झापा, १० जेठ । भारतले रेल सेवा सुचारु गरेपछि भारतबाट नेपाली युवा धमाधम नेपाल फर्कदैछन् । जसका कारण झापामा कोरोनाको जोखिम उच्च छ नै आएका नेपालीको स्वास्थ्य परीक्षण र सम्विन्धित जिल्ला पुरायाउन समेत सकस देखिएको छ ।
भारतबाट नेपाल भित्रने सजिलो नाका कुमरखोद भएका कारण पनि यो नाकाबाट दिनहुँ नेपाली युवा लुकीछिपी नेपाल भित्रन्छन् । उनीहरुलाई जसोतसो क्वारेन्टाइनमा राखिएपनि समयमा स्वास्थ्य परीक्षण र खानाको व्यवस्थापनमा नै समस्या हुने गरेको आवाज उठ्न थालेको छ ।
भारतबाट आएका मध्ये झण्डै एक हजार जनालाई अहिले झापाका विभिन्न होल्डिङ एरियामा राखिएको छ । झण्डै १५ सयदेखि २ हजारको हाराहारीमा अहिलेपनि नेपाली युवा सिमावर्ती भारतीय भूमिमा अलपत्र छन् । उनीहरुलाई पनि नेपाल ल्याउने तयारी गरिँदैछ ।
झापामा कचनकवल गाउँपाकिलामा मात्रै ३३ जना कोरोना संक्रमित फेला परेका छन् । उनीहरुको उपचार भइरहेपनि झापामा भारतबाट भित्रिएका नागरिकको आरडीटी र स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि झापा कोरोनाको उच्च जोखिममा परेको हो ।