काठमाडौं, ३० मंसिर । नेपाली कांग्रेसले सरकारले संघीय संसद्मा दर्ता गराएको ‘‘नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’’ स्वीकार्य नहुने बताएको छ ।
सरकारले अनुसन्धान विभागसँग सम्बन्धित विधेयक संघीय संसदको राष्ट्रियसभामा दर्ता गराएपछि कांग्रेसको यस्तो प्रतिक्रिया जनाएको हो ।
सोमवार कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडद्वारा जारी बिज्ञप्तिमा विधेयकमा संविधानको मौलिक हकले प्रदान गरेको नागरिकको स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने, नागरिकका हरेक सूचना चुहावट हुने, गोपनियता भंग हुने र स्वतन्त्रतालाई समाप्त गर्नेगरी राखिएको प्रावधान संविधान प्रतिकूल भएकाले स्वीकार्य नहुने उल्लेख गरिएको छ ।
संविधानमा उल्लेखित नागरिक स्वतन्त्रता, गोपनियताको हक लगायतको मौलिक हक प्रतिकूल भएको विधेयक फिर्ता गर्न माग समेत गरिएको बिज्ञप्तिमा जनाइएको छ । बिज्ञप्तिमा नागरिकका स्वतन्त्रता र हितविपरीत हुने विधेयकहरु प्रस्तुत नगर्न सरकारलाई सचेत समेत गराइएको छ ।