काठमाडौं, १३ असोज । भारत सरकारले नेपाली नम्बर प्लेटको बुलेटमा ग्यास ढुवानी गर्न दिन सहमति जनाएको छ। शुक्रबार काठमाडौंमा भएको द्विपक्षीय छलफलमा भारत सरकारले नेपाली नम्बर प्लेटका बुलेटमा ग्यास लोड गर्न दिने सहमति जनाएको हो।
छलफलमा भारतीय पेट्रोलियममन्त्री धर्मेन्द्र प्रधानले भारतको तीनवटा ग्यास टर्मिनलमा नेपाली नम्बर प्लेटका बुलेटले ग्यास लोड गर्न सक्ने मौखिम सहमति जनाए। छलफलमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव सहभागी थिए। मन्त्री यादवले नेपाली नम्बर प्लेटका बुलेट डेढ वर्षयता अलपत्र परेको भारतीय मन्त्री प्रधानलाई जानकारी गराएका थिए। ‘तयारी अवस्थाका बुलेट सञ्चालन नहुँदा नेपाली व्यवसायी मारमा परेका छन्, व्यापारीको ठूलो लगानी जोखिममा छ, यस विषयमा भारतले आवश्यक पहल गरिदिनुपर्छ’, मन्त्री यादवको प्रस्ताव थियो।
दुई देशका मन्त्रीसहित बसेको ज्वाइन्ट वर्किङ ग्रुपको बैठकमा सहभागी भारतीय मन्त्री प्रधानले तत्कालका लागि कर्णाल, मथुरा र पारादिपस्थित टर्मिनलबाट नेपाली बुलेटले ग्यास लोड गर्न सक्ने सहमति जनाएका थिए। तर रिफाइनरी भित्रबाट लोड दिन प्राविधिक कारणले कठिनाइ हुने उनको भनाइ थियो।
वर्किङ ग्रुपमा मोतिहारी–पाइपलाइनको विषयमा पनि छलफल भएको थियो। भारतीय पक्षले पाइपलाइन विस्तारमा रुख तथा सडक अतिक्रमण गरी निर्माण भएका भौतिक संरचनाका कारण काम गर्न नसकिएको विषय उठाएका थिए। मन्त्री यादवले ती दुवै विषयको अवरोध हटाउन पहल गर्ने जानकारी गराएका थिए।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।