काठमाडौं, १ चैत । चीनको वुहानबाट सुरु भएर विश्वमा नै माहामारीको रुप लिएको कोरोनाको असर बिस्तारै सबै क्षेत्रमा बढ्दै गएको छ । नेपाल जस्तो परनिर्भर र रेमिट्यान्स नै प्रमुख आयस्रोत भएको देशलाई त झन् नमज्जाले थला पार्ने अवस्थाको सिर्जना भएको छ ।
सरकारले देशलाई आर्थिक रुपमा सवल र समृद्ध बनाउने लक्ष्यका साथ काम गर्ने भनिरहेका बेला चीनबाट सुरु भएको कोरोनाले देशको अर्थतन्त्र थला पर्न थालेको छ । नेपालमा कोरोनाको प्रत्यक्ष संक्रमण देखिंदैन । तर अत्यधिक परनिर्भर देश भएकोले कोरोनाले ब्यापक असर प्रत्यक्ष पर्ने देखिन्छ ।
रेमिट्यान्समा मुख्य हात भएका दक्षिण कोरिया, कतार जस्ता देशमा नै कोरोनाले उद्योग ब्यवसाय ठप्प हुनु र देशको आयस्रोतको मुख्य खम्वा पर्यटन र हवाई क्षेत्रमा एकै पटक गिरावट आउँदा नेपालको अर्थतन्त्र नमज्जाले थला पर्ने अर्थविद् डा.चन्द्रमणी अधिकारीले बताउनु भयो ।
अर्थविद् अधिकारीले भने जस्तै कोरोनाका कारण नेपालको ब्यवसायमा शुन्यता छाउन थालिसकेको छ । कोरोनाको असरका कारण समान्यदेखी देशको अर्थतन्न्त्रमा नै प्रत्यक्ष सरोकार राख्ने ब्यवसाय ६० देखी ८० प्रतिशतसम्मले घटेको छ ।
काठमाडाैं, चितवन, पोखरा लगायत स्थानका व्यवसायीको ठूलो लगानी संकटमा परेको छ । यता अन्तरराष्ट्रिय बजारमा नेपालले राम्रोसंग निर्यात गरिरहेको सुनचाँदी तथा रत्न ब्यवसायमा समेत यसले नकारात्मक प्रभाव पारेको सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले बताउनुभयो ।
कोरोनाले विश्वका ठुला अर्थतन्त्र भएका देशलाई नै प्रभाव पारिरहँदा नेपाल जस्तो बिकासोन्मुख र परनिर्भर देशमा असर हुनु स्वभाविक हो । विश्वमा सबैभन्दा धेरै औद्योगिक उत्पादन गर्ने, विदेशमा धेरै पर्यटक पठाउने, ६० मुलुकको प्रमुख व्यापार साझेदार, धेरै वैदेशिक लगानी भित्र्याउने र बाह्य लगानी गर्ने चीन नै यस संकटमा रहँदा नेपालको आयात निर्यात, लगानी र श्रम बजारमा समेत असर देखिएकाले कोरोना महामारी नियन्त्रणमा नआउन्जेल यसको प्रभाव देशको अर्थतन्त्रमा परिरहने भएकाले सरकारले रोडम्याप नै बनाएर काम गर्नु पर्ने अर्थविद् डा चन्द्रमणी अधिकारीको सुझाव छ ।
नेपालले परनिर्भरतालाई घटाउन सके कोरोनाको प्रभाव कम गर्न सकिन्छ । तर अहिले यो अवस्था देखिंदैन । यस अघिबाटै आन्तरीक उत्पादन बढाउने र रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्न सकेको भए कोरोनाको प्रभाव नेपालमा नपर्न सक्थ्यो । अर्थ क्षेत्रमा ठुलो नोक्सानी हुने थिएन ।