काठमाडौं, १० कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाल कम्युनिष्ट पार्टी नेकपाले आयोजना गरेको चियापानमा सहभागी भएका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले शनिबार भृकुटीमण्डपमा आयोजना गरेको चियापानमा सहभागी भएका कांग्रेस सभापति देउवालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहालले स्वागत गरेका थिए ।
अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थताका कारण चियापानमा अनुपस्थित भए । अपरान्ह ३ बजेपछि प्रधानमन्त्री एंव पार्टी अध्यक्ष ओली चियापानमा सरिक हुने बताईएपनि अन्तिम समयमा अस्वस्थका कारण उपस्थित हुन नसक्ने जानकारी गराईएको थियो ।
चियापानमा सहभागी भएर फर्कदै गर्दा कांग्रेस सभापति देउवाले मुलुकलाई राजनीतिक रुपमा मिलाएर लैजाने दायित्व सत्तापक्षको भएको प्रतिक्रिया दिएका थिए । देश मेलमिलाप र एकतामा गएको हो भनी संचारकर्मीले राखेको जिज्ञासामा देउवाले मुलुकलाई मेलमिलापमा लैजाने जिम्मा सत्तापक्षको भएको संक्षिप्त प्रतिक्रिया दिए । उनले भने “देश मेल मिलापमा जानुपर्छ । सत्ता पक्षको हातमा छ सबै कुरा ।”
चियापानमा सर्वसाधरण देखि नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, सुरक्षा निकायका प्रमुख, उद्योग व्यवसायी नेता कार्यकर्ता लगाएको उल्लेख्य उपस्थिति थियो । याे पार्टी एकता पछिको पहिलो चियापान समारोह हाे ।




