुद्दती निक्षेपमा थुप्रिएर बस्न थालेको भन्दै त्यसले संस्थाको आम्दानीमा भारी गिरावट आउने खतरा बढेको बताउनुभएको छ । नागरिक लगानी कोषको ३६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै कार्कीले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट निक्षेपको माग घटेको र मुद्दती निक्षेपको ब्याजदर पनि निकै कम भएको कारण कोषको ठूलो फण्ड निष्क्रिय रहने अवस्था सिर्जना भएको बताउनुभयो ।

उहाँका अनुसार यस्तो अवस्थामा संस्थाको आम्दानीमा ठूलो गिरावट आउने खतरा रहेको र त्यसलाई गम्भीरतापूर्वक व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको छ ।

कार्कीले लगानी विविधीकरणमा समेत समस्या देखिएको उल्लेख गर्नुभयो । लगानीको वातावरण पर्याप्त नबढेको वा लगानीकर्ताको आत्मविश्वास कमजोर भएको कारण पछिल्लो समय कर्जाको मागमा कमी आएको बताउनुभयो । कर्जाको माग घट्दा कोषले तय गरेको लगानी विविधिकरण गर्ने उद्देश्यमा चुनौती थपिएको उहाँको भनाइ छ ।

त्यस्तै, सामाजिक सुरक्षा कोष र नागरिक लगानी कोषबीच गर्ने काममा दोहोरोपना देखिएको पनि उहाँले बताउनुभयो । पछिल्लो समय गरिएको नीतिगत व्यवस्थाका कारण सामाजिक सुरक्षा कोष आक्रामक रूपमा अघि बढिरहेको भन्दै कार्कीले नागरिक लगानी कोषमा सहभागी संघ–संस्थाहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्ने, अन्यथा कारबाही हुने उल्लेखसहित पत्राचार भएको भन्दै आपति जनाउनुभयो ।

कार्यकारी निर्देशक कार्कीका अनुसार नागरिक लगानी कोषमा सहभागी भएका संस्थाहरूलाई फेरि फर्काउने चुनौती थपिएको छ । कार्कीका अनुसार अब नीतिगत र कार्यान्वयनमा स्पष्टता आवश्यक रहेको छ ।

व्यावसायिक कृषिका लागि भूमि ऐन संशोधन गरिँदै, खानी र उद्योगमा वातावरणीय स्वीकृति खुकुलो

काठमाडाैं । सरकारले ठूला लगानी भित्र्याउन र निजी क्षेत्रलाई प्रोत्साहित गर्न विद्यमान कानूनी बन्देजहरू फुकाउने तयारी गरेको छ । नागरिक लगानी कोषको ३६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री रामेश्वर खनालले व्यावसायिक कृषि र खानी उत्खननमा रहेको प्रचुर सम्भावनालाई मूर्तरूप दिन भूमि ऐन लगायतका कानुनमा संशोधन गर्न लागिएको जानकारी दिनुभएको हो ।

हालको कानूनी व्यवस्था अनुसार पहाडमा ७०–७२ रोपनी र तराईमा ५ बिघाभन्दा बढी जग्गा राख्न नपाइने हदबन्दीका कारण ठूलो स्तरमा व्यावसायिक कृषि (कमर्सियल फार्मिङ) गर्न सम्भव नभएको भन्दै उहाँले यसलाई संशोधन गर्न लागिएको बताउनुभयो ।

यसैगरी, माइनिङ (खानी) क्षेत्रमा पनि ठूलो सम्भावना रहेको तर वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए), रूख कटानीको स्वीकृति र वनको क्लियरेन्स जस्ता झन्झटिला प्रक्रियाले लगानीकर्ता निरुत्साहित भएको उहाँले स्वीकार गर्नुभयो । यसलाई मध्यनजर गर्दै वर्तमान सरकारले नियमावलीमै संशोधन गरेर वातावरणीय स्वीकृति प्रक्रियालाई सरलीकरण गरिसकेको र यसले निजी क्षेत्रमा हौसला बढाएको उहाँले दाबी गर्नुभयो ।

ठूला आयोजनाहरू अब विशुद्ध निजी क्षेत्रबाट र सार्वजनिक–निजी साझेदारीको माध्यमबाट अगाडि बढाउनुपर्ने बाध्यता रहेको भन्दै उहाँले लगानीको वातावरण बनाउन सरकारले थप बन्देजहरू फुकाउँदै जाने स्पष्ट पार्नुभयो ।

निर्माण सामग्रीमा कृत्रिम अभाव सिर्जना हुँदा मूल्यवृद्धि चुलियाे : अध्यक्ष सिंह

काठमाडाैं । निर्माण सामग्री, इन्धन र ग्यासको अभाव तथा अत्यधिक मूल्यवृद्धिले निर्माण क्षेत्र गम्भीर रूपमा प्रभावित भएको छ । पछिल्लो दुई महिनादेखि देशभित्र भएको निर्वाचन र अन्तर्राष्ट्रिय स्तरमा बढेको द्वन्द्वका कारण महँगी बढेको र काम समेत प्रभावित बनेको निर्माण व्यवसायीहरुको बुझाइ छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पछिल्लो समय आन्तरिक र वाह्य कारण निर्माण क्षेत्र प्रभावित बन्दै गएको बताउनु भयो । उहाँका अनुसार सरकारले आफ्नो ध्यान निर्वाचनमा केन्द्रित गर्दा निर्माण क्षेत्रमा ध्यान दिएन । सरकारले सामान्य खर्च धान्नसमेत कठिनाइ भोगिरहेको र जसको प्रत्यक्ष असर पुँजीगत खर्चमा परेको उहाँको भनाइ ।

उहाँका अनुसार हालसम्म करिव १९ प्रतिशत मात्रै विकास खर्च भएको छ र निकट भविष्यमा पनि पुँजीगत खर्च बढ्ने सम्भावना न्युन देखिएको छ । अर्थ मन्त्रालयले न्युन बजेटमै सरकार सञ्चालन गर्न खोजिरहेको र विकासे मन्त्रालयहरूमा छुट्याइएको बजेट कटौती गर्ने प्रयास भइरहेको अनुभूति आफूहरुले गरिरहेको उहाँको भनाइ छ ।

यस्तै, खाडी क्षेत्रमा पछिल्लो समय भएको युद्धका कारण इरान, अमेरिका लगायतका देशहरू प्रभावित हुँदा नेपालमा इन्धन आपूर्तिमा समस्या आएको सिंहले बताउनु भयो । विगत १४ दिनदेखि इन्धन र अन्य आवश्यक सामग्रीको आपूर्ति अवरुद्ध जस्तै बनेको छ, जसले बजारलाई झन् संवेदनशील बनाएको उहाँको भनाइ छ ।

अध्यक्ष सिंहले निर्माण क्षेत्रमा प्रयोग हुने बिटुमिन लगायतका सामग्रीमा कृत्रिम अभाव सिर्जना गरिएको र केही व्यवसायीले सस्तोमा खरिद गरेर महँगोमा बेच्ने काम गरिरहेको आरोप पनि लगाउनु भयो । अन्तर्राष्ट्रिय बजारमा आपूर्ति अनिश्चित भएपछि स्थानीय स्तरमा मूल्य वृद्धि चुलिएको उहाँको भनाइ छ ।

सिंहकाअनुसार विगत २–३ महिनादेखि ग्यास अभाव हुँदा निर्माण कार्य थप प्रभावित भएको छ । मजदुरहरूलाई नियमित रूपमा काममा लगाउन नसकिएको अवस्था रहेको उहाँको भनाइ छ । सिंहकाअनुसार प्रशासनले बोतलमा इन्धन विक्रीमा प्रतिवन्ध लगाएपछि पनि निर्माण कार्यमा थप समस्या सिर्जना भएको छ । इन्धन, बिटुमिन र डण्डीको मूल्य शतप्रतिशतसम्म वृद्धि भएको छ । यस्तो जटिल परिस्थितिमा सरकारले निर्माण क्षेत्रलाई राहत दिन ‘निर्माण होलिडे’ घोषणा गर्नुपर्ने उहाँले माग समेत गर्नुभयो ।

आधा सिलिण्डर ग्याँस वितरण गर्दा पनि राहत महशुस गरेका छौँ : उपभाेक्ता

काठमाडाैं । उपभोक्ताहरुले आधार सिलिण्डर एलपी (खाना पकाउने) ग्याँस विक्रीवितरण गर्दा आफूहरुले राहत पाएको बताएका छन् ।  मंगलवार काठमाडौंको टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा ग्यास लिन पुगेका उपभोक्ताहरुले संकटमा राहत पाएको भन्दै आयल निगमप्रति आभार समेत व्यक्त गरेका छन् । गाह्रो भइरहेको बेला आधा सिलिण्डर भएपनि ग्याँस पाउँदा खुशी लागेको उनीहरुको प्रतिक्रिया थियो ।

नजिकको ग्याँस डिपोमा १० दिन कुर्दा पनि ग्यास नपाएपछि हैरानी व्यहोरेकी अर्की उपभोक्ताले आधि सिलिण्डर भएपनि उपलब्ध गराएको भन्दै नेपाल आयल निगमप्रति आभार व्यक्त गर्नुभयो ।  उपभोक्ताहरुले ग्याँसको अभावमा आफूहरु भोकभोकै बस्नुपर्ने अवस्था आएको गुनासो पनि गरेका छन् ।

यता, आयल निगमले भने उपभोक्ताहरुको अभाव पूर्ति हुनेगरी वितरणको काम भइरहेको दाबी गरेको छ । निगमका प्रतिनिधि विनोदकुमार वैद्यले उपभोक्ताले रित्तो हात फर्कन नपर्ने गरी वितरणको व्यवस्था मिलाइएको बताउनुभयो ।

नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बनाेस् : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गर्नुभएको छ ।  निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गर्नुभएको हो ।

मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उहाँले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना पनि गर्नुभयो । मुलुकभर सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी उहाँले पुकार पनि गर्नुभयो ।

संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायत पनि सरिक हुनुहुन्थ्यो ।