बनेपा, १४ कात्तिक । काभ्रेको विकट डाँडापारी क्षेत्रका बासिन्दाको एकै माग छ, ‘सरकार, हामीलाई केही चाहिँदैन, डाक्टर सहितको अस्पताल बनाइदेऊ ।’ समयमै स्वास्थ्य उपचार नपाउँदा उनीहरू अकालमै ज्यान गुमाउनुपर्ने बाध्यतामा छन् ।
अझै पनि सहजै सूचना, सञ्चार, शिक्षा, स्वास्थ्यको राम्रो पहुच पुग्न नसकेका कारण अधिकांश सरकारी सेवाबाट वञ्चित छन् । ‘डाँडापारीमा साधारण उपचारको व्यवस्था समेत नहुँंदा कयौंको अकालमै मृत्यु भएको छ’, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छामान जिम्बाले भने, ‘वार्षिक दसजना भन्दा बढी समयमै उपचार नपाएर मर्ने गरेका छन् ।’ अधिकांश बालबालिका र वृद्धले अनाहकमा ज्यान गुमाउनु परेको छ भने झाडापखाला, दुर्घटना, सुत्केरी लगायतका कारण ज्यान गुमाएका छन् ।
केही दिन महाभारत गाउँपालिका २ का पाँच महिने शिशु झाडापखाला लागेर र सोही वडाका २५ वर्षीय साइला मोक्तान लडेर बढी रगत बगेपछि सदरमुकाम लैजानेक्रममा बाटो मै मृत्यु भएको उनले बताए । जिम्वाले गाउँमा सामान्य उपचारसमेत गर्न नसक्नु र सदरमुकामसम्म पुर्याउन दुई दिनसम्मको पैदल हिँड्नुपर्ने बाध्यता रहेको बताए ।
‘समयमै उपचार नपाउँदा साधारण रोग र घाउचोटले समेत अकालमा ज्यान गुमाउनेको संख्या धेरै छ’, खानीखोला गाउँपालिका ३ की मिना तामाङले भनिन्, ‘केही समयअघि भीरबाट लडेर छोराको हातखुट्टा र टाउकोमा गम्भीर चोट लाग्यो, उपचार गर्न डोकोमा राखेर १३ घण्टा पैदल हिँडेर धुलिखेल अस्पताल पुर्यायौं ।’ उनका अनुसार, उपचार ढिलो भएकाले छोराको देब्रे खुट्टा काट्नु पर्यो । सहज सडक सञ्जाल र समयमै उपचार नपाएकै कारण छोराले पूरै जीवन अपांगता भएर बाँच्नु परेको उनले गुनासो पोखिन् ।
खानीखोला गाउँपालिका डाँडागाउँकी नानीमाया तामाङसँग सुत्केरी अवस्थामा समयमै उपचार नपाउँदा झन्डै अकालमै ज्यान गुमाएको अनुभव छ । ‘म त मरेर बाँचेको मान्छे विकट ठाउँ न स्वास्थ्य संस्था न मोटरबाटो व्यथा लागेको चार दिनमा जसोतसो बच्चा पाइयो’, उनले सुनाइन्, ‘व्यथा लागेको चार दिनपछि १६ घण्टा डोकोमा बोकेर अस्पताल पुर्याए, धन्य बाँचियो ।’ मिना र नानीमाया त प्रतिनिधि पात्रमात्र हुन् ।
समयमै उपचार नपाएर सयौं डाँडापारीवासीको मृत्यु र अपांग भएर बस्नु परेको छ । डाडाँपारिमा रहेका माहाभारतका अध्यक्ष जिम्बा र खानीखोला गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर खुलालले केन्द्रीय सरकार र प्रदेश सरकारले नीति तथा कार्यक्रममा प्रत्येक स्थानीय तहलाई १५/१५ शैयाको अस्पताल खोल्ने बताएपनि त्यस अनुसारको बजेट व्यवस्थापन नहुँदा अलमलमा परेको गुनासो गरे । ‘स्वास्थ्य चौकीमा अहेव र अनमीले साधारण सेवा दिईरहेपनि दुर्घटना र आकस्मिक विरामीले समय मै उपचार लिन सक्दैन ।’
महाभारतका गाउपालिकाका अध्यक्ष जिम्वा भन्छन् ‘हजारौ डाडापारी बासीको उपचारका लागि प्रयाप्त औषधी, पुर्वाधार, दक्ष जनशक्ति ९एम।वि।वि एस र एमडी डाक्टर० र प्रविधि सहितको अस्पताल खाचो छ, जुन गाउपालिका बजेटले पुग्दैन केन्दीय सरकारले सहयोग गर्नुपर्छ ।’ माहाभारत र खानीखोला गाउपालिकामा स्वास्थ्य चौकी भएपनि दरबन्दी भन्दा कम स्वास्थ्यकर्मी भएका कारण साधारण उपचार पाउन समेत मुस्कील हुने गरेको स्थानीहरुको गुनासो छ ।
हुने खानेले हेलिकप्टरबाट लगेर उपचार गर्ने समेत गरेका भएपनि आर्थिक अवस्था कमजोर भएकाहरु दुई दिनसम्म पैदल हिड्नुपर्ने र डोकोमा विरामी बोक्नुपर्ने बाध्यतामा रहेका छन । गाउपालिका र केन्द्रीय सरकारको समन्यवमा उक्त क्षेत्रमा अस्पताल निर्माण भई डाक्टरको हातबाट उपचार पाएमा डाडापारीबासीहरुको अकालमा मर्नुपर्ने बाध्यता हट्ने छ । आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।