काठमाडौं, २९ फागुन । सरकारले युरोपियन र मध्यपूर्वका कोरोनाको बढी संक्रमण देखिएका देशहरुको भिसा रोक्ने भएको छ । कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिको बैठकले यसअघि विभिन्न ५ देशबाट आउनेहरुको भिसा रोक्ने निर्णय गरेकोमा बिहीबार युरोपियन र मध्यपूर्वका संक्रमित देशहरुबाट समेत भिसा रोक्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बढी संक्रमित देशहरुको नाम संकलन भइरहेको बताउनुभयो । तत्काल हवाई उडानहरु कटौती नगर्ने निर्णय पनि बैठकले गरेको उहाँले बताउनुभयो ।
बैठकले संक्रमण भइहालेको अवस्थामा तयारी गर्न स्वास्थ्यमन्त्रालयलाई भनेको छ । क्वारेन्टान सेन्टर, आइसोलेसन कक्ष तथा उपकरणहरुको आपूर्ति बढाउन मन्त्रालयलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।
त्यसैगरी उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीहरुको सुरक्षाका उपकरणहरुको आपूर्ति गर्न पनि समितिले भनेको छ । मन्त्री खतिवडाले तत्काल विद्यालय र परीक्षाहरु स्थगित नगर्ने निर्णय गरिएको बताउनुभयो ।
आवश्यक परेको अवस्थामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको मेडिकल टिम र मेडिकल कलेज तथा अन्य संघ संस्थाहरुबाट स्वास्थ्यकर्मीहरुलाई परिचालन गर्न तयारी अवस्थामा राख्ने निर्णय पनि बैठकले गरेको छ ।
सरकारले सार्वजनिक समारोह, राजनीतिक भेला निरुत्साहित गर्न पनि आग्रह गरेको छ । यसैगरी विवाह, भोजभतेर र बढी मान्छेहरु जम्मा हुने कामहरु नगर्न र सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।
विश्व स्वास्थ्य संगठनले विश्वभरी नै महामारी घोषणा गरेपछिको अवस्थाको समीक्षा गर्दै बैठकले नेपालमा जोखिमको अवस्था र छिमेकी मुलुकहरुको अवस्था तथा उपनाउनुपर्ने सतर्कताका बारेमा पनि छलफल गरेको छ ।