जातिय मुक्तिका लागि संविधान संशोधन गरेर भएपनि अगाडी बढ्ने प्रचण्डको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

जातिय मुक्तिका लागि संविधान संशोधन गरेर भएपनि अगाडी बढ्ने प्रचण्डको प्रतिबद्धता

काठमाडौं, १३ माघ । नेपाल कम्युनष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जातिय मुक्तिका लागि संविधान संशोधन गरेर भएपनि अगाडी बढ्ने बताउनुभएको छ ।

पार्टीको भातृ संगठन आदिवासी जनजाती महासंघको सपथग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जातिय मुक्ति, समानता र समानुपातिकता हासिल गर्न संविधान संशोधन गरेर भएपनि अगाडी बढ्ने बताउनुभएको हो ।

उत्पीडित वर्ग, जाति तथा समुदायहरु अझै पनि पूर्ण रुपले मुक्त हुन नसकेको उल्लेख गर्दै प्रचण्डले शान्तिपूर्ण रुपमा एकतावद्ध भएर संविधान संशोधनको माध्यमबाट यसलाई परिमार्जन गरिने बताउनुभयो ।

विकास र समृद्धिको यात्रालाई सामाजिक व्यवस्थासहित समाजवादतिर अगाडि बढाउँदै गएमात्रै सोचेजस्तो समानता प्राप्त हुने उहाँको धारणा थियो । प्रचण्डले साम्राज्यवाद र सामन्तवादका विरुद्धको लडाई जितेको भएपनि अझै समानताको पुरै लडाई जित्न बाँकी रहेको र यसका लागि मिहेनत गरी एकतावद्ध भएर अगाडी बढ्नुपर्ने बताउनुभयो । नेकपा सबै खालका विभेदको अन्त्य गरी सबैको हक अधिकारका सुनिश्चित गर्न सदैव तयार रहेको उहाँको भनाई छ ।

पूँजीपतिहरु र साम्राज्यवादीहरुले साम्प्रदायिक विद्वेश फैलाउने र जातिजातिबीच लडाई गराउने नीति र कम्युनिष्टहरुले अघि सारेको जातिय हक अधिकारको कुरा, जातिय मुक्तिको कुरा फरक भएपनि बुर्जुवाहरुले यसलाई गोलमाल गर्ने गरेको उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले सबैलाई समान अधिकार प्राप्तीको सुनिश्चिता नभएसम्म देशमा भौगोलिक विविधता र विविधतायुक्त एकता कायम गर्न नसकिने बताउनुभयो ।