रुकुम, २२ असोज । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–१०, तकका बासिन्दा अहिले मकै भाँच्न र बोक्न व्यस्त छन् । केहीले भित्र्याइसके । कोही चटारोमा छन् ।
सबैको बारीमा फरक–फरक जातका मकै रोपिएकाले अघि–पछि गरी पाकेको छ । तर जसको पाक्यो, उसले भाँचिहाल्न पाउँदैन । स्थानीयले सामूहिक निर्णय नगर्दासम्म मकै बारीमै रहन्छ । जसले निर्णय उल्लंघन गर्छ, ऊ दण्डित हुन्छ । तकमा गाउँलामुखे समिति छ । त्यही समितिले बाली भित्र्याउने मिति तय गर्छ । स्थानीय भाषामा गाउँलामुखेको अर्थ बन्देज हो । बन्देज समितिको निर्णयअनुसार असोज १८ गतेदेखि मकै भाँच्न खुला गरिएको थियो ।
‘परम्परादेखिको चलनअनुसार यस वर्षको मकै भित्र्याउने निर्णय पनि गाउँलामुखे समितिबाट भएको हो,’ समिति अध्यक्ष ऐन गुरुङले भने, ‘हामी यस्तै चलनबाट अघि बढ्दै आएका छौं ।’ उनका अनुसार कहिले के गर्ने भन्ने निर्णय पहिल्यै तय हुन्छ । त्यही निर्णयअनुसार गाउँलेले काम गर्छन् । समिति हरेक वर्ष फेरिन्छ । गाउँलेले त्यसको नेतृत्व छान्छन् । प्रत्येक वर्ष असार १ गते समिति बनाइन्छ । पुरानो समितिले आय–व्ययसहितको जानकारी गाउँलेलाई दिन्छ । त्यसपछि नयाँ समिति बन्छ ।
नयाँ समितिले गत असार १ गते गाउँबाट लेकतिर गाई र भेडाबाख्रा लिने निर्णय गरेको थियो । खेतीपाती सकिएपछि असार १३ गते गाउँलेले गाई र भेडाबाख्रा लेक उकालेका थिए । लेकमा वर्षे घाँस सकिएपछि गाउँ ओराल्न समितिकै निर्णय चाहिन्छ । गाउँको सबैभन्दा टाढा नर्सिङ हिमाल र त्यस आसपास रहेका गाई र भेडाबाख्रा भदौ १५ गते मात्रै शिलामा झार्ने निर्णय समितिले गरेको थियो । शिलामा एक महिना बसेका स्थानीयका बस्तुभाउ असोज १५ गते मार्केखोर झारिएको थियो । मार्केखोरमा बस्तुभाउ राखेका स्थानीयले तक झरेर असोज १८ देखि मकै भित्र्याउन सुरु गरेका थिए । काम सकिएपछि मार्केखोरबाट असोज २९ गते बस्तुभाउ तक झार्ने निर्णय समितिले गरेको छ ।
गाउँमा वर्षेबाली भित्रिसक्ने र सबै गाउँलेका बस्तुभाउले सँगसँगै चर्ने हुनाले असोज अन्तिममा झार्ने निर्णय भएको समितिले जनाएको छ ।
हरेक वर्ष दण्ड जरिवानाबाट संकलन भएको रकम विद्यालय तथा गाउँका सामाजिक काममा खर्च गर्दै आएको छ । निर्णय उल्लंघन गर्नेबाट जरिवाना संकलन गरिन्छ । समितिमा वार्षिक ४० देखि ५० हजार रुपैयाँ नगद जम्मा हुन्छ । गाउँमा पुरानो चलन कायमै रहेको वडाध्यक्ष ज्योतिमान गुरुङले बताए ।
‘समितिको निर्णय गाउँलेलाई सही लाग्छ, आधिकारिक लाग्छ,’ गुरुङले भने, ‘पुर्खादेखि आफैंले बनाएको यो चलन मान्दै आएका छन् ।’ लामो समयसम्म जनप्रतिनिधि नहुँदा पनि समितिले गाउँको थिति कायमै राखेको उनले सुनाए । ‘हामी निर्वाचित भएको एक वर्ष भयो, समितिले हामीलाई गाउँको अवस्थाको रिपोर्टिङ गर्छ । तकवासी भएकाले धेरै कुरा थाहा छ, समितिको निर्णय र काम गर्ने तरिकामा हाम्रो हस्तक्षेप हुँदैन,’ अध्यक्ष गुरुङले भने, ‘मकैका साथै घाँस र तरकारी चोरी नहोस्, बस्तुभाउले अर्काको बालीमा क्षति नपुर्याओस् भनेर यो चलन चलाइएको हुन सक्छ । आजको कान्तिपुर दैनिकमा खवर छापिएको छ ।