काठमाडौं, १९ साउन । “काले काले मिलेर खाउँ भाले” ! अहिले त्रिभुवन विश्वविद्यालयको हालत यस्तै खञ्चुवाहरूले लुट्ने शिकार भएको छ । केही समयदेखिका राष्ट्रिय समाचार पढ्दा र सुन्दा उच्च शिक्षाको प्रमुख केन्द्र त्रि.वि.लाई कचाकच काटेर थिलोथिलो पारेको देखिन्छ ।
त्रि. वि. सेवा आयोगमा आफन्तलाई उकास्ने र अब्बललाई थेचार्ने गरेको प्रमाण भेटिँदा रगत र पसिना बेचेर सँगालेको सानो रकम किस्ता किस्तामा पठाएर छोराछोरीको उज्ज्वल भविष्यको कामना गरी बसिरहेका निमुखा अभिभावकको आत्मा कति रोए होला ? प्रतिस्पर्धामा अब्बल भएर जागिर खाई परिवारको मुखमा माड हाल्ने सपना देखी लखतरान भएर पढेका निर्दोष र थकित आँखाबाट कति आँसु झ¥यो होला ? अनुभवले तालु खुइलिएका, इमानदारीको कवच पहिरिएका, निजी स्वार्थलाई प्राज्ञिक उन्नयनको अधीनस्थ राखेर दिलो ज्यान, तीखो मस्तिष्कको प्रयोग गरिरहेका प्रतिष्ठित प्राज्ञहरू कति छट्पटाएका होलान् ? ज्ञान र सीपको किनबेच गर्ने, ज्ञानको प्रतीक स्वर्णपदक बेच्ने पिपासुहरूको असली रूप देख्दा पलाउँदै गरेका मुनाहरूमा कस्तो छाप पर्ला ? प्राज्ञिक क्षेत्रमा भएको यो कुकर्ममा मूलतः प्राध्यापक सङ्गठन, कर्मचारी सङ्गठन र विद्यार्थी सङ्गठनको संलग्नता देखिन्छ ।
यहाँ व्यक्तिगतभन्दा सङ्गठित गिरोह त्यो पनि पार्टीको छत्रछाँयामा हुर्केको सङ्गठनको हालिमुहाली भएको देखिन्छ । कोही व्यक्तिगत रूपमा संलग्न छन् भने पनि ती पार्टीका खाँटी कार्यकर्ता छन् । कुनै एउटा पार्टी सम्बद्ध सङ्गठन वा व्यक्तिको संलग्नता नभएर सबैको साझा गठजोड छ यहाँ । फरक फरक राजनीतिक मुखुण्डो ओडेर आवरणमा पृथक् देखिने तर भित्र अप्राकृतिक गठबन्धन गरी छुरी धस्ने प्रवृत्ति स्पष्ट देखिन्छ । यस्तो गठबन्धन बनेपछि जुनसुकै पार्टीको सत्ता वा नेतृत्व आए पनि फरक नपर्ने रहेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।