बोस्टनमा गुन्जिइन् अञ्जु | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

बोस्टनमा गुन्जिइन् अञ्जु

anju panta

काठमाडौँ, ११ साउन । गायिका अञ्जु पन्तले अमेरिकामा पहिलो पल्ट एकल साँझ गरेकी छन् । बोस्टनको आर्लिंग्टनस्थित रिजेन्ट थिएटरमा हालै आयोजित ‘अञ्जु पन्त सुमधुर सन्ध्या’ मा उनले लोकप्रिय गीतहरूमार्फत श्रोतालाई मनोरञ्जन दिइन् ।

आफ्नो तेस्रो एकल गायन साँझका रूपमा आयोजित कन्सर्टमा अञ्जुले ‘न बिर्सें तिमीलाई’, ‘पूर्व–पश्चिम रेल’, ‘सुर्के थैली खै’, ‘म यस्तो गीत गाउँछु’, ‘भन्छु आज’, ‘तिमी रोएको पल’, ‘दिल यो मेरो दिल’, ‘कहाँ थियौ तिमी’ सुनाइन् । ‘कसले चोयो मेरो मन’, ‘चरी चट्ट परी भुरुरु,’ ‘पीरमा पनि हाँस्न सक्छे एउटी छोरी मान्छे’, ‘जिन्दगी यो फूलैफूलको’, ‘मैले तिमीलाई चाहेर पनि’ लगायत दुई दर्जन गीत गाएर उनले दर्शकश्रोतालाई घरी भावुक त घरी रौसे बनाएको कन्सर्ट संयोजक गजलकार सुरेश वाग्लेले जानकारी दिए ।

नेपाली श्रोताको बाक्लो उपस्थितिमाझ अञ्जुलाई सारंगीमा श्याम नेपाली, तबलामा सागर खतिवडा, बाँसुरीमा रञ्जन बुढाथोकी, ढोलकमा राज कपुर, ड्रममा उज्ज्वल धौभडेल, किबोर्डमा अनुप भण्डारी, गितारमा शैलेन्द्र सिंह, गितारमा सुशील घिमिरे र मादलमा अनुभव थपलियाले साथ दिएका थिए । युगल गायनमा अञ्जुलाई प्रवीन परियारले सघाएका थिए ।
अमेरिकामा पहिलो गायन साँझ गरेकी अञ्जुलाई आयोजक हिमालयन हेरिटेज कल्चरल एकेडेमीका अध्यक्षसमेत रहेका वाग्ले र ग्रेटर बोस्टन नेपाली कम्युनिटीका अध्यक्ष विष्णुमणि आचार्यले सम्मानसमेत गरेका थिए । कान्तिपुरबाट