काठमाडौं, ३० कात्तिक । रौतहटको राजपुर बम विस्फोट प्रकरणका मुख्य अभियुक्त मोहम्मद आफ्ताब आलमलाई ललितपुरस्थित नख्खु कारागार ल्याइएको छ । जिल्ला अदालत रौतहटले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि केही घण्टा जिल्ला कारागार रौतहटमा राखे पनि सुरक्षाका कारण आलमलाई शनिबार बिहान ४ बजे ललितपुरको नख्खु कारागार ल्याइएकोे हो ।
अदालतको आदेशमा सुरक्षाका हिसावले आलमलाई रौतहटमा राख्न उपयुक्त नहुने भन्दै अरु कारागारमा स्थानान्तरण गर्न सक्ने आदेश पनि दिएको थियो । फैसलापछि रौतहटमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आलमको विपक्षमा बयान दिएका सरकारी साक्षीलाई पनि सुरक्षा दिइएको रौतहटका एसपी भुपेन्द्र खत्रीले जानकारी दिनुभएको छ ।
आलमलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिने जिल्ला न्यायाधीश दीपक ढकाल र वकालत गर्ने न्यायाधिवक्ता खडिन्द्र कटुवालले सुरक्षाको माग गर्दै सरुवा गरिदिन माग गर्नुभएको छ । ८ दिन लामो थुनछेक बहस सुनेपछि शुक्रबार न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।
अब अदालतले सरकारी साक्षी र आलमका साक्षीहरूको बयान लिने छ । मुद्दाको मूल विषयमा पनि बहस हुनेछ । त्यसपछि मात्रै आलमको मुद्दामा अदालतले फैसला गर्नेछ ।