राजु प्रसाद साह
वीरगञ्ज, २१ पुस । विगत ४ दिनदेखि फोहोर उठ्न नसकेपछि वीरगंज महानगर दुर्घन्दित र अस्तव्यस्त बनेको छ । वीरगंज महानगरपालिकाका कर्मचारीहरु विभिन्न माग राख्दै आन्दोलित भएपछि शहर अहिले दुर्घन्दित र अस्तव्यस्त बनेको हो ।
कर्मचारीको आन्दोलनका कारण महानगरको काम समेत प्रभावित भएको छ । गाउँ–गाउँबाट आएका सर्वसाधरणहरु आफ्नो काम नभएपछि निराश भई घर फर्कने गरेका छन् । महानगरको काम नै प्रभावित हुनेगरी आन्दोलनमा उत्रिएका कर्मचारीहरुले आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई जारी राख्ने बताएका छन् ।
महानगरका कर्मचारीहरुले अस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारीको रोजगारीको ग्यारेन्टी गरिनुपर्ने, कर्मचारीको बृत्तिविकास र बढुवा हुनुपर्ने, तहगत दरबन्दी लागू गर्नुपर्ने लगायतका माग राख्दै विहीवारदेखि यसरी आन्दोलित भएका हुन् ।
यता, महानगरपालिकाले भने कर्मचारीले राखेको मागका विषयमा केन्द्र सरकारलाई जानकारी गराईसकेको जनाएको छ । महानगरका मेयर विजय सरावगीले छिट्टै उनीहरुको माग सम्बोधन भई केही दिन भित्र फोहोर उठ्ने बताए ।