काठमाडौं, १९ जेठ । दरबार हत्याकाण्ड भएको आज १९ बर्ष पुगेको छ । २०५८ जेठ १९ गते अर्थात आजकै दिन तत्कालीन राजा बीरेन्द्रको बंश नै नास हुने गरी दरबार हत्याकाण्ड भएको थियो ।
घट्नामा राजा वीरेन्द्र शाहसहित उनको परिवारका १० जना सदस्यको हत्या भएको थियो । जसलाई ‘दरबार हत्याकाण्ड’का नामले चिनिन्छ । नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डमा तत्कालीन राजा वीरेद्रसहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह लगायतको हत्या भएको थियो ।
यो घट्नामा पूर्वराजा ज्ञानेन्द्र, पत्नि कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । दरवार हत्याकाण्डको छानबिन गर्न तत्कालिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट र तत्कालिन नेकपा (एमाले)का नेता माधवकुमार नेपाल रहेको उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो ।
समितिले पेश गरेको प्रतिवेदनमा देवयानी राणासँग प्रेम सम्बन्धमा रहेका युवराज दीपेन्द्रले उक्त हत्या गरेको देखाएको थियो । तर, उक्त प्रतिवेदनप्रति आमजनता अझै विश्वस्त हुन सकिरहेका छैनन् । घटनाको रहस्य अझै पत्ता लाग्न सकेको छैन ।