काठमाडौं, २६ बैशाख । आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।
आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आउँदो आर्थिक वर्ष आर्थिक वर्ष २०७५/०७६ को बजेटको सिद्धान्त र प्राथमिकता पेश गर्ने भएका छन् । नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थ मन्त्री डा. खतिवडाले प्रि–बजेटको रुपमा लिइने आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने कार्यसूचि रहेको छ । अर्थ मन्त्रालयले पनि आजको बैठकमा प्रि–बजेट पेश गर्ने तयारी रहेको जनाएको छ ।
गएको शनिबार सुरु भएको संसदको बजेट अधिवेशन अन्तर्गत आज प्रतिनिधिसभाको दोस्रो बैठक बस्न लागेको हो । अर्थ मन्त्री डा. खतिवडाले संघीयता कार्यान्वयन, पूर्वाधार क्षेत्रमा लगानी, दीगो विकास लक्ष्य प्राप्ती, पुनर्निर्माणसहितका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेटको तयारी गरिरहेको छ ।