काठमाडौं, २३ असार । सरकारले उद्योगी व्यावसायीलाई समेटेर सल्लाहकार समूह गठन गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धिका लागि अवलम्बन गर्नुपर्ने रणनीतिबारे सुझाव लिन उद्योगी व्यावसायीलाई समेटेर सल्लाहकार समूह गठन गर्न लागेको बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपाल उद्योग परिसंघको १५ औं साधारण सभाको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै उद्योगलाई प्रविधिमैत्री बनाएर गुणस्तरीय उत्पादन गर्न प्रोत्साहन गरिने बताए ।
उनले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर देशलाई उद्योगमैत्री बनाउन इच्छुक रहेको स्पष्ट पारे प्रधानमन्त्री ओलीले स्वच्छता, पारदर्शिता, कानुनको राज र अवसरको समतापूर्ण वितरणबाट मात्र समृद्धि हासिल हुन सक्ने भन्दै ६० प्रतिशत जनसंख्या काम गरेर खान सक्ने हुनु आर्थिक विकासका लागि ठूलो अवसर भएको बताए ।
कार्यक्रममा परिसंघका अध्यक्ष हरिभक्त शर्माले दुई तिहाइ वहुमतको सरकारबाट उद्योगी व्यावसायीले आर्थिक विकासको ठूलो आशा गरेको भन्दै लगानी विस्तारका लागि रहेका तगारा पन्छाउन प्रधानमन्त्री ओलीसँग आग्रह गरे । कार्यक्रममा विभिन्न व्यवसायीलाई सम्मान गरिएको थियो ।