कपिलवस्तु, १३ पुस । चिसोले जनजीवन कष्टकर बनेपछि कपिलवस्तुमा तिलौराकोट साझेदारी वनले आगो ताप्नका लागि दाउरा वितरण गरेको छ । शीतलहरसंगै बिगत ७ दिन यता चिसो निकै बढेपछि तिलौराकोट साझेदारी वनले आईतबार विहान कपिलवस्तुको सदरमुकाम तौलिहौवामा ७० क्विन्टल दाउरा वितरण गरेको हो ।
जिल्लाका चोकचोक, बढी मानिस जम्मा हुने ठाँउ, अस्पताल, सरकारी कार्यालयहरुका सेवाग्राही र सर्वसाधरणहरुलाई चिसोबाट बच्नका लागि दाउरा वितरण गरिएको तिलौराकोट साझेदारी वन व्यवस्थापन समितिले जनाएको छ ।
बाक्लो हुस्सु, कुहिरो र शीतलहरसंगै बढेको चिसोले तराईमा ठाउँठाउँमा आगो तापेर न्यानो लिईरहेका छन् । आइतवार बिहान कपिलवस्तुमा अधिकतम तापक्रम ७.४ डिग्री सेल्सियस र न्युनतम २.६ डिग्री सेल्सियस भएको जल तथा मौषम बिज्ञान बिभागको रामनगर ईकाईले जनाएको छ ।