विमानस्थलमा एकै दिन पाँच कफिन | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

विमानस्थलमा एकै दिन पाँच कफिन

coffin

काठमाडौँ — त्रिभुवन विमानस्थलमा बिहीबार एकै दिन ५ वटा शव आइपुगे । चारवटा मलेसियाबाट आएका थिए भने एउटा कतारबाट । वैदेशिक रोजगारीमा गएका तर कफिनमा फर्किएका यी ५ मध्ये एक जना थिए, आइतसिंह गोले ।

मलेसियामा विषाक्त रक्सी सेवनले असोज ९ मा मृत्यु भएका ६ नेपालीमध्ये आइतसिंह एक थिए । ८ वर्षअघि मलेसिया गएका पति नफर्किएपछि डोल्मामाया गोले आफैं ४ वर्षअघि त्यहाँ गएकी थिइन् । हिरापुर–९ सर्लाहीका आइतसिंह अवैध कामदारका रूपमा बसेका थिए भने डोल्मा वैध बाटोबाट गएकी थिइन् । केहीअघि नेपाल फर्किएकी डोल्मा एक महिनाअघि फेरि मलेसिया पुगेकी थिइन् ।

गोले दम्पतीका १७ र १५ वर्षका छोरी छन्, छोरा १० वर्षका । सर्लाही लगेर श्रीमान्को अन्त्येष्टि गरेपछि डोल्मा फेरि मलेसिया जाने योजनामा छिन् । ‘कम्पनीले २५ दिनको बिदा दिएको छ । श्रीमान्को काम सकेपछि मलेसिया फर्किन्छु । बच्चाहरूको जिम्मेवारी मेरै काँधमा छ,’ उनले भनिन् ।

नाम्काकोट–५, नवलपरासीका ३० वर्षीय दुर्गासिंह रानाको शव पनि थाई एयरवेजको त्यही उडानमा आइपुग्यो । पतिको शव बुझ्न गाउँबाट दुई काखेबालक च्यापेर २४ वर्षीया हेमती राना त्रिभुवन विमानस्थल आएकी थिइन् ।

शव कहाँ आउँछ, कसरी बुझ्ने नबुझेर उनी अलमलिरहेकी थिइन् । उनलाई पतिको मृत्युको कारणबारे पनि केही बताइएको छैन । ‘मलाई श्रीमान्को मृत्यु कसरी भयो, कसैले केही भनेको छैन,’ हेमतीले भनिन्, ‘शव बुझ्न काठमाडौं आउनु भनेर फोनमा खबर आएको थियो ।’

उनीसँगै आएका आफन्त जसबहादुरलाई पनि पूर्ण जानकारी छैन । दुर्गा मलेसियामा आल्मुनियमको काम गर्थे ।

३५ वर्षीय धर्मेन्द्र साह गुप्ताको शव लिन दाजु राजकिशोर साह र भान्जा धीरज साह आइपुगेका थिए । भिन्डावर–७, रौतहटका धमेन्द्र ६ वर्षअघि मलेसिया गएका थिए । ‘श्रीमतीको उपचारका लागि काठमाडौं आएको थिएँ । एक्कासि धर्मेन्द्रको शव बुझ्न आउनु भन्ने खबर आयो,’ राजकिशोरले भने । उनीहरू शव गाउँ लिएर जाने तयारीमा छन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);