काठमाडौं, १० जेठ । सरकारले भूकम्पपीडितका नाममा खरिद गरेको ५५ हजार बण्डल जस्ता पीडितलाई उपलब्ध गराउन नसक्दा लिलामीबाट बिक्री गर्ने भएको छ ।
अगामी १५ दिन भित्रै अधिकतम रकम कबोल गर्नेका लागि जस्ता दिने गरी सूचना जारी भएको छ । सरकारले साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत खरिद गरेको यो जस्ता साल्टले नै बिक्री गर्ने भएको छ । सरकारले कर्पोरेशनलाई सरकारले मन्त्रीपरिषद्को बैठकबाट भूकम्पबाट क्षतिग्रस्त विद्यालय, स्वस्थ्य चौकीसहित अन्य सार्वजनिक भवनका लागि जस्तापाता आयात गरि प्रयाप्त मात्रामा मौज्दात राख्नको लागि निर्देशन दिए अनुसार यो जस्ता खरिद भएको उल्लेख छ ।
कर्पोरेशनले जिन्दल लिमिटेड, वेष्ट बंगाल भारतबाट आयात गरेको विभिन्न साइजको ५० हजार र थप १० प्रतिशतसहित ५५ हजार बण्डल जस्ता भूकम्पपीडितलाई उपलब्ध गराउन नसेकेको भन्दै लिलामीमा बिक्री गर्न लागेको हो । करिब साढे दुई बर्षदेखि थन्किएको यो जस्तापाता कर्पोरेशनले बिक्री गर्ने भएको छ । कर्पोरेशनले सरकारकै आग्रहमा किनिएको जस्ता बिक्री गर्ने अनुमति सरकारले नै नदिँदा कर्पोरेसनले करिब २५ करोड रुपैयाँको यो जस्तालाई लिलाम गर्ने निर्णय गरेर सार्वजनिक सूचनासमेत बुधबार प्रकाशित गरेको छ ।
एउटा बन्डलमा न्यूनतम ३ सय ५६ थान जस्ता छ । एउटै बन्डलको मूल्य न्यूनतम ३ लाख ७५ हजार पर्ने जस्ता रहेको उल्लेख छ ।




