सम्झना अब सम्झनामा, एसिड पीडित किशोरीको अवसान | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

सम्झना अब सम्झनामा, एसिड पीडित किशोरीको अवसान

samjhana

काठमाडौं, ९ असोज । कीर्तिपुर अस्पतालको आईसीयु रुम एसिड पीडित सम्झना दासको मुटुको चाल अत्यन्तै न्युन गतिमा धड्किरहेको थियो। पूरै शरीर कपडाले ढाकेर एउटै पोको बनाएजस्तो डढेर कालो भएको अनुहारको थोरै भाग देख्न सकिन्थ्यो आँखा बन्द थिए।

रौतहटकी १८ वर्षीया सम्झना दास भेन्टिलेटरभित्र जीवन मरणको संघारमा निर्जीव प्रायः थिइन्। उनको पीडा न शब्दमा न व्यक्त गर्न सकिन्थ्यो, न अनुमान गर्न नै सकिन्थ्यो। अचेत अवस्थामा बेडमा लडिरहेकी उनको अवस्था चिन्ताजनक थियो। रौतहट चन्द्रपुर ६ की सम्झना र उनकी बहिनी सुस्मितालार्ई मध्यरातमा घरमै एसिड आक्रमण भएको थियो।

राति नै उनको ब्लड प्रेसर न्यून हुँदै गएको थियो। डाक्टरहरू घरि ब्लड प्रेसर बढाउने औषधी थप्दै थिए, घरि कृत्रिम सास दिइरहेका थिए। सम्झना निकै सुस्त गतिमा बाँच्ने सपनासँग लडिरहेकी थिइन्। अन्ततः यो लडाइमा उनी हारिन्। राति साढे एघार बजे उनले अस्पतालमा अन्तिम सास फेरिन्। परिवारको कल्कलाउँदो फूल फक्रिन नपाइ निमोठियो।,
सोमबार दिउँसो १२ बजे
कीर्तिपुर अस्पतालकै दोस्रो तल्ला वरिपरि मान्छेहरूको भीड छ। सम्झना दासको निर्जीव शरीर भर्खरै मात्र अस्पतालबाट बाहिर निकालिएको छ। उनका आफन्त, बहिनी सुस्मिता र आमा धनमाया तामाङका आँसु रोकिएका छैनन्। केही व्यक्ति उनलाई सम्झाउने र ढाडस दिने प्रयासमा छन्। आँखाबाट अनवरत खसिरहेको आँसु रोक्ने प्रयास गर्दागर्दै उनी भक्कानिन्छिन्।
सम्झना दास र उनकी बहिनी सुस्मिता दास अन्य दिनजस्तै तिजको अघिल्लो दिन खाना खाएर घरमै सुतेका थिए। मध्यरातमा कसैले बाहिरैबाट ढोका खोल्यो र सुतिरहेकी सम्झनामाथि एसिड खन्याइदियो। सम्झनासँगै सुतेकी सुस्मिताको पनि घाँटी र हातमा एसिड पर्‍यो। एसिडले सम्झनाको छाती, मेरुदण्डको भाग र अनुहार ध्वस्त पार्‍यो।यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।