काठमाडौं, २० जेठ । इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले विजयी सुरुवात गरेको छ ।
आइतबार राती भएको खेलमा दक्षिण अफ्रीकालाई २१ रनले पराजित गर्दै बंगलादेशले सुखद सुरुवात गरेको हो । खेलमा बंगलादेशले दिएको ३ सय ३१ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ९ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान फाफ डु प्लेसिसले ६२ रन जोडेपनि टोलीको हार टार्न सकेनन् । बलिङतर्फ बंगलादेशका मुस्ताफिजुर रहमानले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३० रन बनाएको थियो । उसका लागि मुस्फिकर रहमानले ७८ रन जोड्दा शाकिब अल हसनले ७५ रनको योगदान दिए । दक्षिण अफ्रीका भने लगातार दोस्रो खेलमा पनि पराजित भएको छ । आजको खेल इंग्लण्ड र पाकिस्तान वीच हनेछ ।