किन रोकिएन असारे विकास | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

किन रोकिएन असारे विकास

sadak

काठमाडौं, ९ असार । विकासको आधार योजना, कार्यक्रम र बजेट हो । बजेटको आधार पनि योजना र कार्यक्रम नै हो ।

यो छुट्टै कुरा हो कि योजनाअनुसारको काम भएका छन् कि छैनन् ? अथवा कार्यक्रमअनुसारको खर्च भएको छ कि छैन ? यसको अनुगमन गर्ने निकायको अभाव छैन तर प्रश्न फेरि उठ्छ– सही ढङ्गमा अनुगमन हुन्छ कि हुँदैन ? हरेक वर्ष जब असार आउँछ, नेपालमा विकासको मूल फुट्न थाल्छ । खासगरी पूर्वाधारका क्षेत्रको विकासको हिजोको यो स्वरूप र प्रवृत्ति रत्तिभर फेरिएको छैन ।

सडक बन्न थाल्छन्, ढल खनिन थाल्छन् र धेरै विकास त्यही असारमा आएको भेलले बगाएर सिध्याउँछ । मुलुकको यो विडम्बनालाई कुनै राजनीतिक पद्धतिले प्रभाव पार्न सकेको छैन । समृद्ध नेपाल र सुखी नेपालीको नाराले सुधारका सम्भावनालाई निम्त्याउन सकेको छैन । दिनप्रतिदिन यसले चरम विकृत रूप लिँदै गएको छ ।

चुनावका बेला गाउँगाउँमा राजनीति पुग्छ । दलका रङ्गीविरङ्गी झन्डाले मतदातालाई उत्साहित बनाउँछ । जित्नेले अबीर माला पहिरिएपछि अरू नेता, कार्यकर्ता लाखापाखा लाग्छन् । अर्थात् विकासका लागि गाउँमा जनशक्ति छैन । यसको अर्थ गाउँमा नागरिक बाँच्ने आधार हराउँदै गएको छ । हिजोको भाषामा नागरिक मुग्लान नपसी घरपरिवारको जीवन निर्वाह गर्ने अवस्था छैन । मुग्लानबाट सधैँ रकम र राम्रो खबर मात्रै आउँछ भन्ने पनि छैन । अर्काको मुलुक बनाउँदै गर्दा आफ्नै घर, परिवार, समाज र अन्ततः मुलुक नै बिग्रँदै गएको छ ।

रामेछापको खाँडादेवी गाउँपालिकामा एकजना जनप्रतिनिधिलाई आफ्नो चुनाव प्रचार अभियानका सबै कार्यकर्ता मुग्लान गएपछि लागेछ– केही युवालाई मात्रै भए पनि गाउँमै रोकेर रोजगारीको सम्भावनाको खोजी गर्ने । वडाध्यक्षमा निर्वाचत ती जनप्रतिनिधि विष्णुबहादुर श्रेष्ठले एउटा कृषि फार्म खोलेर साथीभाइलाई लगानीकर्ता बनाउनुभएछ । गाउँका चारजना युवालाई पाँच हजार कुखुराको रेखदेख गर्ने रोजगारी दिनुभएछ । गाउँमा युवालाई अड्याउने यो एउटा सानो योजना हो । रोजगारीका हिसाबले यो कुनै आकर्षक योजना नभए पनि यसले केही सन्देश दिएको छ । काम गर्न चाहने हो भने रोजगारीको सम्भावना गाउँघरमै पनि छ ।

राजनीति गर्नेको पेसा हँुदैन भन्ने होइन, समय निकालेर उसले आफ्नो जीवन निर्वाहका उपाय अवलम्बन गर्न सक्छ । यसले राजनीतिकर्मीमा विकास बजेटमा आँखा लगाउने प्रवृत्तिको अन्त्य गर्न सहयोग गर्नेछ । यस्ता औँलामा गन्न सकिने विष्णुबहादुरहरूले समाजमा सकारात्मक सन्देश त दिन सक्छन् तर मुलुकको कायापलट गर्न नीति निर्माताको तहमा विष्णुबहादुर जन्मनुपर्छ । कार्यान्वयन र अनुगमनका क्षेत्रमा थुप्रै विष्णुबहादुर सक्रिय हुनुपर्छ । अनि मात्र समृद्ध नेपाल र सुखी नेपालीको नारा सार्थक हुनेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।