पशुपती वृद्धाश्रममा बस्ने वृद्धवृद्धाको जिवन कष्टकर | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

पशुपती वृद्धाश्रममा बस्ने वृद्धवृद्धाको जिवन कष्टकर

jestha nagarik pasupati

अप्सरा गौतम

काठमाडौं, ९ पुस । पशुपतिनाथस्थित वृद्धाश्रमको उचित व्यवस्थापन नहुँदा त्यहाँ बस्ने बृद्धबृद्धाहरुलाई असहज भएको छ । वृद्धाश्रमको व्यवस्थापन गर्न नसकेको भन्दै सांसदहरुले पनी सरकारको आलोचना गरेका छन् ।

भौतिक संरचना पुरानै भएका कारण नयाँ संरचना निर्माणका लागि स्थान चयनको काम पनि अहिलेसम्म हुन सकेको छैन । परिवारबाट अपहेलित हुन पुगेका, आफन्त अनि आफ्नो नाममा केही सम्पत्ति नभएका ज्येष्ठ नागरिकले पशुपतिमा रहेको वृद्धाश्रमलाई आफ्नो आश्रयस्थल बनाएका छन् ।

विसं १९३८ मा निर्माण गरिएको सो वृद्धाश्रममा १ सय ७० जना वृद्धवृद्धा रहेका छन् । ६० वर्ष कटेकालाई राखिने गरिएको सो वृद्धाश्रममा १ सय ३ वर्ष नाघेका ज्येष्ठ नागरिक समेत रहेका छन् । यस्ता उमेरका वृद्धवृदा बस्ने आश्रममा भने वृद्धाश्रमको भौतिक संरचनाका कारण वृद्धवृद्धालाई त्यहाँ बस्न निकै मुस्किल हुने गरेको छ ।

पशुपति वृद्धाश्रममा रहेका पूर्वाधार ज्येष्ठ नागरिक मैत्री छैनन् । बाह्र तेह्र कोठा रहेको उक्त वृद्धाश्रममा एउटा कोठामा तीन देखि १२ जनासम्म बस्ने गरेका छन् । एउटै कोठामा यति धेरै जना राख्नाले समस्या हुने गरेको छ । संरचना त राम्रो छैन त्यस्तै वृद्धाश्रममा दिने खाना पनी राम्रो नभएको वृद्धवृद्धाको गुनोसो छ ।

पशुपतिमा रहेको वृद्धाश्रमको संसदीय समितिले पनि अनुगमन गरेको छ । समितिको अनुमगनमा पनि बृद्धाश्रम राम्रो नभएपछि समितिले पशुपतिनाथ स्थित वृद्धाश्रमको उचित व्यवस्थापन गर्न नसकेको भन्दै सरकारको आलोचना समेत गरेका छन् ।

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको आईतबारको बैठकमा सांसद कृष्णबहादुर राई र हिरा गुरुङले वर्षौंदेखि जीर्ण अवस्थामा रहेको पशुपति वृद्धाश्रमको उचित व्यवस्थपन गर्न नसकेको भन्दै पशुपतिनाथबाट सो वृद्धाश्रम तत्काल अन्यत्र सार्न पनि सरकारसँग माग गरेका छन् ।

अहिलेको आश्रममा शौचालयको समेत राम्रो व्यवस्था छैन । नजिक शौचालय नहुँदा अशक्त तथा वृद्धवृद्धा समस्यामा परेका छन् । त्यस्तै वृद्धवृद्धा भर्याङ चढेर तलमाथी गर्नुपर्ने भएकाले पनी समस्या परेको छ । भौतिक संरचनाले गर्दा सोचे अनुरुप व्यवस्थित गर्न नसिकएको पशुपती वृद्धाश्रमका कार्यालय प्रमुख कृष्ण कडेलको भनाई छ । पशुपती वृद्धाश्रमको संरचना वृद्धवृद्धा मैत्री हुन नसक्दा यहाँ बस्ने वृद्धवृद्धाहरुको जिवन कष्टकर बन्दै गईरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);