काठमाडौँ, १३ चैत । सरकारले देशभर ‘लकडाउन’ गरिरहे पनि थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) मा सुत्केरी हुने महिलाको सङ्ख्या भने कम भएको छैन । ‘लकडाउन’का कारण यातायातको असुविधा भए पनि एम्बुलेन्स, ट्याक्सी र निजी गाडीबाट अस्पताल आइरहेकाले अहिले पनि दैनिक झन्डै सय महिलाले सन्तानलाई जन्म दिएका छन् ।
बहिरङ्ग सेवा बन्द भए पनि आकस्मिक सेवा र भर्ना हुने बिरामी नियमित जति नै भएको अस्पतालका निर्देशक डा जगेश्वर गौतमले बताउनुभयो । अस्पतालले कार्यरत कर्मचारीलाई मास्क, सेनिटाइजरलगायत आवश्यक सामग्री उपलब्ध गराएर नियमित काममा लगाएको छ । अस्पतालमा स्वास्थ्यकर्मीका लागि आवश्यक कुराको अभाव नभएको उहाँले बताउनुभयो ।
कुरुवा र बिरामीलाई अस्पताल हाताभित्र छिर्दा साबुन पानीले हात धुने व्यवस्था मिलाएको छ । कुरुवालाई भीड नगर्न भनिएको र एक बिरामीलाई एक कुरुवा बस्न भनिएको छ । अस्पतालले पहिले एउटै सेवा दिने गरेकामा अहिले तीन छुट्टाछुट्टै स्टेशनको व्यवस्था गरेको छ । पहिलोमा सामान्य, दोस्रोमा रुघा खोकी र तेस्रो वार्डमा कोभिड–१९ का बिरामीका लागि छुट्याइएको छ । प्रसूति सेवा लिन आएका महिलालाई सङ्क्रमण भए पनि प्रसूति सेवा लिनका लागि अरु बिरामीभन्दा टाढा तीन श्ययाको स्टेशन बनाइएको छ ।
रासस